- देवनारायण पोखरेल
कोराना भाईरसले वर्तमानमा संकट जति लम्बिंदो छ, त्यही रूपमा परिस्थिति हामीले सोंचेभन्दा कठिन र जटिल देखिएको छ । खास गरी, कोरोना भाइरसको संक्रमण फैलिन नदिन लगाइएको ‘लकडाउन’ लाई हाम्रो मुलुकको सरकारले बढी यान्त्रिक रूपमा बुझ्दा, त्यही अनुसार व्यवहार गर्दा देशभित्र र बाहिरका मजदुरहरुले कठिन परिस्थितिको सामाना गर्नु परिरहेको छ । हाम्रो बीचमा केही सवाल पनि बढी पेचिलो बन्दै गईरहेका छन्, सहज रूपमा समस्या ननिम्तिने गरी सल्टिन सक्ने विषय पनि उल्झनका रूपमा देखापरिरहेका छन् ।
स्वदेशको सीमामा आएर मुलुक पस्ने अनुमतिका लागि हारगुहार गरिरहेका नागरिक हुन् या अहिले घर फिर्न सयौं किलोमिटर पैदल हिँडिरहेका र बीच बाटोमा कतै अलपत्र परेका श्रमिक मजदुरहरू । उनीहरू सबैले भोग्नै नपर्ने समस्या अहिले आएर झेल्नु परिरहेको छ । सरकार सित न्यूनतम मानवीय संवेदना नदेखिनु र व्यवस्थापकीय कौशल अलिकति पनि नहुनुको मारमा आज देश भित्रका र प्रबाशी मजदुरहरुले यस्तै दिनहरू देख्नुपरेको छ । सरकारको लकडाउन आदेशलाई पालना गर्दै सबैजसो नागरिक घरमै बसेका छन्, तर सबैलाई यसरी बस्न पुगेन, पुग्दैन पनि । तर उनीको व्यवस्था गर्न राज्यले किन सकिरहेको छैन ? जो थातथलो छोडेर हिँडेका छन् र कर्मथलोमा न घर छ, न कसैको भर छ । त्यसैले अत्तालिएका हुन् उनीहरू ।
दुःखजिलो जीविका धान्ने आधार टुटेसँगै भोकै मर्ने पिरले घर पुग्न लामो पैदलयात्रामा हानिएका हुन् उनीहरू । यी दुःखी बेसाहारा गरिब मजदुरहरुले सरकारी आदेशको अवज्ञा गरेका फिटिक्कै होइन् । केवल ‘मर्नुभन्दा बहुलाउनु निको’ ठानेर सास्तीको यात्रा रोजेका हुन् । काखी बच्चा च्यापेर, भएका पोका पन्तुरा पिठ्युँमा बोकेर दुःखका पाइला नापेका हुन् । यसैगरी हिँड्न पनि कहाँ सजिलो छ र ? मूल बाटोमा प्रहरी छ, अपराधीलाई झैं व्यवहार गर्छ र भन्छः जहाँबाट आएका हौ, त्यतै फर्क । ‘चोर बाटो’ हिँड्दा पनि कति ठाउँमा स्थानीयले उसैगरी रोकेका छन् । यसरी उनीहरू भाइरसभन्दा ठूलो अनिश्चयको भुमरीमा फसिरहेका छन् र कठिन भन्दा कठिन परिस्थितिको सामामाना गरिरहेका छन् ।
लकडाउन त मानव आवत जावतका कारण भाइरस नफैलिइयोस् भनेर लगाइएको एउटा उपाय हो । सरकारले यहाँ के बिर्सिएको छ भने, अत्यावश्यक मानिसका लागि आवागमन गर्न दिँदा पनि भाइरस नफैलिने गरी सावधानीपूर्ण उपाय अपनाउन सकिन्छ । खालि यसका लागि हाम्रा सरकारी संयन्त्रसित थोरै व्यवस्थापकीय कौशल चाहिन्छ । थोरै स्रोत साधनको खाँचो पर्छ । सरकारले यही लेठो उठाउन नचाहँदा अहिले कति नेपाली मजदुरहरु आफ्नै देशमा बिरानो महसुस गरिरहेका छन् । असाय बेसाहारा र भोको पेटले तडप्पि रहेका छन् । भारतमा काम गर्ने नेपाली मजदुरहजरु कोही स्वदेश छिर्ने ढोका छेउमा अलाप र बिलाप सगै ‘क्वारेन्टिन’ मा थुनिएका छन् ।
लाग्छ, मानवता पनि त्यतै कतै कैद बनिरहेको छ । त्यही भएर, होला दार्चुलाका एक जना मजदुर युवाले आमाको किरिया पनि भारतीय क्वारेन्टिनमै बस्नुपरेको छ भने देशकै मजदुर काम गरिरहेको शहर, जागिर दिइरहेका ठेकेदार मालिक र शासन गरिरहेको आफ्नो मुलुकको सरकार पराई बनिदिएपछि घर फर्किन बिबस बनिरहेका छन् । आखिरी उनीहरुको समस्या कसले र कहिले बुझ्ने लकडाउनका कारण बन्दी बनेका यी मेहेनेतकस मजदुरहरु कसरी जिबिका पार्जन गर्लान् ? कसरी जालान् ? के खालान् ? कति दिनमा पुग्लान् ?
कसैलाई केही मतलब छैन । कोही कोही मनकारीले बाटोमा पानी र खानेकुरा बाँडेका छन् । कुनै–कुनै स्थानीय सरकारले आफ्नो क्षेत्र जतिमा गाडीमा ओसारेका छन् । समृद्धि र उन्नत नेपालको नारा घोकेर कहिल्यै नथाक्ने हाम्रो मुलुकको सरकार बेखबर छ उनीहरूप्रति उदासीन छ ।