रुकुम घटना घृणित र निन्दनीयः पौडेल

काठमाडौं । सांसद दुर्गा पौडेलले रुकुममा भएको जातीय विभेद र हत्याको घटनामा संलग्न हरुलाई हदैसम्मको कारबाही गर्न माग गर्नुभएको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बेल्दै राष्ट्रिय जनमोर्चाका सांसद पौडेलले कुनै प्रभावमा नपरी घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्नुभएको छ । उहाँले अहिले पनि देशका विभिन्न ठाउँमा दलित समूदायमाथि अत्याचार भइरहेको बताउनुभयो ।

‘रुकुमको घटना प्रतिनिधिमुलक घटना मात्रै भएको हो । यसप्रकारकोे घटना श्रृंखलावद्ध किसिमले घटेका छन् । यो घटनाको निश्पक्ष छानबिन होस् । घटनामा संलग्न दोषीलाई हदैसम्मको कारवाही होस् । यो प्रेम विवाहकै सम्बन्धमा भएको आक्रमण हो यसको छानविन कुन ढंगबाट गरिन्छ यसको स्पष्ट जवाफ दिईयोस्’ पौडेलले भन्नुभयो ।

उहाँले यो अत्यन्तै घृणित र निन्दनीय घटना भएको उल्लेख गर्दै दलितहरुलाई मानव नमान्ने प्रवृत्ति विरुद्ध कडा कदम चाल्न आवश्यक रहेको औँल्याउनुभयो ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले घटनामा संलग्न भनिएका वडा अध्यक्ष लगायत १२ जना प्रहरी हिरासतमा नै रहेको स्पष्ट पार्नुभएको थियो ।

युवती सहित उनका बुबा, आमा, वडा अध्यक्ष डम्बर बहादुर मल्ल, घटनामा प्रत्यक्ष संलग्न भनिएका सन्तोष मल्ल, मोहन पुन मगर, रमेश मल्ल सहित १२ जनालाई प्रारम्भीक अनुसन्धान र सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको गृहमन्त्री थापाले जानकारी दिनुभएको हो ।

उहाँले घटनाको सत्य तथ्य छानविन गरि राय सहितको प्रतिवेदन पेस गर्नका लागि गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको तथा समितिलाई दुई हप्ता भित्र छानविन गरेर प्रतिवेदन दिन निर्देशन दिएको पनि सदनलाई जानकारी गराउनुभयो ।

शनिबार बेलुका रुकुमको चौरजहारी नगरपालिका–८ मा प्रेमिकासँग विहे गर्न गएका जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विकसहित १९ जनालाई गाउँलेले कुटपिट गर्दै लखेट्ने क्रममा नवराजसहित तीन जनाको मृत्यु भएको थियो भने तीन जना अझै वेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार