काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले सरकारले क्वारेन्टिनमा बसेकामध्ये करिब डेढ लाख नागरिकलाई कोरोना परीक्षण बिना नै घर पठाउँदा महामारीले बिस्फोटक रुप लिन सक्ने बताउनुभएको छ ।
सोमबार संसद बैठकमा बोल्दै सांसद पौडेलले क्वारेन्टिनमा बसेका सबैको कोरोना परीक्षण गरेर मात्रै घर पठाउन माग गर्नुभयो ।
सांसद पौडेलले स्वास्थ्य मन्त्रालय अन्तर्गत खर्च कटौतिको प्रस्ताव राख्दै क्वारेन्टनमा बसेका करिब एक लाख ७० हजार मानिस मध्ये झण्डै एक लाख ५० हजारलाई बिना परीक्षण घर पठाउन लागिएको समाचारमा आएको उल्लेख गर्नुभयो । यदी त्यसो भएमा कोरोनाले महामारीको रुप लिने र नियन्त्रण गर्न झन् कठिन हुने पौडेलको भनाई थियो ।
‘समाचारमा आएको छ, कोभिढ–१९ का कारणले क्वारेन्टिनमा बसेका एक लाख ७० हजार मानिसहरु मध्ये एक लाख ५० हजारलाई घर फर्काइँदैछ, त्यो पनि बिनाचेक जाँच गरी । यदी त्यो सत्य हो भने कोभिढ–१९ को लक्षणै नदेखिकन पनि मान्छे मरिसकेपछि परीक्षण गर्दा पोजेटिभ आएको अवस्था छ’ पौडेलले भन्नुभयो, ‘यस हिसाबले त भोलि महामारीको अवस्था आउन सक्छ ।
त्यसलाई समाधान गर्न त झन् जटिल होला नि । त्यसैले यदी यो समाचार सत्य हो भने यसलाई बदल्नुपर्छ। र घर पठाउँदा चेक जाँच गरेर मात्रै पठाउनु पर्छ ।’
सरकारले देशभरका क्वारेन्टिनमा बसेका करिब एक लाख ७० हजार मानिसहरु मध्ये लक्षण नदेखिएका झण्डै डेढ लाखलाई बिना परीक्षण घर पठाउने तयारी गरेको छ ।