डाढा (सप्तरी) । बोक्सीको आरोपमा एक मुसहर (दलित) समुदायकी महिलामाथि निर्घात कुटपिट भएको छ । सप्तरीको महदेवा गाउँपालिका ४ परसाहीकी ३० वर्षीया मन्जुदेवी सदा बोक्सीको आरोपमा दोस्रोपटक कुटिएकी हुन् ।
उनलाई आफ्नै काका ससुराकी बुहारी भुटियादेबी सदा र उनका छोरा सन्दिपले गत आइतबार बोक्सी भन्दै कुटपीट गरेका हुन् । घरेलु हतियारले हान्दा उनको टाउकोमा गहिरो चोट लागेको छ ।
‘आइतबार मेरा श्रीमान् छोरीको घर गएका थिए । त्यसैबेला मेरो नातिनीलाई खाईस भन्दै जेठानी दिदी भुटियादेबी र उनका छोरा सन्दिप आएर मलाई कुट्न थाले,’ पीडित मन्जुदेबीले मंगलबार कान्तिपुरसित भनिन् । लकडाउनका कारण पतिले काम नपाउँदा घरमा भोकै बसेको बेला बोक्सी भन्दै गालीगलौज गर्दै कुटेको उनले बताइन् ।
भुटियादेवीकी जेठी बुहारीको नवजात शिशुको साताभित्रै मृत्यु भएको थियो । भुटियादेवीले मन्जुले बोक्सी मन्त्र गरेर उनलाई मारेको भन्दै कुटपिट गरेकी हुन् ।
‘मेरी नातिनीलाई खाइस्, गाउँमा अरुलाई पनि बोक्सी मन्त्र लगाइस् एर संकटमा पारिस भन्दै जथाभावी कुटपीट गर्न थाले,’ पीडित मन्जुले भनिन्, ‘हतियारले हान्दा मेरो टाउको फुटेको छ ।’ उनले आफूमाथि खुकुरी, थाली र बासको भाटाले हानिएको बताइन् ।
बोक्सी आरोपमा कुटिएकी मन्जुका पाँच सन्तान छन् । एक छोरीको बिहे भइसकेको छ भने चार सन्तान नाबालक छन् । उनले बोक्सी आरोप लगाएर आफूलाई २०७० सालमा पनि कुटपिट गरिएको बताइन् । ‘त्यो बेला पनि गाउँका मान्छेले मलाई पिटेका थिए, अहिले आफ्नै जेठानीले टाउको फोडिन,’ उनले भनिन् । उनले आफूलाई झुट्टा आरोप लगाएर कुटपिट गर्नेमाथि कानून कारबाही गर्न पनि माग गरेकी छन् ।
ऐलानी जग्गामा घर बनाएर बस्दै आएका मन्जुदेवीका श्रीमान् ज्यामी काम गर्छन् ।
पञ्चायती गरेर मिल्न दबाब
बोक्सीको आरोपमा मन्जुदेवी कुटिएपछि केही स्थानीयले पञ्चायती गरेर घटना मिलाउन दबाब दिएका छन् । मंगलबार बिहान स्थानीयस्तरमा भएको भेलाले मन्जुदेवीको उपचार खर्च दिने गरि विवाद मिलाउने निर्णय गरेका थिए ।
तर, पीडित मन्जुदेवी यसमा सहमत छैनन् । ‘म कसरी बोक्सी भएँ ?’ उनले भनिन्, ‘मलाई बारम्बार नभएको आरोप लगाएर, बेइज्जत गर्ने, कुटने अनि औषधिको पैसा दिएर मिलापत्र गर्ने सामाजिक पञ्चायती मलाई राम्रो लागेन ।’ उनले प्रहरीले पनि दोषीलाई कारबाही गर्न अग्रसरता नलिएको बताइन् । ‘सामाजमा जे भयो त्यसलाई बिर्सेर मिलेर बस भनेर दबाब दिएका छन्,’ उनले भनिन् । स्थानीय पञ्च भलाद्मी र प्रहरीले समेत उजुरी दिन नदिएको उनले बताइन् ।
मन्जुदेवीलाई कुटपीट गर्ने भुटियादेवीले आफूले कुटेको स्वीकार गरिन् । ‘झगडा भएको हो, रीसमा थालले हानें, उसनको टाउको फुट्यो औषधि उपचार गरिदिन्छु,’ भुटियादेवीले भनिन् ।
सप्तरीमा प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईले घटनाबारे जानकारी भएको बताए । ‘महिला–महिलाको झगडा हो,’ एसपी प्रसाईले भने, ‘उजुरी आएपछि थप कारबाहीको प्रक्रिया अगाडि बढाउँछौं ।’
कान्तिपुरबाट साभार