बुटवल । लुम्बिनी प्रदेश सांसद तारा जिसीले सांसद विकास कोषका नाममा बजेट दुरुपयोग गरिएको आरोप लगाउनु भएको छ । विदेशीसँग हात थापेर र जनतालाई ऋणमा डुबाएर जम्मा भएको राज्यकोषलाई सांसद विकास कोषका नाममा दुरुपयोग गरिएको जिसीले बताउनुभयो ।
प्रदेश सभाको बिहीबार बसेको बैठकलाई सम्बोधन गर्दै जिसीले सांसद विकास कोषको रकम ब्यापक रुपमा दूरुपयोग हुने गरेको बताउनुभएको हो । उहाँले लुम्बिनी प्रदेशमा आजसम्म वितरण नगरिएकोे अब किन आवश्यक पर्यो ? भनी प्रश्न गर्नुभयो ।
‘जनताको ढाड सेकिने गरी दोहोरो तेहोरो कर लगाएर, विदेशी ऋण तथा अनुदानको लागि हात थापेर ऋणै ऋणको चांगमा बजेट निर्माण गर्ने र त्यसैबाट जनप्रतिनीधिहरुलाई दूरुपयोगको छुट दिने प्रवृती गलत हो’ उहाँले भन्नुभयो, ‘सांसद विकास कोषलाई कोरोना नियन्त्रण कोषमा रुपान्तरण गर्न माग गर्दछु ।’
महामारीको प्रकोपले मानव जिवन नै संकटमा परेको बेला यसको दीर्घकालिन रोकथामको लक्ष लिएर प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रमा प्राण रक्षक अक्सिजन प्लान्ट लगायत कोभिड नियन्त्रणमा लगाउन सके महामारी नियन्त्रणको कोशे ढुंगा सावित हुन सक्ने उहाँले बताउनुभयो ।
यस्तै, उहाँले प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदबीच विभेद गरिएको आरोप पनि लगाउनुभयो । प्रत्यक्ष निर्वाचितलाई ‘दिने’ र समानुपातिक सांसदलाई ‘माग्ने’ जस्तो व्यवहार भएका भन्दै उहाँले यस्तो व्यवहार तत्काल सच्याउन पनि आग्रह गर्नुभयो ।
















