नेकपा (मसाल) प्रवक्ता रामप्रकाश पुरीले कम्युनिस्ट पार्टीभित्रका सबै प्रकारको खराबी विरुद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।
माओत्सेतुङको एक सय उनन्तिसौँ जन्मजयन्तीको अवसरमा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
नेकपा (मसाल) बागमती प्रदेश ब्युरोको आयोजनामा २०७८ पुस ११ गते (डिसेम्बर २६) का दिन बागबजारमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो– ‘आज माओत्सेतुङको एक सय उनन्तिसौँ जन्मजयन्तीको अवसरमा हामीले प्रण गरौँ, हामी कम्युनिस्ट पार्टीभित्रका सबै प्रकारका खराबीका विरुद्ध निर्मम सङ्घर्ष गर्ने छौँ ।’
‘एकताबद्ध होऔँ; सङ्गठित बनौँ’ प्रवक्ता पुरीले भन्नुभयो– ‘क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउनका लागि सङ्गठनलाई सुदृढ गर्नु नै माओत्सेतुङ विचारधाराप्रतिको सच्चा सम्मान हुने छ ।’
उहाँले पार्टीभित्र असहमति उत्पन्न हुनु कुनै नयाँ विषय नभएको बताउँदै मुख्य कुरा असहमतिका बाबजुद निर्णयलाई कार्यान्वयन गर्ने बोल्सेभिक स्प्रिट भएको बताउनुभयो ।
‘पार्टीभित्र विमति राख्नु सुन्दर कुरा हो’ उहाँले भन्नुभयो– ‘त्यो भन्दा सुन्दर कुरा हो, विमतिका बाबजुद निर्णय भएका विषयलाई कार्यान्वयन गर्नु ।’
उहाँले पद, पैसा र प्रतिष्ठाका लागि कम्युनिस्ट आन्दोलनभित्र पनि विचलन देखा परिरहने बताउँदै त्यसका विरुद्ध क्रान्तिकारीहरूले लगातार सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले चीनमा माओको नेतृत्वमा धेरै सङ्घर्ष उग्रवामपन्थी अवसरवादका विरुद्ध गर्नुपरेको बताउनुभयो ।
‘ली ली सानको वामपन्थी गल्तीका कारणले करिब ६३ हजार कार्यकर्ता गुमाउनुप¥यो’ उहाँले भन्नुभयो– ‘त्यसपछि माओले लामो अभियान सुरु गर्नुभयो, त्यसो नगरेको भए वाङ मिङको नेतृत्वमा अर्को वामपन्थी गल्ती हुने सम्भावना थियो र त्यसबाट झन् ठुलो क्षति हुन सक्दथ्यो ।’
उहाँले चीनभन्दा फरक नेपालमा दक्षिणपन्थीहरूका विरुद्ध बढी सङ्घर्ष गर्नुपरेको स्मरण गराउनुभयो ।
चीन र नेपालमाझको भिन्नताबारे सम्बोधन गर्दै उहाँले भन्नुभयो– ‘प्रथम– चीनमा कम्युनिस्ट पार्टीको सङ्घर्ष उग्रवामपन्थी अवसरवादका विरुद्ध बढी थियो; द्वितीय– त्यहाँ संसद् जस्तो वैधानिक सङ्घर्षको निकाय थिएन; तृतीय– चीनमा जताततै आन्तरिक गृहयुद्धको अवस्था थियो; चौथो– चीनमा विकेन्द्रीकृत शासन थियो; पाँचौँ– चीनमा राष्ट्रवादी नीति अपनाउँदासम्म कोमिन्ताङसित राजनैतिक मात्रै होइन, सङ्गठनात्मक सहकार्यसमेत गरेको थियो ।’
‘चीनको नयाँ जनवादी क्रान्ति चीनको एकीकरण गर्र्ने क्रान्ति पनि थियो’ उहाँले सार निकाल्नुभयो– ‘नेपालमा पहिलेदेखि नै केन्द्रीकृत शासन छ ।’
उहाँले चिनियाँ कम्युनिस्ट पार्टीले माओको नेतृत्वमा कार्यनीति र रणनीतिको सन्तुलित अभ्यास गरेको बताउनुभयो ।
कार्यक्रममा सम्बोधन गर्दै राजमोका केन्द्रीय सचिव हिमलाल पुरीले माओत्सेतुङले माक्र्सवाद–लेनिनवादमा सृजनात्मक योगदान थपेको बताउनुभयो ।
महान् सर्वहारा सांस्कृतिक क्रान्तिको सन्दर्भ उठाउँदै उहाँले नेपालमा त्यसको झन् बढी महत्त्व रहेको बताउनुभयो ।
‘नेपालका कम्युनिस्ट भनाउँदा नेताहरूकै नीति र व्यवहारमा भिन्नता छ’ उहाँले भन्नुभयो– ‘यस्तो सन्दर्भमा चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको ठुलो महत्त्व थियो ।’
कार्यक्रममा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, अखिल नेपाल कानुन व्यवसायी सङ्घका महासचिव अधिवक्ता लक्ष्मणदेव पाण्डे, जातीय समता समाजका महासचिव भक्त विश्वकर्मा, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सचिव प्रकाश थापामगर, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सल्लाहकार रमेश पौडेल र अखिल (छैठौं) का पूर्वकेन्द्रीय सल्लाहकार भीष्म जोशीले पनि मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा अखिल नेपाल बुद्धिजीवी सङ्घका कोषाध्यक्ष भोला ढकाल, राजमो काठमाडौँका अध्यक्ष झविन्द्र बेलबासे, सचिव छवि खनाल, युगदर्शनका गोविन्दकुमार शर्मा र प्रगतिशील पत्रकार सङ्घ काठमाडौँका अध्यक्ष रोसन दानीको पनि आतिथ्य रहेको थियो ।