नेकपाएमालेका नेता घनश्याम भूसालको कान्तिपुर दैनिकमा चैत्र २ गते प्रकाशित एक लेखले नेपालका कम्युनिष्ट पार्टीहरुबीच एकता हुन नसके आसन्न निर्वाचनमा पराजय मात्र होइन , नेपालको कम्युनिष्ट आन्दोलन नै सत्यानास तर्फ लाग्ने सम्भावना देखाइएको छ। सो लेखपछि भूसालले इमेज च्यानलको हटसिट कार्यक्रममा वामपन्थीहरुको एकताका बाधा र बाधकहरु बारे केही आग्रह गरेका छन्। यसपछि उनको आग्रहको पक्षमा कार्यकर्ताहरु र विपक्षमा नेतृत्व बहसमा उत्रिएका छन्। यो बहस कुन दिशामा डोहोरिन्छ या कता डोहोर्याउनु पर्ने हो, त्यसको निष्कर्ष निस्कियोस् भनेर नेपाल रिडर्सले मतअभिमतमा बहस चलाउन चाहेको छ। सोही अनुसार यो चर्चा यहाँ प्रस्तुत गरिएको छ (सं.)।
कान्तिपुर दैनिकमा चैत्र २ गते प्रकाशित कमरेड घनश्याम भूसालको लेखले नेपालका कम्युनिष्ट पार्टीहरुका बीच एकताको सम्भावना बारे फेरि बहसको माग गरेको छ। (यहाँ कम्युनिष्टहरुका कुरा नगरेर कम्युनिष्ट पार्टीहरुका कुरा मात्र गरिने छ) २०१९ यता निरन्तर विभाजन र एकताको गोलचक्करबाट गुज्रिरहेका कम्युनिष्टहरुका बीच सबैभन्दा शक्तिशाली ध्रुविकरण २०७४ को आम निर्वाचनका समयमा भएको थियो। नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी मसालको खुला मोर्चा राष्ट्रिय जनमोर्चाका बीच चुनावी तालमेल गरेर जाने सहमतिले कम्युनिष्ट पार्टीलाई मत दिने र दिदै आएका मतदाताहरु, ती पार्टीका समर्थक, शुभेच्छुक र कार्यकर्ताका बीच उत्साह छाएको थियो। निर्वाचन परिणामले यो सहकार्यको औचित्य पुष्टि गरेको थियो। कम्युनिष्ट पार्टीकै झण्डा बोकेर संघीय संसद र सात मध्ये ६ प्रदेशमा बहुमत हासिल भएको थियो। यो समकालीन विश्वका कम्युनिष्ट पार्टीहरुका लागि र तिनको राजनीति हेरिरहेकाहरुका लागि पनि आश्चर्यजनक सफलता थियो। नेपालमा त्यसको पर्याप्त आधार थियो।
निर्वाचनको ६ महिनापछि एमाले र माओवादी केन्द्रका बीच एकता भयो। एकता पछिका अनुभवहरु त्यति उत्साहजनक रहेनन्। गतवर्ष माओवादी र एमाले फेरि आफ्नै घर—गोठमा फर्के। एमालेमा समेत विभाजन आयो र अहिले नेकपा एकिकृत समाजवादी बनेको छ। कठिन देखिएको एकता हुन जति सजिलरी भयो, विभाजन त्यतिकै सहज ढंगले भयो।
यसले दुइवटा कुरा देखाउँछः
पहिलो, नेपालका कम्युनिष्ट घटकका समर्थक, कार्यकर्ता र तिनका मतदाता कम्युनिष्टहरुका बीच एकता होस्, मिलेर आउन् भन्ने चाहन्छन्। एकताबद्ध भएर जाँदा तिनको तागत ह्वात्तै बढ्छ।
दोस्रो, कम्युनिष्ट पार्टीको नेतृत्व एकतामा भन्दा विभाजनमा बढी रमाउँछ, विचारधारा भन्दा वैयक्तिक आग्रह, दिर्घकालीन हित भन्दा अल्पकालीन स्वार्थले कम्युनिष्ट नेताहरुलाई हिँडाउँछ।
अहिले निर्वाचनको मुखमा नेकपा एमाले नेतृत्व एक्लै निर्वाचन सामना गर्ने रनाहामा छ, दौडाहामा छ। अरु कम्युनिष्ट पार्टीहरु कतै न कतै चुनावी गठबन्धनको खोजीमा छन्। दुवैतिरको मनोविज्ञान बुझ्न सकिन्छ।
तर मैले केही महिना यता जे जति कम्युनिष्ट कार्यकर्ता र जिल्लास्तरका नेतालाई भेटेको छु तिनमा एउटा समान धारणा देखिन्छः कम्युनिष्टहरुका बीच एकता नहुँदा काँग्रेसलाई फाइदा पुग्छ। नेपालका कम्युनिष्ट पार्टीहरुलाई वामपन्थी मान्ने हो भने उनीहरुको विकल्प दक्षिणपन्थी या मध्य दक्षिणपन्थी शक्तिहरु नै हुन्। यद्यपि विचार र व्यवहारले नेपालका मुख्य कम्युनिष्ट घटकहरु मूलतः मध्यपन्थी अथवा मध्य दक्षिणपन्थीजस्ता देखिन्छन्। तैपनि नेपाल र विश्वभर नै यिनीहरुलाई कम्युनिष्ट नाम भएकै कारणले पनि होला वामपन्थी नै मानिन्छ।
विश्वभरको प्रवृत्ति केलाउँदा के देखिन्छ भने हरेक देशको जनमतको ४० देखि ४५ प्रतिशत वरपर यस्ता अनेक रङका वामपन्थी भनिनेहरुको पक्षमा र अर्को ४० देखि ४५ प्रतिशत चाँही उदारवादी, या दक्षिणपन्थी अनुदारवादीहरुको पक्षमा रहेको हुन्छ। बाँकी जनमत एजेण्डाले या लोकप्रियताले डोहोरिन्छ र निर्वाचन परिणाम बदलिइरहन्छ।
नेपालका कम्युनिष्ट पार्टीहरुले गत निर्वाचनमा ल्याएको मत र गैरवामपन्थीले ल्याएको मत हेर्दा देखिएको/देखिने पनि त्यही हो। हालै इञ्जिनीयरहरुको संगठनको निर्वाचनमा आएको मतको प्रवृत्तिले त्यही कुरालाई पुष्टि गर्छ।
यसरी हेर्दा अहिले एमाले सबैभन्दा ठूलो राजनीतिक दलका रुपमा रहेको र एक्लै निर्वाचन लड्न हिँडेको भएपनि गत आम निर्वाचनमा उसले पाएको मतको हिस्सा त्यही ४० देखि ४५ प्रतिशत हो । स्मरण गर्नुपर्ने के छ भने त्यो हिस्सा वरपरबाट अरु कम्युनिष्ट घटकलाई पनि हिस्सा दिएर प्राप्त भएको हो। अहिले एमाले अध्यक्ष कमरेड केपी शर्मा ओली अरु राजनीतिक दलका नेता भन्दा लोकप्रिय रहेको देखिएका छन्। उनको नेतृत्वकै कारण गैरवामपन्थी मतदाताको एउटा हिस्साले पनि एमालेको पक्षमा मतदान गर्न सक्छ। दक्षिणपन्थी शक्तिले पाउने मत घट्न सक्छ।
यसमा ध्यान दिनु पर्ने कुरा गत निर्वाचनमा प्राप्त शक्ति सुरक्षित राख्न नसकेको र विभाजित पनि भएकोले त्यसको मार एमालेलाई पर्ने निश्चित छ। यसको परीक्षण यसै निर्वाचनले गर्नेछ। अरु कम्युनिष्ट पार्टीले पनि राम्रो प्रदर्शन गरेर एक्लै शक्ति आर्जन गर्ने सम्भावना देखिन्न। यसको अर्थ हुन्छ कमसेकम कम्युनिष्ट पार्टीहरु एउटै मोर्चामा उभिए भने तिनले सहजै जीत हासिल गर्लान्। अन्यथा सोलोडोलोमा दक्षिणपन्थीहरुको हात माथि पर्छ।
तर भूसालले भन्नुभए जस्तो तत्काल कम्युनिष्ट एकता र सहकार्यको सम्भावना म चाहीं देख्दिन। स्थानीय निर्वाचनका सन्दर्भमा पालिकास्तरमा कतै कतै तालमेल होला, हुन सक्ला तर विभाजनका मुख्य कारण र अन्तर्यहरुले देखाउने कुरा चाहीं के हो भने अहिलेकै नेतृत्वका बीच तत्काल एकीकरण असम्भव छ। भूसालको भाषामा ‘काँग्रेस चढेको सुनको पाल्की बोकिरहेका कम्युनिष्ट नेताहरु र पाल्की अर्कालाई चढ्न दिएर परबाट जिस्क्याइरहेका’ एमालेका नेतृत्वबाट कथंकदाचित एकताका कुरा भइहाले भने पनि त्यो अल्पकालीन स्वार्थका लागि एक अर्कालाई उपयोग गर्ने हदसम्म सिमित हुनेछ। मेरो विचारमा विगतमा एमाले र माओवादीमा आएका विभाजन र एकता पछिका प्रवृत्तिहरुलाई हेर्दा, आगामी निर्वाचनसम्म यी सबैले अलग अलग बाटो हिँड्ने र ठक्कर खाएकाहरुले एकताको बाटोको उपाय खोज्लान्।
तर एकता गरेर बाहेक यी सबैले लामो समय कम्युनिष्ट झण्डा बोकेरै राष्ट्रिय राजनीतिमा भूमिका पाइरहने कुरामा मलाई चाहीं विश्वास छैन। यसकारण पार्टी बाहिरबाट भएपनि कम्युनिष्टका बीच एकताको बहस चाहीं अहिले नै थालेको राम्रो।