हिंजो आज प्रवाशी मजदुरहरूले आत्महत्या गरेको गम्भिर अबस्थालाई नियाल्दा दुःख लाग्छ । आखिर आफ्नो जीवन लिला नै समाप्त पार्ने अबस्था किन सिर्जित भएको होला ? भन्ने प्रश्नको उत्तरमा कयौंले कायर भएर, आईपरेका समस्यहरूसँग संघर्ष गर्न नसकेकर पनि भन्छन् । त्यो एउटा पाटो हो, आत्महत्या गर्नु कुनै पनि समस्याको हल होइन । तर यो अबस्थाको आन्तरिक पक्षलाई केलाएर हेर्नेहो भने कयौं जटिलता पनि छन् । यो भन्दै गर्दा मेरो समर्थन आत्महत्या गर्नेहरुप्रति होइन । तर पनि सबै बाटाहरू बन्द भएपछि नै मानिसले यो बाटो छोप्दो होला भन्ने मलाई लाग्छ ।
हिंजो एकजना साथिले आत्महत्या गरे हामी उनको मलामे बाहेक अरू सहयोगी बन्न सकेनौ । उनी किन मरे ? त्यो रहष्यनै बन्यो । मालिकको ब्यबहार देख्दा त्यो आफै पनि उसको मृत्युमा अत्याधिक चिन्तित देखियो । कसैलाई उनले घरमा फोन गर्दा अन्तै फोन जानेर उसले पटक–पटक फोन जांदा धम्काउँने गरेका कुराले उनी चिन्तित थिए भन्ने उनको नजिकका साथिले भनेका थिए, तर उनी किन आत्महत्या गरे त्यो एकप्रकारले रहष्यनै बन्यो । यस्ता आत्महत्या घटनाहरु भारतस्थित नेपालीका बीचमा थुप्रै भेट्टिन्छन् । गत साल मात्रै चेन्नईमा १८÷१९ वटा आत्महत्याका घटनाहरु घटेका थिए । यस्ता जोजति घटनाहरू भेट्टिन्छन् तिनका बेग्ला बेग्लै कथा र ब्याथाहरू हुन्छन्, तर त्यो सबैको मुख्य र प्रमुख दोषि भनेको प्रवासी जीवन नै हो।
हामी आफ्नै देशमा आफ्ना परिवारको माझमा बसेर झिनामसिना काम पाएको भए हामीले आफुमा आएका स–साना समस्यालाई आफ्नो परिवारमा शेयर गर्न सक्थ्यौं । त्यसबाट धेरैजसो समस्यहरू समाधान हुने थिए । यसरी आत्महत्या नै गर्नुपर्ने अबस्था आउँदैन थियो होला । हुन स्वदेशमा परिवारका साथमा रहेकाहरुले आत्महत्या नगरेका होइनन् । तर पनि परिवार भन्दा टाडा बस्नु पर्दाका पिडाले मानिसलाई डिप्रेशनको शिकार बनाई दिन्छ त्यसबाट पनि उनीहरू यस्तो पाईला चाल्न बाध्य हुन्छन् होला भन्ने लाग्छ ।
धेरै पहिले एकजनाले आत्महत्या गरेका थिए, हामीले त्यो आत्महत्याको अनुशन्धान गर्दा युवा जवान घर छाडेको केहि बर्ष बितेको तर कुनै आफन्तिका घर आउँदा जांदा रातीमा उसैको महिलालाई मादक पदार्थ सेवन गरेको नशा लाग्दा होश गुमाएर छोप्न गएको र जब उसलाई त्यस बारे एहशास भयो उसले आफुबाट भयानक गलति भएको ठानेको र नजिकको साईनो पर्ने भएकोले त्यो युवाले आफु जीवीत नरहे कै राम्रो भनेर एउटा नहरमा हाम फालेर आफ्नो जीवन लिला समाप्त पारेको थियो । त्यस्तै प्रकारले एकजना ब्यक्तिले किन आत्महत्या गर्यो भने उसलाई उसको श्रीमतिले छाडेको अनि आर्की यस्तै महिला परपुरूषसँग लागेपछि उसले पनि आत्महत्या गरेको, यस्ता कयौं घटनाहरू हाम्रो बिचमा आएका हुन्छन् ।
केहि दिन पहिले हामी कहाँ एउटा निविदेन आएको थियो । निवदेनमा उनीहरू चार पाँच जनालाई एउटा फर्ममा केहि महिनादेखि काम गराइरहेको तर नत उनीहरूलाई तलब दिएको न उनीहरूलाई त्यहाँबाट जान दिएको । उनीहरू मध्य एउटा युवाको माघको महिनामा बिहे हुने घरमा निश्चित थियो तर मालिकले छुट्टि नै नदिएएको, उल्टै फोन समेत खोसेर लुकाई दिएको उल्लेख थियो ।
त्यो अबस्थामा उनीहरू त्यहाँबाट कसरी उम्किने ? पत्ता गर्दा त्यो त्यहाँको गुण्डा पुलिसमा उसको खिलाफ कैयौं कम्पलन पहिलेदेखि तर पनि प्रशासनले समेत उसलाई केहि गर्न नसक्ने भए पछि नेपाली मजदुरले के गर्न सक्छन् ? यस्तै घटनाहरूको शिकार प्रवाशमा काम खोज्दै हिंडेका नेपाली श्रमजीवीहरूको अबस्थाछ ।
हामीले कयौं पटक होटेलमा गर्ने मानिसलाई रोटी चिसो दियो भनेर बोरीमा हालेर टेक्टरमा बांधेर लतारी लतारी मारेको केस पनि संगठनको बलमा उसलाई जेलहाल्न सकेका थियौं । दन्दुरमा हालेर मालिकले मारेको घटनाहरू पनि छन् । कयौंलाई बदुंवा मजदुर बनाएको लामो समय पछि हामीले एकता समाजको माध्यमबाट मुक्त पनि गराएका थियौं । कुखुराको फारममा खाल्टो खनेर गाडेको लासलाई अठार दिनपछि निकालेर बदमाशहरूलाई जेल भित्र पनि हालेका थियौं । यस्ता तमाम घटना हाम्रो माझमा दिनानु दिन आईलागेका हुन्छन् ।
हामी भारतमा सन १९५० को शान्ति तथा मैत्रि सन्धिको तहत आएकाछौं । तर त्यो सन्धिमा प्रज्वलित अधिकारका लागि नेपाल सरकारले भारतको सरकारलाई एक शब्द बोल्दैन । छनलाई भारतमा नेपाली एमबेसी पनि छ तर दिनानु दिन नेपाली श्रमजीवीहरूको श्रम शोषण मात्रै हुँदैन, उनीहरूको ज्यान समेतको खतरा परेको हुन्छ । झुठा आरोप लगाएर जेलमा पिटाएका कयौं उदाहरणहरू छन् । सरकारले सन्धि गर्नु मात्र ठुलो कुरा होईन, बेला बखतमा त्यो सन्धिनुसार आफ्ना नागरिकले अर्को देशमा सहुलियत पाएका छन् कि छैनन ? त्यो बारे पनि सरकारको ध्यान जानुपर्ने हो तर नेपालले भारतसँग असमान सन्धि गरेर आफु उसैको कटपुतलि बन्दै आएको छर्लंग छ ।
भारतमा नेपालीहरूको संगठन नभएको भए सरकारको भरमा एकदिन पनि नेपालीहरू बाँच्न सक्ने थिएनन् । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरूले आर्थिक, नैतिक, भौतिक रूपमा जनताको माझमा पुगेर आफ्नो ज्यानको प्रवाह नगरेर यहाँका गुण्डाहरु हिंशक जनावर तुल्य असामाजिक तत्वहरुसँग जुझ्दै एकले अर्काको रक्षा गर्दै आएकोले आम सर्वसाधारणका लागि मूल प्रवाहमा आश र बिस्वास पलाएको हो ।
अहिलेसम्म मूल प्रवाहले यस्ता कयौं घटनाहरूमा परेका पिडितहरूलाई उद्धार गर्दै आएको छ । जुन ठाउँमा संगठन बलियो छ, त्यो ठाउँमा स्थानिय गुण्डाहरूको केहि चल्दैन तर जहाँ जहाँ संगठन कम्जोर छ त्यहाँ भने उनीहरूले अहिले पनि मनमानि गर्दै आएका छन् । कयौं नेपाली मजदुरहरू यस्तै घटनाहरूमा परेका हुन्छन् ।
कतिपय अवस्थामा उनीहरूलाई कयौं गुण्डाहरूले धम्काउने गरेकाले पनि सर्व साधारणहरु डराएर डिप्रेशनमा परेर आत्महत्या समेत गर्न पुगेका हुन्छन् । सरकारले आफ्नै देशमा रोजगारको ब्यबस्था गरेर युवाहरूलाई आफ्नो परिवार र समाजको बिचमा बस्न सक्ने बाताबरण सिर्जित गर्न सके हाम्रो अधिकांश समस्या समाधान हुने थियो ।
जुनसुकै अबस्थामा पनि आत्महत्या गर्नुलाई त सहि भन्न सकिदैन । त्यस्तो अबस्था सिर्जित हुन नदेउँ प्रवासमा आए पनि संगठनको नजिक रहेर आफुलाई काम गर्ने ठाउँको ठेकाना स्थानिय समाजका कार्यकर्तालाई देउँ ताकि समाजका साथि भाईहरूसँग भेटघाट हुन सकियोस् । कुन ठाउँमा कस्ता ब्यक्तिहरू छन् बुझेर मात्र काममा लागौं, अन्यथा यस्ता घटनाहरू रोकिनेछैनन् । यस्ता घटनाहरूलाई रोक्न सम्पुर्ण भारतस्थित नेपाली संगठित बनौ र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको साथ दिएर संगठनलाई बलियो बनाउँ ।