नेपालको कम्यूनिष्ट आन्दोलनमा देखिएका नयाँ जोकरहरु

सामान्य बोलिचालिको भाषामा जोकर भनेको आफ्नो अस्तीत्व केवल ‘जोकर’ भएरै धानेको बहुरुपी पात्रलाई जोकर भन्न सकिन्छ । जोकर जताततै देख्न सकिन्छ । सर्केसहरुमा, राम रमिताहरुमा, छरछिमेकमा पनि जोकरहरु रहेका हुन्छन् । तास खेल्दा पनि जोकरलाई प्रयोग गरिन्छ वा जोकर सबैसँग मिल्छ वा प्रयोग हुन्छ, यो रोमान्टीक कुरा हो । जोकरको काम रंगमञ्चमा रमाइलो प्रदान गर्ने प्रहसन गर्ने हो तर उसको आफ्नो मूल्य भनेको ‘जोकर’ नै हुन्छ । अरुको रमाइलोको लागि, अरुको हौसलाको लागि क्षणिक ॅपरनिरभर्ता’को पात्र हो जोकर । रंगमञ्चमा, सिनेमाहरुमा, जोकर हुनु प्राय सबैले जानेको र भोगेको देखेको कुरा भएको हुनाले त्यती चर्चा हुँदैन । त्यो स्वभाविक नै मानिन्छ, तर राजनीतिक रुपमा अहिले नेपालको कम्यूनिष्ट आन्दोलन भित्र विकास हूँदै गइरहेको जोकर प्रवृत्तीको बारे यहाँ सामान्य चर्चा गर्नु अप्रसांगिक हुने छैन ।

रुसको अक्टोबर क्रान्तिपछि बढ्दै गैरहेको विश्वव्यापी कम्यूनिष्टप्रतिको झुकाव र प्रेरणाले चीनको नयाँ जनवादी क्रान्ति पश्चात या भनौं त्यही सेरोफेरोमा नेपालमा पनि जहानीयाँ राणा शासनले नेपाली जनतालाई दिएको सास्ती, निरंकुश पञ्चायती व्यवस्थाले दिएको पिडा र दुःखबाट छुटकारा पाउँदै नेपालमा पनि जनताका छोराछोरीले आफ्नो हिसाबले आफ्नै लागि राज्यसत्ता निर्माण गर्नुपर्दछ र विभिन्न प्रकारका अन्याय, अत्याचार, शोषण दमन र विभेदहरुको अन्त्य गरि त्यसको ठाउँमा सुन्दर समाज, जहाँ सबैका हक, अधिकारहरु सुनिश्चित हुन्छन्, अन्याय र अत्याचारको जालो च्यातिन्छ । जसका लागि एउटा विचारले मात्र मार्ग प्रदर्शन गर्न सक्छ । त्यो भनेको कम्यूनिष्ट विचार हो । यही विचारलाई माथि राख्दै नेपालमा सन १९४९ तदानुसार सिस २००७ मा कम्यूनिष्ट पार्टीको स्थापना गरियो । त्यतीबेला नेपाल भारतमा पढ्न गएका भर्भराउँदा युवाहरु अक्टोवर क्रान्तिवाट बढि प्रभावित भएका थिए र भारतीय कम्युनिष्ट पार्टीको पनि सहयोगमा क. पुष्पलाल श्रेष्ठ, नर बहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य र रामविलास जोशी थिए । पछि मोती देवीलाई पनि सामेल गरेको भने संस्थापक सदस्यको रुपमा मान्ने कतिपय पक्षबाट कुरा आयो । तर वास्तविकता के थियो भने उनी नेकपाको स्थापना कालमा कलकत्तामा उपस्थित थिइनन् । खैर त्यसको संस्थापक पुष्पलाल नै थिए र हुन् । जुन उद्देश्यले नेकपाको गठन भएको थियो, त्यो उद्देश्य प्राप्तीको लागि यो कम्युनिष्ट पार्टी अघि बढ्न सक्छ कि सक्दैन भने चुनौती पनि उत्तीकै थियो । राणा राजा र पञ्चहरुको चंगुलबाट बचाउँदै आफ्नो लक्ष्यतिर बढ्न योजन बनाउन कम चुनौतीपूणर् काम थिएन । एकातिर तत्कालीन व्यवस्था र त्यो व्यवस्थाको बागडोर सम्हालेका व्यावस्थापकहरुमा भनौं शासकहरुसँग संघर्ष गर्नु परिरहेको थियो भने, अर्कोतर्फ कम्युनिस्ट सिद्धान्त र विचार अनुरुपको संगठन निर्माण र विकास गर्नु थियो । यसै सन्दर्भमा विस २०१७ सालमा विहारको दरभंगामा प्लेनमको आयोजना गरियो । यसपूर्व प्रथम महाधिवेशनले चुनेका महासचिव केशरजंग रायमाझी दरबारको मार्गमा लागिसकेका थिए । २०१७ को दरभंगा प्लेनममा खासगरि ३ वटा विचारहरु आएका थिए, १. पुष्पलालको संसद पुनस्र्थापना हुनुपर्ने माग थियो । २. तुल्सिलाल लगायनका केही नेताहरुले संसदीय निर्वाचन हुनुपर्दछ भन्ने माग थियो । ३. क. मोहनविक्रम सिंहले संविधान सभाको चुनाव हुनुपर्दछ भन्ने प्रस्ताव थियो । उपर्युक्त ३ वटै प्रस्तावहरुमाथि व्यापक छलफल चलेपछि त्यो प्लेनमले मोहनविक्रम सिंहको संविधान सभाको चुनाव हुनुपर्दछ भन्ने प्रस्ताव बहुमतले पारित गरेको थियो । तर विडम्बना के रह्यो भने प्लेनमले पारित गरेको प्रस्तावलाई व्यवहारिक रुप दिनको साटो उल्टै केन्द्रीय समितिको बैठकले संविधान सभाको चुनावको मागको प्रस्तावलाई खारेज गराइयो । तर २०६२/०६३ पछि बल्ल संविधान सभाको चुनाव गर्नुपर्ने रहेछ भन्ने सबै राजनीतिक पार्टीहरुको चेत खुल्यो र संविधान सभाको निर्वाचन सम्पन्न भएको थियो र अहिले हामी गणतन्त्रिक मुलुक भित्रका नागरिक भएका छौं । दुखका साथ भन्नु पर्दछ, संविधान सभाको नारा २०१७ साल मै मानेर सबैले अघि बढेको भए नेपाल र नेपाली जनताले या अझै भनौं कम्यूनिष्ट आन्दोलनले आजसम्मका धेरै धक्का खानु पर्ने थिएन ।

२०२८ सालमा झापाली समुहले नयाँ जनवादी व्यवस्थाको नाममा हतियार उठाउने काम गर्यो, त्यसबाट धेरै जनधनको क्षति भयो । २०२८ साल मै क. मोहनविक्रम सिंह कै पहलमा केन्द्रीय न्यूक्लसको गठन भयो । त्यतिखेर विभिन्न जिल्लाहरुमा अलग थलग परेको नेपालको कम्यूनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने अभिप्रायले सो कार्यलाई अघि बढाइयो । न्यूक्लस भित्र पनि कतिपय नेताहरुको संसदप्रति बढि झुकाव, राजाप्रति वफादारी देखिंदै जाने प्रवृत्तिको विकास भयो भने रिम र आरसीपी अमेरिका जस्ता साम्राज्यवादी एजेन्टका घुषपैठियाहरुले नेपाली कम्यूनिष्ट आन्दोलनलाई फूटपार्ने कोशिस मात्र गरेनन् सफल भएरै छाडे । जसको नतिजा २०४२ सालमा पार्टीमा फूट, २०५२ सालमा शुरुभएको माओवादी आन्दोलन पनि त्यहि रिम कै प्रेरणा र दबाबमा शुरु गरिएको थियो । त्यो सैन्य कारवाई नितान्तै क्यारिरिष्ट सोंच र चिन्तनले अनुग्रहित थियो । जसको अफसफल मात्र होइन, दक्षिणपन्थी विसर्जनवादमा सुरक्षित अवतरण हुनु अपरिहार्य थियो र भयो । यस बीचमा थुप्रैले मसाल र मोहनविक्रमका विरुद्ध विषवमन गर्दै दुष्प्रचार गर्दै हिंडे ।

सेना नभएको कम्यूनिष्ट पार्टी, कम्यूनिष्ट पार्टी हुन सक्दैन भन्नेदेखि लिएर मोहनविक्रमलाई गाली गलौजको राजनीतिले प्रहार गर्ने काम गरेका थिए । र अध्यावधी त्यो शिलशिला कायमै छ । खासगरि ने.क.पा. (मसाल) को आठौं महाधिवेशन सम्पन्न भैसकेपछि पार्टीलाई खोट लगाउने, तर आफ्नो हैसियत विर्सने आफ्नो जिम्मेवारी सर्लक्कै विर्सने र त्यसको कमी कमजोरी र दोष पार्टी नेतृत्वलाई लगाउने पुरानो परम्परा दोहोरिएको छ । जसरी पार्टीलाई दक्षिपंथीको कगारमा खडा गर्ने र आफू क्रान्तिकारी भएको रिहर्सल गर्ने तरिका यति छिटो उदांगो पर्यो कि शायद हि कसैले सोंचेको थियो होला । दक्षिणपंथी हाउगुजी देखाएर पार्टी विरुद्धमा नकारात्मक सन्देश फैलाउैदै र प्रचारवाजी गर्न काँग्रेससँग मिल्यो, जसपासँग मिल्यो, आदि र यस्तै कुतर्कले वास्तविकतालाई छेक्ने दुस्प्रयास भइरहेको छ । कुरा काटन्, विरोध गर्न, गाली गर्न सोंचेभन्दा सजिलो छ, तर गरेर देखाउन र आफ्नो उदेश्यप्रति निरन्तर खटिरहन आवश्यक हुन्छ ।

आफूले सबै कुरा जानिसकेको बुझिसकेको घमण्ड जब मानिसमा पैदा हुन्छ, त्यसले क्यारीरिष्ट (महत्वकांक्षी) एकांक्षी र लफ्फाजीतर्फ डोर्‍याउन थाल्दछ । जब राजनीतिमा महत्वकांक्षी र लफ्फाजी बढ्दै जान थालेपछि त्यहाँ रिहर्सल चल्छ । जस्तो कि कम्यूनिष्टको न्यूनतम् कार्यक्रम अहिलेको नेपालको सन्दर्भमा अर्धसामन्ती र अधैऔपनिवेशिक जालोलाई च्यातेर फ्याँक्ने र नयाँ जनवादी क्रान्तिको लागि आधार तयार पार्दै जाने नै हो । तर यहाँ वस्तुगत स्थितिको ख्याल नगरिकन राजनैतिक कुराको उठान गर्नु अधिभूतवादी सोंच हो । जुन सोंचले पुनरुत्थानवादी, प्रतिगामी शक्तिहरुलाई फाइदा पुग्दछ । त्यसकारण हामीले ठोस स्थितिको ठोस विश्लेषणका आधारमा नै विचार निर्माण गर्नुपर्दछ । यसरी निर्माण भएको विचार नै दूरदर्शी र क्रान्तिकारी हुन्छ । जब आकाशमा कालो बादल मडारिएको छ, चिसो अनुभुती भएको छ भने पक्कै पानी पर्छ भन्ने विश्लेषण ठोस विश्लेषण हो । बैज्ञानिक ठम्याई होस् वा भनौं पुष्टी हो । तर आकाश कालो बादल मडारिरहेको छ चारैतिरबाट चिसो हावा बढेको छ, गड्यांगुडुं आवाज आइरहेको छ भने । यो केही होइन, हिंजो अस्ती पनि यस्तै भएको थियो, पानी परेन, आज पनि पर्दैन यो भन्नु हठी हो । अबैज्ञानिक कुरा हो । यो हठी कुराले हामीलाई सत्यबाट टाठा वैज्ञानिकबाट अवैज्ञानिक दिशातिर डोर्‍याउने गर्दछ । जसले मानिसलाई जोकरको हदसम्म पुर्‍याउँछ र लामो समयसम्म पार्टी, क्रान्ति, संगठन, परिवर्तन भन्दै पार्टीमा काम गरेका नेताहरुलाई स्खलित बनाई दिन्छ ।

व्यक्तिहरुलाई या भनौं नेताहरुलाई आडम्बरी, दम्भी र अति आत्मविश्वासी बन्न खोज्ने तरिकाले निरन्तरता दिन सक्दैन । निरन्तरता पाउनको लागि आरोह, अबरोहहरुलाई रचनात्मक छलफलको माध्यमबाट अघि बढाउनु पर्छ । तर छलफलको नाममा रचनात्मक नभई ध्वंसात्मक भयो भने त्यो अराजक वा विध्वंस तिर नै अग्रसर हुँदै जान्छ । अहिले केही समय पहिला ने.क.पा. (मसाल) भित्र देखिएको तरिका ध्वंसात्मक नै थियो र छ । जसले पार्टी क्रान्तिकारी बनाउने, एक ढिक्का बनाएर लैजाने भन्दा पनि फूटकर रुपमा सृजना भएर दिमागमा बसेका कुण्ठा, दोष र आवेगको समस्टीगत रुपमा सार्वजनिक गरिएको ने.क.पा. (मसाल) समन्वय समिति र राष्ट्रिय जनमोर्चाको समन्वय समितिको नामबाट प्रहसन गर्न खोजिएका क्रियाकलापहरु हुन् । जसले भिन्न विचारको नाममा, क्रान्तिकारी विचारको नाममा देखापरेका अवान्छित गतिविधिहरुलाई पूणर् रुप दिएर अलग पार्टी भन्दा पनि समानान्तर गतिविधि सञ्चालन गर्दै विध्वंसको बाटोमा पुर्‍याइरहेको छ ।

निरन्तर रुपमा खटिरहँदा आफूले सोंचे जस्तो, चाहे जस्तो र भने जस्तो हुँदैन । पार्टीमा निरन्तर रुपमा खट्नु पर्दछ । आलोचना सहनु पर्दछ । व्यक्तिगत लगानी गर्नुपर्दछ तर व्यक्तिगत स्वार्थ त्यागनुपर्दछ । बल्ल पार्टी हितको लागि काम गर्न सकिन्छ, तर पार्टीमा लागेका केही मानिसहरु अहिले उदेश्य प्राप्ती या लक्ष्य प्राप्तीमा भन्दा नितान्तै, व्यक्तिगत फाइदा, मान सम्मानमा दौडधुप गर्ने प्रवृत्ती बढेर गएको छ । इमान्दारीता, अनुशासन, सक्रियता, धैर्य र संयमता, जस्ता न्यूनतम मानवीय मूल्यहरु पनि गुम्दै गैरहेको सन्दर्भमा कम्युनिष्ट पार्टीमा लागेका कतिपय व्यक्तिहरुको भूमिका जोकरको भूमिका जस्तै रहँदै आएका छन् । कहिले कोसँग मिल्न वार्गेनिङ गर्ने, कहिले कोसँग वार्गेनिङ गर्ने, अनि आफूलाई संयोजक बनाउने पार्टी एकताको ढोंग रच्ने र आफ्नो आस्थाको पुञ्जलाई भत्काउने लिलामी गर्ने र कौडीको स्वार्थमा भेटी चढाउने यो वास्तवमै कम्यूनिष्ट आन्दोलनमा देखिएको घटिया प्रवृत्ती हो । नेपाली कम्युनिष्ट आन्दोलन भित्र देखापरेको यो घटिया प्रवृत्तीले आफूले जिम्मा पूरा नगर्ने, काम नगर्ने, अरुले गरेको कामको विरोध गर्ने, अरुलाई निष्कृय पार्न प्रयत्न गर्ने जस्ता बेइमानी र वेतुकका क्रियाकलापले वास्तवमा कम्यूनिष्ट आन्दोलनलाई नोक्शान पुग्छ । यो नोक्शान पुरयाउने भनेको कथित क्रान्तिकारी ‘जोकरहरु’को कारणले नै हो । तर्सथ जोकरको अभिनय गरि पार्टीमा प्रवेश गरेका पात्र तथा पृवृत्तीहरुसँग सर्तकता अपनाउँदै सुन्दर संसार निर्माण गर्ने महान अभियानमा एकतावद्ध भएर लागौं । एक दिन त्यो सुनौलो दिन पक्कै हाम्रो अगाडि आउने छ । मात्र धैर्य, उत्साह र लगनशिलताको खाँचो छ । सबै खाले राजनैतिक जोकरहरुसँग र जोकर प्रवृत्तीसँग सजग बन्दै अघि बढौं र जिम्मेवारी पूरा गरौं ।

हुन सक्छ, वहाँहरुको नियत ठिक होला, तर परिणामले फूट, विभाजन र ध्वंस तिर प्रेरित गरेको छ । त्यसैले राजनीतिमा नियत प्रमुख होइन, परिणाम प्रमुख हुन्छ भनिएको छ । अन्ततः वहाँहरुको गन्तव्य वहाँहरुले नचाहँदा नचाहँदै पनि गलत दिशा तिर नै अग्रसर भएको छ, जसलाई वहाँहरुका गतिविधिले प्ररित गरिराखेको छ । यसरी अब यात्रा कति र कहाँसम्म अनि कहिलेसम्म भन्ने प्रश्नको उत्तर पनि वहाँहरुसँग छैन । त्यो वहाँहरुका व्यवहार र गतिविधिले नै सावित गर्दै जानेछ । अहिले हामी पनि कामना गरौं विगतदेखि क्रान्तिकारी विचार, धार वा पक्षको नाममा पार्टी फूटाउने अनि अर्कोसँग जोकर रुपी भेषमा मिल्न जाने नौवत वहाँहरुको नआओस् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार