विक्रम सम्वत २०७९ वैशाख ३० गते स्थानीय सरकारको निर्वाचन हुने मिति तय भएसँगै चुनावी माहोल तातेको छ । गाउँ घर, पाखा पखेरा, पानी पँधेरा, वनजङ्गल, चिया पसलदेखि सपिङ मल र शहर बजारका गल्ली गल्लीमा चुनावसँग सम्बन्धित गफहरु हुन थालेका छन् । स्वाभाविक रूपमा राजनैतिक चिन्तन र छलफल हुनु सकारात्मक पक्ष हो ।
क्रियाशील राजनैतिक पार्टीहरुले आ–आफ्नो सम्बन्धित क्षेत्रका लागि केही उम्मेदवार घोषणा गरिसकेको भए पनि धेरैजसो क्षेत्रमा घोषणा हुन बाँकी छ । खासगरी यो स्थानीय चुनावमा पाँचदलीय गठबन्धन र नेकपा (एमाले) बिच कडा प्रतिस्पर्धा हुने सम्भावनालाई नकार्न सकिँदैन । थोरै धेरै स्थानीय निकायमा क्षेत्रीय पार्टीहरु पनि अस्तित्वमा छन् ।
गठबन्धनबाट साझा उम्मेदवार घोषणा हुने प्रक्रियामा छ । पाँचदलीय गठबन्धनको उम्मेदवारी घोषणा सार्वजनिक गर्ने संयन्त्र बनिसकेको र भागबन्डा मिलाउन बाँकी रहेको कुरा विभिन्न समाचार माध्यमबाट जानकारी हुन आएको छ । टिकट बाँडफाँट र व्यवस्थापनमा चुनौतीपूर्ण अवस्था छ ।
गणतन्त्र स्थापनापछि हुन गइरहेको दोस्रो स्थानीय निर्वाचनबाट आगामी ५ वर्षको लागि जनप्रतिनिधिहरु निर्वाचित हुनेछन् । सबै राजनैतिक पार्टीहरु स्थानीय निर्वाचनको लागि आ–आफ्ना धारणा, प्रतिबद्धता र घोषणापत्र लिएर जनताको घर आँगनीमा दौडधुप बढाएका छन् । कयौंँ नेता कार्यकर्ताहरु मोटरबाटो स्तरोन्नती, गाउँ टोलमा घोरेटो बाटो निर्माण गर्ने, पाटी–पौवा बनाउने, नहर तथा सिंचाइको योजना, युवा स्वरोजगार कार्यक्रम, बिजुली, शुद्ध खानेपानी, फोहर र ढलको व्यवस्थापन, गुणस्तरीय शिक्षा, कृषि तथा पशुपालन, सर्वशुलभ स्वास्थ्य सेवा लगाएत अनेकौं जनजीविकासँग सम्बन्धित गुलिया आश्वासन लिएर गाउँ–गाउँ र टोल छिमेकमा ललिपप बाँड्न ब्यस्त छन् ।
कतिपय स्थानीय नेताहरु टिकट प्राप्त गर्नको लागि जिल्ला, प्रदेश हुँदै केन्द्रीय नेतृत्वसँग हार गुहार र बिन्तीपत्र चढाउँदै छन् भने कोही टिकट प्राप्तिको सम्भावना न्यून भएको हुँदा पार्टी परिवर्तन गरिरहेका छन् । यसरी आफू अनुकुल फाइदाको लागि दल फेरबदल गर्ने छद्मभेसी नेताहरु धेरै छन् । पालिकास्तरीय चुनाव पनि दिनानुदिन धेरै भड्किलो र खर्चिलो हुँदै गइरहेको छ । त्यसैले सर्वसाधारण, इमान्दार र सामाजिक चिन्तन र निम्न पुँजी भएका सामाजिक अगुवाइ गर्नेहरु मैदानमा भिड्न कल्पना गर्नसम्म नसकिने परिस्थिति सिर्जना हुनु खेदजनक छ । धेरै पैसा लगानी गर्नेहरु मात्रै चुनावमा उम्मेदवार हुने अथवा पार्टीबाट टिकट पाउने संस्कारको दाहसंस्कार गर्न आवस्यक देखिन्छ ।
अर्को कुरा पार्टीका नेता कार्यकर्ता चुनावको समयमा मात्रै गाउँ समाज, दुरदराजका बस्तिहरु र गरिबिको रेखामुनि जिउन बाध्य नागरिकहरुसँग भलाकुसारी गर्ने, सन्चो बिसन्चो, हालखबर सोधपुछ सहित उनीहरु सँग सेल्फी खिच्ने तथा जनताको सामु उपस्थिति हुने जस्ता अस्वाभाविक परिस्थितिको खुलेरै बिरोध गरौँ । र, उक्त क्रियाकलापमा संलग्न नेतालाई भाटे कार्बाही गर्ने हिम्मत गरौँ । हिजो देशमा संकटकाल लागू हुँदा ठूला ठूला हात्ती पार्टीका स्थानीय नेता कार्यकर्ताहरु कहिल्यै गरिबको बस्तीमा आउन सकेनन् ।
सिर्फ आफ्नो मात्रै मुन्टो लुकाउन शहर पसेको घटना ताजै छ । त्यसकारण ठूलो रुखमुनि ओत लाग्नुपर्ने, संख्यात्मक रूपमा ठूलो पार्टीको सदस्यता लिने अथवा स्थानीय निर्वाचनमा सानो पार्टीको उम्मेदवारले चुनाव जित्न सक्दैन भन्ने जस्ता संकुचित सोचलाई परिवर्तन गरी पार्टीहरुको वैचारिक धरातल र गतिविधिलाई पनि मनन गरौँ । योग्य उम्मेदवार छ भने सानो ठूलो पार्टीको वर्गीकरण नगरी मताधिकार गरौँ । लाखौं रुपैयाँमा टिकट खरिद गरि चुनाव लडेका उम्मेदवारले जितेपछि विकासको मूल फुटाउने अपेक्षा गर्नु मुर्खता हुनेछ । चुनावी प्रचारप्रसारमा धेरै आर्थिक लगानी गर्नेहरु र गरिबिको फाइदा उठाउँदै भोट किन्ने असामाजिक र अस्वस्थ वातावरण सिर्जना गर्ने उम्मेदवारहरुलाई पराजित गर्नुपर्ने आजको आवस्यकता र हामी सबैको कर्तव्य हो ।
एक छाक मासु–भात र एक दुई बोतल पेय पदार्थमा किनबेच हुने र आफ्नो अस्मिता बेच्नेहरु र निशुल्क भोज भतेरमा रमाउनेहरुको लागि यो वर्ष प्रदेश र केन्द्रीय प्रतिनिधि सभाको चुनाव हुने भएकोले दशैँ कयौँ पटक मनाउने सम्भावना छ । स्वाभिमानी नेपालीहरुले यसरी गुन्द्रुकको भाउमा आफ्नो अमूल्य मतलाई बिक्री वितरण गर्नु भनेको गाउँ समाज र भावी सन्ततिको भविष्यसँग खेल्नु हो ।
त्यसैले मतदान बिक्री गर्ने व्यवस्थाको न्यूनीकरण गरौँ र भोट खरिदमा संलग्नको उम्मेदवारी बर्खास्त गर्ने कानुनी प्राबधान कडाइका साथ लागू गर्नुपर्ने आवस्यकता छ । कयौँ नेताहरु शहर केन्द्रित छन् । शहर बजारमा व्यापार व्यवसाय, पेशा गर्ने, स्थानीय जनसरोकारका विषयमा भूमिकाविहीन व्यक्ति टिकट प्राप्तिको लागि गाउँ बस्तिमा घुम्दै गरेका उदाहरण पनि देख्न सकिन्छ ।
चुनावी रस्साकस्सी बढिरहँदा हामीले के कस्ता उम्मेदवारलाई मतदान गरि जिताउनुपर्छ भन्ने विषयमा गम्भीर हुनुपर्ने र हिजो हाम्रो मतबाट जितेका जनप्रतिनिधिहरुको कार्य सम्पादनको समीक्षा गर्नुपर्ने हुन्छ । स्थानीय सरकारका जनप्रतिनिधिले पारिवारिक एवम् अभिभावकत्वको भूमिका बहन गर्नुपर्ने हुन्छ । बिगतमा त्यो सम्भव देखिएन । आंशिक जनप्रतिनिधिहरुले मात्र जिम्मेवारी पूरा गरेको पायौँ ।
त्यसैले आगामी ५ वर्षको लागि हामीले सक्षम, कुशल, राजनैतिक आस्था भन्दा माथि उठेर अफ्ना नागरिकहरुप्रति सम्मानजनक दृस्टिकोण राख्ने, हर घडी जनताहरुको साथ समर्थन र आपतबिपतका कठिनाइमा सारथी हुने, राजनैतिक आस्थाको आधारमा कार्यकर्ता वितरणमुखी होइन सबै क्षेत्रको अपनत्व हुनेगरी योजना र रकम वितरण गर्ने, गाउँ समाजमा विवादास्पद विषय बस्तु उपर तार्किक निर्णय गर्नसक्ने, बौद्धिक, सामाजिक, दूरगामी भिजन भएका र व्यावसायिक राजनीति होइन निस्वार्थ समाज सेवा गर्ने व्यक्तित्वलाई जिताएर पठाउन सक्यौँ भने निश्चित रुपमा हाम्रो गाउँ समाज, वडा, पालिका र नगरपालिका नमूना शहर अथवा गाउँको रूपमा विकसित हुनेछ । तबमात्र हामीले सिंहदरबार गाउँ गाउँमा आएको अनुभुति गर्नेछौँ ।
तर हामी मतदाताहरु त्यो दिशातर्फ अगाडि बढेनौँ र एजेन्डाविहीन राजनैतिक स्वार्थले भरिपूर्ण पदलोलुपहरुको सामु नतमस्तक भइ आफैँ जनप्रतिनिधि आफँै ठेकेदार हुने दलाल माफियाहरुलाई जिताउने अभियानमा सरिक भयौँ भने हामी र हाम्रो समाज रुपान्तरण हुँदैन र अगाडि बढ्न पनि सक्दैन ।
त्यसैले उल्लेखित गूणमा पूर्णता भएका उम्मेदवार पाउन गाह्रो हुनसक्छ तर पनि मापन गरेर कमी बेसिको आधारमा आफ्नो मत जाहेर गरौँ । आफ्नोलाई होइन राम्रोलाई जिताऔँ । आ–आफ्ना पार्टी परिचालन कमिटीमा माथिल्लो नेतृत्वको दबाबमा होइन स्थानीय स्तरका कार्यकर्ताको रोजाइमा रहेका व्यक्तिलाई टिकट दिलाउन पहल गरौँ । अहिले बजारमा युवा नेतृत्वको व्यापक चर्चा छ ।
युवा उम्मेदवारीमा स्वभावतः नयाँ उमंग, जोस, जाँगर र समाज परिवर्तनको फरक दृस्टिकोण हुनसक्छ तर उही पुरानै ढंगको पार्टी पद्धति, नेतृत्वको गुलामी गर्ने, तेल लगाएर मसाज गर्ने झोले प्रवृत्ति जस्ता अवसरवादी युवा उम्मेदवारबाट पनि धेरै अपेक्षा गर्न सकिँदैन ।
त्यसैले जनताको भावनालाई सम्मान गर्दै समतामूलक समाजको निर्माण गर्ने, न्यायोचित ढंगले कार्यसम्पादन गर्ने, भ्रष्टाचार न्यूनीकरण गर्ने, लोभ लालच नगर्ने, नातावाद र कृपावाददेखि टाढा हुने, दक्ष, अनुभवी, कुशल र निष्ठाको राजनीति गर्ने उम्मेदवारलाई यही २०७९ साल वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा आफ्नो अमूल्य मत दिएर विजय गराऔँ ।
(गोपाल गिरी, हाल कुवेत)