#बिन बहादुर रेग्मी
यसो त कुनै जीवित पार्टीमा वैचारिक राजनैतिक मतभेद हुनु स्वाभाविक हो । कतिपय अवस्थामा मतभेद व्यक्तिगत पनि हुने गर्छन् । विश्वभरिमा र नेपालमा पनि पार्टी दल समुह गु्रपमा यस्ता खाले मतभेद हुने गरेको पाइन्छ । खास गरेर राष्ट्रियस्तरको राजनीतिमा प्रभावकारी भूमिका खेल्ने दल, पार्टी समुहमा हुने विवाद वा मतभेदले जनस्तरमा असर गर्छ । विवाद वा मतभेद हुँदैमा पार्टी फुट्दैन, निश्चित साझा बिन्दुमा केन्द्रीत हुँदै पार्टी एकतालाई निरन्तरता दिने गरेको पाइन्छ । यो त बुर्जुवा पूँजीपति वर्गको पार्टीमा पनि लागू हुने कुरा हो ।
निश्चित समयको लागि भए पनि निश्चित साझा मुद्धामा पार्टी एक ढिक्का बनाएर अगाडि बढ्ने गर्छन् । हामीले यहाँ पुँजीवादी बुर्जुवा वर्गको पार्टीमा हुने टुटफुट विवाद वा मतभेदको चर्चा गर्दैनौ । किनकी ति बुर्जुवा वर्गको पार्टीमा टुटफुट विवाद वा मतभेद जे सुकै होस् सर्वहारा वर्गको लागि कौवालाई बेल पाक्यो हर्ष न बिस्मात ! भने जस्तै हो ।
गरीब किसान मजदुरको हकअधिकारमा तिनीहरूको मतभेद वा एकताको टाढा टाढासम्म कुनै साइनो हुँदैन तर पनि सामान्य रूपमा पुँजीवादी बुर्जुवा वर्ग भनिने पार्टी वा दलहरुमा समेत निश्चित विधि विधान नियम बनेको हुन्छ । आफ्नै प्रकारको परिपाटी हुन्छ । त्यसमा पनि गजबको ज्ञानवर्धक कुरा त के छ भने उनीहरुको त्यो सिस्टमलाई लागू गर्न उनीहरू इमान्दार हुन्छन्।
हामी अब जसको कुरा गर्न गइरहेका छौं, त्यो व्यवस्थालाई प्रगतिशील क्रान्तिकारी साम्यवादी व्यवस्था भनेर बुझ्छौं । नौलोजनवाद, समाजवाद र साम्यवादसम्म पुग्नको लागि मार्क्सवाद-लेनिनवाद-माओ विचारधारालाई आफ्नो पथप्रदर्शक सिद्धान्त मान्ने सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीको कुरा गर्दैछौं । किनकी यो विचार र पार्टीले दुःखी सर्वहारा वर्गको चुल्होमा निभेको आगो बालिदिन्छ । तसर्थः यो विचार र पार्टीको कुरा गर्नै पर्ने हुन्छ ।
आज नेपाली राजनैतिक बजारमा देखिएको भ्रम जालझेल षड्यन्त्रमा हामी सचेत र सजग हुनैपर्छ । पहिलो कुरा त के बुझ्नु पर्छ भने एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टी हुनको लागि क्रान्तिकारी नीति सिद्धान्त विचार कार्यक्रम हुनैपर्छ । लेनिनवादी संगठनात्मक संरचना र अनुशासन त्योसँग जोडिएको कुरा हो । विचार र व्यवहार प्रयोगात्मक कसीमा सफल हुन सक्नुपर्छ यो पनि अनिवार्य सर्त हो । हामीले यही लेनिनवादी संगठनात्मक प्रणाली बुझेका तर व्यवहारमा फुटपरस्त अराजक गतिविधि गर्ने अनुशासनविहिन तत्वहरूको थोरै चर्चा गर्नेछौं ।
नेकपा (मसाल) भित्र आठौं महाधिबेसनको संघारमा देखापरेको विवाद वा मतभेदलाई केही समय पछि जागरण क्लबको नाउँमा गुटबन्दी गरेर अगाडि बढेका साथीहरुले अन्ततः महाधिबेशनको सम्पूणर् प्रक्रियामा सामेल भएर सम्पन्न भएको ऐतिहासिक आठौं महाधिबेसनको विरोध गर्न पुगे । विरोध नीतिगत भन्दा पनि व्यक्तिगत बढी थियो । मूल आरोप पार्टी दक्षिणपन्थी भयो भन्ने थियो । चुनावी तालमेल वा सरकारमा जाने, समर्थन गर्ने नीति ाई दक्षिणपन्थी भयो भनिरहेका छन् । फेरि आफै चुनाव उपयोग तालमेलको नीति अपनाएर दक्षिणपन्थीको आरोप झुठ थियो भनेर आफै प्रमाणित गरिसकेका छन् । उनीहरुसँग केवल गालिगलौज, धाईधाम्की, प्रतिशोध, कुण्ठा भन्दो अरु केही छैन । त्यो कुरा गत मंसिरमा सम्पन्न चितवन भेलाको दस्तावेज र त्यसपछि बुटवलमा सम्पन्न भएको पत्रकार सम्मेलनले नै सावित गरेको छ ।
उनीहरुसँग नीति सिद्धान्त विचार कार्यक्रममा भन्दा पनि खासगरि चारवटा झुण्डलाई कसरी टिकाई राख्ने भन्नेमा नै केन्द्रीत छन् । चार झुण्ड मध्य एउटा माओवादीमा जानु पर्दछ भन्ने समुह जो माओवादीमा विलय भइसकेको छ, एमालेमा जानको लागि मोलभाऊ गर्ने समुह, वैद्य माओवादीमा जानुपर्छ भन्ने समुह, एउटा छुट्टै पार्टी बनाएर जाने भन्ने समुह र यी मध्य केही मसिनो स्वरमा मसाल मै फर्किनु पर्छ भन्नेहरु पनि छन् । यो छुट्टै पार्टी बनाएर जाने भन्ने समुहले नै विशेष महाधिवेशनको हल्ला गर्ने र मध्यपन्थी अवसरवादको भण्डाफोर गरौं भन्दै आफ्नै झुण्डलाई भट्टेसराप लगाउनेहरु गरेको पनि देखिएको छ । अब जोकसैले पनि अनुमान गर्न सकिने विषय हो, अझैसम्म आफ्नो पहिचानको अलग्गै नाम राख्न नसक्ने, विचार र सिद्धान्तको भन्दा व्यक्तिगत गाली गलौजको बबण्डर खडा गरेर अति क्रान्तिकारी भएको ढोंग गर्नेहरूले कस्तो विशेष महाधिवेशन गर्लान् ? त्यो भविष्यको गर्भमा नै छ । यस बारे धेरै टिप्पणी गर्नु पर्ने आवश्यक देखिंदैन ।
विशेष महाधिवेशनको माग गर्नलाई त हैशियत पनि हुन पर्ने होला ? यहि पार्टी मै हुनुपर्ने होला । पार्टीले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट कारबाहीमा परेकाहरुले विशेष महाधिवेशनको हल्ला गर्दैमा विशेष महाधिवेशन नभई फूटको वैधानिकता दिनलाई मान्दा कसो होला ? यो विशेष महाधिवेशन होइन । अरु पार्टीमा विलय हुन मोलभाउको लागि विलय महाधिवेशन अवस्य हुनसक्छ । यो मेरो अनुमान हो । म चाहन्छु मेरो अनुमान गलत साबित होस् । उनीहरूको विचार राजनीतिसँग मेरो कुनै पूर्वाग्रह छैन ।
मोहनविक्रमले क्रान्ति गरेनन् भनेर पार्टी छोडेर गएकालाई कसैलाई पनि मोहविक्रम र उनको पार्टी बाधक छैन । उनीहरूलाई क्रान्ति गर्ने बाटो खुल्ला थियो, छ र अहिलेका पनि छ । अब पनि मोहनविक्रमले यसो गरे, उसो गरे, क्रान्ति गर्नलाई छेके भनेर बहानाबाजी केवल आफ्नो कम्जोरी अर्कामाथि थोपर्ने मात्रै हो । साँच्चिकै इमान्दार हो भने त्यो कथित विशेष महाधिबेशनमा क्रान्तिकारी कार्यक्रम तय गरोस् । अन्यथा उनीहरुको क्षमता चितवन भेलाले देखाईसकेको छ । त्यो भन्दा बेग्लै त्यही मोहनविक्रम सिंहको चौथो महाधिवेशनदेखि सातौं महाधिवेशनसम्म पारित गरेको ४०० पेजको दस्तावेज महाधिवेशन हलमा पढ्ने पढाउने र सुनाउने भन्दा अरु कुनै हुनेछैन भन्नेमा म ढुक्क छु ।