दलाल पूँजीवाद र त्यससँगको संघर्ष

अहिले नेपालको बाम राजनीतिक वृतमा दुईटा शब्द ब्यापकरुपमा चलनचल्ती वा प्रयोगमा आएको पाईन्छ । ती शब्द हुन समाजवाद र दलाल पूँजीवाद । समाजवादको विषयमा चर्चा गर्नु यो लेखको उदेश्ये होईन । त्यसैले समाजवादको विषमा प्रवेश गरिरहनु परेन । निक्कै प्रयोग हुने गरिएको अर्को शब्द दलाल पूँजीवाद हो । दलाल पूँजीवादमाथि नै यो लेख केन्द्रीत हुने छ । यी दुईटै शब्दको ब्यापक प्रयोग त भएको छ । तर समाजवादको स्थापना कसरी हुन्छ ? यसको चरित्र, स्वरुप कस्तो हुन्छ? विद्यमान पूँजीवादी ब्यवस्था भित्र शान्तीपूर्ण राजनीतिक प्रतिस्पर्धाबाट समाजवादको स्थापना हुन्छ ? वा त्यका लागि सशस्त्र संघर्षको आवश्यकता पर्दछ ? त्यसै गरि दलाल पूँजीवादको परिभाषा, साम्राज्यवादी शक्तिसँगको यसको सांठगांठ, सामन्ती तथा औपनिवेशिक अवस्था कायम रहदासम्म दलाल पूँजीवाद कायम रहन्छ कि रहंदैन ? दलाल पूँजीवाद विरुद्धको संघर्ष जस्ता विषयमा थुपै्र भ्रमहरु श्रृजना भई रहेका छन् । जसको परिणाम बाम आन्दोलन दिग्भ्रमित हुने ता होइन ? भन्ने आशंका पनि पैदा भएको छ ।

मैले दलाल पूँजीवादको उत्पत्ति,त्यसको परिभाषा र नेपालको सन्दर्भमा नव माक्र्सवादीहरुले दलाल पूँजीवादलाई कुनरुपमा अथ्र्याउने गरेका छन् ? त्यसको विवरण तथा दलाल पूँजीवादका विरुद्धको संघर्ष र त्यस क्रममा देखिएका कतिपय भ्रमको सवालमा यो लेखमा चर्चा गर्ने प्रयत्न गरेको छु ।

पूँजीवादको उत्पत्ति,विकास र त्यसको मरणासन्न रुप साम्राज्यवाद सर्वप्रथम यूरोपको इतिहासमा देखापरेको पाइन्छ । पूँजीवादको विकासको झण्डै ५०० वर्षको इतिहास रहेको पाइन्छ । इंग्ल्याण्डमा भएको औद्योगिक क्रान्तिकाल अर्थात सन १८१५ देखि १८७१ मा औद्योगिक पूँजीवादको विकास अत्याधिक तिव्र ढंगले भयो । औद्योगिक पूँजीवादलाई प्रतिस्पर्धात्मक पूँजीवाद पनि भनिन्छ । प्रतिस्पर्धात्मक पूँजीवादको युग भनेको माक्र्सको युग पनि हो । पूँजीवादको विकासको क्रममा यूरोपमा मजदूरहरलाई खेतबाट बेदखल गरेर वा बढारेर कारखानामा पुर्याएको थियो । इंग्ल्याण्डले अरुमाथि औपनीवेशिक शोषण गरयो । तर अरुको औपनिवेशीक शोषणमा बस्नु परेन । त्यहाँ पूँजीवादको विकास स्वतन्त्र ढंगबाट भयो । अरु मुलुकको पूजीले त्यहाँको सामन्तवादसँग सांठगांठ गर्नुपर्ने भौतिक अवस्था आएन र थिएन । त्यसैले त्यहाँको सामन्तवादसँग विदेशी पूंजीको सांठगांठ भएर सामन्तवादी शोषणलाई कायम राखेर होइन त्यसलाई खत्म गरेर नै ओद्योगिक पूँजीवादको विकास भएको हुनाले पनि होला माक्र्सले दलाल पूँजीवाद र पूँजीपति वर्गको चरित्रबारे ब्याख्या विश्लेषण गर्न वा त्यसलाइ ठम्याउन सम्भव भएन ।

विश्व कम्युनिष्ट आन्दोलनमा सर्वप्रथम दलाल तथा नोकरशाही पूँजीवादलाई चिन्ने त्यसलाई परिभाषीत गर्ने त्यसका विरुद्ध संघर्ष केन्द्रीत गर्ने काम का.माओबाट भएको पाइन्छ । शुरुमा दलाल पूँजीवाद,पूँजीवादी विश्व अर्थ ब्यवस्थाको आम प्रवृत्तिको रुपमा देखापरेको थिएन । चीन भारत तथा नेपाल जस्ता अर्धसामन्ती तथा अर्धऔपनिवेशिक मुलुकहरुमा सामन्तवाद र उपनिवेशवादको घनिष्ठ सहयोगबाट दलाल पूँजीवादको उदय भएको हो । दलाल पूँजीवाद तात्कालीन चिनीया अर्थब्यवस्थाको उपज भएकोले पनि माओलाई चिन्न सजिलो भएको हो ।

सन १९२६ मा माओद्वारा लिखित रचना “चिनिया समाजको वर्ग विश्लेषण” मा, “आर्थिक रुपले पिछडिएको र अर्ध औपनिवेशिक चीनमा जमीन्दार वर्ग र दलाल पूँजीपति वर्ग पूर्णतया अन्तर्राष्ट्रिय पूँजीपति वर्गका पुच्छर हुन । उनीहरुले आफनो अस्तित्व रक्षाका लागि साम्राज्यवाद माथि निर्भर हुन्छन् । यी दुइवटैले सधैं साम्राज्यवादको साथ दिन्छन् ।” माओको ब्याख्याले दलाल पूँजीपति वर्ग तथा साम्राज्यवादी शक्ति बीचको सम्बधलाई स्पष्ट पारेको छ । दलाल पूँजीपति वर्ग पूर्णतया परजिवी हुन्छ । दलाल पूँजीपति वर्गको अस्तित्व साम्राज्यवाद माथि निर्भर हुन्छ । यो वर्गले हमेशा साम्राज्यवादलाई साथ दिन्छ । अर्थात दलाल पूँजीपति वर्ग साम्राज्यवादको सहयोगी तत्व भएको कुरा प्रष्ट छ । दलाल पूँजीपति वर्ग तथा साम्राज्यवाद बीचको सम्बन्ध बारे थप ब्याख्या गर्दै माओले, “चिनिया क्रान्ति तथा चिनिया कम्युनिष्ट पार्टी” शिर्षकको लेखमा लेखेका छन्, “दलाल पूँजीपति वर्ग एउटा त्यस्तो वर्ग हो जसले साम्राज्यवादी देशहरुका पूँजीपतिहरुको प्रत्यक्ष सेवा गर्छ तिनैबाट यसको पालन पोषण हुन्छ ।” दलाल पूँजीपति वर्गको साम्राज्यवादसँग नाता जोडिएको, साम्राज्यवादबाट पालित पोषित, त्यहाँका पूँजीपतिहरुको सेवा गर्ने वर्ग हो । हाम्रो जस्तो पिछडीएको मुलुकमा माओको भनाई अनुसार यो वर्गको, “असंख्य शुत्रहरुले गाउले सामन्तीहरुसँग यसको नाता गांसिएको छ ।” अर्थात दलाल पूँजीपति वर्गको नाता क्रान्ति विरोधी सामन्तवाद तथा साम्राज्यवादी शक्तिसँग गाँसिएकोले यो वर्ग स्वतः क्रान्तिका विरुद्ध खडा हुने प्रतिकृयावादी वर्ग हो ।

दलाल पूँजीपति वर्गको अर्थ, परिभाषा र ब्याख्या माक्र्सवादी साहित्य भन्दा बाहिर कसरी गरिएको छ ? त्यस माथि पनि विचार गर्नु पर्ने आवश्यकता छ । अक्सफोर्ड अंग्रेजी शब्दकोषमा दलाल (कम्प्रेडर) शब्दलाई, “लगानी, ब्यापार वा आर्थिक राजनीतिक फाईदाका लागि क्रियाशील विदेशी संगठनको एजेण्टको रुपमा काम गर्ने ब्यक्ति” को रुपमा अथ्र्याइएको छ । अक्सफोर्ड शब्दकोषले पनि विशेषतः विदेशी संगठनको लागि काम गर्ने स्थानीय एजेण्टको रुपमा परिभाषा गरेको छ । त्यसै गरि डा. गोपाल शिवाकोटीद्वारा लिखित राजनीतिक शब्दकोषमा दिइएको दलाल पूँजीपति वर्गको परिभाषा जस्ताको त्यस्तै यहाँ प्रस्तुत गर्नु भन्दा पनि उक्त परिभाषामा दिइएको दलाल पूँजीपति वर्गको सम्पत्तिको श्रोत के हुन्छ ? भनेर यहाँ प्रस्तुत गर्ने हो भने दलाल पूँजीपति वर्ग तथा साम्राज्यवादका बीचको सम्बन्धका विषयमा माओले गरेको ब्याख्या तथा गोपाल शिवाकोटीले दिएको परिभाषा बीच समानता पाइन्छ । परिभाषामा “विदेशी पूँजीपति वर्गसँग सांठगांठ गरि उनीहरुको उद्योग र ब्यापारलाइ फाइदा पुरयाउने कामकालागि कमिशन बापत सम्पत्ति प्राप्त गर्नु नै उसको पूँजीको मुख्य श्रोतको रुपमा रहने” उल्लेख छ । यो परिभाषाले पनि पूँजीको सम्बन्ध वा सांठगांठ विदेशीसंग रहेको नै बताएको छ । एमालेका एक जना नेता घनश्याम भूसालले आफनो एउटा पुस्तकमा दलाल पूँजीपति सम्बन्धी विदेश लेखकले दिएको जानकारी उल्लेख गरेका छन् ।

उक्त जानकारिमा दलाल पूँजीपति सम्बन्धी परिभाषा पनि सम्मिलित रहेकोछ । यो परिभाषाले ब्यापक क्षेत्र ओगटेको छ । उक्त परिभाषा सम्मिलित जानकारीमा, “दलाल पूँजीपति शब्द १९औं शताब्दीको चीनमा विदेशी कम्पनीका स्थानीय ब्यापारिक प्रतिनिधि(एजेण्ट)हरु चिनाउन प्रयोग गरिन्थ्यो ।पछि विदेशी पूँजीसंग सम्बद्ध सबै क्षेत्रका पूँजीपतिहरुलाई समेटन ब्यापक पारियो” ।भनिएको छ । यसको अर्थ हुन्छ, दलाल पूँजीपति भनेको विदेशी पूँजीपतिका स्थानीय एजेण्ट मात्र नभएर स्थानीय रुपमा लगानी गर्ने विदेशी पूँजीपतिहरु समेत दलाल पूँजीपति र त्यस्त्यो पूँजी दलाल पूँजीको परिभाषा भित्र समेटिन्छ । उपरोक्त सबै परिभाषा तथा ब्याख्यालाई हेर्दा दलाल पूँजीपति वर्गका सम्बन्धमा हामी निम्न निश्कर्षमा पुग्न सक्छौं ।

१. दलाल पूँजीपति वर्ग साम्राज्यवादी मुलुकका पूँजीपतिहरुका एजेण्ट हुन ।

२. स्थानीय सस्तो कच्चा पदार्थ र श्रमशक्तिलाई उपयोग गरेर आफनो उद्योग ब्यापारको विकासका लागि स्थानीय एजेण्ट मार्फत वा सोझै लगानीको रुपमा आउने विदेशी पूँजी पनि दलाल पूँजी र त्यो पूँजी लगानी गर्ने पूँजीपति दलाल पूँजीपतिको वर्गिकरण भित्र पर्दछन् ।

३. विदेशबाट आउने पूँजी सोझै आए पनि वा स्थानीय एजेण्ट मार्फत आए पनि त्यसले साम्राज्यवादी देशहरुका पूँजीपतिहरुको प्रत्यक्ष सेवा गर्ने र स्थानीय सामन्तवादी ब्यवस्थासँग सांठगांठ गरेर आउने भएकोले यसको चरित्र प्रतिकृयावादी हुन्छ । त्यसैले माओको ब्याख्या अनुसार दलाल पूँजीपति वर्गलाई क्रान्तिको प्रहारको निशाना बनाउनु पर्ने हुन्छ ।

४. दलाल पूँजीपति वर्गका विभिन्न भागहरु वेग्लावेग्लै साम्राज्यवादी शक्ति प्रति वफादार हुन्छन् ।

नेपालको अर्थतन्त्रमा दलाल पूँजीको प्रभाव पकड वा नियन्त्रण माथि पनि चर्चा गर्नु पनि सान्दर्भीक हुनेछ । नेपालको उद्योग तथा वाणिज्य क्षेत्रमा भारतीय मूलका एक दर्जन अर्बपति मारवाडीहरुको नियन्त्रण रहेको छ । नेपालको उद्योग तथा वाणिज्यको झण्डै ८० प्रतिशत हिस्सा भारतीय तथा भारतीय मूलका पूँजीपतिहरुको हातमा रहेको छ । नेपालमा ९२ वटा देशले लगानी गरेका छन् । आ.व. २०७५÷७६मा भारतले नेपालमा ७७२ वटा उद्योग खोलेको वा त्यसमा लगानी गरेको पाइन्छ । आ.व. २०७२÷७३ मा नेपालमा भारतीय उद्योगको संख्या ६९२ वटा पुग्दा त्यसमा ८० अर्ब ६५ करोड ७० लाख रु. भारतीय पूँजी लगानी रहेको तथ्यांकले देखाउछ । हाल नेपालमा भारतीय उद्योगको संख्या बढेर ७७२ वटा पुग्दा निश्चितरुपले लगानीमा पनि बृद्धि भएको छ । भारतीय पूँजीपति सोझै नेपाल आएर वा नेपालका स्थानीय पूँजीपतिहरुसँग मिलेर लगानी गरि रहेका छन् । स्थानीय पूँजीपतिहरु विदेशी उत्पादन विक्री गरे बापत कमिशन वा लाभ उठाइ रहेका छन् । उदाहरणका लागि भारतमा रहेको डाबर तथा युनिलिभर कम्पनीले नेपालमा डाबर नेपाल तथा युनिलिभर नेपालको नाममा लगानी गरि कम्पनी सञ्चालन गरेका छन् ।

नेपालमा चिनिया लगानी पनि बढदै गएको छ । आ.व. २०७५÷७६मा नेपालमा चिनिया उद्योगको संख्या १४८४ र लगानी ४ खर्ब पुग्दै छ । चिनियाहरु सोझै, नेपालका स्थानीय कम्पनी वा पूँजीपतिहरुसँग मिलेर लगानी गरि रहेका छन् । उदाहरणका लागि चिनको होङगसी सिमेन्ट उद्योगले नेपालको शिवशक्ति सिमेन्टसँग मिलेर कारोबार गरिरहेको छ । यसरी नेपाल भित्रिएको पूँजी दलाल पूँजी हो । यद्यपि चीनको नेपालमा लगानीको उदेश्ये नाफासँग जोडिएको छ भने भारतको उद्श्ये नाफाका साथसाथै राजनीतिसँग पनि जोडिएको छ । यी दुइटा देश बाहेक अरु थुप्रै मुलुकहरुले पनि नेपालमा लगानी गरेका छन् । तर त्यस विषयमा यहाँ चर्चा गर्नु असान्दर्भी हुने र लेखको आकार बढने भएकोले चर्चा गरिएको छैन ।

नेपालमा दलाल पूँजीवादका विषयमा नव माक्र्सवादी धाराबाट पनि ब्यापक छलफल अघाडी बढाईएको छ । नव माक्र्सवाद भनेको माक्र्सवाद विरोधी पूँजीवादी, संशोधनवादी धारा हो । पूँजीवादी विचारलाई माक्र्सवादको आवरण वा नाममा यो धाराले अगाडि बढाउने काम गर्दछ । पूँजीवाद भित्र देखिने चरम शोषण, गरिबी, बेरोजगारी, विकृती विसंगतिका विरुद्ध स्वयम पूँजीवादीहरुले पूँजीवादलाई आदर्श ब्यवस्था देखाउन वा कायम राख्न त्यसको अमानवीय पक्षको विरोध गर्ने गर्दछन् ।जस्तै क्रोनी पूँजीवाद, क्यासीनो पूँजीवाद, साम्राज्यवादी युद्धको विरोध स्वयम पूँजीवादीहरुले नै गरेर भ्रम सृजना गर्ने गरेका छन् ।

दलाल पूँजीवाद सम्बन्धी नव माक्र्सवादी धाराको प्रभाव ने.क.पा.(मसाल) बाहेकका प्रायः सबै राजनीतिक दल तथा समूहमा परेको छ । यहाँसम्म कि ने.क.पा. (मसाल) बाट विभिन्न कारणले कारवाही वा निष्कासनमा परेका कथित समन्यव समितिमा पनि यसको प्रभाव परेको पाइन्छ । नव माक्र्सवादीहरुले नेपाली समाजको पूँजीवादीकरण साम्राज्यवाद तथा भारतीय विस्तारवादद्वारा नियन्त्रीत रहेको र यहाँको सामन्तवादसँग त्यसको लगनगाँठो जोडिएको रुपमा दलाल पूँजीवादको ब्याख्या गरेका छन् । त्यो हदसम्म ठीक छ । माओले गरेको ब्याख्या अनुसार नै छ । तर उनीहरु यो अवस्थाको अन्तकालागि नयाँ जनवादी क्रान्तिमाथि जोड दिदैनन । नयाँ जनवादी क्रान्ति बीना दलाल पूँजीवादको अन्त हुन सक्दैन । तर उनीहरु नेपालमा पूँजीवादी जनवादी क्रान्ति भैसकेको बताएर घुमाउरो प्रकारले दलाल पूँजीवादलाई नै बलियो बनाउने काम गर्दै छन् । अझ त्यसमा पनि दलाल पूँजीवाद सम्बन्धी गल्त ब्याख्या वा परिभाषा अगाडि सारेर त्यसबारेमा भ्रम पनि पैदा गराई रहेका छन् । त्यो भ्रमले साम्राज्यवादद्वारा पालितपोषित दलाल पूँजीवादलाई साम्राज्यवाद तथा सामन्तवादबाट अलग गरेर हेर्ने र ब्याख्या गर्ने काम भैरहेको छ ।जसको परिणाम साम्रज्यवादमाथिको प्रहारलाई अन्यत्र मोडि दिन्छ । दलाल पूँजीलाई साम्राज्यवाद वा साम्राज्यवादी मुलुकका पूँजीपतिहरुबाट अलग गर्न कुनै पनि हाल्तमा मिल्दैन । त्यसैले दलाल पूँजीवादको चरित्र बुझन सजिलो होला भन्ने उद्धेश्यले नै यसको परिभाषा र ब्याख्याका लागि शुरुमा नै उपरोक्त विवरण दिनु परेको हो ।

तर दलाल पूँजीवादलाई साम्राज्यवादबाट अलग गरेर त्यसलाई परिभाषीत र ब्याख्या गर्ने काम भैरहेको छ ।नव माक्र्सवादले ब्यापारमा आधारित नाफा, सुदमा आधारित नाफा, नेता वा राजनीतिक आडमा सम्पत्ति कमाउनेहरुलाई दलाल पूँजीपतिको रुपमा चित्रित गरेका छन् । त्यसका साथै उनीहरुले कर्मचारीले कमाउने सम्पत्ति, सरकारका मान्छेहरुबाट कमिशन खाएर कसैलाई सरकारी अनुदान दिनु, आफूले चाहेका ब्यक्तिलाई टेन्डर दिनु ब्यापारीहरुको हितक लागि नीति बनाउनु, प्रतिस्पर्धालाई रोक्नु, आप्mना ओपासेहरुलाई पुरयाएको लाभबाट प्राप्त सम्पत्ति, बिचौलीयाको भूमिका खेलेर प्राप्त गर्ने नाफालाई दलाल पूँजी र त्यो पूँजी प्राप्त गर्नेलाई दलाल पूँजीपति र त्यससँग सम्बन्धीत आर्थिक ब्यवस्थालाई दलाल पूँजीवादको रुपमा ब्याख्या विश्लेषण गरेका छन् ।

पालैपालो सरकार सञ्चालन गर्ने मौका पाएका विभिन्न दलका नेताहरुले अथाह सम्पत्ति कमाएका छन् । राज्यका महत्वपूर्ण प्रशासनीक, न्यायीक, प्रहरी तथा सेनाका उपल्लो तहमा पुगेकाहरुले पनि अर्बौंको सम्पत्ति अवैध तरिकाबाट कमाएका छन् । आर्थिक तथा राजनीतिक रुपले आफूलाई लाभ पुर्याउन संघ संस्थालाई सरकार वा पार्टीका महत्वपूर्ण पदमा बसेकाहरुले सरकारी नियम मिचेर वा आफू अनुकुल नियम बनाएर ठेक्कापट्टा दिने गरिएको छ । ओमनी समूह, बतास समूह, यति समूह लगायतकाले विगतमा विभिन्न सरकारका पालामा पाइरहेको आर्थिक फाइदा त्यसका केहि उदाहरण हुन । शैक्षिक, स्वास्थ्य, सहकारी, बैंक, पर्यटन तथा निर्माण क्षेत्रका माफियाहरुले विभिन्न दलहरुलाइ ठूलो रकम आर्थिक सहयोग दिएर राजीतिक पद खरिद गर्ने गरेका छन् । अहिलेको संसदमा दर्जनौं त्यस प्रकारका विभिन्न क्षेत्रका माफियाहरु सांसदको रुपमा निर्वाचीत हुन सफल पनि भएका छन् । विभिन्न क्षेत्रका माफीयाहरु बेलाबखत सरकारका महत्वपूर्ण पदमा पुग्न पनि सफल हुने गरेका छन् । यो प्रक्रियाबाट पनि अथाह पूँजी कमाउनेहरुको पनि कमी छैन । यो वर्गको विभिन्न तहका सरकार र पार्टीमा पहूँच र प्रभाव छ ।सरकार, राज्य संयन्त्र तथा पार्टीका विभिन्न तहबाट यो वर्गको प्रभावलाई खत्म गर्न दलाल पूँजीवाद विरुद्ध संघर्षमाथि जोड दिने गरिएको छ । यो वर्गका विरुद्धको संघर्षलाई दलाल पूँजीवादका विरुद्धको संघर्षको रुपमा चित्रित गर्ने गरिएको छ ।

नव माक्र्सवादीहरु अनुसार उपरोत्त तरिका अपनाएर नाफा कमाउनेलाई दलाल पूँजीपति र त्यसरी आर्जन गरेको पूँजीलाई दलाल पूँजी मान्नु पर्ने हुन्छ । तर माओको ब्याख्या अनुसार दलाल पूँजी र दलाल पूँजीपति वर्ग अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्ति, मुलुक वा त्यहाँका पूँजीपतिहरुबाट संरक्षीत तथा पालितपोषित हुने गर्दछ । यिनिहरुको वफादारीता विभिन्न साम्राज्यवादी मुलुक प्रति हुन्छ । अनियमीत, भ्रष्ट तथा राज्यलाई दोहन गरेर नाफा कमाउने प्रवृत्तिलाई दलाल पूँजीको वर्गिकरण भित्र राख्ने हो भने यो पूँजीको सांठगांठ अन्तर्राष्ट्रिय रुपमा कुन साम्राज्यवादी मुलुकसँग रहेको छ ? त्यसलाई हामीले पहिचान गर्नुपर्ने हुन्छ । यदि यसरी कमाइएको नाफाको विदेशी पूँजी वा पूँजीपतिसंग कुनै सम्बन्ध हुदैन र छैन भने त्यो दलाल पूँजी हुन सकदैन । त्यस्तो अवस्थामा साम्राज्यवाद संग कुनै सम्बन्ध नभएको पूँजीलाई दलाल पूँजीको नाम दिएर त्यसका विरुद्ध संघर्षको कुरा गर्नु भनेको वास्तवीक दलाल पूँजीवादका विरुद्ध संघर्षलाई पछाडी धकेल्नु हो ।

पार्टी शक्ति तथा राजकीय पदको प्रयोग गरेर कसैलाई आर्थिक लाभ पुरयाएका कारण त्यसबाट कमिशन खाने, अनियमीत तवरबाट राजकीय पदमा बहाल भएको अवस्थामा पैशा कमाउने, बीचौलियाको भूमिका खेलेर वा आफूसँग भएको पैशा अरुलाई सुदमा दिएर पैशा कमाउने कार्यलाई सहि मान्न सकिन्न ।त्यसका विरुद्ध संघर्ष गर्नु पर्छ । तर के त्यही कारणले राज्य स्तरमा देखिने यो अनियमीततालाई दलाल पूँजीवादको नामाकरण गरेर त्यसका विरुद्धको संघर्षलाई अहिलेको मुख्य अन्तरविरोधको रुपमा प्रस्तुत गर्नु वास्तवीक दलाल पूँजीवाद विरुद्धको संघर्षलाई भ्रष्टीकरण गर्नु हुने छ ।

चीन र रुसमा समाजवाद कायम रहेको अवस्था पनि यो समस्या देखापरेको थियो । त्यसका विरुद्ध माओले सांस्कृतिक क्रान्ति चलाउनु परेको थियो । समाजवादी ब्यवस्थामा पनि पार्टी भित्रबाट नया वर्ग पैदा हुने खतरा रहीरहन्छ ।राजकीय वा पार्टी पदमा पुगेकाले राज्यका सूचना विक्री वा चुहावट गरेर वा राज्यका श्रोत साधनहरु नीजि प्रयोजनका लागि प्रयोग गर्ने त्यसबाट धन कमाउने प्रवृत्ति रहेको थियो ।के त्यो कार्यलाइ पनि दलाल पूँजीवादको नामाकरण गर्नु सहि हुन्छ ? निश्चितरुपले हुँदैन । यसो गर्दा वास्तवीक दलाल पूँजीवादका विरुद्धको संघर्षलाई पछाडी धकेल्ने काम हुनेछ ।त्यसबाट जनताको ध्यान अन्यत्र मोडने र हाम्रो अर्थतन्त्र माथि दलाल पूँजिवादको नियन्त्रणलाई नै कायम राख्ने काम हुने छ । हाम्रो पार्टीबाट फुटेर गएका फुटप्रस्त वा कार्वाही र निस्काशनमा परेकाहरुले गठन गरेको कथित समन्वयन समितिले पनि दलाल पुँजीवाद सम्बन्धी नव माक्र्सवादी ब्याख्याको भ्रममा परेर सरकारमा दलाल पूँजीवाद हाबी भएको हुनाले त्यस बिरुद्धको अन्तर बिरोधलाई प्रधान बताउने गल्ती गरेका छन् ।

नेपालको बाम राजनीतिक वृत्तमा दलाल पूँजीका विषयमा ब्याप्त अर्को एउटा भ्रमका बारे पनि यहाँ चर्च गर्नु सान्दर्भिक हुनेछ । माओवादी, एमाले तथा एकिकृत समाजवादीले शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाद्धारा समाजवादको आधार तयार पार्दै समाजवादको स्थापना गर्ने दक्षिणपन्थी, संसोधनवादी बाटो लिएका छन् । यि तिनवटै पार्टीले नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न भईसकेको भ्रम छरेका छन् । उनीहरुले समाजवादको स्थापनाको लागि राष्ट्रिय पूँजिको आवश्यकता पर्ने तर राष्ट्रिय पूँजिको निर्माणमा दलाल पूँजिले बाधा पुर्याई रहेको बताई रहेका छन् । यो निकै अन्तरविरोधपूर्ण कुरा भयो । यदि यि तिन वटा बाम पार्टीले दाबि गरे जस्तै नेपालमा यदि पूँजिवादी जनवादी क्रान्ति भैई सकेको हो भने दलाल पूँजीको अन्त भएको हुनुपर्ने हो । तर त्यसको विपरित यहाँ त दलाल पँजिको प्रभुत्व बढदै गएको छ । जनवादी क्रान्तिले दुईटा अभिभारा बोकेको हुन्छ । सामन्तवादका विरुद्ध जनवादी क्रान्ति तथा साम्राज्यवादी औपनिवेशिक शोषणका बिरुद्ध राष्ट्रिय मुक्ति आन्दोलन यो क्रान्तिका विशेषता हुन । यदि नेपालमा जनवादी क्रान्ति भइसकेको भए औपनिवेशिक तथा सामन्ती शोषणको अन्त भईसकेको हुन्थ्यो । तर जनवादी क्रान्ति नभएको हुनाले सामन्ती तथा साम्रराज्यवादी शोषण कायम नै रहेको छ । त्यसको परिणाम सामन्ती र औपनिवेशिक सांठगांठबाट जन्मेको दलाल पूँजिको प्रभुत्व नेपालमा बढदै गएको छ । सामन्ती र साम्राज्यवादी सांठगांठको अन्त नगरी दलाल पूँजिवादको अन्त बर्तमान संरचना अन्तरगत हुन सक्दैन । त्यसैले ने.क.पा. (मसाल) ले सामन्तवाद तथा भारतिय साम्राज्यवादसँग नेपाली जनताको अन्तरविरोधलाई प्रधान अन्तरविरोधको रुपमा दुईटै शक्ति माथि गरिने प्रहारले दलाल पूँजिवाद विरुद्धको संघर्षलाई मद्दत पुग्ने छ ।
मितिः २०७८/१०/२
धनगढि कैलाली

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार