सिद्धान्तनिष्ठ राजनीति गर्ने जोकोहीले पनि सबैभन्दा पहिले राज्यसत्तासम्बन्धी ज्ञान प्राप्त गर्नुपर्छ । त्यसपछि मात्रै अरू पक्षविपक्षको ज्ञान प्राप्त गर्न सकिन्छ । राज्यसत्ताको विषयमा जस्ताको त्यस्तै स्पष्ट ज्ञान प्राप्त नगरेसम्म राजनीतिको छेउटुप्पो केही पनि बुझ्न सकिन्न ।
राजयसत्ता वर्तमान समाजमा नभई नहुने यस्तो सङ्गठित संस्था हो, जसले समाजमा शासन गर्छ† जनताबाट कर उठाउँछ र आफ्ना मान्छेको पक्षपोषण गर्दछ । समाजमा भएका श्रमजीवी र पँुजीपति परस्पर विरोधी वर्गमध्ये श्रमजीवीलाई दबाउन र पुँजीपतिलाई सहुलियत दिन कुनै कसर बाँकी राख्दैन ।
राजनीति सिद्धान्तनिष्ठ भई काम गर्ने क्षेत्र हो । सिद्धान्त परस्पर विरोधी प्रकृतिका छन् । एउटा जनताको पिछडिएको चेतना स्तरबाट फाइदा उठाउने राजनीति छ । यिनीहरूमध्ये एउटाको पक्षपोषण गर्ने र त्यसको विरोधीलाई दमन गरेर कायम पार्ने काम राज्यसत्ताको हो ।
समाजमा धर्म र परम्पराको मान्यता हुने मात्र होइन, मानव समाजको उत्पत्तिदेखिण् समाजमा भएका व्यवस्थका चिन्तनको अवशेष समाजको चिन्तनमा समावेश भएका हुन्छन् । मान्छेको आफ्नो जन्मपछिका समाजमा भएका व्यवस्था र संस्कार, संस्कृतिको मात्र होइन, हजारौँ वर्षपहिले देखिका समाजका व्यवस्था र संस्कार, संस्कृतिको चिन्तन वर्तमान समाजमा व्याप्त हुन्छ । त्यसले गर्दा राज्यसत्तालाई परम्परागत तरिकाबाट शासन सञ्चालन गर्ने सजिलो हुने मात्र होइन, जनताको आन्दोलनबाट हट्न बाध्य भएको राजतन्त्र र वर्तमान गणतन्त्रबाट प्रतिगमन भई पुनः राजतन्त्र कायम गर्न गराउन सजिलो हुन्छ ।
हाँसम्म सिद्धान्तको कुरा हो, हजारौँ वर्षपछि मात्र समाजमा लागु हुन सक्ने सिद्धान्तको खोज र अनुसन्धान अहिलेकै समाजका अनुसन्धाताहरूले पत्ता लगाएर लिपिबद्ध गरिसकेका छन् । त्यसले गर्दा समाजमा भएको सिद्धान्त र व्यवहारको बिचमा भएको खाडल अहिले नै पुर्न सजिलै सम्भव हुन्न । व्यक्तिगत सम्पत्ति प्रथा सुरु भएपछि शोषण र अन्यायमा परेर आफै किनबेच हुँदै मान्छेलाई मान्छेले खुसी पार्न नसके मृत्युवरण गर्नुपर्ने र कुनै कानुन नलाग्ने निर्मम व्यवस्था अहिले सोच्नै नसक्ने थियो तर समय र परिस्थितिले त्यसको अन्त्य गर्याे ।
त्यतिखेरको सिद्धान्त असफल भयो । मान्छेलाई आफ्नो जग्गामा बधुवा मजदुर बनाएर धेरै पुस्तासम्म राख्ने र उम्कन नदिने व्यवस्थाको सिद्धान्त पनि समाप्त भइसकेको छ ।
अहिलेका मान्छे सिद्धान्तमा स्वतन्त्र छन् तर पुँजीको फन्दाबाट उम्किहाल्न सजिलो छैन । प्रकृतिले सित्तैमा दिएका वस्तुहरू व्यक्तिगत अधिकारभित्र पारेर व्यक्तिहरू शोषणको जालोमा कस्सिरहेका छन् । चारैतिरबाट शोषणको जाल थापेर व्यक्ति उम्कनै नसक्ने गरी कस्सिएका छन् । सङ्गठनबाहेक अरू कुनै पनि तरिकाबाट बाहिर भई स्वतन्त्रताको जीवन जिउने जीवनको उद्देश्य हराउनै लागेको छ । जताततै पुँजीका बन्धनले जेलेका छन् । सङ्गठित, सचेत र अनुशासित प्रयत्नबेगर अब पुँजीको बन्धन चुडाल्न सम्भव छैन ।
श्रमजीवी वर्गका व्यक्तिहरूको सङ्गठित शक्तिले मात्र पुँजीपति व्यक्तिको जालो तोड्न सक्छ । त्यसका लागि सिद्धान्त, राजनीति र सङ्गठनतीनओटै पक्षबाट सुसज्जित हुँदै अनुशासित शक्ति बन्नु मात्रै शोषणबाट मुक्त हुने उपाय हो र हुने छ तथा हुँदै छ । यस्तो अवस्थामा आफ्नो जीवनमा मुक्त हुने प्रयत्न भन्नु नै सिद्धान्तनिष्ठ राजनीति हो । त्यसैबाट शोषणमा नपर्ने र मुक्त हुने बाटो भेट्याउन सकिन्छ । महसुस गर्ने र सङ्घर्ष गर्ने दुईओटै तरिका हाम्राअगाडि खुला छन् ।
समाजवादको सिद्धान्त द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी सिद्धान्त हो । समाजमा भएको परस्पर विरोध र संवादको माध्यमबाट निष्कर्ष निकाल्दै नयाँ अवस्थामा नयाँ सम्बन्ध स्थापित गर्दै जाने र मानव इतिहासका विरोधी पक्षबिच भएको विजय र पराजयको समेत ख्याल गरेर आफ्नो विरोधी र आफ्ना पक्षपाती शक्तिबिच शक्ति सन्तुलनको समेत ख्याल गरेर आन्दोलनमा आफ्ना पक्षको नेतृत्व गर्दै जानु यसको निचोड हो ।
समाजका पक्ष र विपक्षको सन्तुलन गर्ने भनेको आफू पनि त्यही समाजको एउटा सदस्य भएर गर्ने काम हो । आफ्नो पक्षको एक जना मान्छे विरोधी भयो भने आफ्नो विरोधी पक्षको सङ्ख्या बढेको र आफ्नो पक्षपाती घटेको सम्झना गर्नु अथवा ख्याल राख्नुपर्छ भन्ने पनि हो । आफ्ना पक्षपातीहरूको सङ्कीर्ण घेरा बनाउने होइन कि फराकिलो घेरा बनाउनुपर्छ भनेको पनि हो । जसले जे भन्छ, त्यही मान्दै अगाडि बढ्नुपर्छ अथवा आफूभन्दा बाहेक कसैले भनेको मान्नुहुन्न भन्ने पनि होइन । आफ्नो निश्चित उद्देश्य नछाडिकन अरूलाई आफ्नो क्याम्पमा मिसाउँदै जानुपर्छ ।
दोस्रो, व्यक्ति आफैले हार खाएर उद्देश्यविहीन हुन्छ भने त्यो उसको जिम्माभित्रको काम हो । आफू जिम्मेवारीबाट नपन्छिएर लगातार काम गर्दै जानुपर्छ । फेरि पनि परस्पर विरोधी उद्देश्यमध्ये पहिलो जनतालाई सचेत र सङ्गठित बनाउँदै जाने हो भने त्यसको विरोधी उद्देश्य भने जनताको पिछडिएको चेतनाबाट फाइदा उठाउने हो । दोस्रो अवसरवादीहरूको तरिका हो भने पहिलो क्रान्तिकारीहरूको तरिका हो ।
त्यही निश्चित उद्देश्य पनि हो । यसरी आफू सेनासहितको सेनापति बन्ने÷बनाउने भनेको पनि त्यही हो । विचलित नभइकन काम गर्दा आउने परिणाम पनि त्यही नै हो ।
जहाँसम्म सिद्धान्तको कुरा हो, त्यो पनि बनिबनाउ अवस्थाको हुन्न । बिहान हो भने पूर्वमा सूर्य हुने कुरा पनि सही सिद्धान्त नै हो । जबकि पूर्व दिशा र परिश्चम दिशा परस्पर विरोधी दिशा हुन । त्यसैले परिस्थितिको ख्याल गरेर ठोस अवस्थाको ठोस विश्लेषण गर्ने काम पनि आफ्नै हो । व्यक्ति उसको व्यवहारले परिस्थितिअनुसार सही पनि हुन सक्छ र गलत पनि हुन सक्छ किनभने सही र गलत परिस्थितिअनुसार दुवै हुन्न† एउटा सही हुन्छ† अर्काे गलत हुन्छ ।
सिद्धान्तमा रणनैतिक सिद्धान्त हुन्छ । अर्काे कार्यनैतिक सिद्धान्त हुन्छ । रणनैतिक सिद्धान्त दीर्घकालीन प्रकृतिको हुन्छ र कार्यनैतिक सिद्धान्त तात्कालिक समयको हुन्छ । यी सिद्धान्त त्यस्तै हुन्, जस्तो पृथ्वीले परिक्रमा गर्दा दुईओटा काम सँगसँगै गर्छ ः एउटा– २४ घण्टामा आफ्नो कक्षमा परिक्रमा पूरा गर्छ र दिनरात हुन्छ† अर्काे– सूर्यको वरिपरि पनि परिक्रमा गरिरहेको हुन्छ । ३६५ दिनमा परिक्रमा पूरा गर्छ र हिउँद, वर्षा, गर्मी, जाडा हुने गर्दछ ।
भौतिक परिस्थितिअनुसार २४ घण्टामै फेरिन सक्ने र आवश्यक पर्दा अथवा भौतिक परिस्थितिमा यथास्थिति रहेसम्म लामो समयसम्म रहन सक्ने कार्यनीति हो । रणनीति दीर्घकालीन उद्देश्यको राजनैतिक कार्यक्रम हो । एउटा भौतिक परिस्थितिमा आमूल परिवर्तन भएर अर्काे नयाँ राजनैतिक परिस्थितिमा गर्ने कामको योजना रणनैतिक कार्यक्रम हो । वस्तुगत र आत्मगत अवस्थाको मूल्याङ्कन गरेर राजनीतिक कार्यक्रम निश्चित गर्नुपर्छ । क्रान्तिकारी व्यक्तिहरूलाई छिटो आमूल परिवर्तन चाहियो भन्दैमा उनीहरूको चाहनाभन्दा भौतिक परिस्थिति त्यसअनुकूल नहुन सक्छ । त्यसैले राजनीति गर्ने व्यक्तिले भौतिक परिस्थिति मातहत रहेर आफ्नो योजना बनाउनुपर्छ ।
आमूल परिवर्तनको राजनीति गर्नेहरूले जान्नुपर्ने र गर्नुपर्ने काम शासकलाई शासितको स्थितिमा सिद्धान्तनिष्ठ राजनीति त्यसैका लागि हो । यो वर्गीय राजनीति गर्ने र वर्गसङ्घर्षबाट विजय हासिल गनुपर्ने काम हो ।
समाजमा हजारौँ वर्षदेखिका वर्ग छन् । सम्पन्न वर्गले शासन गरिहेका छन् र आफ्नो स्वर्ग जोगाई राख्नलाई जनताको शासन हो भनेर कुरा गरिरहेका छन् । श्रमजीवी विपन्न वर्गलाई आफ्नो सङ्गठन, आफ्नो राजनीति र आफ्नो सिद्धान्तको जानकारी दिनबाट बञ्चित गरेका छन् ।
कोहीले गरिब भएर नाटक गरिरहेका छन् भने केही धनी भएर दानधर्म गरिरहेका छन् । जे जसरी भए पनि वर्गीय राजनीतिको खिल्ली उडाइरहेका छन् । यही हो– गैैरसैद्धान्तिक राजनीति । सिद्धान्तलाई टिपनटापन गर्ने, अनि भुलभुलैयामा पारेर आफू नेता बन्ने काम गैरसैद्धान्तिक राजनीति हो । यो काम त्यति बेलासम्म चलिरहने छ, जति बेलासम्म शोषित, श्रमजीवी वर्गले आफ्नो वर्ग, आफ्नो राजनीति, आफ्नो सङ्गठन र आफ्नो सिद्धान्तको सही जानकारीसहित त्यसको पक्षपोषण गर्ने छन् अथवा सिद्धान्तनिष्ठ राजनीति गर्ने छन् ।
आमूल परिवर्तन जटिल काम हो । एकातिर, देशीविदेशी प्रतिक्रियावादीहरूले जनतामा भ्रमको खेती गरिरहेका छन् भने अर्कोतर्फ, खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य र रोजगारका जल्दाबल्दा समस्या खडा छन् । मान्छेले आफ्नाअगाडिका अत्यावश्यक समस्या समाधान नगरेसम्म दायाबाया गर्न पाउन्न । तिनै समस्यामा चर्काे राजनीतिक काम भइरहेको हुनाले सर्वसाधारण जनताले आफै निकास निकाल्न सक्ने अवस्थामा छैन । कालो रहबाट निस्कन नपाउँदै निलो रहभित्र डुबाएको थाहै पाउन्नन् ।
वर्गीय राजनीति गर्ने भनेको वर्गीय दर्शनानुसार वर्गको सङ्गठन बनाएर गर्ने राजनीति हो । विजातीय तत्वले नाटक गरेर वर्गीय राजनीति हुन सक्दैन । आफू वर्ग भए मात्र वर्गीय राजनीति गर्न सकिन्छ । आफू वर्ग नहुने, विरोधी वर्गका लागि आफूले राजनीति गरिदिने हुन सक्दैन, त्यो नाटक मात्र हुन्छ ।
जहाँसम्म जनताको कुरा हो, जनता कुनै पार्टीका वा कुनै वर्गका छाप लागेका पक्का हुन सक्दैनन् । राजनीति नबुझ्दासम्म विरोधी वर्गलाई पनि समर्थन गरेका हुन सक्छन् । जति जति राजनीतिमा कित्ताबन्दी हुँदै जान्छ, जनताको राजनैतिक चेतना उच्च हुँदै जान्छ । जति जति राजनैतिक चेतना उच्च हुँदै जान्छ, आफ्नो पक्षलाई समर्थन र विरोधी पक्षलाइ बहिष्कार गर्दै जान्छन् ।
राजनीति गर्छु भन्ने कार्यकर्ताले बुझ्नैपर्ने कुरा जनता पार्टीका कार्यकर्ता होइनन् र कम्युनिष्ट पार्टी जानताको पक्षमा काम गर्ने पार्टी भए पनि कार्यकर्ताले धान्ने पार्टी हो । कार्यकर्ता उच्च सैद्धान्तिक र उच्च राजनैतिक स्तर भएका भएर पनि उच्च अनुशासित भएर मात्र पनि पुग्दैन, समाजमा श्रम बेच्न सक्ने हुनु पनि आवश्यक सर्त हो । पार्टीमा श्रम बेच्ने कार्यकर्ता नेता हुन खोजेर उसका चाहाना पूरा हुन सक्दैनन् । पार्टीले दिएको जिम्मा पूरा गर्नका लागि जनतामा श्रम बेच्ने क्षमता विकास गर्ने काम पनि कार्यकर्ताको आफ्नै काम हो । पार्टीमा नेताका आकाङ्क्षी धेरै हुन्छन् तर समाजमा श्रम बेच्नुपर्ने जिम्मेवारीबाट पन्छिन चाहिने हुनाले सिद्धान्तनिष्ठ राजनीतिको बाटो छोडेर गैरसैद्धान्तिक र सजिलो राजनीति गर्न खोज्दा प्रतिकृयावादीहरूलाई फाइदा पुग्छ । त्यो भन्नुको अर्थ क्रान्ति झन् झन् टाढा पुर्याउने कामलाई सहयोग पुग्छ, जुन विरोधी राजनीतिज्ञका लागि गरिदिने अवैतनिक सेवा हो । विरोधीको सेवा गर्नु त्यो पनि अवैतनिक, त्यो जस्तो घटिया दर्जाको काम अरू हुनै सक्दैन । त्यसकारण राजनीतिक गर्नैपर्ने काम हो र वैतनिक काम गर्नुपर्ने आजको आवश्यकता पनि हो ।
प्रत्येक राजनीति गर्छु भन्ने व्यक्तिले गर्ने कामको मूल्याङ्कन आफैले गर्नुपर्छ र गर्न सक्नुपर्छ कि मेरो कृयाकलापले फाइदा कसलाई पुगेको छ ? म आफै कुन सिद्धान्त, कुन राजनीति र कुन सङ्गठनको मातहतमा काम गरिरहेको छु ? समाजमा धनी, गरिब, मध्यम, निम्नमध्यम, उच्चमध्यम विभिन्न वर्गका मान्छे छन् तर राजनीति कि धनीका लािग हुन्छ कि गरिबका लागि ? कि पुँजीपति बन्नका लागि व्यक्तिले काम गर्छ कि सर्वहारा बन्नका लागि काम गर्छ । बिचको वर्ग कि उकालो चढ्छन् कि ओरालो झर्छन् । त्यसकारण जनताले होइन, कार्यकर्ताले थाहा पाउनुपर्छ, म उकालो चढ्दै छु अथवा ओरालो झर्दै छु । धनसम्पत्तिको हिसाबले र राजनैतिक चेतना स्तरको हिसाबले आफ्नो स्थिति र गन्तव्यको हिसाबले आफ्नो स्थितिको मूल्याङ्कन आफैले गर्न भुल्नु हुँदैन ।
म जनता हुँ अथवा पार्टीको कार्यकर्ता हुँ, त्यो कुरा पनि सम्झनैपर्ने कुरा हो । प्रत्येक व्यक्तिका आवश्यकता पूरा गर्ने खर्च कसले ब्यहोरिरिहेको छ ? जनातले ब्यहोरेका छन्, विदेशीले ब्यहोरेका छन् अथवा राज्यसत्ताले पो ब्यहोरिरहेको छ कि ? यो विषयमा अलिकति चासो राख्ने हो भने थाहा पाइने छ । राज्यसत्ताले जनताका नाममा श्रोत जम्मा गरेर आफ्नो स्वार्थ पूरा गरिरहेको छ र जनताको नामा ऋणको बोझ बढाइरहेको छ । आफ्ना देशका नागरिकलाई संसारभरि छितरेर देशको विकासका झुटा आश्वासन राज्यसत्ताले बाँडिरहेको छ ।
जबसम्म यो देशका नागरिकले यही देशमा पसिना बगाउने छैनन्, तबसम्म स्थितिमा सुधार हुने छैन । त्यसका लागि सर्वसाधारण जनताले देशको राजनीतिमा चासो राख्नुपर्ने हुन्छ । जनताको पिछडिएको चेतनाबाट फाइदा उठाइरहेका राजनीतिक शक्ति र व्यक्तिहरूको पर्दा हटाउनु पनि आजको महत्वपूर्ण काम हो । त्यसपछि मात्रै जनताको राजनीति र जनता सुरु हुने छ ।