पाँच दलीय चुनावी तालमेलको सैद्धान्तिक पक्ष

अब हामी पाँच दलीय गठबन्धनमा छैनौँ । एमसीसी सम्बन्धी प्रश्नमा मतभेदका कारणले हामीले त्यसबाट अलग हुने निर्णय गरेका हौँ । तर जसरी पहिले सरकारमा सामेल नभए पनि हामीले गठबन्धन, सरकारलाई समर्थन गरेका थियौँ, त्यही प्रकारले अहिले हामी पाँच दलीय गठबन्धनबाट अलग भएको भएपनि वर्तमान सरकारलाई समर्थन गर्ने हाम्रो नीति कायम छ । हाम्रो त्यो नीति यो आधारमा कायम छ कि अहिले पनि देशमा प्रतिगमनको गम्भीर खतरा विद्यमान छ ।

प्रतिगमनका विरुद्धको सङ्घर्षको क्रममा नै वर्तमान गठबन्धन सरकारको स्थापना भएको थियो, र, त्यसैले अहिले पनि त्यो सरकारको आवश्यकता छ । त्यसैगरी हामी पाँच दलीय गठबन्धनबाट अलग भएको भएपनि हाम्रो यो निष्कर्ष छ कि प्रतिगमनका विरुद्ध उभिने राजनीतिक शक्तिहरूको बिचमा चुनावी तालमेलको आवश्यकता छ । त्यसैले हामीले पाँचदलीय चुनावी तालमेललाई अहिले पनि आवश्यक ठान्दछौँ । यो प्रसन्नताको कुरा हो कि पाँच दलहरूका बिचमा चुनावी तालमेल गर्ने भन्ने सहमति पनि भएको छ ।

पाँचदलीय गठबन्धनका कारणले नै दुई–दुईपल्ट संसदलाई विघटन गरेर देशलाई प्रतिगमनतिर लैजाने ओलीको प्रयत्नलाई असफल पार्नु, ओलीको सरकारलाई अपदस्थ गर्नु, गण्डकी र लुम्बिनी सहितका एमालेको नेतृत्वका प्रदेश सरकारहरूलाई अपदस्थ गर्नु तथा राष्ट्रिय सभाको चुनावमा एमालेलाई धक्का दिनु समेत सम्भव भएको थियो । अब प्रतिगमनका विरुद्धको त्यो सङ्घर्ष चुनावको मैदानमा केन्द्रित भएको छ । स्थानीय, प्रदेश र संसदीय चुनावमा प्रतिगमनलाई निर्णयात्मक रूपले पराजित गर्नुपर्ने आवश्यकता छ । त्यो कार्य प्रतिगमनका विरुद्ध भएका शक्तिहरूले बेग्लाबेग्लै चुनाव लडेर होइन, संयुक्त रूपले चुनाव लडेर नै पूरा हुन सक्दछ । त्यसैले पाँच दलीय चुनावी तालमेलले अहिले पनि राष्ट्रिय महत्व राख्दछ । त्यस प्रकारको तालमेल हुन सकेन भने प्रतिगमनका लागि नै मार्ग प्रसस्त हुने छ ।

पाँच दलीय गठबन्धनको मुख्य रूपले दुई कोणबाट विरोध हुँदै आएको छ । प्रथम, नेकासितको गठबन्धन वा तालमेललाई गलत बताउने गरिएको छ । द्वितीय, एमालेप्रतिको विरोधको नीतिलाई गलत बताउने गरिएको छ । यो कुरा बुझ्न गाह्रो पर्दैन कि उक्त दुईवटा कुराहरूका आधारमा नै पाँच दलीय गठबन्धनलाई सुरुदेखि नै विरोध गरिएको थियो र अहिले पनि उनीहरूसितको चुनावी तालमेललाई गलत बताइएको छ । नेकासित हाम्रो पार्टीका गम्भीर प्रकारका सैद्धान्तिक र राजनीतिक मतभेदहरू छन् ।

हाम्रो उनीहरूसित लामो सङ्घर्षको इतिहास छ । अर्कातिर एमालेलाई हाम्रो पार्टीको आठौँ महाधिवेशनले वामपन्थी र मित्रशक्ति बताएको छ । ती कुराहरूका आधारमा प्रायः यो प्रश्न उठाउने गरिन्छ, एउटा वामपन्थी र मित्र शक्तिका विरुद्ध किन नेपाली काङ्ग्रेस जस्तो सैद्धान्तिक, राजनीतिक र वर्गीय दृष्टिकोणले समेत गम्भीर मतभेद भएको विरोधी राजनीतिक शक्तिसित गठबन्धन वा चुनावी तालमेलको नीति अपनाइयो । त्यो आधारमा खाली प्रतिगामी शक्तिहरूले मात्र होइन, आफूलाई वामपन्थी वा क्रान्तिकारी बताउने राजनीतिक पक्षहरूले पनि हाम्रो गठबन्धन वा चुनावी तालमेलको नीतिलाई गलत बताउँदै त्यसमाथि आक्रमण गरिरहेका छन् । कतिपयले ता यो सम्म विचार प्रकट गर्ने गरेका छन् हामीले एमाले सहित सबै वामपन्थी शक्तिहरूको मोर्चा बनाएर नेकाका विरुद्ध सङ्घर्ष गर्नुपर्छ ।

लेनिनवादले यो बताएको छ : कुनै खास बेलाको सहि नीति के हुन्छ ? त्यो कुरा कुनै खास बेलाको ठोस स्थितिको ठोस विश्लेषण गरेर नै निर्धारित गर्नुपर्छ । त्यस आधारमा नै कुनै खास बेला कोसित एकता गर्ने वा कोसित सङ्घर्ष गर्ने ? त्यो कुराको पनि निर्णय हुन्छ वा निर्णय गर्नुपर्दछ । त्यो क्रममा कुनै बेला मित्र शक्तिसित पनि सङ्घर्ष गर्नुपर्ने वा दुश्मन शक्तिसित पनि एकता गर्नुपर्ने आवश्यकता हुन्छ । त्यस सन्दर्भमा माओले बताएका छन्, आवश्यकता अनुसार दुश्मन शक्तिसित पनि एकता र मित्र शक्तिसित पनि सङ्घर्ष गर्नुपर्ने आवश्यकता हुन्छ । निश्चय नै, मित्र शक्तिसित एकता र दुश्मन शक्तिसित संघर्षको पक्ष नै प्रधान हुन्छ ।

त्यो विषयलाई माओले सूत्रको रूपमा यसरी व्याख्या गरेका छन् । मित्रहरूप्रतिको नीति : एकता–सङ्घर्ष–एकता तथा दुश्मनहरूप्रतिको नीति : सङ्घर्ष–एकता–सङ्घर्ष । त्यसको अर्थ यो हो, मित्रहरूसित आवश्यकता अनुसार सङ्घर्ष गर्नु परे पनि एकताको पक्ष नै प्रधान हुन्छ । तर दुश्मनहरूसित आवश्यकता अनुसार एकता गर्नु परे पनि सङ्घर्षको पक्ष नै प्रधान हुन्छ । यो माक्र्सवादी–लेनिनवादी र द्वन्द्वात्मक सोचाइ हो । त्यसको विपरीत मित्र शक्तिहरूसित आवश्यकता अनुसार सङ्घर्ष गर्न वा दुश्मन शक्तिहरूसित एकता गर्न तयार नहुने सोचाइ वा मित्र शक्तिहरुसित एकतर्फी रुपमा सधैं एकतामा मात्र जोड दिने वा दुश्मन शक्तिहरुसित सधैं संघर्षमा मात्र जोड दिने सोचाइ अधिभूतवादी वा गैरमाक्र्सवादी–लेनिनवादी सोचाई हो । हाम्रा कतिपय मित्रहरुले, यहाँसम्म कि आफूलाई माक्र्सवादी वा क्रान्तिकारी बताउने पक्षहरु पनि त्यस प्रकारको अधिभूतवादी विचारको सिकार हुन्छन् र उक्त प्रश्नमा सही दृष्टिकोण अपनाउन सक्दैनन् ।

त्यस प्रकारको अधिभूतवादी सोचाईका कारणले नै अहिलेको ठोस वस्तुस्थितिमा ओलीको नेतृत्वमा प्रतिगमनको खतरा गम्भीर भएको अवस्थामा त्यसका विरुद्धको सङ्घर्ष वा त्यो प्रतिगमनका विरुद्ध उभिएको नेका समेतसितको एकताको आवश्यकतालाई सही रूपले देख्नु वा बुझ्नु सम्भव हुँदैन । अहिलेको देशको वस्तुस्थिति यो हो कि प्रतिगमनको खतरा गम्भीर बनेको छ । राजावादीहरूले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गर्नका लागि गणतन्त्रको स्थापना भएको समयदेखि नै, अर्थात् करिब १२ वर्ष भन्दा केही बढी समयदेखि नै अभियान चलाउँदै आएका छन् । यो स्वभाविक नै हो कि राजावादी दिशाबाट आएको प्रतिगमनको त्यो खतरालाई प्रतिगामी शक्तिहरुले देख्दैनन् ।

त्यसलाई नदेख्ने मात्र होइन, त्यो प्रतिगमनलाई सफल पार्नका लागि नै उनीहरुले पूरा शक्ति लगाउँछन् । अब ओलीको नेतृत्वमा संसदीय प्रणालीको गर्भबाट पनि प्रतिगमनको खतरा गम्भीर रूपमा अगाडि आएको छ । संसदको विघटन गरेर वा सत्तामा कब्जा गरेर देशलाई प्रतिगमनको दिशामा लैजाने उनको प्रयत्न पाँचदलीय गठबन्धनको कारणले सफल हुन सकेन । तर अब चुनावको माध्यमद्वारा उनले आफ्नो त्यो प्रतिगामी उद्देश्य पूरा गर्ने योजना बनाएका छन् । भारतको कट्टर हिन्दुवादी शासक वर्गको समर्थनको कारणले अहिले देशमा प्रतिगमनको खतरा अरू गम्भीर चरणमा पुगेको छ । त्यसले गर्दा प्रतिगमनको विरुद्धको सङ्घर्षमा जोड दिनु अहिलेको राष्ट्रिय आवश्यकता बन्न गएको छ । त्यसैले प्रतिगमनका विरुद्ध उभिने राजनीतिक शक्तिहरूसित चुनावी तालमेल गर्नु अहिलेको राजनीतिक आवश्यकता बन्न गएको छ । त्यसैले पा“च दलीय चुनावको तालमेलको नीति सहि हुन जान्छ ।

अहिले देशमा प्रतिगमनको जुन गम्भीर खतरा पैदा भएको छ, त्यसलाई खाली प्रतिगामी शक्तिहरुले मात्र होइन, कतिपय आफूलाई वामपन्थी बताउने शक्तिहरुले पनि त्यसलाई देख्दैनन् र त्यसका विरुद्धको संघर्षको आवश्यकतालाई अस्वीकार गर्दछन् । कतिपय प्रतिगमन–उन्मुख वामपन्थी शक्तिहरु ता गणतन्त्र र बहुदलीय व्यवस्थामाथि नै हमला गरेर प्रतिगमनको सेवा गर्ने दिशातर्फ उन्मुख भएको पाइन्छ । स्वभाविक हो कि उनीहरुले प्रतिगमनका विरुद्ध बनेको गठबन्धन वा चुनावी तालमेललाई विरोध गर्दछन् र त्यसरी चुनावमा प्रतिगमनलाई सेवा पु-याउने नै काम गरिरहेका छन् ।

गठबन्धन सरकारले एमसीसीलाई पारित गरेको हुनाले त्योसित कुनै पनि प्रकारको गठबन्धन वा तालमेललाई अस्वीकार गर्नुपर्दछ भन्ने कोणबाट पनि हाम्रो पाँच दलीय चुनावको तालमेलको नीतिलाई गलत बताउने स्वर पनि उठ्ने गरेको छ । त्यस प्रकारको सोचाइको अभिप्राय पनि पाँच दलीय चुनावी तालमेलको नीतिलाई विरोध गर्नु र चुनावमा प्रतिगमनको विजयको लागि सहायता पु-याउनु नै हो । तर हाम्रो एमसीसीको नीतिसँग विरोध छ । त्यसकारण एमसीसीका विरुद्ध आउने सङ्गठनहरूसँग मिलेर त्यसका विरुद्ध सङ्घर्ष गर्दै प्रतिगमनका विरुद्ध अन्य राजनीतिक शक्तिहरूसँग मिलेर चुनावमा प्रतिगमनलाई पराजित गर्न पनि सङ्घर्ष गर्दै जाने हाम्रो नीति रहेको छ ।

त्यसरी हाम्रा ती दुवै प्रकारका नीतिहरू साथसाथै अगाडि बढ्ने छन् । माक्र्सवादले यो बताउँछ कुनै एउटा पक्षका पनि सकारात्मक र नकारात्मक पक्षहरू हुन सक्छन् । त्यो अवस्थामा हामीले कुनै एउटा पक्षको सकारात्मक पक्षको समर्थन गर्दै त्यसको नकारात्मक पक्षको विरोध गर्दै जाने नीति अपनाउनुपर्दछ । माक्र्सले पुँजीवादका विरुद्धको सङ्घर्षमा जोड दिएका थिए तर सामन्ती व्यवस्थालाई ध्वस्त गर्न त्यसले खेलेको ऐतिहासिक भूमिकालाई समर्थन गरेका थिए । कतिपय देशहरुमा कम्युनिष्टहरुले पुँजीवादी प्रजातान्त्रिक क्रान्तिलाई सफल पार्नका लागि पनि संघर्ष गर्दछन् । अहिले हामीले अपनाएको नयाँ जनवादी कार्यक्रम पनि मूल रुपमा पुँजीवादी प्रजातान्त्रिक क्रान्ति नै हो ।

त्यसले पनि पुँजीवादप्रति हामीले एकैसाथ विरोध र समर्थनको नीति अपनाएको कुरालाई बताउँछ । त्यही प्रकारले एकैसाथ समर्थन र विरोधको नीति हामीले नेका वा चार दलीय गठबन्धनप्रति पनि अपनाएका छौं । अहिले उनीहरुको एमसीसीप्रतिको नीतिलाई हामीले विरोध गर्दछौँ । तर प्रतिगमनका विरुद्ध उनीहरूको भूमिकालाई हामीले सकारात्मक रूपमा लिन्छौँ र त्यसका आधारमा उनीहरूसित एकता गर्ने नीति पनि अपनाउँछौँ । यो वस्तुगत स्थितिको ठोस विश्लेषण गरेर नीति निर्धारित गर्ने सही माक्र्सवादी–लेनिनवादी र द्वन्द्वात्मक पद्धति पनि हो ।

हामीले गतकालमा कैयौंपल्ट त्यस प्रकारका नीतिहरु अपनाउँदै आएका छौं र इतिहासले हाम्रा त्यस प्रकारका नीतिहरुलाई सही सावित गर्दै आएको छ । २०४६ सालमा निरंकुश राजतन्त्र र पञ्चायती तानाशाहीका विरुद्ध हामीले नेका समेतसित कार्यगत एकता वा सहकार्यको नीति अपनाएका थियौं ।

२०६२–६३ सालमा पनि निरंकुश राजतन्त्र वा प्रतिगमनका विरुद्ध हामीले नेका वा मधेशवादीहरु समेतसित त्यही प्रकारको संयुक्त मोर्चाको नीति अपनाएका थियौं । त्यस प्रकारका संयुक्त मोर्चाका नीतिहरु अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा अपनाइएका पनि कैयौँ उदाहरणहरु छन् । स्टालिनले द्वितीय विश्वयुद्धका बेलामा हिटलरको फासिवाद वा आक्रमणका विरुद्ध अमेरिकी, ब्रिटिस वा फ्रेञ्च साम्राज्यवादसित सहकार्यको नीति अपनाएका थिए । माओले जापानी आक्रमणका विरुद्ध च्याङ्काइसकेसित एकताको नीति अपनाएका थिए ।

विश्वको कम्युनिष्ट आन्दोलनमा त्यस प्रकारका थुप्रै उदाहरणहरु पाइन्छन् । तर त्यस प्रकारका कार्यहरुलाई पनि स्वयं कम्युनिष्ट आन्दोलन भित्रका सङ्कीर्ण दृष्टिकोण राख्ने पक्षहरुले विरोध गर्दै आएका छन् । उदाहरणका लागि, द्वितीय विश्वयुद्धमा स्टालिनले अमेरिकी साम्राज्यवादसित अपनाएको एकताको नीतिलाई ट्राटस्कीले गद्दारी नै बताएका थिए । चीनमा नयाँ जनवादी क्रान्ति वा च्याङकाइसेकसितका सहकार्यको नीतिलाई वाङमिङले गद्दारी बताएका थिए । तर इतिहासले स्टालिन वा माओले अपनाएको नीतिलाई सही सावित गरेको छ ।

हाम्रो पार्टीमा पनि हामीले विभिन्न समयमा अपनाएका संयुक्त मोर्चाको नीतिलाई बारम्बार विरोध गर्ने गरिएका उदाहरणहरुको कमी छैन । २०४६ सालमा वा २०६२–६३ सालमा हामीले नेका समेतसित कार्यगत एकता वा सहकार्यको जुन नीति अपनाएका थियौं, त्यसको कतिपय वामपन्थी पक्षहरु वा स्वयं हाम्रो पार्टीभित्रको नै एउटा पंक्तिद्वारा विरोध गरिएको थियो । अहिले कतिपय पक्षहरुले हामीले नेका समेतसित प्रतिगमनका विरुद्ध गरेको संघर्ष वा चुनावी तालमेलको नीतिलाई कतिपय आफूलाई वामपन्थी बताउने पक्षहरुले विरोध गरिरहेका छन् । उनीहरुले क्रान्तिकारी कोणबाट त्यस प्रकारको विरोध गरेको भएपनि सार रुपमा त्यस प्रकारको सोचाईले प्रतिगमनको नै सेवा गर्दछ ।

हामीले अहिले प्रतिगमनका विरुद्ध पाँच दलीय चुनावी तालमेलको नीतिमा जोड दिएका छौं । जहाँसम्म हाम्रो प्रश्न छ, हामीले इमान्दारिता र दृढतापूर्वक नै त्यो नीतिलाई कार्यान्वयन गर्ने प्रयत्न गर्ने छौं । तर अन्य पक्षहरुद्वारा कहाँसम्म त्यस प्रकारको इमान्दारिता र दृढताको प्रदर्शन गरिने छ ? त्यो कुरा आउने दिनहरुमा नै प्रष्ट हँदै जानेछ । पाँच दलहरुका बिचमा त्यस प्रकारको चुनावी तालमेल खाली पाँच दलहरूका बिचमा गर्ने समझदारी भएको छ ।

तर अन्य कतिपय पक्षहरूमा, एकातिर, एमालेसित पनि आवश्यकतानुसार चुनावी तालमेल गर्ने वा, अर्कातिर, परस्परमा भएको चुनावी तालमेललाई इमान्दारितापूर्वक पालना नगर्ने विचारहरू पनि यदाकदा देखा परेको पाइन्छ । यो निश्चित छ कि कुनै खास स्थानमा विजय प्राप्त गर्नका लागि, त्यसरी तात्कालिक स्वार्थका लागि त्यस प्रकारको नीति अपनाइए पनि, त्यसबाट प्रतिगमनलाई नै मद्दत पुग्ने छ र त्यसरी एक वा अर्को रुपमा देशलाई प्रतिगमन र अधिनायकवाद वा फासिष्ट शासनको दिशामा लैजानका लागि नै बल पुग्ने छ । चुनावमा ओली पक्षको विजयको अर्थ त्यही नै हुनेछ ।

त्यसैले हामीले आशा गर्दछौं पाँच दलहरुका बिचमा भएको समझदारीलाई इमान्दारिता र दृढतापूर्वक लागू गर्नका लागि सम्बन्धित सबै पक्षले ध्यान दिनेछन् । त्यसरी नै हामीले देशलाई प्रतिगमन र अधिनायकवादतिर जानुबाट रोक्न सक्ने छौं र रोक्नु पनि पर्दछ ।

मिति २०७८ चैत्र १९

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार