प्रकृति र पर्यावरणबारे कार्ल मार्क्स

  • यी विश्लेषणहरूलाई आधार मानेर मार्क्सले आफ्नो तर्कमा पनि परिवर्तन गरे । उनले प्रविधि र विज्ञानमा केन्द्रित ‘उत्साहप्रद’ मत त्यागे । साइटोको शब्दमा मार्क्सले ‘नाफामुखी’ प्रविधिले माटोमा उर्वरताको कमी र प्राकृतिक स्रोतको अभावजस्ता अनपेक्षित र विनाशकारी परिणाम निम्त्याउने’ देखे ।
  • पछिल्ला दुई दसकमा प्रकाशित विभिन्न कृतिहरूले कार्ल मार्क्सका कृतिमा रहेका पर्यावरणसम्बन्धी कुरालाई सतहमा ल्याएका छन् । मार्क्सले पर्यावरणको प्रश्नलाई कुनै विचार दिएका थिएनन् भन्ने भनाइलाई ती कृतिले खण्डन गरेका छन् । पुँजीवादी व्यवस्था र प्रकृतिको विनाशबारे मार्क्सको क्रान्तिकारी विचारलाई तिनले अझ उजागर गरेको छ । तथापि केही प्रश्न भने अझै अनुत्तरित छन्ः मार्क्स कसरी ती विचारसम्म पुगे र उनको जीवनका विभिन्न चरणमा पर्यावरणसम्बन्धी विचारले कस्तो खालको प्रभाव पार्‍यो ?

    सन् १९९० दसकको अन्त्यसम्ममा मानव समाज र प्रकृतिबीचको अन्तरक्रियाबारे मार्क्सका कृतिहरूमा या त त्यति ध्यान गएको थिएन अथवा तिनलाई गलत ढङ्गले बुझिएको थियो । पल बुर्केटको ‘मार्क्स एन्ड नेचर’ (१९९९) र जोन बेलामी फोस्टरको ‘मार्क्स इकोलोजी’ (२०००) दुई वटा कृति प्रकाशित भएपछि भने यो विषयमा मानिसहरूको सोचाइमा केही भिन्नता आएको छ । दुवै कृतिले पर्यावरणसम्बन्धी मार्क्सका विचारलाई आधारभूतरूपमा प्रकाश पारेको छ । यसले नयाँ पुस्ताका मार्क्सवादीहरूलाई वातावरणको विषयमा चिन्तन गर्न र लेख्न उत्साहित गरेको छ ।

    कोहे साएटोले मार्क्सको हालै प्रकाशित नोटबुकहरूको विस्तृत अध्ययन गरी लेखेको नयाँ पुस्तकले पर्यावरणसम्बन्धी मार्क्सका विचारलाई अझ प्रस्ट बनायो । बुर्केट, फोस्टर र अन्य सोसम्बन्धी बुझाइलाई साएटोको कृतिले अझ फराकिलो बनायो । मार्क्सको कृतिको विस्तृत अध्ययन गरिएको त्यो महत्वपूर्ण पुस्तकले अर्थ–राजनीतिसम्बन्धी आफ्नो अध्ययनलाई हिस्साको रूपमा समकालीन विज्ञानमा मार्क्सको लामो संलग्नताबारे प्रस्ट पारिएको छ । यही लामो संलग्नताले नै पर्यावरणसम्बन्धी मार्क्सको विचार निर्माणमा टेवा पुर्‍यायो ।

    हालै इयान अन्गसले समाजवादी विचारको आधार बनाउन विज्ञानमा मार्क्स र एङ्गेल्सको संलग्नताको महत्वबारे प्रकाश पारेका छन् ।“(मार्क्स र एङ्गेल्सले) मजदुर आन्दोलनमा सक्रिय सहभागितामार्फत संसारले कसरी काम गर्छ र कसरी परिवर्तन हुन्छ भन्ने आफ्नो विचारको परीक्षण गरे । त्यसक्रममा इतिहास, अर्थशास्त्र र प्राकृतिक विज्ञानको गहन अध्ययन गरे । उनीहरूले यो काम आफ्नो बौद्धिक उत्सुकता मेटाउनमात्र गरेका थिएनन्… पुँजीवादको विकासका भौतिक परिस्थिति र भविष्यमा त्यसले पार्ने असरबारे विस्तृतरूपमा नबुझी पुँजीवादबारे बुझ्न र प्रतिरोध गर्न सम्भव नभएको कुरा उनीहरूलाई राम्ररी थाहा थियो ।” (इयान एन्गस, द रेड्डर सेड अफ ग्रिनः इन्टरसेक्सन्स अफ साइन्स एन्ड सोसिएलिजम् (न्यु योर्कः मन्थ्ली रिभ्यु प्रेस, २०१७, २६)

    पर्यावरणसम्बन्धी मार्क्सको अवधारणा बुझ्नुको अर्थ उनको भौतिकवादी तरिकाअनुसार नै उनको विचारधाराको विकासक्रमबारे बुझ्नु हो । त्यस अर्थमा सुरुको मार्क्स र उनका पछिका विचारबीच कुनै विखण्डन थिएन, बरु उनका अवधारणा र विचारको विकासको सिलसिला थियो । मार्क्सका आर्थिक लेखहरूमा यी कुरालाई ध्यान दिइएको भए पनि प्रकृतिबारे उनको यो विचारको हकमा यो सत्य भएको कुरा भने स्वीकारिएको थिएन । साइटोेले भनेका छन्ः “अलग वास्तविकतामा एउटा काल्पनिक आदर्श थोपर्ने मार्क्सअघिका दार्शनिक चिन्तनभन्दा अघि बढेर मार्क्सले मानिस र प्रकृतिबीचको मूर्त सम्बन्धको विश्लेषण गर्न सिके । मानिस र प्रकृतिबीचको मूर्त सम्बन्ध एकातिर ‘अन्ततः आवश्यकता’ को रूपमा शाश्वत कुरा हो भने अर्कोतिर मानव समाजको विकासक्रमका हरेक उत्पादनको चरणमा श्रमको भिन्नाभिन्नै आर्थिक भूमिकाको आधारमा यो सम्बन्धको सामाजिक आयाम पनि छ ।”

    डेभिड रिकार्डोमार्क्सले एउटा यस्तो समाजको आवश्यकतालाई जोड दिएका छ न् जसको ‘मूल काम’ भनेको ‘सम्बन्धित उत्पादकबाट मानिस र प्रकृतिबीचको भौतिक अन्तरक्रियालाई सचेत रूपमा नियमन गर्नसक्छ । साइटोेले यसलाई ‘अवधारणामै आएको परिवर्तन’ को रुपमा उल्लेखनीय परिवर्तन भनी व्याख्या गरेका छन् । तर, यसलाई मार्क्सको आफ्नो अर्थ–राजनीतिक सिद्धान्तबाट अलग बनाउन सकिन्न ।

    साइटोेले मार्क्स‘सुरुबाटै पर्यावरणबारे चिन्तन गर्ने’ थिएनन् । वास्तवमा उनलाई यस विषयमा सुरु–सुरुमा ‘जानकारीको कमी’ थियो । मार्क्सका सुरु सुरुका लेखनमा उल्लेखित प्रमिथसवादी सोचले उनमा विज्ञान र प्रविधिको अन्त्यहीन प्रगतिप्रतिको विश्वास थाहा पाउन सकिन्छ । कृषिको क्षेत्रमा विज्ञान र प्रविधिको प्रयोगले पृथ्वीको प्राकृतिक सीमिततालाई जित्न सकिने सोच्थे । मार्क्सले त्यत्तिबेला त्यस्तो विचार राख्नु कुनै आश्चर्यको कुरा थिएन किनभने त्यत्तिबेलाका नाम चलेका वैज्ञानिकहरू त्यसरी नै सोच्थे ।

    यो विषयमा मार्क्सलाई महत्वपूर्ण प्रभाव पारेका थिए–स्कटल्यान्डका कृषिविद् जेम्स एन्डरसन । उनी ‘उत्पादकत्व बढाउने प्रक्रियामा माटोको गुणस्तर वृद्धिको पनि भूमिका हुने’ तर्क गर्थे । ‘…उपयुक्त बन्दोबस्तअन्तर्गत माटोको गुणस्तर वृद्धिको लागि श्रमले पनि भूमिका खेलेको हुन्छ ।’ मार्क्सलाई उनको तर्कले दुई कोणबाट आकर्षित गर्‍यो । पहिलो एन्डरसनको विचारले श्रममा आधारित न्यायसङ्गत कृषिसम्बन्धी उनको धारणालाई समर्थन गरेको थियो । दोस्रो कारण, यो तर्कले थोमस माल्थस र डेभिड रिकार्डोको विचारको आलोचना गथ्र्यो जसले माटोको उर्वरतामा कमीले भविष्यको सङ्कटप्रति निराशाजनक धारणालाई उत्साहित गथ्र्यो ।

    मार्क्सले त्यस्ता वैज्ञानिकहरूको विस्तृत अध्ययन गरेका थिए, तिनका कृतिबारे बहस र छलफल गरेका थिए, तिनमाथि आलोचनात्मक अध्ययन गरेका थिए । त्यसले विषयवस्तुलाई विस्तृतरूपमा बुझ्न उनलाई सक्षम बनाएको थियो । मार्क्सले ‘प्रकृतिमाथि मनपरी दोहन गर्नु नहुने र प्राविधिक विकासमार्फत पनि प्रकृतिको रूप बिगार्न नहुने’ भनी आफ्नो दृष्टिकोण विकास गरेका थिए । निष्कर्षमा उनले भनेका छन्, “प्रकृतिमा पनि जित्न नसकिने सीमितताहरू हुन्छन् ।”

    यो विषयमा मार्क्सका विचारको विकासमा जर्मनीका कृषिविद् जस्टस भोन लेबिग (१८०३–१८७३) का कृतिहरूको महत्वपूर्ण भूमिका खेलेको छ । पर्यावरणसम्बन्धी मार्क्सका विचारबारे पुस्तकहरूमा लेबिगको भूमिकाबारे प्रकाश पारिएको छ । त्यतिबेलाको प्राकृतिक विज्ञानबारे आफ्नो सिद्धान्त विकास गर्न मार्क्सले लेबिगका कृतिहरू (धेरै स–साना परिवर्तनसहित लेविगका कृतिका धेरै संस्करण प्रकाशित छन्) र लेबिगका विचारमाथि भएका वैज्ञानिक बहसको मार्क्सले गरेको गम्भीर अध्ययनबारे साइटोेले विस्तृत रूपमा प्रकाश पारेका छन् ।

    सुरुमा मार्क्सले पर्यावरणसम्बन्धी आफ्नो विचार बनाउन लेबिगबारे अध्ययन गरेका थिएनन् । रिकार्डोजस्ता चिन्तकहरूबारे आलोचनात्मक धारणा बनाउन मार्क्सले लेबिगको अध्ययन गरेका थिए । विशेषतः मार्क्सले सीमान्त प्रतिफलको नियमबारे अध्ययन गरेका थिए । सीमान्त प्रतिफलको नियम भन्नाले माटोको सुधारको लागि रसायनिक मल वा पुँजीगत लगानी भए पनि त्यसको कृषि प्रतिफल क्रमशः घट्दै जाने नियम हो । भूमिको तिरोसम्बन्धी सिद्धान्त बुझ्न यो महत्वपूर्ण नियम थियो । यहाँ मार्क्सले ‘कृषिको उत्पादकत्वको अनुपातिक वृद्धि हुने’ विचार अघि सारेका थिए । उनले माटोको उर्वरतामा कमी र प्राकृतिक स्रोतमा सीमिततालाई प्रमुख प्रश्नको रुपमा लिएनन् किनभने उनले सरलतापूर्वक यसलाई ‘पुँजीवादमा मात्र आउने समस्या’ को रूपमा हेरेका थिए ।

    तर, ‘पुँजी’ लेख्न थाल्दासम्म मार्क्सले आफ्नो विचारमा परिमार्जन गरिसकेका थिए । “कृषिमा डकैती प्रणाली कृषि क्षेत्रमा भौतिक सीमितताको विशिष्ट आधुनिक परिणाम हो” भन्ने लेबिगको विचार मार्क्सले पछ्याए । लेबिगलाई मार्क्सले दुई वटा महत्वपूर्ण विचार दिएः पहिलो, पुँजीवादी कृषिमा प्रकृतिको सीमितता हुन्छ । जस्तैः माटोको प्रकार, स्थानीय मौसम आदि । एक नयाँ किसानले अथाह पुँजी लगानी गरे पनि लगानीको प्रतिफल भने त्यस्ता प्राकृतिक कुराले सधैँ अवरोध सिर्जना गरेको हुन्छ । दोस्रो, लेबिगले आधुनिक कृषि प्रणालीले संस्थागतरूपमै माटोको पोषक तत्व कमजोर बनाउँछ र त्यसको पुनःस्थापना भने गर्न सक्दैन । साइटोेले यो प्रक्रियाबारे जानकार भएपछि मार्क्सको ‘उत्साह’ बारे जोड दिएका छन् । यो प्रक्रियाले ‘सहर र गाउँबीचको आपसमा विरोधी सम्बन्धको वैज्ञानिक कारण’ प्रस्ट बनाएको छ ।

    लेबिग र अन्य कृषि वैज्ञानिकहरू न्यायसङ्गत कृषि सम्भव भएको कुरामा मार्क्सको चित्त बुझाउन सफल भयो । सँगै त्यस्तो कृषि प्रणाली पुँजीवादी कृषि सम्बन्धबाट सम्भव नभएको कुरा पनि प्रस्ट बनायो । पुँजीवादी व्यवस्थाअन्तर्गत जब माटोको उर्वरता घट्छ, लागत बढ्छ किनभने त्यसमा सुधार मानिसको श्रममार्फत मात्र गर्नसक्छ, ‘स्वतन्त्र प्राकृतिक शक्ति’ हद्पेर गर्न सकिन्न । साइटोेका अनुसार मार्क्समा ‘पुँजीवादी व्यवस्थाअन्तर्गत पुँजीमुखी कृषिले माटोको दिगो र दीर्घकालीन सुधार गर्न सम्भव नहुने र माटोको उर्वरता बढाउन पुँजी लगानी बढ्दै गएपछि उत्पादन लागत बढ्ने आलोचनात्मक दृष्टिकोण’ को विकास भइसकेको थियो । तर, पुँजीवादी कृषि नाफा बढाउन ‘प्रकृतिको स्वतन्त्र शक्ति’को अधिकतम प्रयोग गरेको हुन्छ । त्यस्तो सम्बन्धलाई व्यवस्थित गर्नसक्ने न्यायसङ्गत नयाँ आर्थिक प्रणालीले मात्र माटोको उर्वरताको ऐतिहासिक ह्रासलाई जित्न सक्नेछ ।

    लेबिग र अन्य वैज्ञानिकहरूको अध्ययनको निष्कर्षमा मार्क्सले ‘मेटाबोलिक खाडल’ को विकास गरे । पुँजीवादी कृषिको ‘डकैती प्रणाली’ बारे उनको बुझाइ अलि पछि मात्र आयो, सन् १८६० को दसकतिर । यसको कारण उनले त्यसअघि यो विषयमा अध्ययन गरेको थिएन भन्ने होइन । बरु त्यसअघि माटोको उर्वरतासम्बन्धी समस्या समाधान गर्न रसायनिक मलको क्षमतासम्बन्धी सकारात्मक विश्वासबारे लेबिगजस्ता लेखकका सकारात्मक धारणामा उनी केन्द्रित थिए ।

    मार्क्सले यो उपलब्धिलाई एक हदसम्म खुसीपूर्वक लिएका थिए । सन् १८५० को दसकमा आफ्नो लन्डन नोटबुकमध्ये एउटामा उनले लेबिगको भनाइ अघि सारेका छन् : “कृषिको यो पुनःस्थापना मल, खरानी वा हड्डीको कारण प्रभावित बन्छ वा बन्दैन भन्ने कुरा धेरै मात्रामा महत्वपूर्ण विषय होइन । त्यस्तो समय पनि आउनेछ, जब रसायन कारखानामा बनेको काँच बनाउने रसायन (पोटासको सिलिकेट) सँगै परालको खरानी र फोस्फोरस अम्ल मिलाइएको मलले माटोको उर्वरता बढाउनेछ ।” सन् १८५१ का नोटबुकमा उल्लेखित माटोको उर्वरा सङ्कटको पृष्ठभूमिमा यो विशुद्ध प्राविधिक समाधानप्रति मार्क्सको विश्वास ‘ज्यादै उत्साहप्रद’ भनी साइटोेले टिप्पणी गरेका छन् । सन् १८६३ भन्दाअघि लेबिगबारे मार्क्सको अध्ययन आधुनिक कृषिबारे वास्तवमा आलोचनात्मक भई नसकेको निष्कर्ष निकाल्नु उपयुक्त हुन्छ । तथापि, ‘पुँजी’ मा आएर यसमा परिवर्तन भएको देखिन्छ ।

    मार्क्सलाई आफ्नो बुझाइमा परिवर्तन गर्न के कुराले घच्घच्यायो ? ‘पुँजी’ लेख्दा मार्क्सको ध्यान पुँजीवादी व्यवस्थाअन्तर्गत श्रमलाई मानवीय आवश्यकता पूरा गर्न नभई पुँजीवादी व्यवस्थाको लागि अधिकतम धन सङ्कलन गर्न कसरी प्रयोग हुन्छ भन्नेमा केन्द्रित थियो । उनले त्यही बेला लेखेका छन्, “पुँजीवादी व्यवस्थाले श्रमिकको जीवनमा धेरै थरी समस्याहरू जस्तै धेरै काम, मानसिक तथा शारीरिक समस्या, बाल श्रम आदि निम्त्याउने गर्छ । … पुँजीको यो प्रभुत्व कारखानामा श्रमको पुनःसङ्गठनभन्दा पर पुग्छ । … मानिस र प्रकृतिबीचको प्राकृतिक अन्तरक्रियालाई खलल पुग्ने गरी भौतिक विश्वमा अनेक प्रकारका विकृति देखापर्छन् ।”

    नयाँ ज्ञानको खोजीमा मार्क्सले कृषि विज्ञानको अध्ययनलाई निरन्तरता दिए । सन् १८५६–६६ का मार्क्सका नोटबुकहरूको अध्ययनपछि साइटोेका अनुसार उनलाई लेबिगको विचारमाथि आलोचनात्मक धारणा विकास गर्न मद्दत पुग्यो । त्यत्तिञ्जेल लेबिगको विचारमा पनि परिवर्तन आइरहेको थियो । लेबिग आफैँ पनि पुँजीवादी कृषिको आलोचनामा प्रस्ट बन्दै थिए । कृषि उत्पादन बढाउने नाममा माटोको गुणस्तरमा सम्झौता गर्न नसकिनेमा उनी प्रस्ट थिए । उनले लेखेका थिए, “माटोको पोषक तत्वको कारणमात्र कृषि उत्पादन बढ्ने होइन । बरु माटोको गुणलाई क्षति पुर्‍याउने तौरतरिकाको कारण कृषि उत्पादन बढिरहेको छ ।” लेबिग पुँजीवादी कृषि ‘डकैतीको प्रणाली’ मा निर्भर हुने मतमा प्रस्ट भए । संसारभरका टापुमा जम्मा भएका जीवजन्तु र चराचुरुङ्गीको मलको प्रयोग अध्ययनपछि उनी यो मतमा दृढ बने । उनले बेलायतको कृषि उद्योगलाई बाँकी संसारको लागि रगत खाने राक्षस (भ्याम्पायर) को रूपमा व्याख्या गरे । बेलायती कृषि उद्योगले प्राकृतिक स्रोतसाधनको दोहनलाई लिएर उनले त्यस्तो उपमा दिएका थिए । त्यसरी प्राकृतिक स्रोतको दोहनले मूलतः कुनै दिगो उपलब्धि हासिल नहुने उनको विचार थियो ।

    यी विश्लेषणहरूलाई आधार मानेर मार्क्सले आफ्नो तर्कमा पनि परिवर्तन गरे । उनले प्रविधि र विज्ञानमा केन्द्रित ‘उत्साहप्रद’ मत त्यागे । साइटोको शब्दमा मार्क्सले ‘नाफामुखी’ प्रविधिले माटोमा उर्वरताको कमी र प्राकृतिक स्रोतको अभावजस्ता अनपेक्षित र विनाशकारी परिणाम निम्त्याउने’ देखे । लेबिगका लेखहरू माटोको उर्वरता सङ्कट समाधान गर्न वैज्ञानिकहरूबीच व्यापक छलफल भएको थियो । उर्वरता सङ्कटको समाधान ‘रसायनिक समाधान’ हुनुपर्ने र लेबिगको जस्तो ‘खनिज समाधान’ हुनुपर्ने तर्क गर्नेबीच त्यत्तिबेला गम्भीर बहस भएको थियो । मार्क्सले जर्मनीका वैज्ञानिक कार्ल फ्रासका कृतिहरूको पनि अध्ययन गरे । मार्क्सको विचारमा फ्रासका विचारले ‘अचेत सामाजिक झुकाव’ प्रदर्शन गरेको छ । फ्रासको विचारमा माटोमा कृत्रिम मलमार्फत रसायन मिसाउनुभन्दा माटोको उर्वरता बढाउने अरु नै उपायहरू भएको बताए । जस्तैः खेतको माटो र पोषकमा प्राकृतिकरूपमा फेरबदल गर्न बाढी हुल्ने उपाय । तर महँगो रसायनिक मलमा भरपर्न नहुने उनको धारणा थियो । त्यसले पनि न्यायसङ्गत कृषि सम्भव भएको मार्क्सको बुझाइमा अझ मलजल गर्‍यो ।

    फ्रासको अध्ययनले मार्क्सलाई जलवायु र त्यसले कृषि र सभ्यतामा पार्ने असरको विषयमा पनि अध्ययन गर्न हौस्यायो । मार्क्सले फ्रासको पुस्तक ‘क्लाइमेट एन्ड द प्लान्ट वल्र्ड ओभर टाइम्स’ (१८४७) पढे । त्यो पुस्तकमा वनविनाशले जलवायुमा पार्ने प्रभावबारे मार्क्सले अध्ययन गरे । फ्रासले आफ्नो पुस्तकमा वनविनाश र अन्य वनस्पतिको विनाशले कुनै पनि क्षेत्रको प्राकृतिक चरित्रमा ‘गहिरो फेरबदल’ ल्याउने कुरा लेखेका छन् । वनविनाश र मरुभूमीकरणबारे फ्रासका पुस्तकबाट मार्क्सले विस्तृत नोट बताए । जसबाट मानिस–प्रकृति मेटाबोलिज्मलाई कसरी पुँजीवादी व्यवस्थाले असर गर्छ भन्ने विषयमा मार्क्सको बुझाइलाई अझ व्यापक बनाउन मद्दत गर्‍यो । साइटोले निष्कर्ष निकालेका छन्ः

    “फ्रासको ऐतिहासिक अध्ययनले अघिल्लो लेबिगको माटोको उर्वता ह्राससम्बन्धी सिद्धान्तले भन्दा पर्यावरणसम्बन्धी मार्क्सको बुझाइलाई अझ फराकिलो बनायो । मानिसको कारण प्राकृतिक अन्तरक्रियामा निम्तिने दखलबारे मार्क्सको अध्ययनको लागि जलवायु परिवर्तन एउटा नयाँ र महत्वपूर्ण विषय थियो । ‘क्लाइमेट एन्ड द प्लान्ट वल्र्ड ओभर टाइम’ले मार्क्सलाई आधुनिक पुँजीवादी उत्पादनले मानिस र प्रकृतिबीचको अन्तरक्रियामा थप दखल पुर्‍याएको विषयमा मार्क्सलाई सचेत बनायो।”

    फ्रान्सले व्यापार र उद्योगले वातावरणमाथि अनिवार्यरूपमा क्षति पुर्‍याएको निराशावादी निष्कर्ष निकाले । तर, मार्क्सले उत्पादनका साधनमा प्रजातान्त्रिक नियन्त्रणमार्फत मानिस र प्रकृतिबीच अन्तरक्रियाको न्यायपूर्ण नियमनमार्फत उनीहरूबीच एकता कायम गर्र्नुका साथै मेटाबोलिक खाडल पुर्न सहयोग गर्ने निष्कर्ष निकाले । तर, त्यसको निम्ति पुँजीवादी व्यवस्थालाई भत्काउनुपर्ने उनको निचोड थियो।

    यसरी समकालीन वैज्ञानिकहरूको गम्भीर अध्ययन र त्यसमाथिको बहसको लामो सिलसिलापश्चात् मार्क्स आफ्नो मेटाबोलिक सिद्धान्तमा पुगे । तर, दिगो विश्वबारे अझ बढी स्पष्ट हुन हामीले पुँजीवादी व्यवस्था किन यति विनाशकारी हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ । यहाँ आएर साइटोले पर्यावरणसम्बन्धी विचारसामु मार्क्सको अतिरिक्त मूल्यको सिद्धान्तको केन्द्रीयतालाई उपेक्षा गर्न नसकिने तर्क गर्छन् ।

    पुँजीवादले नाफाको दौडको लागि मात्र पृथ्वीलाई ध्वस्त पार्छ भन्ने बुझाइ पूर्ण बुझाइ होइन । साइटोको बुझाइमा यो तर्क स्वयम् मार्क्सको भौतिकवादी विधिविपरीत हो । बरु हामीले यसको निम्ति मानिस र प्रकृतिबीचको अन्तरक्रियालाई बङ्ग्याउन पुँजीले कसरी भूमिका खेलेको हुन्छ भनी गहिराइमा अध्ययन गर्न जरुरी छ । पुँजीले सामाजिक उत्पादन र सञ्चार प्रकृति र मानिसबीचको अन्तरसम्बन्ध बिथोल्ने गरी हुने काम गरेको हुन्छ । साइटोले निकै जोडका साथ लेखेका छन्,“पुँजीवादी व्यवस्थामा श्रमको कुल मूल्यको निर्धारण र पुँजीवादी उत्पादनको कुल वितरण मूल्यले निर्धारण गर्ने भएकोले मानिस र प्रकृतिबीचको मेटाबोलिक अन्तरक्रिया अमूर्त श्रमले निर्धारण गर्ने गर्छ।”

    पुँजीवादले प्रकृति र समाजबीचको सम्बन्धको निर्धारण धन जम्मा गर्नसक्ने क्षमताले निर्धारण गर्ने गर्छ । त्यसले प्रकृतिको दोहन र ‘श्रमलाई क्षीण’ बनाउने अवस्था निम्त्याउँछ । त्यसकारण आज हामीले भोगिरहेको ठूलो पर्यावरणीय सङ्कटको मूल कारण हामीसँग प्रविधि वा विज्ञानसम्बन्धी ज्ञान नभएर होइन, बरु पुँजी परिचालनको तरिका नमिलेर हो । त्यसकारण विगत एकचौथाइ शातब्दीभरि जलवायु परिवर्तन समाधानको निम्ति भएका सबै प्रयास असफल बनिरहेका छन् । ती सबै प्रयासले प्राविधिक समाधानमात्र खोजिरहेका छन् अथवा बजार संयन्त्र मिलाउन खोजिरहेका छन् वा दुवैलाई मिलाउन खोजिरहेका छन् । तर, उनीहरूले प्रकृतिसँगको अन्तरक्रियालाई विकृत बनाउने आधारभूत तरिकाबारे बुझ्न असमर्थ भएका छन् । फलतः पुँजीवादी पर्यावरणीय सङ्कट समाधान गर्न उनीहरू असफल छन् ।

    कार्ल मार्क्सको ‘पर्या–समाजवाद’ (इकोसोसिएलिजम्) मा मानव समाज र प्रकृतिबीचको अन्तरक्रियाबारे मार्क्सको विचार अझै अपूर्ण रहेको देखाएको छ । बरु यसले विज्ञान र दर्शनबीचको गहिरो अध्ययनलाई जोड दिएको छ । मार्क्सको विचारले हामीलाई निःसन्देह पुँजीवादले वातावरणलाई कसरी ध्वस्त बनाउँछ भन्ने कुरालाई अझ स्पष्ट पार्छ । साइटोको पुस्तकले मार्क्सको पर्यावरणसम्बन्धी विचारमा क्रमिकरूपमा भएको प्रगतिलाई उजागर गरेको छ । उनको मेटाबोलिक खाडल सिद्धान्त र त्यसको महत्व बुझ्न यो उपयोगी छ र पढ्न जरुरी छ ।

    स्रोतः मन्थली रिभ्यु, २०१८ (पूर्णाङ्क ६९, अङ्क ११ अप्रिल, २०१८)
    नेपाली अनुवादः नीरज/onlinemajdoor

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार