यो लेख कामरेड रामबहादुर बुढाको ‘सहिद मित्रमणि र कांग्रेससितको सम्बन्ध‘ शीर्षक लेखले हाम्रो पार्टीबारे उत्पन्न गराएका भ्रमलाई स्पष्ट गर्नका लागि लेखिएको छ । उहाँको त्यो लेखमा धेरै जसो इतिहासका विवरण दिइएको छ, त्यसप्रति हामी सकारात्मक नै छौँ । किनभने इतिहासका तथ्यबाट हामी कोही पनि भाग्न सक्दैनौँ । मित्रमणिको हत्या सम्बन्धीको तितो इतिहासलाई हामीले अस्वीकार गर्ने कुरा नै आउँदैन । इतिहासका ती तथ्यलाई हामीले मान्यता दिँदै आएको थियौँ, दिन्छौँ र दिने छौँ ।
हामीले आफ्नो लेखमा हाम्रो पार्टीले नेपाली कांग्रेससितको चुनावी तालमेलबारे लिएको नीतिलाई नै स्पष्ट गर्ने छौँ र कामरेड बुढाले ‘अहिले मसालमा कांग्रेस, मधेशवादी सहितसितको सम्बन्धलाई लिएर कार्यकर्ता पङ्क्तिमा व्यापक असन्तुष्टि बढेर गएको छ‘ भन्ने कुराको खण्डन गर्ने छौँ ।
दोश्रो विश्वयुद्धको समयमा तत्कालीन सोभियत सङ्घको पश्चिमा देश खासगरी अमेरिका र बेलायतसित संयुक्त मोर्चा कायम भएको थियो । बेलायत त्यो बेलाको शक्तिसम्पन्न र संसारको अधिकांश भूमिमा आफ्नो उपनिवेश कायम गर्न सफल भएको साम्राज्यवादी देश थियो भने अमेरिका उदीयमान पुँजीवादी देश थियो । दोश्रो विश्वयुद्धसँगै लड्नुपर्ने समयमा बाहेक यी दुवै देश सोभियत सङ्घप्रति कहिल्यै सकारात्मक हुन सकेनन् । तिनीहरूले सोभियत सङ्घका विरुद्ध हिटलरको फासिष्टवादले भन्दा बढी पूर्वाग्रही व्यवहार अपनाउने गर्दथे । त्यसैले हिटलरले सोभियत सङ्घमाथि आक्रमण गर्दा तिनीहरू रमिते बनेर हेरिरहेका थिए ।
तर पछि उनीहरूलाई फासिष्टवादले आफूलाई पनि निल्ने छ भन्ने कुराको ज्ञात भयो । आफूमाथि खतरा आइलागेपछि मात्र उनीहरू सोभियत सङ्घसित संयुक्त मोर्चा बनाउन तयार भए । त्यो बेला स्तालिनले साम्राज्यवादीहरूसित संयुक्त मोर्चा कायम हुन नसक्ने भन्ने नीति अगाडि सारेको भए तत्कालीन रूपमा क्रान्तिकारी जस्तो देखिएपनि त्यसको परिणाम गलत हुन्थ्यो । अर्थात् त्यस प्रकारको नीति अपनाएको भए फासिष्टवादका विरुद्ध युद्ध लडिरहेको भएपनि प्रकारान्तरले फासिष्टवादलाई नै शक्तिशाली बन्न छोडिदिनु हुन्थ्यो ।
च्याङकाइशेक राष्ट्रवादी नेता थिएनन् । निश्चय पनि लाखौँ कम्युनिस्टको हत्या गर्ने बेलामा उनी जापानी साम्राज्यवादबाट पोषित एक कठपुतली शासक थिए । त्यसरी साम्राज्यवादबाट पोषित र लाखौँ कम्युनिस्टको हत्यारा व्यक्ति पनि अन्तमा मातृभूमिको रक्षा गर्ने प्रश्नमा कम्युनिस्ट नेता माओसित सहमत भए र माओले च्याङकाइशेकसित संयुक्त मोर्चा कायम गरेर जापानी साम्राज्यवादका विरुद्ध लडेका थिए । जापानी साम्राज्यवादलाई परास्त गरेपछि के च्याङकाइशेकले माओलाई सत्ता हस्तान्तरण गर्ने थिए ? यदि उनले त्यसो गर्थे भने चीनमा जनवादी क्रान्तिको आवश्यकता पर्ने थिएन ।
माओले च्याङकाइशेक आफ्ना लाखौँ साथीहरूका हत्यारा हुन् भन्ने कुरा बुझेर पनि जापानी साम्राज्यवादका विरुद्ध लड्नका लागि च्याङकाइशेकसँग संयुक्त मोर्चा कायम गरेका थिए । किन कि साम्राज्यवादको कठपुतली शासक भन्दा मातृभूमिलाई कब्जा गर्ने जापानी साम्राज्यवाद त्यो बेला प्रधान दुश्मन बन्न गएको थियो । प्रधान दुश्मनका विरुद्ध लड्नका लागि सम्भव भएजतिका सबै पक्षसित संयुक्त मोर्चा कायम गर्नु तत्कालीन आवश्यकता बन्न गएको थियो । च्याङकाइशेक जस्तो खराब र आफ्ना लाखौँ साथीहरूको हत्या गर्ने शासकलाई माओले मित्रशक्तिको रूपमा बुझेर त्यो संयुक्त मोर्चा बनाएका थिएनन् । दुश्मनहरू मध्ये तत्कालीन समयमा गौण ठहरिन आएकोले च्याङकाइशेकसित त्यस प्रकारको संयुक्त मोर्चा कायम गर्न सम्भव भएको थियो । यदि जापानी साम्राज्यवाद चीनमा हुँदैन्थ्यो भने चीनको राष्ट्रिय क्रान्तिका लागि प्रधान दुश्मन च्याङकाइशेक नै हुन जान्थे । जुन कुरा पछि सावित भएको थियो ।
माथिका दुई उदाहरणबाट क्रान्तिकारीहरूले परिस्थितिको ठोस विश्लेषण गरेर वस्तुपरक भएर नै नीति बनाउनु पर्छ भन्ने कुराको निष्कर्ष निस्कन्छ । आग्रह–पूर्वाग्रहको मनोग्रन्थीबाट चलेको भए न स्तालिन सफल हुन सक्दथे न त माओ ।
अब देशभित्रका केही उदाहरणलाई हेरौँ :
नेपाली कम्युनिस्ट आन्दोलनको पूरै इतिहास गणतन्त्रको पक्षमा सङघर्ष गर्दै बितेको थियो । त्यस प्रकारको सङ्घर्षमा प्रमुख दुश्मनको रूपमा राजा नै केन्द्रमा रहेका थिए । निरङ्कुश राजतन्त्रले निर्ममतापूर्वक हत्या गर्नुका साथै कैयौँलाई जेलमा सडाउने काम गरेको थियो । नेपालमा ३० वर्षे अन्धकार युगका लागि पञ्चायती शासक वर्ग नै जिम्मेवार थिए । त्यो शासक वर्गको केन्द्रमा राजा नै थिए । त्यस प्रकारको परिस्थिति भएपनि कोदारी राजमार्गको विषयलाई समर्थन गर्ने र राष्ट्रियताको सन्दर्भमा कतिपय अवस्थामा राजासँग पनि संयुक्त मोर्चा कायम गर्न सकिने भन्ने हाम्रो पार्टीको नीति रहेको थियो । आफ्ना साथीहरूको हत्या गरिरहेको शासक वर्ग र त्यो सित हाम्रो संयुक्त मोर्चा हुन सक्ने कुरा विपरित कुरा हुन् । सरसर्ती विचार गर्दा त्यो कुरा आÇना साथीहरूको हत्याराको समर्थन गर्ने जस्तो हुन जान्छ ।
हामीले तत्कालीन माओवादीले लिएको सशस्त्र सङ्घर्षको नीति र कार्यक्रमको आलोचना गरेका थियौँ । त्यो छुट्टै कुरा हो, त्यसको सैद्धान्तिक र राजनीतिक आलोचनासित सम्बन्ध रहेकोले त्यसबारे अहिले यहाँ चर्चा गर्नपट्टि नलागौँ । तर राज्यसित जोडिएको अर्को एउटा पक्षबाट भने हामीले ध्यान हटाउन सक्दैनौँ । हामीले दश वर्षे द्वन्द्वको एउटा सानो तस्बीर हेरौँ । त्यो बेला अपनाइएको तरिकाबाट भन्दा फरक अन्य दुई तरिकाबाट पनि त्यो द्वन्द्वको समाधान हुन सक्दथ्यो, जसमध्ये एउटा हो : राज्यले आफ्नो दमनकारी कार्यमा पूरा सफलता प्राप्त गर्नु र अर्को हो : माओवादीहरू आफ्नो उद्देश्यमा पूरा सफल हुनु ।
तर अहिलेको परिस्थिति ती दुवै खालका पक्षको विजयको स्वरुप होइन, जनताको शक्तिको फरक प्रवाहबाट मात्र यस प्रकारको परिस्थिति निर्माण हुन पुगेको हो । जुन परिस्थितिभित्र तत्कालीन द्वन्द्वरत पक्षहरू र जनता सँगसँगै रहेका छन् । त्यो दशवर्षे द्वन्द्वकालमा दुवैतर्फबाट मारिएका परिवारजन, आ–आफ्नो पक्षधर शक्ति एवम् त्यो द्वन्द्वबाट उत्पीडित जनसमुदाय आफ्नो अडानमा यथावत रहेमा द्वन्द्वको समाधान हुन सक्दैन्थ्यो । १७ हजार भन्दा बढी मानिसहरूको मृत्युका लागि द्वन्द्वरत पक्षहरू जिम्मेवार रहेका थिए । जनता उत्पीडनका शिकार भएका थिए । सबैका कोही न कोहीले ज्यान गुमाएका थिए । तर पनि त्यसरी उत्पीडित भएका जनताले आग्रह–पूर्वाग्रह नराखेको उज्ज्वल इतिहास नेपालसँग छ ।
अहिले जनताका जुन गुनासा र विरोध रहेका छन्, त्यो कुरा आम जनताको जीवन बदल्न नसकेको राजनीतिक परिस्थितिसित नै सम्बन्धित छ । फलानो मान्छे देशको प्रधानमन्त्री हुँदा र फलानो मान्छे माओवादीको नेता हुँदा हाम्रा मान्छे मारिएका थिए भन्ने पूर्वाग्रहसित सम्बन्धित छैन । त्यस प्रकारको पूर्वाग्रहको राजनीतिसित सम्बन्ध रहँदैन । जनताको त्यो महान सच्चाइबाट हामीले पनि महान शिक्षा लिन सक्नु पर्दछ ।
झापा विद्रोहका विद्रोहीले हाम्रो पार्टी र नेतृत्वका विरुद्ध अपनाएको कार्यशैली वर्ग दुश्मनको जस्तै रहेको छ । उनीहरूले त्यस बेला हाम्रा कार्यकर्तामाथि कुटपीट गरेको र ज्यान समेत लिने प्रयास गरेका कैयौँ ऐतिहासिक फेहरिस्तको जिउँदो इतिहास छ । उनीहरूद्वारा लगाइएका व्यक्तिगत लाञ्छना, आरोप, चरित्रहत्या, गालीगलौजको त्यो सम्पूर्ण इतिहासलाई कसैले पनि ओझेलमा पार्न सक्दैन ।
पुष्पलाल सम्बन्धीको पूर्व दृष्टिकोण परिवर्तन गरी उनीप्रति सम्मानित व्यवहार अपनाइसकेको हाम्रो पार्टीको उज्यालो इतिहासबाट भाग्दै ‘मोहनविक्रमले पुष्पलाललाई गद्दार भनेको‘ भनेर कुतर्क गर्नेहरूले मोहनविक्रमलाई सयौँ पटक गद्दार भनिएको इतिहासका फेहरिस्त पनि हेरेका होलान् । को कुरा कसैले सच्याउनुपर्ने अवस्था छ वा छैन ? यदि सच्याउनुपर्ने हो भने कसले सच्याउनुपर्ने हो, त्यसको उत्तर अहिलेसम्म कसैले दिन सकेको छैन । तर के मोहनविक्रमलाई गद्दार बताएका पात्र र शक्तिबारे हामीलाई जानकारी नभएको हो र ? तर पनि हामीले त्यो पूर्वाग्रहका आधारमा आफ्नो नीति बनाउने गरेका छैनौँ । उनीहरूसित हाम्रो पार्टीको मित्र शक्तिको सम्बन्ध रहेको छ ।
२०४२ सालमा पाँचौ महाधिवेशनपछि हाम्रो पार्टीमा फुट आयो । त्यो फुटको सिलसिलामा हाम्रो पार्टी र मोहनविक्रम सिंहप्रति आरोपित गरिएका तत्कालीन दस्तावेज वा इतिहासलाई हेर्ने हो भने अहिलेका मोहन वैद्य वा प्रचण्डका पक्षहरूसित हाम्रो वर्गशत्रुता कायम हुनु पर्ने हो । त्यो सिलसिला माओवादीले आफ्नो दश वर्षे सशस्त्र कालमा पनि कायम राखे । तर पनि उनीहरूसित हाम्रो मित्र शक्तिको सम्बन्ध कायम रहेको छ ।
माओवादी सशस्त्र गतिविधिको अवधिमा हाम्रा कैयौँ साथीहरूलाई माओवादीहरूले अपहरण र हत्या गरेका थिए । हाम्रा साथीहरूमाथि उनीहरूले सांघातिक र गम्भीर आक्रमण गरेका थिए । तर उनीहरूले त्यसरी आक्रमण गरेका कतिपय साथीहरू पछि माओवादीमा नै सामेल हुन पुगे । तर पनि हाम्रो उनीहरूसित मित्र शक्तिको सम्बन्ध रहेको छ ।
एमालेसित हाम्रा तिता पक्षको सम्बन्ध झापा आन्दोलनदेखि नै रहेको छ । तर पछि हामीले उनीहरूसित कैयौँ पटक विभिन्न सन्दर्भमा कार्यगत एकता गरेका छौँ । कतिपय स्थानमा उनीहरूसित भएको हाम्रो झडपको इतिहास पनि रहेको छ । उनीहरूले कार्यगत एकतामा देखाएका कतिपय बेइमान र अविश्वासका घटना बिर्सन नसकिने गरी इतिहासमा दर्ज हुन पुगेका छन् । त्यो सङ्गठनका नेता केपी ओलीले देशलाई प्रतिगमनतर्फ लैजाने कदम उठाएकोले हामीले त्यसको विरोध गर्नुका साथै त्यसका विरुद्ध सङ्घर्ष गरेको भएपनि समग्रमा एमालेलाई मित्र शक्ति मान्ने हाम्रो पूर्व नीतिमा कुनै परिवर्तन भएको छैन ।
माथिका सबै विवरणबाट राजनीति आग्रह–पूर्वाग्रह रहित प्रक्रिया हो भन्ने कुरा छर्लङ्ग हुन्छ । त्यसका साथै सङ्घर्षको अवस्था खालि दुश्मन पक्षसँग मात्र रहेको हुँदैन, कतिपय अवस्थामा दुश्मन पक्षसँग हुने अन्तिम आमनेसामने सङ्घर्ष जत्तिकै भयानक रूपको सङ्घर्षको इतिहास मित्र पक्षहरूको सङ्घर्षबाट पनि निर्माण भएको हुन्छ ।
हामीले मित्रमणिका हत्याराप्रति घृणा गर्दछौँ । का. रामबहादुर बुढाजीले आफ्नो लेखमा उल्लेख गरेका विवरण मित्रमणिको हत्या भएको समयमा नै पार्टीलाई सूचना नभएको पनि होइन । कुनै समूह बनाएर ती हत्यारासित बदला लिन पनि सकिन्थ्यो । तर त्यसको परिणाम के हुन्थ्यो ? हाम्रो पार्टी राजनीतिक उद्देश्य बोकेको शक्तिको रूपमा रहन सक्दैन्थ्यो । त्यो एउटा बदला लिने समूहको रूपमा परिणत हुन्थ्यो र त्यसको पतन छिट्टै हुन्थ्यो ।
मित्रमणिको हत्यापछि बितेका ३६ वर्षमा देशमा धेरै उथलपुथल भएको छ । विभिन्न राजनीतिक परिवर्तन हुनुका साथै ठूला–साना धेरै आन्दोेलन सम्पन्न भएका छन् । कम्युनिस्ट आन्दोलन बाङ्गोटिङ्गो भएर अगाडि बढिरहेको छ । यी सबै वर्षहरूमा परिस्थिति प्रायः हाम्रो प्रतिकूलतामा नै रहेको छ । तर पनि हामीले क्रान्तिकारी सङ्गठनको गतिलाई अगाडि बढाउँदै आएका छौँ, त्यो दौरानमा कैयौँ नेता–कार्यकर्ता हाम्रो आन्दोलनबाट बाहिरिएका छन् वा पतन भएका छन् ।
इतिहास निकै कटु सत्यलाई अँगालेर नै अगाडि बढ्ने हो । कैयौँ सत्यलाई आत्मसात् गरेर, कैयौँ सत्यको नजिकमा गएर हामीले ठोस निर्णय गर्नु पर्दछ । त्यस प्रकारको निर्णय हामीले दूरदर्शितापूर्वक गर्नु पर्दछ ।
हामीले तत्कालीन फाइदा र बेफाइदालाई हेरेर होइन, त्यसको दीर्घकालीन प्रभाव र परिणाममाथि समेत ध्यानमा राखेर कदम उठाउनु पर्दछ । जस्तोसुकै समस्याको सामना गर्नु परेपनि हामीले वस्तुनिष्ठ भएर नै निर्णय गर्नु पर्दछ र त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्दछ । केही अप्रिय निर्णय गर्नु पर्दछ, जुन अधिकांशलाई चित्त नबुझ्ने पनि हुन्छ तर हामीले सच्चाइबाट भाग्नु हुँदैन ।
जहाँसम्म हाम्रा कार्यकर्तामा असन्तुष्टि बढेर गएको छ भन्ने प्रसङ्ग छ, हामी प्रश्न गर्न चाहन्छौँ : के साँच्चै नै हाम्रा
कार्यकर्तामा व्यापक असन्तुष्टि बढेर गएको छ ?
कांग्रेससँग भएको चुनावी तालमेल प्रतिगमन विरुद्धको सङ्घर्षको एउटा अङ्गको रूपमा रहेको छ । हामीले कांग्रेससँग चुनावी तालमेल गरेर चुनावमा केही सीट मात्र प्राप्त गर्दछौँ । ती मध्ये केही सीट त पहिले पनि थिए । तर पनि हामीले प्रतिगमनको जर्जरतालाई कमजोर बनाउनका लागि प्रतिगमनका विरुद्ध उभिएका शक्तिहरूसित नै हातेमालो गर्नु पर्दछ । चुनावको माध्यमबाट शक्तिमा आउन खोजेको प्रतिगमनलाई यहीँनेर परास्त गर्न सकिएन भने पछि कुनै पनि अतिवाद वा अधिनायकवाद बनेर उदाउने शक्तिलाई परास्त गर्न कठिन हुने कुरा स्पष्ट छ । त्यो कुरामाथि विचार गरेर पार्टीले प्रतिगमनविरोधी शक्तिसित तालमेलको नीति लिएको छ । इतिहासका कटु सत्यको प्रयोग तिक्ततापूर्वक गर्न सक्षम हुनु पर्दछ । हाम्रो पूरै पार्टी पङ्क्ति एकढिक्काका साथ त्यो कार्यमा सक्षम रहेको छ । त्यसैले हाम्रा कार्यकर्ता पङ्क्ति दृढतापूर्वक पूरै आ–आफ्नो चुनावी मैदानमा कार्यरत छन् । त्यो अवस्थामा ‘कार्यकर्ता पङ्क्तिमा व्यापक असन्तुष्टि‘ कहाँनेर हुन्छ ?
मित्रमाणिको प्रसङ्ग उल्लेख गरेर का. बुढाले अहिले कांग्र्रेससहितको जुन सङ्घर्षको मोर्चामा हामी पनि सामेल छौँ, हाम्रो त्यो मोर्चामा भएको सहभागितालाई विध्वंसात्मक रूपमा प्रस्तुत गर्नुभएको छ । हामीले उहाँको वैचारिक स्वतन्त्रता र राजनीतिक गतिविधिको सम्मान गर्दछौँ तर एउटा लेखकको हैसियतले उहाँले तथ्यलाई भद्दा रुपमा जुन रुपले प्रस्तुत गर्नुभयो त्यो दुःखद छ । उहाँले हाम्रो पार्टीको विरोधको माध्ययमबाट प्रतिगमनका विरुद्धको सङ्घर्ष नै विरोध गर्न पुग्नु भएको छ । त्यस प्रकारको कार्यबाट प्रतिगमनका पक्षहरूलाई नै बल र मदत पुग्ने कुरा स्पष्ट छ ।
हामीभित्र असन्तुष्टि छैनन् भनेर हामी कहिल्यै पनि भन्दैनौँ । केही न केही रूपमा तिनीहरू कायम भइरहन्छन् । विगतमा हाम्रो कांग्रेससँग शत्रुतापूर्ण सङ्घर्ष हुँदा पनि हाम्रो पार्टीबाट कैयौँ नेता र कार्यकर्ता बाहिरिने गरेका छन् । माओवादीहरूले सशस्त्र गतिविधि गरेको बेला उनीहरूको आलोचना गर्नुपर्दा पनि कैयौँ कार्यकर्तामा असन्तुष्टि पैदा भएको थियो । चुनाव बहिष्कार गर्दा, चुनाव उपयोग गर्दा, एमालेसित कार्यगत एकता गर्दा, माओवादीसँग कार्यगत एकता गर्दा, एमालेको सरकार वा नेकपाको सरकारलाई समर्थन गर्दा, हामी सरकारमा जाँदा, ओली सरकारको सकारात्म कामलाई स्वागत र समर्थन गर्दा, ओलीको प्रतिगमनको विरोध गर्दा, त्यो प्रतिगमनका विरुद्ध कांग्रेस समेतसित मिलेर सङ्घर्ष गर्ने नीति लैँजाँदासमेत कैयौँ कार्यकर्ता र समर्थकमा बेग्ला–बेग्लै असन्तुष्टि देखा परेको थियो ।
असन्तुष्टि र विरोधबाट पूर्ण रूपमा हामी कहिल्यै पनि मुक्त हुन सक्दैनौँ । कुनै न कुनै रुपमा त्यो हाम्रो पार्टी जीवनको एउटा अङ्गको रूपमा रहन्छ । अहिले कांग्रेससित चुनावी तालमेल गरेका कारणले मात्र असन्तुष्टि उत्पन्न भयो भन्ने कुरा कुनै नयाँ तथ्य भएन । केही असन्तुष्टि नहोलान् भन्न सकिन्न, तर त्यो पार्टी वा कार्यकर्ता पङ्क्तिमा होइन, कुनै व्यक्ति सम्ममा नै सीमित हुन सक्दछ । ती जेसुकै भएपनि हामीले यो कुरा निश्चयका साथ भन्न सक्दछौँ : जतिसुकै असन्तुष्टि र विरोध भएपनि वा हामी जतिसुकै खुम्चिन पुगे पनि हामीले वस्तुवादी भएर नै आन्दोलनलाई अगाडि बढाउनु पर्दछ । विगतका सबै शिक्षालाई हामीले सही ढङ्गले आत्मसात गर्नुपर्छ । हामीले सही निर्णय गर्न सकेनौँ र आफ्नो निर्णयहरूको दृढताबाट भाग्न थाल्यौँ भने असन्तुष्टिको डकार छाड्ने दुई दिने ‘क्रान्तिवीर‘ भएर इतिहासका कैयौँ पात्र बिलाए जस्तै हामी पनि बिलाउने छौँ ।
तर हामीले त्यसो गर्ने छैनौँ । हामीले वस्तुवादी भएर क्रान्तिको सिद्धान्तलाई व्यवहारमा प्रयोग गर्दै लैजाने छौँ । हामीमाथि जोखिमता र कठिननाइहरूले जतिसुकै शत्रुतापूर्ण व्यवहार गरे पनि पूर्वाग्रहरहित राजनीति र सैद्धान्तिक मूल्य हाम्रो वर्ग सङ्घर्षको नैतिक आधार हुने छ । हामीले वर्ग सङ्घर्षको मैदानमा प्रधान शत्रु बनेर आउने पक्षका विरुद्ध नै सङ्घर्ष गर्नु पर्ने छ । त्यो बेलामा मित्रशक्ति नै किन नहोस् जो देश र जनताको प्रतिकुलता बनेर उभिने छ, त्यसका विरुद्ध सङ्घर्ष गर्नु हाम्रो कर्तव्य हुने छ । त्यो बेलामा दुश्मन शक्ति नै किन नहोस्, यदि देश र जनताको अनुकूलता बनेर ऊ उभिने छ भने त्योसित हात मिलाउन हामीले हिच्किचाहट गर्नु हुँदैन । हाम्रा हात मिलाउने तरिका निरपेक्ष होइनन्, सापेक्षिक सत्य मात्र हुन् । कसैसित हात मिलाउनुको अर्थ सँधैभरि हात मिलाउनु पर्छ भन्ने होइन ।
कसैसँग मुन्टो फर्काउनुको अर्थ सँधैभरि मुन्टो फर्काउनु पर्छ भन्ने होइन । हामीले बुझेको द्वन्द्ववाद हाम्रो पार्टी जीवनको प्रयोगको लागि एक अभिन्न अङ्ग बन्नु पर्दछ । हामीले पार्टीलाई अन्धविश्वासी र अन्धभक्तको मन्दिर बन्न दिनु हुँदैन, अधैर्य र अराजकको क्रिडास्थल पनि बन्न दिनु हुँदैन । स्वार्थ प्राप्त हुँदासम्म नेतृत्वलाई देवत्वकरण गरेर समर्थक र शुभचिन्तकमाथि शासन गर्ने र स्वार्थमा धक्का लाग्ने भएमा नेतृत्वलाई दानवीकरण गरेर समर्थक र शुभचिन्तकको सहानुभूति लिने इतिहासका लिलाम पात्र उत्पादन नहोउन् भन्ने तर्फ हामीले सधैँ ध्यान दिनु पर्दछ । हामी हिँड्ने बाटो अन्कण्टार भीर पनि हुन सक्दछ, समतल मैदान पनि हुन सक्दछ, खण्डहर मरुभूमि पनि हुन सक्दछ तर जहाँ हिँडे पनि हामीले पार्टीलाई सकुशल हिँडाउनु र कुदाउनु पर्दछ ।
वैमनस्यताको अवस्था सबैसँग आएको हुन्छ, त्यही कारणले ती पक्षहरूसँगको हाम्रो आवश्यकता अनुसारको सम्बन्ध कहिल्यै पनि कायम रहँदैन भन्ने हुँदैन । हामीले देशको राजनीतिक परिस्थितिमाथि विचार गरेर तत्कालीन समयमा कसका विरुद्ध सङ्घर्ष गर्नु पर्दछ र दीर्घकालीन रूपमा कुन पक्ष शत्रुको रूपमा रहन्छ भन्ने कुराको राम्रोसँग निदान गर्नुपर्दछ । त्यसो गर्दा हामीले कैयौँ तितो यथार्थलाई स्वीकार गर्नु पर्दछ । तत्कालीन राजनीतिक परिस्थितिको त्यस प्रकारको तितो यथार्थमा हामीले मित्र शक्ति ठानिएका पक्षहरूका विरुद्ध सङ्घर्ष गरिरहेका हुन्छौँ भने दुश्मन शक्ति भनिएको पक्षसँग हात मिलाइरहेका हुन सक्दछौँ । अहिले एमाले र कांग्रेसबारे यही कुरा लागू भइरहेको छ । हामीले कम्युनिस्ट आन्दोलनलाई केन्द्रमा राखेर नै यी सबै गतिविधि गर्नु पर्दछ । त्यो धेरै कठिन कार्य हो, विगतमा हाम्रो पार्टीले त्यस प्रकारका कैयौँ कठिन कार्य सम्पन्न गर्दै आएको छ, अहिले पनि गर्नु पर्दछ र भविष्यमा पनि गर्दै जानु पर्दछ ।