मिडियाले सहि र गलत पहिचान गरि जनचेतना वृद्धिमा सहयोग पुर्याओस्

# बिन बहादुर रेग्मी

हामीले स्कुलमा पढ्दा ‘कलम ठूलो कि तलवार ?’ हाजिरी जवाफ प्रतियोगिता देखेका छौं । साँच्चै भन्ने हो भने कलम र तलवार जुन सांकेतिक शब्द भाषा प्रयोग गरिएको छ, मूल रूपमा यसको अर्थ व्यापक छ । कलमले तलवार चलाउन थाले गरिब दुःखीको दिन आमूल परिवर्तन हुन बेर लाग्दैन । कलम कै ताकतमा रुसी अक्टुबर क्रान्ति भएको छ । छिमेकी देश चीनमा सर्वहारा साँस्कृतिक क्रान्ति सफल भएको छ । कलमको ताकत नबुज्नाले मीडिया जगत आज केही मुठ्ठीभर दलालको इशारामा नाच्न बाध्य भएका छन् ।

भारतमा भारतीय आईकांग्रेसको सरकार हुँदासम्म टीवी चेनाल प्रिन्ट मीडियाआई कांग्रेसको तारिफ र प्रसंशा गर्दै रातदिन लागिपरे । सत्ता परिवर्तन सरकार परिवर्तन हुनासाथ भारतीय जनता पार्टीको सरकारको गुणगान गाउने गरिरहेका छन् । गरिबी, महंगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी, हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधलाई जनसरोकारका जल्दाबल्दा विषयमा भारतीय मिडियाको ध्यान पुगेको जस्तो देखिंदैन । रातदिन मोदी-मोदी गरिरहेका छन् ।

एकजना पञ्जाबी गायकले आफ्नो अन्तरवार्तामा भनेका छन्- ‘मलाई मीडिया माथि भरोसा छैन । किनकि मीडिया स्वतन्त्र छैन । सत्ता र शक्तिको पुजारी बनिसकेका छन्, आफ्नो इमान र स्वाभिमान बेचिसकेका छन् । यसरी जनताका आधारभूत आवश्यकता र समस्याहरू बाहिर आउन सकेका छैनन्।’

नेपालको सन्दर्भमा पनि यो कुरा सत्य हो, हिजो यिनै पत्रकार मीडिया थिए । पञ्चायती व्यवस्थाको गुणगान गाउने गर्थे, बहुदल आउने संकेत पाउना साथ प्रजातन्त्र लोकतन्त्र स्थापनाका पहरेदार बनिदिए, त्यसमा पनि कहिले कांग्रेसी, कहिले एमाले कहिले माओवादीको एकलौटी पेवा बनेर सधैं खाओबादी बनिरहे । नेपाली मिडिया जगत पनि स्वतन्त्र र निष्पक्ष हुन सकेन । सत्ता र शक्तिको वरिपरी नाचिरहने गोटी मात्रै बनिरहे । नेपाली मिडियाले चाहन्थ्यो भने २००७ साल पछि वा २०४६ साल पछि नेपालमा संविधानसभाको चुनावको लागि वातावरण बनाउन सक्थ्यो । पञ्चायती व्यवस्था फाल्न तीस वर्ष लाग्ने नै थिएन । गणतन्त्रको नाउँमा संघीयता घुस्न पाउने थिएन । नागरिकता विधेयक दर्ता हुनै पाउने थिएन । एमसीसी जस्तो घातक सम्झौताको बिरुद्ध जनआन्दोलनको आंधी आउने थियो । किन यसरी गैर जिम्मेवार छन् ? मिडिया किन स्वतन्त्र हुन सक्दैनन् ? प्रश्न गम्भीर छ । सारमा भन्नु पर्दा यो पुँजीवादी व्यवस्थामा पत्रकारिता पेशाको रूपमा व्यापार केन्द्र बनेको छ । कुन समाचार कति समय छाप्ने वा नछाप्ने प्रसारण गर्ने वा नगर्ने पैसाको किमतमा भर परेको जस्तो देखिन्छ ।

नेकपा (मसाल) ले त्यो किमत दिन सक्दैन तर राजनैतिक एजेण्डा दिँदै आएको छ । सहि राजनीतिक एजेण्डा नेपाली मिडियाले रद्दीको टोकरीमा फ्याकि दिन्छन् । खोइ त नेकपा (मसाल) ले संविधानसभाको चुनाव हुनैपर्छ भनेर ०४६ साल पछिको चुनाव बहिस्कार गर्यो, नेपाली मिडियाले कानमा तेल हालेर चुप्प लाग्यो । त्यतिबेलाको संविधान कालो छ भन्यो त्यो पनि नेपाली मिडियाले सुनेनन् । संघीयताको विरोध गर्यो नेपाली मीडिया भोजभतेरमा भुल्यो । एमसीसी चाहिँदैन भन्यो नेपाली मीडिया सत्तासिन पार्टीका शिर्ष नेतृत्वको घरमा डेरा जमाएर बसे । सीमा अतिक्रमण, महंगी, कालाबजारी, बेरोजगारी, भ्रष्टाचार जस्ता जनताका जल्दाबल्दा विषयमा नेकपा (मसाल) अग्रपंतिमा ढाल बनेर जनआन्दोन गर्दै आइरहेको छ । तर मिडियाहरु कसको श्रीमती कोसँग भागेर कहाँ पुगि त्यता व्यस्त छन् ।

राष्ट्रियता जनतन्त्र जनजीविकाको सवालमा जनतालाई गोलवन्द गर्ने महान अभियानमा नेकपा (मसाल) लागिपरेको छ, तर नेपाली मिडिया खुमलटार र लैनचौर ओहोरदोहोर गर्नमा व्यस्त छन् । समग्रमा भन्नुपर्दा नेपाली मिडियाले नेपालको कम्युनिस्ट आन्दोलनलाई पुरै उपेक्षा गर्दै आइरहेका छन् । नेकपा (मसाल)को राजनैतिक लाइनलाई जनताको बीचमा निदरताका साथ प्रसारण गर्ने बेला आएको छ । देशै भरी विश्वभरि राता राता झण्डा फरफराउने बेला आएको छ । देशको निम्ति, जनताको निम्ति आफ्नो बेचिएको इमान फर्काउने बेला आएको छ, जाग अब नेपाली मिडिया, जाग, कतै ढिलो नहोस । देश बचाउनु छ, जनतालाई स्वाभिमानी र स्वावलम्बी बनाउनु छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार