नेपालमा मिलेराँवादको प्रयोग कसरी भइरहेको छ ?

#भैरवराज रेग्मी #

(क) नेपालमा मिलेराँवादको चर्चा

नेकपा (मसाल) ले २५० वर्षको लामो सङ्घर्षपछि प्राप्त गरेको संविधान सभाको निर्वाचनपछिको गणतान्त्रिक संविधानलाई समर्थन गरेर उक्त संविधानमाथि भारतीय साम्राज्यवादको खुला हस्तक्षेप विरुद्ध गणतन्त्र, धर्म निरपेक्षमतासहितको गणतान्त्रिक संविधान जोगाउन राष्ट्रिय जनमोर्चामार्फत सरकारमा सहभागी हुने निर्णय गरेर राष्ट्रिय जनमोर्चाका अध्यक्ष क. चित्रबहादुर केसीलाई मन्त्रिमण्डलमा पठायो । त्यतिबेल भारतीय साम्राज्यवादी सरकारले यो गणतान्त्रिक संविधानलाई उल्ट्याउन आर्थिक नाकाबन्दी र पृथकतावादी मधेसवादी दलमार्फत नेपाल–भारत सीमामा आन्दोलनसमेत छेडेको थियो । यसको विरुद्ध सरकारमै रहेर सङ्घर्ष गरिरहेका केसी विरुद्ध नेपालस्थित भारतीय राजदूतावासले औपचारिक वक्तव्य नै जारी गर्‍यो । यसरी सरकारमा सामेल भएको घटनालाई कतिपय पक्षले नेकपा (मसाल) मिलेराँवादी भएको भनेर आरोप लगाइने गरिएको छ ।

रुसमा सामाजिक जनवादी पार्टी निर्माणका बेला मिलेराँको पुँजीवादी पार्टीभित्रको सरकारमा सहभागी हुने विषयसमेतलाई लिएर गरिएको आलोचनाको विरुद्ध लेनिन नेतृत्वको समाजवादी पार्टीमाथि ‘रूढिवादी माक्र्सवादी’ को नीति अपनाएको भनेर आक्रमण भएको थियो । त्यसको नेतृत्व बर्नस्टिनले गर्दथे । उनले सामाजिक जनवादी पार्टीभित्र ‘आलोचनाको स्वतन्त्रता’ को माग गर्दथे । फ्रान्स, जर्मनी र बेलायतमा सामाजिक जनवादी अभियानभित्र यस प्रकारको खुला आलोचना र बहस गर्न पाउनुपर्ने माग गर्दथे । विशेष गरेर त्यस बेलाका तथाकथित बुद्धिजीवी, दार्शनिक, राजनीतिज्ञहरूको अभियान नै चलेको थियो ।

उक्त समयमा मिलेराँले फ्रान्सको पुँजीवादी सरकारमा कम्युनिस्टहरू सामेल भएर सुधारका कार्यक्रम चलाउनुपर्दछ भन्ने मत राख्दथे । त्यस बेलाका फ्रान्सका दार्शनिक र राजनीतिज्ञ एटेन मिलेराँ (जो १८५९ मा जन्मेका थिए र उनको मृत्यु १९४३ मा भएको थियो) ले फ्रान्सको पुँजीवादी मन्त्रिमण्डलमा सामेल भएका थिए । “पुँजीवादी सरकारभित्र पनि सामेल भएर सुधारवादी आन्दोलन चलाउनुपर्दछ” भन्ने सिद्धान्त उनले अपनाएका थिए । यस प्रकारको मिलेराँवादी नीतिलाई बर्नस्टिनले पूरा समर्थन र सहयोग गरेका थिए । पछि उनले सामाजिक जनवादी (कम्युनिस्ट) सिद्धान्त नै परित्याग गरी पुँजीवादमा पतन भए । पुँजीवादी राज्यसंयन्त्रभित्र सुधारवादी आन्दोलन चलाउने कुरामा लेनिनको विमति त थिएन तर वर्गसङ्घर्षलाई केन्द्रविन्दु बनाएर मात्र यस प्रकारको आन्दोलन चलाउने कुरामा उनले जोड दिएका थिए । लेनिनको यस प्रकारको नीतिलाई ‘रूढिवादी माक्र्सवाद’ भनेर आक्रमण गरिन्थ्यो । यसरी त्यस बेला रुस, फ्रान्स र जर्मनीमा मिलेराँवाद विरुद्ध लेनिनले ठुलो सङ्घर्ष गर्नुपरेको थियो ।

नेपालमा २०४६ सालको परिवर्तनपछि संसदीय व्यवस्थाको पुनस्र्थापना भयो । त्यस बेलाका एमालेका नेता मदन भण्डारीले पुँजीवादीहरूसँग निर्वाचनमा प्रतिष्पर्धा गरेर बहुमत ल्याई सरकार निर्माण गरी जनवाद र समाजवादमा जान सकिन्छ भनेर “बहुदलीय जनवाद” सम्बन्धी सिद्धान्त अपनाएर संसदीय प्रणालीमै समाहित भए । त्यसभन्दा पहिले पुष्पलालले संसदीय व्यवस्थाबाट जनवादी व्यवस्थामा जान सकिन्छ भन्ने विचार प्रकट गरेका थिए । यसरी संसदीय व्यवस्था (पुँजीवादी व्यवस्था) मार्फत चुनावमा विजय हासिल गरी सरकारमा सामेल भएर जनवाद वा समाजवादमा जान सकिन्छ भन्ने सिद्धान्त नै मिलेराँवाद हो ।

मिलेराँवादी शब्दावली नेपालका संसदवादी तथाकथित कम्युनिस्टका लागि लागु हुन्छ, जो प्रतिक्रियावादी सरकारमार्फत पुँजीवादी सुधारमा सीमित हुन्छन् र वर्गसङ्घर्षलाई तिलाञ्जली दिन्छन् । एमाले, माओवादीहरूले यस प्रकारको सिद्धान्त अपनाएर नेपालको कम्युनिस्ट आन्दोलन दक्षिणपन्थी संशोधनवादको गम्भीर अवस्थाबाट गुज्रिरहेको छ । पुँजीवादी साम्राज्यवादसँग नि:शर्त सम्झौता गर्ने प्रश्न नै वर्गसमन्वय हो, वर्गसङ्घर्ष होइन । लेनिनले भने जस्तै पुँजीवादीसँगको तात्कालिक अवस्थाकाको विश्लेषण गरेर नै वर्गसङ्घर्षलाई अगाडि बढाउने हो, उनीहरूसँगको नि:शर्त समन्वय होइन । यसरी त्यस बेला लेनिनले मिलेराँवादीहरूसँग कडा सङ्घर्ष गरेर नै बोल्सेभिक पार्टी निर्माण गर्नुभएको थियो ।

यसरी मिलेराँवादको विरुद्ध सङ्घर्ष गर्दा कम्युनिस्ट पार्टीले सुधारका आन्दोलनको नेतृत्व गर्ने कुरामा निषेध गर्ने नीति अपनाउँदा अराजकतावादी भड्कावमा जाकिन पुगिन्छ । त्यसैले वर्गसङ्घर्षलाई कमान्डमा लिएर कम्युनिस्ट पार्टीले सुधारात्मक कुरामा पनि ध्यान दिनुपर्दछ तर यो सुधारात्मक आन्दोलन अंश, क्षणिक र मात्रात्मक मात्र हुन्छ । यसलाई गुणात्मक दिशातिर फड्को मार्ने उद्देश्य हुनुपर्दछ । देशको तात्कालिक राजनैतिक अवस्था र जनताको चेतनाको आधारमा निर्माण हुने त्यस बेलाका सत्तासिन सरकार, त्यस सरकारमा सामेल हुने राजनीतिक पार्टीहरूको नीति र साम्राज्यवादी शक्तिहरूले त्यो बेला खेल्ने भूमिकामाथि निर्भर गर्दछ । त्यही आधारमा लेनिनले ‘कार्यनीति चौबिस घण्टामा पनि फेरिन्छ’ भनेर भनेका थिए ।
अवसरवादी वा प्रतिक्रियावादीहरूको तात्कालिक भूमिकाको आधारमा अस्थायी रूपमा उनीहरूसँग नजिक वा टाढा हुने स्थिति पैदा हुन्छ ।

रणनैतिक रूपमा उनीहरूको चरित्र प्रतिक्रियावादी वा अवसरवादी भएता पनि तात्कालिक रूपमा उनीहरूले जनतालाई भ्रम दिन जनपक्षीय नाराहरू दिइरहेका हुन्छन्, जुन क्रान्तिकारीहरूले पनि दिन्छन् । उनीहरूको भण्डाफोर त्यति बेला हुन्छ, जति बेला उनीहरूले दिएको नारामाथि टेकेर उनीहरूको वास्तविक नियतलाई उजागर गरेर जनतालाई सङ्घर्षमार्फत चेतना दिइन्छ । यसरी जनताका तात्कालिक समस्यालाई प्रतिक्रियावादी वा अवसरवादीले उठाएको भनेर वा रणनैतिक मात्र कुरा गरिरहँदा जनताबाट अलग भइन्छ । कम्युनिस्ट पार्टीकै नेतृत्वमा वर्गसङ्घर्षमा आधारित भएर सुधारवादी आन्दोलनलाई समातेर रणनीतिमा टेक्नुपर्दछ । यसले एकातिर सुधारवादीी भड्कावबाट कम्युनिस्ट पार्टी जोगिन्छ भने अराजकतावादी भड्कावबाट पनि मुक्त हुन सकिन्छ ।

राष्ट्रियता र जनजीविकाका सवालमा मसालले गरेको सङ्घर्ष विश्व कम्युनिस्ट आन्दोलनका लागि उदाहरण बन्न पुगेको छ । मसालका यस प्रकारका सम्झौताहीन सङ्घर्षले विश्व साम्राज्यवादी शक्ति र घरेलु प्रतिक्रियावादीमाथि बाधा पुग्ने गरेको छ । उनीहरूले मसालको भूमिकालाई निस्तेज पार्न विभिन्न हतकन्डा अपनाउने गरिरहेका छन् । मसालको यस प्रकारको भूमिकाले राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षता, जातीयतासम्बन्धी सही दृष्टिकोण, नागरिकतासम्बन्धी प्रश्न, सङ्घीयतासम्बन्धी प्रश्नमा व्यापक जनमत वृद्धि भइरहेको कुराले मसालले अपनाएको कार्यनीति सही भएको पुष्टि गर्दछ ।

(ख) प्रधान अन्तरविरोध र गाौण अन्तरविरोधको निक्र्यौल र प्रयोगसम्बन्धी भ्रम

वर्तमान समयमा साझा शत्रुलाई एक्ल्याउने वा प्रधान अन्तरविरोधप्रति ध्यानकेन्द्रित गर्ने विषयमा ज्यादै भ्रम पैदा भइरहेको छ । यस सन्दर्भमा कार्यनीतिक प्रश्न लचिलो, चौबिस घण्टामा फेरिने भन्ने लेनिन र माओको प्रयोगलाई सन्दर्भमा नै लिने गरिँदैन । प्रतिक्रियावादी र अवसरवादीसँग एकपटक टाँसिएपछि टाँसिएकोटाँसियै गर्ने वा प्रतिक्रियावादी र अवसरवादीसँग छुवाछूत नै गर्ने नीति सही होइन । यस सन्दर्भमा स्टालिनले ब्रिटिस साम्राज्यवाद र अमेरिकी साम्राज्यवादसँग मिलेरै हिटलरलाई पराजित गर्दै सोभियत रुसलाई जोगाएको प्रश्न, माओले च्याङकाइसेकसँग चलिरहेको गृहयुद्धलाई स्थगित गरेर घरेलु शत्रु तिनै च्याङकाइसेकसँग मिलेर जापानी साम्राज्यवादको विरुद्ध गरेको सङ्घर्ष, माओले चीनको राज्यव्यवस्था र ताइवान चीनको अङ्ग हो भनी अमेरिकी साम्राज्यवादले मान्यता दिने भएपछि अमेरिकी साम्राज्यवादसँग सम्झौता, त्यस दौरानमा स्टालिन र माओले साम्राज्यवादीसँगको सङ्घर्षलाई कहिल्यै पनि तिलाञ्जली दिएनन् । लेनिनले ट्राटस्कीको सिद्धान्तप्रति कडा प्रहार गरेका थिए तर रुसी समाजवादी क्रान्तिपछि वा समाजवाद आएपछि पनि उनलाई उपयोग गर्ने नीति अपनाएका थिए । स्टालिनको पालामा ट्राटस्कीले गद्दारी गरे ।

प्रधान अन्तरविरोधप्रति ध्यान केन्द्रित गरेर गौण अन्तरविरोधलाई प्रधान अन्तरविरोधको पक्षमा उपयोग गर्ने प्रश्न राजनीतिमा मात्र नभएर मानव समाजको व्यावहारिक जीवनमा पनि लागु भइरहेको छ भने राजनैतिक सङ्घर्षमा पनि यसलाई कुशलतापूर्वक यसको प्रयोग गर्नुपर्छ ।

मसालले अमेरिकी साम्राज्यवाद, ब्रिटिस साम्राज्यवाद, जर्मनी साम्राज्यवाद, रुसी साम्राज्यवाद, भारतीय साम्राज्यवादबारे परिभाषित गरेको छ । पुँजीवादले एकाधिकारमा प्रवेश गर्छ र त्यो चरणमा प्रवेश गरेपछि त्यो देश साम्राज्यवादमा परिणत हुन्छ । ती साम्राज्यवादीबिच बजारका लागि प्रतिष्पर्धा चल्छ, उक्त प्रतिष्पर्धामा कुनै एक वा दुई देश शक्तिशाली बन्दछ । अहिले अमेरिकी साम्राज्यवाद विश्वस्तरमा शक्तिकेन्द्र बन्न पुगेको छ ।

दक्षिण एसियामा भारतीय साम्राज्यवाद प्रमुख शक्तिमा छ । चीन र रुस अमेरिकी साम्राज्यवादसित प्रतिष्पर्धा गरिरहेका छन् । नेपालमा लागि चिनियाँ साम्राज्यवाद तात्कालिक खतरामा छैन तर भारतीय साम्राज्यवाद मुख्य खतरामा छ । अमेरिकी साम्राज्यवाद पनि नेपालमा प्रत्यक्ष प्रवेश गर्दै छ । एकातिर चुनावमा आफ्ना एजेन्टहरूको प्रयोग, अमेरिकी साम्राज्यवाद पहिले भारतीय साम्राज्यवादको आडमा आउँथ्यो । ती प्रत्येक साम्राज्यवादको अन्तरवस्तुको वस्तुगत विश्लेषण नगरेर सबैलाई एउटै डालेमा राखेर विश्लेषण गर्ने प्रश्न रणनीतिक विश्लेषणसँग सम्बन्धित छ । यसले सर्वहारा क्रान्तिको चरणको बारेमा सही निष्कर्ष निकाल्दैन । त्यही प्रश्न नेपालमा रहेका प्रतिक्रियावादी राजनैतिक शक्ति, असरवारदी राजनैतिक शक्ति, उनीहरूको वर्गीय पक्षधरता, उनीहरूले जनतालाई दिएको भ्रम, उनीहरूले गर्ने कार्यहरू—यसको आधारमा नै राजनीतिक विश्लेषण गर्नुपर्दछ । यसमा सबैभन्दा सैद्धान्तिक बाधा रणनीति र कार्यनीतिलाई ठिकसँग पहिचान गर्न नसक्नु नै हो ।

कार्यनीति चौबिस घण्टामा बदलिने भन्नुको अर्थ प्रतिक्रियावादी र अवसरवादीहरूको भूमिका र चरित्रको आधारमा बदलिन्छ भन्नु हो । एमालेले तात्कालिक र प्रकट रूपमा राष्ट्रियता, जनतन्त्र र जनजीविकासम्बन्धी कतिपय सही नीति लिएकोमा समर्थन गर्ने, त्यसका विरुद्ध जाने शक्तिहरू विरुद्ध उनीहरूसँग कार्यगत एकता गर्ने कि नगर्ने ? त्यस्तै, बुर्जुवा गणतन्त्र, धर्म निरपेक्षताप्रति दृढ अडान लिएको अवस्थामा पनि नेपाली काङ्ग्रेस प्रतिक्रियवादी शक्ति हो भनेर उसको गणतन्त्रप्रतिको अडान (मानौँ, त्यो तात्कालिक अडान हो) लाई विरोध गर्ने वा समर्थन ? त्यसैले कम्युनिस्ट भनिने अवसरवादी शक्तिको यस प्रकारको सही कदमलाई टेकेर नै साझा शत्रुलाई एक्ल्याउने गर्नुपर्दछ । यी सबै प्रश्नहरू चौबिस घण्टामा फेरिने कार्यनीतिक सवाल हुन् ।

यस प्रकारका प्रतिक्रियावादी र अवसरवादीहरूले कतिपय अवस्थामा सही कुराको समर्थन गर्दा भ्रम पैदा हुन्छ भन्ने तर्क गरिन्छ । बाहिरबाट हेर्दा उनीहरूको समर्थन गर्दा केही भ्रम त हुन्छ नै तर त्योभन्दा ठुलो भ्रम त्यस बेला उनीहरूले लिएका सही कामको विरोध गर्नाले जनतामाझ क्रान्तिकारी पार्टीमाथिबारे ठुलो भ्रम पैदा हुन्छ । जनताले प्राप्त गर्ने परिणामप्रति नै क्रान्तिकारी शक्तिको मोहभङ्ग हुन्छ अर्थात् तात्कालिक समय र विषयको प्रतिगामी भूमिका पैदा हुन्छ । आज क्रान्तिकारी शक्तिमाथि जनमतको भरोसा कम हुनुमा यस प्रकारको कुशलतापूर्वक प्रयोग नहुनु नै हो । यसरी प्रधान अन्तरविरोधको सही निक्र्यौल, गौण अन्तरविरोधसँगको उपयोगको वस्तुगत कार्यान्वयन नहुनुमा क्रान्तिकारी सङ्गठन कमजोर हुँदै गइरहेको छ ।

(ग) वर्गीय विश्लेषणमा अराजकतावादी चिन्तन प्रणाली

अराजकतावादी र दक्षिणपन्थी संशोधनवादी चिन्तन प्रणालीले देशमा रहेका राजनैतिक शक्ति र विश्वका साम्राज्यवादी शक्तिहरूको विश्लेषणलाई सही रूपमा प्रस्तुत गर्न असफल भएको छ । नेपाली काङ््ग्रेस प्रतिक्रियावादी वर्गको पार्टी हो । भारतीय साम्राज्यवादीपरस्त नीति उसको स्थापनाकालदेखिको चरित्र हो । भारतीय सत्ताको साम्राज्यवादी शक्तिको आडमा हुने अमेरिकी साम्राज्यवादपरस्त वा रुसी साम्राज्यवादपरस्त चरित्र बेला बेलामा फेरबदल भइरहने परिवर्तनको आधारमा नेपाली काङ्ग्रेसको चरित्रमा पनि परिवर्तन भइरहन्छ । त्यसका साथै नेपाली काङग्रेसको नेतृत्वको चरित्र पनि अमेरिकी साम्राज्यवादी वा भारतीय साम्राज्यवादी शक्तिको नेपालमाथि भएको भूमिकाको आधारमा फेरबदल भइरहन्छ ।

नेपाली काङग्रेस मूल रूपमा पुँजीवादी, बुर्जुवा पार्टी भएता पनि त्यसभित्र सामन्ती अवशेष कायम रहेको छ । त्यसअनुसार नेपाली काङग्रेसमा फरक फरक भूमिका र प्रवृत्ति देखा परिरहन्छन् । भारतीय साम्राज्यवादी वा अमेरिकी र पश्चिमा साम्राज्यवादीहरू नेपाली काङ्ग्रेस पार्टीमाथि गर्ने उपयोगको आधारमा पनि काङ्ग्रेसको भूमिकामा फेरबदल आइरहन्छ । देशको जनतन्त्रको आन्दोलनमा उसको मूल चरित्र तानाशाही व्यवस्थाको विरुद्ध नै थियो । नेपालमा बेलायती मोडेलको संसदीय व्यवस्था—संवैधानिक राजतन्त्र र संसदीय व्यवस्था—स्थापना गर्ने उसको नीति रह्यो । नेपालको राजतन्त्रसँग उसको विमतिले उसले गणतन्त्रको नीति लिन पुगेको हो । सङ्घीयताप्रति उसको सम्झौतापरस्त नीतिले गर्दा सङ्घीयता लागु गर्न कम्मर कस्यो । बुर्जुवा वर्ग भएको र यस आधारमा उसको प्रतिक्रियावादी चरित्र भएकाले ब्रिटिस वा अमेरिकी साम्राज्यवादी शक्तिप्रतिको साँठगाँठ उसको मुख्य प्रवृत्ति हो । यसको आधारमा नै उसको भूमिका प्रकट हुने गरेको छ । उसको भूमिका कुन रूपमा प्रकट हुन्छ ? त्यसको आधारमा नै उसलाई उपयोग गर्ने नीति लिनुपर्ने हुन्छ । संवैधानिक राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाको विरुद्ध ऊ सङ्घर्षमा उत्रिदा त्यस प्रकारको उसको भूमिकालाई समर्थन गर्नु प्रगतिशील कदम हुन्थ्यो भने गणतन्त्रका लागि सङ्घर्ष गर्ने भूमिकाको पनि समर्थनको रूप प्रगतिशील हुन्थ्यो । एकातिर, उसको साम्राज्यवादीपरस्त चरित्रको विरुद्ध सङ्घर्ष, अर्कोतिर, निरङ्कुशता विरुद्ध उसको सङ्घर्षको उपयोग—यही नै द्वन्द्वात्मक भौतिकवादी नीतिको कुशल प्रयोग हो ।

आफूलाई कम्युनिस्ट बताउने शक्तिहरू एमाले–माओवादीको मूल चरित्र प्रतिक्रियावादी होइन तर घोर अवसरवादी हो, जो निम्न पुँजीवादी वर्गभित्र पर्दछ । उनीहरू बुर्जुवा पुँजीवादी चरित्रमा विकसित हुँदै गइरहेका शक्ति हुन् । उनीहरूको दोहोरो चरित्र रहेकाले नेपाली जनतामा प्रशस्त भ्रम दिइरहेका छन् । उनीहरूले कुनै बेला जनपक्षीय नारा लिएर सङ्घर्ष गर्दछन् भने कुनै बेला प्रतिक्रियावादीसँग टासिन्छन् । जनपक्षीय माग लिएर सङ्घर्ष गरेका बेला उनीहरूसँग नजिक, प्रतिक्रियावादीहरूसँग टाँसिएका बेला उनीहरूको विरुद्ध सङ्घर्ष—यो नै द्वन्द्वात्मक कुशलता हो । यी शक्तिहरूको उपयोग त्यति बेला हुन्छ, जति बेला प्रधान अन्तरविरोधको वरिपरि तिनीहरू रहन्छन् । त्यसैले माथि उल्लेख गरिएका शक्तिहरूसँगको सम्बन्ध कार्यनीतिक मात्रै हो भन्ने कुरा लेनिनले भने जस्तो कम्युनिस्ट पार्टीको नेतृत्वमा चल्ने सुधारात्मक आन्दोलनमा वर्गसङ्घर्षलाई कडीको रूपमा लिने प्रश्नलाई नछोड्ने नीतिअन्तर्गत नै लिनुपर्दछ ।

(घ) वामपन्थी शब्दको परिभाषा

वामपन्थी शब्द र यसको परिभाषा पनि गिजलिएको अवस्थामा छ । कसलाई कम्युनिस्ट भन्ने ? कसलाई वामपन्थी भन्ने ?
बेलायतको संसद्मा बायापट्टि बस्ने सत्ताका विरोधी सांसदहरूलाई वामपन्थी शब्दावली प्रयोग गरियो । दायापट्टि बस्ने सत्तासिन सांसदहरूलाई दक्षिणपन्थी शब्दावली प्रयोग गरियो । बायापट्टि बस्ने क्रान्तिकारी र सुधारवादी थिए । त्यसअनुसार लेनिनले बोल्सेभिक पार्टी निर्माणका बेला जनवादी, समाजवादी, क्रान्तिकारी र कम्युनिस्टहरू मिलेर सामाजिक जनवादी पार्टीको निर्माणमा लागेका थिए । त्यो बेला ती सबै वामपन्थी शक्तिका रूपमा परिभाषित थिए ।

सर्वहारा अधिनायकत्वको प्रश्नलाई लिएर मेन्सेभिक र बोल्सेभिक पार्टीमाझ विभाजन भयो । सर्वहारा वर्गको अधिनायकत्व स्वीकार गर्ने कम्युनिस्ट भनिए, जनवादी, सामाजिक जनवादी (सोसियल डेमोक्रेटिक), सुधारवादी र पुँजीवादी क्रान्तिकारीहरू वामपन्थी भनिए । चीनको समाजवादी रूपान्तरण कालमा चिनियाँ कम्युनिस्ट पार्टी र सरकारभित्र पुँजीवादको प्रवेशका विरुद्ध माओले सर्वहारा अधिनायकवादको अडान राखेपछि माओले सर्वहारा सांस्कृतिक क्रान्ति गर्नुपर्‍यो । चीनभित्र पार्टी र सरकारमा प्रवेश गरेका चीनका पुँजीवादी एजेन्ट प्रतिक्रियावादी र दुस्मन बन्न पुगे । त्यसको असर विश्व कम्युनिस्ट आन्दोलनभित्र पनि पर्‍यो र संशोधनवाद र पुँजीवादी चिन्तनधारासँग कम्युनिस्ट पार्टीसँग तिखो सङ्घर्ष चल्यो । त्यो बेला सर्वहारा वर्गको अधिनायकत्व स्वीकार गर्नेहरू सच्चा कम्युनिस्ट भनिन थाले, जसलाई अन्तत: सच्चा वामपन्थी भनेर भनिने प्रचलन बन्यो ।

सोभियत रुसको विघटन र चीनमा प्रतिक्रान्ति भएपछि संशोधनवादको सत्ता र शक्ति समाप्त भयो र त्यही संशोधनवादी व्यवस्था ल्याउन विश्वका कम्युनिस्ट भनिने पार्टी र क्रान्तिकारी कम्युनिस्टहरूबिच धु्रवीकरणको चरण रह्यो । अमेरिकी साम्राज्यवादको एकधु्रवीय शासन विकसित भएपछिको दक्षिणपन्थी, संशोधनवादी कम्युनिस्टहरूले पनि प्रकट रूपमा तर ढुलमूल प्रकारले साम्राज्यवादको विरोध गर्न पुगे र अहिले पनि गरिरहेका छन् । यसलाई मध्यनजर गर्दै मसालले साम्राज्यवादको विरोध गर्ने, जातीय–क्षेत्रीय उत्पीडनको विरोध गर्ने, किसान–मजदुर र उत्पीडित वर्गको अधिकारप्राप्तिका लागि सङ्घर्ष गर्ने सुधारवादी शक्तिहरू—जो कम्युनिस्ट होइनन्—का लागि वामपन्थी शब्दको प्रयोग गरिरहेको छ । त्यसको आधारमा मसालले दक्षिणपन्थी संशोधनवादी पार्टीहरू एमाले, माओवादीरूलाई वामपन्थी परिभाषा प्रयोगमा ल्याएको छ ।
यसबारे व्यापक बहस हुन जरुरी छ र विश्व कम्युनिस्ट आन्दोलनभित्र मतैक्य हुन जरुरी छ ।

(ङ) प्रचारात्मक र क्रियात्मक नाराबारे भ्रम र वास्तविकता

कुनै बेला नेपालको कम्युनिस्ट आन्दोलनभित्र ‘क्रियात्मक र प्रचारात्मक नारा’ बारे राम्ररी बहस चलेको थियो । त्यो अब फेरि गिजोलिन थालेको छ । फेरि त्यसमा भ्रम प्रदा हुन पुगेको छ । २०६२–६३ सालको आन्दोलनको सुरुमा संवैधानिक राजतन्त्र र गणतन्त्रको नाराबारै निकै बहस चलेको थियो ।

नेपाली काङ्ग्रेसले २०६२–६३ सालको आन्दोलनको सुरुमा संवैधानिक राजतन्त्रको पक्षमा नै आन्दोलन सुरु गर्ने भन्ने अडान राखेको थियो । त्यो अवस्थामा निरङ्कुश राजतन्त्रको तुलनामा संवैधानिक राजतन्त्र प्रगतिशील कदम भएकाले त्यसलाई विरोध गर्ने अवस्था थिएन अर्थात् त्यसलाई समर्थन गरेर जानुको विकल्प थिएन । नेकपा (मसाल) ले गणतन्त्रप्रति आफ्नो अडान राखेता पनि पार्टीले गणतन्त्रको नारालाई प्रचारात्मक नाराको रूपमा लैजाने, संसद्को पुनस्र्थापना र संवैधानिक राजतन्त्रको नारा क्रियात्मक रूपमा लैजाने नीति लियो । त्यस बेला माओवादी पार्टी शान्तिपूर्ण राजनीतिमा आइसकेको हुनाले नेपाली काङ्ग्रेससहितको सात दलले गरेको ज्ञानेन्द्रको प्रतिगमन—निरङ्कुश राजतन्त्र—विरुद्धको आन्दोलनलाई माओवादीले समर्थन गरेर उक्त आन्दोलनमा शान्तिपूर्ण प्रकारले सहभागी हुने आन्तरिक सहमतिअनुसार ज्ञानेन्द्रको प्रतिगमन विरुद्ध आन्दोलनको उभार नै आयो र राजा ज्ञानेन्द्र पछि हट्न बाध्य भए । त्यो अवस्थामा संयुक्त आन्दोलनका लागि प्रतिगमनको विरुद्ध संवैधानिक राजतन्त्र क्रियात्मक नारा बन्न पुगेको थियो । गणतन्त्रको प्रचारात्मक बन्न पुगेको थियो । आन्दोलन उत्कर्षमा पुगेर संसद्को पुनस्र्थापना भएपछि गणतन्त्र स्थापनाको घोषणा संविधान सभाको चुनावका लागि संसद्मा निर्णय भएको थियो ।

यसरी क्रियात्मक नारा संसद्को पुनस्र्थापनापछि काङ्ग्रेस र माओवादीकै सहमतिपछि संविधान सभा र गणतन्नत्रको प्रचारात्मक नारा क्रियात्मक नारामा बदलियो । २०४६ सालको जनआन्दोलनमा पनि नेपाली काङ्ग्रेस र वाममोर्चाले पञ्चायती व्यवस्था र निरङ्कुश तन्त्रको विरुद्ध आन्दोलनमा गणतन्त्रको नाराको पक्षमा असहमतिपछि त्यो बेला पञ्चायती व्यवस्था र निरङ्कुश तन्त्र क्रियात्मक नारा बनेको थियो र मसाल सम्मिलित कृष्णदास, शम्भुराम र अन्य वामपन्थी मिलेर बनेको संयुक्त राष्ट्रिय जनआन्दोलनको निर्माण गरी त्यो बेला संयुक्त राष्ट्रिय जनआन्दोलनको निर्माण गरी त्यो बेला सं.रा.ज.आ. को गणतन्त्रको नारा पूर्ण प्रजातन्त्रको प्राप्तिको नारा बनेको थियो । त्यसलाई प्रचारात्मक नाराको रूपमा लगिएको थियो र निरङ्कुश तन्त्र र पञ्चायत व्यवस्था क्रियात्मक नारा बनेको थियो ।

नेपाली काङ्ग्रेस वाममोर्चासँग कार्यगत एकता गरी आन्दोलनमा उत्रिएको थियो । चैत्र २४ गतेको विशाल जनसागरको सङ्घर्षको आह्वान सं.रा.ज.आ. ले आह्वान गरेको थियो । त्यो बेला क. मोहन वैद्य, प्रचण्डहरूले मोटो मशाल पार्टी निर्माण गरेका थिए । उनीहरू र रूपलाल विश्वकर्माहरूको पार्टीले नेपाली काङ्ग्रेसको नेतृत्वमा भएको आन्दोलन भनेर २०४५–४६ सालको आन्दोलनको अप्रत्यक्ष विरोध र उक्त आन्दोलनमा सहभागी भएका थिएनन्, आफ्नै प्रकारले एक्लाएक्लै आन्दोलन गरेका थिए । यसरी त्यो बेला पनि निरङ्कुश राजतन्त्र र पञ्चायती व्यवस्था विरुद्ध क्रियात्मक नारा बनेको थियो र संविधान सभा र गणतन्त्र प्रचारात्मक नारा बनेको थियो । ती दुवै बेलाका राजनैतिक घटनामा क. श्रीस नृेतत्वमा नै हुनुहुन्थ्यो । यसमा उहाँको विमति थिएन तर जब उहाँ मसालबाट अलग भएर जानुभयो र अहिले त्यो बेलाको चिन्तनलाई बदलेर प्रचारात्मक र क्रियात्मक नाराबिचको अन्तरसम्बन्धलाई अराजकतावादी दृष्टिकोणले प्रस्तुत हुनुभएको छ र त्यो उदाहरण प्रस्तुत गरेर मसालको क्रान्तिकारिता समाप्त भएको निष्कर्ष निकाल्नुभएको छ ।

निरङ्कुश राजतन्त्र, संवैधानिक राजतन्त्र र गणतन्त्रको नारा सम्बन्धमा अराजकतावादी र उग्र“वामपन्थी” सँग लेनिनले ठुलो सङ्घर्ष चलाउनुभएको थियो । नेपाल कम्युनिस्ट आन्दोलन र विश्व कम्युनिस्ट आन्दोलनमा त्यो बेला निकै बहस, छलफल र सङ्घर्ष भएको थियो । नेपालको झापालीको उग्रवामपन्थी भड्कावको विरुद्ध ठुलो सैद्धान्तिक सङ्घर्ष चलेको थियो । त्यस्तै, माओवादीको उग्र“वामपन्थी” सङ्घर्षको पनि ठुलो बहस चलेको थियो तर ती दुवै शक्तिहरू दक्षिणपन्थी संशोधनवादमा पतन भएपछि उक्त दक्षिणपन्थी संशोधनवादका विरुद्धको सङ्घर्षको नाममा त्यसबिचबाट पुन: उग्र‘वामपन्थ’ को प्रारम्भिक चरण अराजकतावादी चिन्तन सुरु हुन थालेको छ । यो चिन्तन नेकपा (मसाल) भित्रबाट पनि पैदा भएर मसालमा फुट पैदा गरे र नेपालको कम्युनिस्ट आन्दोलनमा गम्भीर रूपमा यो हावी हुन खोज्दै छ ।

कम्युनिस्ट आन्दोलनभित्रका यस प्रकारका माक्र्सवादी सिद्धान्त विपरीतका विचार बारम्बार पैदा भइरहन्छ । जस्तो कि माक्र्स, एङ्गेल्स, लेनिन र स्टालिनको पालामा यस प्रकारको चिन्तनको विरुद्ध सङ्घर्ष गर्दागर्दै समाजवादी देशहरू ढल्न पुगे र ती देशहरू अब पुँजीवादी र साम्राज्यवादी व्यवस्थामा पतन भइरहेका छन् तर यसको निष्कर्ष यो होइन, पुँजीवादी र साम्राज्यवादले शोषित–पीडित मानव समाजको मुक्ति गर्छ भन्ने होइन । मानव समाजको इतिहास वर्तमानसम्म पनि शोषित, उत्पीडित सर्वहारा वर्गको मुक्ति समाजवाद र साम्यवादले गर्दछ भन्ने कुरा वैज्ञानिक सत्य भइसकेको छ ।

उग्र“वामपन्थी” र दक्षिणपन्थी संशोधनवादी भड्कावको मूल श्रोत नै कार्यनीति र रणनीतिसम्बन्धी माक्र्सवादी दृृष्टिकोणको गलत व्याख्या र गलत व्यावहारिक प्रयोग हो । नेपालमा कम्युनिस्ट पार्टीहरू किन फुट्छन्, कार्यनीतिको सवालमा ? जबकि रणनैतिक सवालमा खास मतभेद हुँदैन । रणनीतिमा पुग्न कार्यनीतिमा टेक्नैपर्छ । जनताको चेतनास्तरमा टेक्नैपर्छ । विश्व र साम्राज्यवाद प्रत्येक राष्ट्रको प्रतिक्रियावादी शक्ति सन्तुलनमा उनीहरू सामेल भएको राजनीतिमा टेक्नैपर्दछ । प्रतिक्रियावादीसँग सर्वहारा, शोषित, पीडित जनताको वर्गचेतना स्तरको आधारमा कार्यनैतिक सवालका विषयहरू उठ्ने हुन् भन्ने विषयमा माक्र्सवादी–लेनिनवादी दृष्टिकोण नै अपनाउने हो, तत्कालै आवेगमा बहकिएर निष्कर्ष निकाल्ने होइन ।

क. रामसिंहजीले त्यो बेलाको वस्तुस्थितिको सन्दर्भलाई छोडेर टपक्क टिपेर अहिलेको परिस्थितिसँग जबर्जस्ती प्रयोग गर्न खोज्नुभएको छ । त्यही कुरो हिजोको सन्दर्भमा भनिएको ओली (एमाले) को सन्दर्भ, मधेसवादी दलहरूको संविधानसम्बन्धी सन्दर्भ, काङग्रेसको गणतन्त्रसम्बन्धी सन्दर्भहरू विषयवस्तुको तत्कालीन परिवेशको आधारमा उनीहरूले लिने नीतिलाई फरक परिस्थिति र फरक सन्दर्भमा टपक्क टिपेर निष्कर्ष निकाल्ने पद्धति अराजकतावाद प्रवृत्ति हो भन्ने कुरामा कुनै शङ्का छैन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार