लोकतन्त्रमाथि ७ संक्रामक रोगहरु

#रुत्गेर बेग्रम्यान

पहिले सरकारी अधिकारीहरू दिनभर अफिसका वातानुकूलित कोठामा बस्थे। तिनीहरुले हाम्रो बस्तीमा कहिल्यै पाइला टेक्दैनथे। यसै प्रसंगमा म तपाईंलाई सोध्छु–हाम्रो आवश्यकता के हो भन्नेबारे कसले बुझ्नसक्छ? कार्यालयमा गजधम्म बस्ने सरकारी कर्मचारीले कि वा हाम्रो आफ्नै समुदायको कोही व्यक्तिले ?

अवस्था यस्तो थियो, त्यहाँ क्रान्तिको कुनै सम्भावना थिएन। यो कुरा पश्चिमी भेनेजुएलाको एक नगरपालिका टोरेसको हो। त्यहाँको  जनसङ्ख्या २० लाखभन्दा कम थियो र त्यहाँ सयौं वर्षसम्म एक कुलीन वर्गले शासन गर्दै आएको थियो। त्यही टोरेस नगरका आम नागरिकहरूले हाम्रो समयको अति महत्त्वपूर्ण प्रश्नहरूको जवाफ खोजेका थिए।

ती प्रश्नहरु थिए- हामी राजनीतिमाथि पुनः कसरी भरोसा राख्न सक्छौं ? समाजमा जागिरहेको निराशावादको आक्रोसलाई कसरी काबूमा राख्न सकिएला? र हामीले हाम्रो लोकतन्त्रलाई कसरी बचाउने होला?

विश्वभरका लोकतन्त्रहरू कम्तिमा सातवटा संक्रामक रोगको शिकार भएका छन्। ती हुन्- (१) राजनीतिक दलहरुको पतन। (२) एकअर्कालाई विश्वास गर्न नसक्ने अवस्थाका नागरिक। (३) अल्पसंख्यकहरूप्रति तिरस्कार। (४) मतदाताको घट्दो चासो। (५) भ्रष्ट राजनीतिज्ञहरू। (६) धनीहरूबाट कर छली  र, (७) आधुनिक लोकतन्त्र व्यापक असमानतामा डुबेको छ भन्ने जनधारणा।

टोरेस नगरले यी सबै समस्याहरूको समाधान खोज्यो। टोरेसले पत्ता लगाएको समाधान आश्चर्यलाग्दो सजिलै गरी बुझ्न सकिन्छ। किनकि यसले विगत पच्चीस वर्षका परीक्षामा असफल भएको संकेत देखाएको छैन। यस समाधानलाई ब्यूर्ट्र्जोर्ग तथा अगोरा पल्स जस्तै संसारभरी अगाल्न थालिएका छन्। तर पनि टोरेस नगरको अभ्याससम्बन्धी कुनै समाचार बन्दैन।

यो अभ्यास एक व्यावहारिक पहल हो जुन मानव स्वभावका बारेमा आधारभूत रूपमा फरक दृष्टिकोणमा आधार रहेर अपनाइएकोछ। जुन दृष्टिकोणले हेर्दा मानिसहरूलाई आत्मसन्तुष्ट हुन्छन् भन्ने ठानिदैन वा असन्तुष्ट मतदाताहरू सबै एकै ड्याङका हुन् भनेर व्यवहार गरिदैन। बरु यो दृष्टिकोणले के हामी सबैमा एक रचनात्मक र शुद्ध अन्तस्करण भएका नागरिक अवस्थित छैनन् र भनेर प्रश्न गर्छ।

यही प्रश्नलाई फरक ढंगले राख्ने हो भने: के लोकतन्त्र सम्भव छैन ?

टोरेसको कथा अक्टोबर ३, २००४ मा सुरु भयो। चुनावको दिन। भेनेजुएलाको एक नगरपालिकाको मेयर पदका लागि दुई उम्मेदवारहरू मैदानमा थिए: निवर्तमान मेयर जेवियर ओरोपेजा, जो एक ठूला जमिन्दार थिए जसलाई व्यापारिक मिडियाले समर्थन गरेको थियो, र दोस्रो वाँल्टर केट्टीवेल्ली, जसलाई राष्ट्रपति ह्युगो चाभेजको शक्तिशाली राजनीतिक पार्टीको समर्थन थियो।

ती दुवै कुनै खास विकल्पहरु थिएनन्। ओरोपेजा र केट्टीवेल्ली – ती मध्ये कसैले जित्दा पनि भ्रष्टाचार रोकिनेवाला थिएन। यी प्रत्यासी हेर्दा टोरेसमा लोकतन्त्रको भविष्यलाई पुन: नयाँ दिशामा बढाउन सकिने कुनै संकेत थिएन।

तर, त्यहाँ त्यति चर्चामा नआएका एक अर्को पनि उम्मेद्वार थिए। ती थिए जुलियो चाभेज (जो ह्युगो चाभेजसँग सम्बन्धित होइनन्)। उनी एक मामूली आन्दोलनकारी थिए। जसका समर्थकहरूमा मुट्ठीभर विद्यार्थी, सहकारी र संस्थाका कार्यकर्ताहरू थिए। उनीहरूको घोषणापत्र, जसलाई एक वाक्यमा संक्षेप गर्न सकिन्छ, पूर्णतया हाँस्यास्पद थियो। घोषणापत्रको सार थियो – जूलियोलाई मेयरमा निर्वाचित गर्नुस्– उनले टोरेसका नागरिकलाई सम्पूर्ण सत्ता–शक्ति सुम्पिनेछन्।

उनका प्रतिद्वन्द्वीहरूले उनलाई गम्भीरतापूर्वक लिएनन्। वास्तै गरेनन्, तर कहिलेकाहीँ तपाईंले क्रान्तिको सबैभन्दा कम अपेक्षा गरेका कुनाहरुबाट सबैभन्दा ठूला क्रान्तिहरू शुरु हुन्छन्। त्यहीं अक्टोबरमा भएको त्रिकोणीय प्रतिस्पर्धामा जुलियो चाभेजले ३५.६ प्रतिशत मत भनौं थोरै मतान्तरले टोरेसको मेयर पदमा विजयी भएका थिए।

र, उनले आफ्नो वाचा पुरा पनि गरे।

यो स्थानीय क्रान्तिको शुरुवात् सयौंको जमघटसँगै भयो। यसमा सबै बासिन्दाहरूलाई स्वागत गरियो – मुद्दाहरूमाथि बहस गर्नका लागि मात्र होइन, वास्तविक निर्णयहरू गर्न। उनीहरुले निर्णय गर्नुपर्ने मुद्धा थियो – नगरपालिकाको करिब ७० लाख डलर बराबर लगानी–बजेटको शतप्रतिशत खर्च गर्न कहाँ/कसरी गर्ने?

नयाँ मेयरले अब साचो लोकतन्त्रको समय आएको घोषणा गरे। अबको लोकतन्त्रको सरकार कुनै निजामती कर्मचारीहरू र पेशेवर राजनीतिज्ञहरूले होइन, टोरेसका नागरिकहरूले चलाउनु पर्ने थियो।

विश्वभरका लोकतन्त्रहरू कम्तिमा सातवटा संक्रामक रोगको शिकार भएका छन्। ती हुन्- (१) राजनीतिक दलहरुको पतन। (२) एकअर्कालाई विश्वास गर्न नसक्ने अवस्थाका नागरिक। (३) अल्पसंख्यकहरूप्रति तिरस्कार। (४) मतदाताको घट्दो चासो। (५) भ्रष्ट राजनीतिज्ञहरू। (६) धनीहरूबाट कर छली  र, (७) आधुनिक लोकतन्त्र व्यापक असमानतामा डुबेको छ भन्ने जनधारणा।

पुरानो कुलीन वर्गले आतङ्कित हुँदै आफ्नो भ्रष्ट व्यवस्थाको पतन आँखै अगाडि देखे। एक अमेरिकी समाजशास्त्रीसँगको अन्तर्वार्तामा मेयर जुलियोले त्यसबेलाको अवस्थालाई सम्झदै भन्छन् “ती कुलीन वर्गले हाम्रा कामहरुलाई अराजकता हो भन्थे। मैले सत्ता–शक्तिलाई टोरेसका नागरिकलाई सुम्पनुलाई पागलपन भएको आरोप लगाउथ्यो।

टोरेस नगर लारा राज्यको एक हिस्सा थियो। त्यहाँको तत्कालिन गभर्नर आफ्नो हातको कठपुतली ओरोपेजा पराजित भएकोमा क्रोधित थिए। उनले नगरपालिकाको अनुदान कटौती गर्ने र एक नयाँ परिषद् नियुक्त गर्ने निर्णय गरे। तर उनलाई नवनिर्वाचित मेयरको समर्थनमा जनता उभिएका छन् भन्ने ख्याल नै थिएन। नभन्दै सयौं नगरवासीले बजेट स्वीकृत नभएसम्म घर नफर्किने भन्दै सिटी हल घेराउ गरे।

अन्त्यमा जनताको जित भयो। मेयर जुलियो निर्वाचित भएको दश वर्षभित्र टोरेसले जुन प्रगति गर्‍यो त्यो धेरै दशकहरूमा मात्र सम्भव हुने देखिन्थ्यो। क्यालिफोर्निया विश्वविद्यालयले गरेको एक अध्ययनले त्यसबेलाको एक झाँकी दिन्छ कि– भ्रष्टाचार र पार्टीपरस्त विकास तथा सुविधा दिइने कुरा नियन्त्रणमा आइसकेको थियो। जनताहरु राजनीतिमा अभूतपूर्व रूपमा भाग लिन थालेका थिए। नयाँ घरहरू र धेरै विद्यालयहरू बनिरहेका थिए, नयाँ सडकहरू बनिरहेका थिए र पुराना वस्तिहरुलाई नयाँ स्वरुप दिइँदै थियो।

आजसम्म, टोरेससँग संसारमा सबैभन्दा ठूलो पार्टिसिपेटरी बजेट छ। पन्ध्र हजार मानिसले आफ्नो सुझाव दिन्छन्, र प्रत्येक वर्ष नगरपालिका क्षेत्र भित्रमा ५६० स्थानमा बैठकहरू चल्छ। प्रत्येक व्यक्तिलाई प्रतिनिधि प्रस्ताव गर्ने र चयन गर्ने अधिकार छ। यो सँगसँगै टोरेसका मानिसहरू निर्णय गर्छन् कि उनीहरूले करका रुपमा भुक्तान गरेको लाखौं रुपैयाँ कहाँ बाँड्ने?

एक नगरवासीले भने, “पहिले सरकारी अधिकारीहरू दिनभर अफिसका वातानुकूलित कोठामा बस्थे। तिनीहरुले हाम्रो बस्तीमा कहिल्यै पाइला टेक्दैनथे। यसै प्रसंगमा म तपाईंलाई सोध्छु–हाम्रो आवश्यकता के हो भन्नेबारे कसले बुझ्नसक्छ? कार्यालयमा गजधम्म बस्ने सरकारी कर्मचारीले कि वा हाम्रो आफ्नै समुदायको कोही व्यक्तिले?”

अब तपाईं पाठकहरु मनमनै सोच्न सक्नुहुन्छ: एउटा राम्रो कथा। तर यो लोकतान्त्रिक अवस्था सधैं यस्तै रहिरहन्छ भन्ने केही जरुरी छैन।

खास कुरा यो हो कि टोरेसमा के भयो त्यो अनेकौं दृष्टान्तहरुमध्ये एक दृष्टान्त हो। यस्तै अर्को दृष्टान्त छ– यो भन्दा ठूलो कथा वर्षौं पहिले शुरु भएको थियो।

यो सत्य कथा हो– ब्राजिलको एक महानगरको। यसले आफ्नो बजेटको एक चौथाई त्यहाँको जनसंख्याको जिम्मामा छाड्ने अभूतपूर्व कदम चालेको थियो। यो महानगरको नाम पोर्टो एलेग्रे हो र वर्ष १९८९ को कुरा हो। एक दशकपछि यो प्रयोग ब्राजिलका सय सहरहरूमा अभ्यास गरिएको थियो र त्यहाँबाट यो विश्वभर फैलिन थाल्यो। २०१६ सम्म न्यूयोर्क शहर देखि सेभिल र ह्याम्बर्गदेखि मेक्सिको सिटीसम्म। हाल १५ सयभन्दा बढी शहरहरूले कुनै न कुनै प्रकारको सहभागितामूलक बजेट प्रणाली लागू गरेका छन्।

जे बिषयमा हामी यहाँ कुरा गर्दैछौं वास्तवमा २१औं शताब्दीको सबैभन्दा ठूला आन्दोलनहरू मध्ये एक हो, तर तपाईंले यसको बारेमा कहिल्यै सुन्नु नभएको हुनसक्छ। यो कुनै समाचार बन्दैन किनकि यो कुनै सनसनीखेज घटना होइन। भुँइतहका राजनीतिज्ञहरूमा न त कुनै सेलिब्रेटी जस्तो आकर्षण हुन्छ न त तिनीहरूमा वाकचाल र वातलाई वतडङ्ग बनाउने चतुर्‍याइँ हुन्छ। तिनीहरुसँग न त विज्ञापनको लागि पैसा नै हुन्छ। तथाकथित बहसहरूमा बमवाचक शब्दका वाणहरू हान्न सिपालु हुँदैनन्, र दैनिक नयाँ नयाँ क्षणिक चर्चाका बिषयमा जनमत सर्वेक्षणमा तिनीहरुको चासो पनि हुँदैन् ।

नागरिक तहका नेता शान्तिपूर्ण र विचार-विमर्श संवाद गर्छन् । यो निरस लाग्न सक्छ तर यसको असर गहिरो हुन्छ। यसको असरले बुढो लोकतन्त्रका सात संक्रमणहरुलाई विस्तारै जवानीमा ल्याउन सक्छ।

(रुत्गेर बेग्रम्यानको पुस्तक ‘ह्यूमनकाइण्ड’को एक अंश) अनु: महेश पाण्डेय

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार