डेभिड रोभिक्स
विश्वभर अमेरिकी साम्राज्यका सयौं सैनिक बेसहरू छन्, जसले रणनीतिक रुपमा र नियतवस रुस र चीनलाई घेरेका छन्। विश्वमा अमेरिका मात्रै त्यस्ता सैन्य बेसहरू भएको देश हो, जसले आफूले चाहेको ठाउँमा ठूलो संख्यामा टुकडीहरू पठाउन सक्छ। अमेरिकीहरू प्यालेस्टाइन, यमनी तथा ग्वाटेमालाका मानिसका जीवनप्रति चिन्तित छन् भन्ने धारणा जति हाँस्यास्पद छ, तिनले युक्रेनियन, ताइवानी, जिङ्जियाङ्का मानिसको जीवनमा चिन्ता राख्छन् भन्ने कुरा पनि त्यति नै अविश्वनीय छ।
हाम्रा बालबालिकाहरूको बुद्धि भुट्ने पाठ्यसामग्रीहरु लेख्ने कल्पनाकारहरु छ्यासछ्यास्ति भएपनि ‘हुने र नहुने’,’धनी र गरीब’, ‘शासक र शासित वर्ग’ बीचको द्वन्द्वको इतिहास नै सभ्यताको इतिहास हो भनेर बुझाउन कैयन इतिहासकारहरू अनवरत प्रयाश गरिरहेका पाइन्छन्। जहाँ स्पष्ट असमानता छ, जहाँ एउटा सानो संख्याको शासक, मालिक, जमिनदारले सधैं मजदुर तथा गरीबहरूको ठूलो समूहलाई नियन्त्रित गर्ने कोशिस गरिरहन्छ। त्यस्ता समाजका यी द्वन्द्वहरुलाई निरन्तर गतिशील बनाइराख्ने तत्व सधैं नयाँ रुपमा आउँछ। यसैगरी यस्तो खालको असमानतासहितको राज्य कायम राखिराख्नका लागि कुनै साम्राज्य जस्तैः अमेरिका समाज र वर्गलाई विभाजन गरी आधिपात्यमा राख्ने खेल खेल्ने गर्छन्।
अमेरिकाको दोहोरो भूमिका
अमेरिका बेलायतको उपनिवेश हुँदाको समय र त्यसपछिको स्वतन्त्र अमेरिकाका शासकहरूले सधैं ठूलो संख्याका किसान, साना जमिनदारी, शहरी मजदुर र भाडामा बस्नेहरू, आप्रवासी तथा मूल निवासी रेड नश्ल, दासी तथा मुक्तदासीहरूबीच साझा शोषकविरुद्ध लड्नका लागि एक बनाउनुको सट्टा आपसमा लडाइँ गर्न उक्साइरहेका पाइन्छन् र घातक संघर्ष चलाइदिने गरेका छन्। स्थानीय तथा वैश्विक रुपमा हुने गरेका ती विभाजनमाथि टेकेर अमेरिकी जस्ता साम्राज्यका शासकहरुले शोषण गर्ने तरिकाहरू समयसँगसँगै विकसित गर्दै गरेका छन्। जसरी अन्य कुराहरू विकसित गरिए जस्तैः प्रविधि, विभिन्न प्रकारका संगठनहरू, निगमहरू, संगठनहरू, संसदहरू र जसरी भयानक अमेरिकी सैन्य उद्योग कम्प्लेक्स् आदि, त्यसरी नै शोषणको रुप र तरिकाहरूमा परिवर्तन हुने गरेका छन्।
यस्तो वास्तविकताले हामीलाई केही पछिल्ला दृश्यहरू बुझ्न कठिन हुँदैन। एउटा दृश्यः अमेरिकी राष्ट्रपति जो बाइडेन केही दिनअघि अमेरिकाको दक्षिण पश्चिम राज्य अलाबामा पुगे, जहाँ उनले सन् १९६३ मा श्वेत वर्चश्ववादीले चर्चमा गरेको बमबारीमा परी मृत्यु भएकाहरूको सम्झना गरे। जबकि प्यालेस्टाइनविरुद्ध संगठित भिडद्वारा गरिएको नरसंहारका बारेमा भने उनले कतै बोलेका छैनन्। अमेरिकी सैन्य सहायता सबैभन्दा बढी ग्रहण गर्ने शक्तिहरुले प्यालेस्टाइनलाई जलाइरहेको छ। यस्तै अर्को दृश्यः युक्रेन पुगेका अमेरिकी महान्याधिवक्ताले अन्तर्राष्ट्रिय अपराध अदालतमा रुसी युद्ध अपराधको बारेमा मुद्दा चलाउने विषयमा कुरा गरिरहेका छन्। जबकि अमेरिकीहरू साउदी तथा इजरायलीहरूले गरेको युद्ध अपराधको विषयमा भने केही बोल्दैनन्।
यता अमेरिकी विदेश मन्त्रालय चीनले रुसलाई सशस्त्र हतियार दिनसक्ने भन्दै सार्वजनिक रुपमा चीनमाथि खनिन्छ भने सोही दिन उसले ताइवानलाई अमेरिकाको सबैभन्दा उच्चस्तरको युद्धक विमान बेच्ने घोषणा गर्छ। यदि हामीले अमेरिकाको बर्चश्ववादी र शोषक प्रवृत्तिलाई बुझ्ने हो भने उसको यस्तो दोहोरो भूमिकाको दृश्यलाई बुझ्न सजिलो हुन्छ।
अमेरिकामा समाचार सुन्नु भनेको रुसी र चिनियाँ विरोधी बयानको ढोलबाजी सुन्नु जस्तै हो। जुन इतिहासका कुनैपनि घटना र परिघटनासँग मेल खाँदैनन्। र, तिनका यी बयानवाजीहरू वस्तुनिष्ठता जोगाउनमा कमजोर देखिन्छन्।
बर्वरताको इतिहास
अमेरिकी नेताहरुले भ्लादिमिर पुटिन र चिनियाँ कम्युनिष्ट पार्टीलाई दानवीकरण गरेकोपुटिन र सी सत्तामा आएपछि नै गरिएको हो भान पर्न सक्छ । यसैगरी अमेरिकी नेताहरुले गरेका यस्ता वयानवाजी र कामहरु रुसी र चिनियाँ जनताहरूकै लागि गरिरहेका छन्भन्ने भ्रम पर्न सक्छ। तर कुरा यस्तो होइन, यस्तो काम अमेरिकी तथा युरोपी साम्राज्यहरुले इतिहासदेखि नै गर्दै आएका हुन्। रुसमा सन् १९१७ र चीनमा १९४९ मा भएको क्रान्तिपछि मात्रै अमेरिका लगायतका देशहरू तीमाथि खनिन थालेको कुरा पनि गलत हो। ऐतिहासिक वास्तविकता यो भन्दा धेरै फरक र छलकपटपूर्ण छ।