चुनौती र समस्या छ : हामीले क्रान्तिको बाटो रोजेका छौं

-बिन बहादुर रेग्मी

संगठनमा काम गर्ने मान्छेका आ-आफ्ना व्यक्तिगत एवं पारिवारिक समस्या र चुनौती हुन्छन् । समस्या र चुनौती के हो भन्ने कुरा त्यो मान्छे कस्तो प्रकारको संगठनमा काम गर्छ त्यसमा भरपर्दछ । मठ, मन्दिर, धार्मिक संगठन, निश्चित उद्देश्य, नीति, सिद्धान्त बोकेका प्रजातान्त्रिक संगठन, आमूल परिवर्तनको लागि क्रान्तिकारी विचार बोकेका बामपन्थी संगठन सबै प्रकारका संगठनमा काम गर्दा आर्थिक समस्या देखापर्ने हुन्छ । आम मानिसहरुले मठ, मन्दिर, धार्मिक संगठनमा आस्थाको आधारमा स्वर्ग जाने आशामा पैसा जम्मा गर्ने गर्दछन््, जसले गर्दा त्यसप्रकारका संगठनहरु सञ्चालनमा सहज हुन्छ । त्यसकारणले धार्मिक संगठन चलाउनेहरू सुकिला, मुकिला मोटाघाटा हुन्छन््, सुखी र खुशी देखिन्छन् । तिनीहरू यही दुनियामा रमाई रमाई मोजमस्ति गरिरहेका हुन्छन् । उनीहरूलाई गरिबी, भोकमरी, बेरोजगारीसँग कुनै मतलब हुदैन । साँच्चिकै भन्ने हो भने समाजको आमूल परिवर्तनको लागि धार्मिक संगठनहरु नै बाधक हुन्छन् ।

सत्ता प्राप्तीको उद्देश्य पूरा गर्न बनेका प्रजातान्त्रिक संगठनका कार्यकर्ता चुनावी अभियानलाई केन्द्र बनाएर काम गर्छन्, कुरा गरिबी भोकमरी बेरोजगारीका गर्छन् तर समस्या समाधानको उपाय बताउँदैनन् । चुनाव जित्ने उदेश्य प्रमूख हुन्छ । त्यस्ता संगठनमा लागेका कार्यकर्ता अवसरवादी खालका हुन्छन् । उनीहरुलाई गाडीमा हाल्ने तेल, मुखमा हाल्ने मसला, पेटमा हाल्ने गुदो र जेबमा हाल्ने कौडी (धन) को समस्या पर्दैन । त्यसप्रकारका संघ संस्थाहरुमा धनी पुँजीपति ब्यापारी वर्गको ठूलो लगानी हुन्छ । कार्यकर्ताको जीवन निर्वाह राम्रै चलेको हुन्छ तसर्थः त्यहाँ जिम्मेवारीबाट हटने, राजीनामा दिने भन्ने कुरा नै आउँदैन । उनीहरू पुँजीपतिको दास बनेर काम गरिरहेका हुन्छन् । उनीहरू वर्गीय मुक्ति आन्दोलनका दुस्मन बनिसकेका हुन्छन् ।

जहाँसम्म प्रगतिशील संगठनमा आबद्ध कार्यकर्ताको सन्दर्भको कुरा हो, त्यहाँ समस्या र चुनौती जटिल एवं भयावह छन् । गरिब दुःखी मजदुर किसान नै प्रगतिशील संगठनका कार्यकर्ता हुन्छन् । उनीहरूलाई न्याय समानता मुक्तिको कुराले प्रेरित गरेको हुन्छ र कम्युनिस्ट नैतिकताबाट खारेर बौद्धिक व्यक्तित्व तयार पारिन्छ । त्यो क्रममा ठूलो चुनौती जटिल समस्या देखा पर्छन् । अर्को तरिकाले बुझ्नु पर्दा, त्यो कार्यकर्ता परिक्षण कालबाट गुज्रिरहेको हुन्छ ।

उदाहरणको लागि मानौं एउटा मजदुर आफ्नो नोकरीमा महिनामा तीस दिन नोकरी गर्छ र महिनाको तलब निश्चित रकम यती आउँछ । हिसाबमा घर खर्च, लेनदेन व्यवहार मिलाउने गरेको हुन्छ, त्यति बेलासम्म उसको दैनिकी गुजारा राम्रै चलेको हुन्छ । सिधासाधा मजदुरको लागि त्यो दैनिकी जीवन सामान्यतः सुखमय मानिन्छ तर, आर्थिक समस्या घरको ऋण सकिएको हुदैन । झनझन बढदै थपिँदै गएको हुन्छ । उसलाई समानता मुक्तिको कुराले आकर्षित गर्छ र प्रगतिशील संगठनमा आबद्ध भएको हुन्छ । सुरुसुरुमा नेता हुने रहरमा छुट्टी गर्ने, चिया नास्ता खर्च पानीमा मन ठूलो बनाएर अगाडि सर्ने, जानी नजानी भाषण गर्ने, सेल्फी फोटो अपलोड गरेर सामाजिक सञ्जालमा रमाएको देख्न सकिन्छ । केहि समय पछि उसले घर परिवार संसारमा आफनो हिसाब किताब हेर्छ मानौँ ठूलो नोक्सानी भएको महसूस गर्छ । ऊ माथि संगठनले विश्वास गरेर दिएको जिम्मेवारी बोझ लाग्न थाल्छ । सुरुसुरुमा त विरोध गर्न सक्दैन तर, ऊ निष्क्रिय भइसकेको हुन्छ । एउटा निष्क्रिय कार्यकर्ताले सकारात्मक उर्जाशील सोंच राख्ने कुरै हुदैन । त्यतिबेला वर्गिय मायाले लछप्प भिजेका आदरणिय अग्रज कमरेडहरुको हरेक हाउभाउ बोली वचन निर्देशन उसलाई मन पर्दैन । कुनै न कुनै बहाना बनाएर म जिम्मेवारिबाट हट्छु, राजीनामा दिन्छु, म बर्बाद भएँ यस्तै यस्तै प्रतिक्रिया दिन थाल्छ । त्यस्तो अवस्थामा केहि समय त्यो साथीलाई एक्लै सोंच्ने मौका दिनु सबैभन्दा उत्तम उपाय हो, किनकि साथी काँचो छ । राजनैतिक सैद्धान्तिक ज्ञानको अभाव छ । उसले लिने फैसला उसलाई गलत बाटोमा लैजान सक्छ ।

हामीले बुझ्नु पर्ने कुरा के हो भने हाम्रो संगठनमा हामी मजदुर किसान मात्रै छौँ, हामीले हाम्रो हक अधिकार र मुक्तिको कुरा गरेका छौं । संगठनमा हाम्रो आर्थिक समस्या हामीले नै टार्नु पर्ने हुन्छ । धार्मिक संगठन र प्रजातान्त्रिक संगठनमा जस्तो आर्थिक सहयोग जुटाउन हामीलाई सम्भव छैन । साथीले के बुझ्न सक्नुपर्छ भन्दा मेरो कमाइले हिजो पनि घरको ऋण तिरेर सकिएको थिएन । आज पनि त्यस्तै छ, बरु मलाई पार्टीले विश्वास गरेर जिम्मेवारि सुम्पेको छ, म सडकको मान्छेलाई सदनमा बोल्ने अवसर दिएको छ, मलाई आत्मनिर्भर वन्नु पर्छ भनेर साथ सपोर्ट मिलेको छ । महिनामा पाँच सात दिन छुट्टी भयो तनखा काटियो यो त बाँच्दासम्म यस्तै हो । घर गाको बेला बिरामी भाको बेला, कोही मर्दापर्दा छुट्टी लिनै पर्छ त, त्यो नोक्सानी मलाई विश्वास गर्ने संगठनले गर्दा हो भन्न कसरी सकिन्छ र ? यो मेरो सैद्धान्तिक ज्ञानको कमजोरी हो भन्ने बुझ्न जरुरी छ ।

संगठनले त रक्सी नखाउ, जुवातास नखेल, रण्डीबाजी नगर भनेको छ त तिमी त महिनामा तनाखा थोरै आएको, संगठनमा लागेर बर्बाद भएको कुरा रक्सी खाएर गर्दैछौ त । संगठनले सिकाएको नीति सिद्धान्त बुझ्नु पर्दैन र ? मानौं तिमीले मेशमा पैंसा दियौ खाना पनि आफै खायौं त । मलामी गयौ, बिरामीलाई चन्दा दियौं, हस्पिटलमा कुर्न बस्यौं, यत्ति त मानवीय नाताले संगठनमा नबसेको भए पनि गर्नु पर्ने होइन र ? त्यसकारणले संगठनमा लागेर नोक्सान हुदैन । तपाईं अति राम्रो मान्छे बन्दै हुनुहुन्छ । केवल सैद्धान्तिक ज्ञानको अभाव छ । तपाईंलाई संगठनले धेरैं भन्दा धेरै जिम्मेवारी थोपरेको छ । त्यो तपाईंले पुरा गर्न सक्नुहुन्छ भनेर होइन तपाईंलाई राजनैतिक सैद्धान्तिक व्यवहारिक रूपमा निपूणर् बनाउन रापिलो भट्टीबाट खारेर बौद्धिक व्यक्तित्व तयार पार्दैछ भन्ने हो ।

अब तपाईं के बुझ्नु भयो ? के तपाईंले जिम्मेवारिबाट हटेर उम्किन मन छ ? राजीनामा तपाईको समस्याको समाधान हो त ? अवस्य होइन । जिम्मेवारीबाट हटेर तपाईको समस्या हल हुँदैन । यो पूँजीवादी व्यवस्था रहुन्जेल गरिब दुःखीको समस्या झनझन जर्जर र भयावह जटिल बन्दै जान्छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार