ताजमहलको एकदिने भ्रमण : अनुभव र अनुभुति

बेलबहादुर रजाली ##

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर दक्षिण र महिला विभागका साथीहरूले करिब एक वर्षपहिला देखि नै कुनै नयाँ ठाउँमा सामूहिक रूपमा पिकनिक जाने कुरा बेला बेलामा गरिरहनुभएको थियो तर मेसो मिलेको थिएन । यो वर्षको तिजी कार्यक्रम सम्पन्न भएपछि मूल प्रवाह महिला विभाग जयपुर दक्षिणको बैठक बस्यो । बैठकले विभिन्न निर्णय गर्नुका साथ सामूहिक रूपमा पिकनिक जाने पनि योजना बनायो र मिति र स्थान पनि निश्चित गर्‍यो ।

आखिर ८ अक्टोबर २०२३ का दिन नगर समितिका साथीहरू सामूहिक रूपमा आगराको ताजमहल भ्रमणमा जाने निश्चित भयो । निर्णय भएलगत्तै साथीहरू त्यो भ्रमणलाई सफल पार्न आआफ्नो जिम्मेवारीअनुसार काममा खट्नुभयो ।

भ्रमणमा जाने निर्णय गर्ने दिनदेखि भ्रमणमा जाने दिनको बिचमा करिब एक हप्ताको समय थियो । एक हप्ताभित्र सम्पूर्ण तयारी गर्नुपर्ने भएकाले साथीहरू तुरुन्तै एकआपसमा फोन सम्पर्क, भ्रमणमा जानेहरूको नामावली सङ्कलन, गाडीको व्यवस्था आदि काममा तुरुन्तै लाग्नुभयो ।

गाडीको व्यवस्था गर्ने काममा करण थापा र माया थापा लाग्नुभयो भने अन्य साथीहरूले पनि सहयोग गर्नुभयो । सुरुमा लगभग २५/२६ जनाको सङ्ख्या हुने हाम्रो अड्कल थियो। सोहीअनुसार २७ सिटवाला बसको वयवस्था गर्ने कुरो भयो । करणजी र मायाजीले बसवालासित कुरा गर्नुभयो । पहिलो चरणको कुराकानीमा बसवालाले हामीले अडकल गरेकोभन्दा केही बढी पैसा मागेको रिपोर्ट मायाजीले ल्याउनुभयो अनि हाम्रो सङ्ख्या पनि २०–२१ जना भन्दा बढी नहुने जस्तो रिपोर्ट आयो । हामीले फेरि एकचोटी बसवालासँग बार्गेनिङ गरेर केही डिस्काउन्ट गर्न पठायौँ । फेरी दोस्रो चरणमा कुरा गर्दा बसवालाले हामीलाई सहज हुनेगरी केही डिस्काउन्ट गर्न तयार भयो ।

यता भ्रमणमा सहभागी हुनेहरूको सङ्ख्या भने बढ्न थाल्यो । केही दिदीबहिनीहरू भ्रमणमा थपिने कुरो भयो भने बच्चालाई पनि भ्रमणमा लैजानुपर्ने कुरा उहाँहरूले गर्नुभयो । उहाँहरूसमेत जाँदा हाम्रो सङ्ख्या बसको क्षमता २७ जनाभन्दा धेरै हुने र उहाँहरूलाई छोड्दा भ्रमणमा जाने अन्य साथीलाई आर्थिक बोझ अलि बढ्ने समस्या देखियो ।

अर्कोतर्फ, भ्रमणमा जाने साथीहरू भने निकै उत्साहित हुनुहुन्थ्यो । खासगरी दिदीबहिनीहरू अलि बढी नै उत्साहित हुनुहुन्थ्यो । भ्रमणसम्बन्धी लगभग सबै कुराको चाजोपाजो महिला विभागका साथीहरूले नै मिलाउनुभएको थियो । के लुगा लगाउने, के खाना लिएर जाने आदि विषयमा दैनिकजसो उहाँहरूबिच अनलाइन गु्रपमा छलफल भइरहेको थियो । कसैलाई भ्रमणमा जान नयाँ स्यान्डल चाहिएको त कसैलाई ब्याग चाहिएको कुरा गरिरहनभएको थियो भने कुनै साथीले एक दिनको भ्रमणका लागि धेरै अनावश्यक खर्च नगरेर हामीले दैनिक रूपमा प्रयोग गर्ने लुगा, स्यान्डल, ब्यागले नै काम चलाउनुपर्ने सल्लाह पनि दिइरहनु भएको थियो ।

अन्तिममा भ्रमणमा जान तयार भएका सबैलाई लिएर जाने समझदारीसहित ८ अक्टोबरका दिन बिहान ७ बजे प्रस्थान गर्ने सल्लाह भयो ।

सामान्य रूपमा बुझ्दा पिकनिक भन्नाले आफ्नो परिवार अथवा सँगीसाथीसित घरभन्दा बाहिर अलि टाढा सामूहिक रूपमा रमाइलो घुमघाम र भोजन (फन एन्ड फुड) गर्नु नै हो ।

हामी जीवनमा लामो समयदेखि आफ्नै कामकाजमा मात्र व्यस्त रहन्छौँ । प्राय: हाम्रो सधैँभरि एउटै दिनचर्या रहन्छ : बिहान उठ्यो; नुहाइधोइ गर्‍यो† अफिस गयो† बेलुका अबेला घर फर्कियो† खाना खायो र सुत्यो । आफ्ना साथीहरू को, कहाँ छन्, के गर्दै छन्, सोधपुछ गर्ने समय नै हुँदैन । आफ्नै परिवारभित्र पनि एकआपसमा मनका भावना साटासाट गर्न पनि समय हुँदैन । यस्तो अवस्थामा केही फरकपनको अनुभुति गर्न पनि यस खालका सामूहिक गतिविधिमा संलग्न हुन जरुरी हुन्छ । यसरी केही समयको लागि भए पनि अलिकति रिल्याक्स महसुस हुन्छ भने आफ्नो जीवनलाई व्यवस्थित पार्न केही ऊर्जा पनि प्राप्त हुन्छ ।

फ्रान्सको राज्यक्रान्तिपश्चात कहिलेकाहिँ मानिसहरू सामूहिक रूपमा घरभन्दा बाहिर गई खुल्ला स्थानमा भोज गर्ने गर्दथे । त्यहीँबाट पिकनिकको चलन सुरु भएको मानिन्छ । अहिले पिकनिक यति लोकप्रिय भएको छ कि १८ जुनलाई इन्टरनेसनल पिकनिक डेको रूपमा मनाइने गरिन्छ ।

हामी ८ अक्टोबर २०२३ का दिन बिहान ७ बजे प्रस्थान गर्ने सल्लाह भएअनुसार सबै साथीहरू निश्चित गरिएको स्थानमा जमा हुन थाल्नुभयो । केही साथीहरू बिहान ६:३० बजे नै आइपुग्नुभयो भने केही साथी अलि ढिलो गर्नुभयो । सबै साथी जुट्दाजुट्दै बिहानको ८ बजिहाल्यो ।

जयपुरदेखि आगरासम्म पुग्न करिब पाँच/छ घन्टा समय लाग्ने र हामी फेरि उही दिन फर्किनुपर्ने भएको हुँदा हामीलाई जति सक्यो, छिटो प्रस्थान गर्नुपर्ने थियो । सबै साथी जम्मा भएपछि ढिलो नगरिकन हाम्रो बस ८:१५ मा आगराको लागि हिँड्यो ।

यो भ्रमणमा रिम राना, ओम थापा, बेलबहादुर रजाली, रचित रजाली, बाबुराम थापा, दीपक थापा, भीमसिंह थापा, रुद्रबहादुर थापा, सोमबहादुर थापा, सोमबहादुर थापासिंजाली, हुमबहादुर सारू, करण थापा, हुमा रजाली, दीपा थापा, कल्पना थापा, माया थापा र उहाँको बच्चा, बिना थापा, शोभा राना, धनमाया थापा, रवि थापा, शर्मिला थापा, सुनिता परियार, बिना परियार र उहाँको बच्चा, पवित्रादेवी सारू, शेसमाया राना, हरिमाया राना, ललिता थापा र उहाँको बच्चा, निर्मला थापा र उहाँका दुई जना बच्चा गरी जम्मा ३३ जना यो भ्रमणमा सहभागी भएका थियौँ ।

बस २७ सिटको भएकोले थोरै असहज भयो । केही साथी उभिएर यात्रा गर्नुपर्ने भयो । साथीहरू पनि दु:ख नमानिकन उभिएर यात्रा गर्न तयार हुनुभयो ।

बस प्रस्थान भएको केही बेरमै साथीहरूले बसभित्रै गीत बजाउँदै, नाच्दै रमाइलो गर्न थाल्नु भयो । सुनिता परियार, दीपा थापा, बिना थापा, धनमाया थापा, कल्पना थापाहरू नाच्न थाल्नुभयो । निकै रमाइलो गर्दै यात्रा अगाडि बढिरह्यो । बिचमा धनमाया दिदीले मलाई पनि नाच्न आग्रह गर्नुभयो । मैले तपाईंहरू नाच्नुस्, म ताली बजाउँछु भनेँ । उहाँले मलाई “सधैँभरि गम्भीर मुद्रामा बस्नुहुँदैन भाइ; कहिलेकाहिँ हास्नु पनि पर्छ; नाच्नु पनि पर्छ; रमाइलो पनि गर्नुपर्छ” भन्नुभयो । जवाफमा मैले “मलाई नाच्न त मैदान जत्रो ठाउँ चाहिन्छ दिदी” भने ।

“यसपालि त यस्तै भो आमा, अर्को साल आउने छु दसैँमा” भन्ने गीतले ललिता थापाजीलाई भित्रैदेखि छोयो । उहाँले ठ्याक्कै मेरो जीवनसँग मेल खाने गीत सुनाइदिनु भयो सर, साह्रै मन छोयो” भन्नुभयो । उहाँले माइत गएर दसैँ नमनाएको धेरै वर्ष भएको र अहिलेको दसैँमा पनि जान नसक्ने कुरा बताउनुभयो ।

यसै क्रममा मायाजी ले घरबाट थर्मसमा चिया पनि बोकेर जानुभएको रहेछ । हामी सबैलाई चिया दिनुभयो । यात्रा गरिरहेको बेला त्यो चिया खान पाउदा कति आनन्द आएको थियो । यसरी नाच्दै, गाउँदै, हाँसोठट्टा गर्दै हाम्रो यात्रा जारी थियो ।

साथीहरूले अब भोक लाग्न थालेकाले खाना खाने कुरा गर्नुभयो । घडी हेर्दा हामी हिँडेको तीन घन्टाभन्दा धेरै समय भइसकेको रहेछ । समय बितेको थाहै भएन । हामीले केही अगाडि बस रोकी रुखको छहारीमुनि खाना खाने योजना बनायौँ । सबै साथीहरू बसबाट ओर्ली खाना खान बस्यौँ । सबैले आफ्नो घरबाट खाना लिएर जाने हाम्रो सल्लाह भएको थियो । सोहीअनुसार सबैले आआफ्नो खाना लिएर जानुभएको थियो ।

कल्पनाजीले बटुक रोटी (बारा), हुमाजीले फ्राइड राइस, काक्रो र मुलाको अचार, पराठा र चना, शर्मिलाजीले प्याजको सब्जी लिएर जानुभएको थियो । त्यसैगरी, रविजीले सेलरोटी, पवित्राजीले चना र पराठा, शोभाजीले भिन्डीको सब्जी र फ्राई गरेको खुर्सानी, धनमायाजीले राजस्थानी फलीको सब्जी लिएर जानुभएको थियो । बाबुरामजीको घेवर, बर्फी, लड्डु र अरू विभिन्न परिकारका मिठाई अनि करणजी र मायाजीको आफ्नै बारीबाट टिपेको पार्सैको साग अनि महीलाई त कहिल्यै पनि बिर्सन सकिँदैन । अरू सबै साथीहरूले पनि विभिन्न किसिमका पकवान लिएर जानुभएको थियो । साथीहरूले खानाका अनेकौँ परिकार लिएर जानुभएको थियो । अहिले ती सबै याद छैन ।

हामी सबैले एकार्काले लगेको खाना आपसमा साटासाट गरी निकै खुसी हुँदै एकदम आनन्दित तरीकाले खायौँ । अँ मायाजीको अकबरे खुर्सानी (डल्ले खुर्सानी) देखेर त गाडी चालक पनि अचम्म मान्दै खांदै थिए । यसरी सामूहिक रूपमा सँगै बसेर खाना खाँदा निकै आनन्दको अनुभुति भइरहेको थियो ।

हामी जयपुरबाट हिँड्दा करीब एक घन्टा ढिलो भएका थियौँ । त्यसकारण खाना खाएपछि तुरुन्तै हिँड्नुपर्ने भयो । हामी सबै बसमा बस्यौँ र यात्रा फेरि सुरु भयो ।

केही साथीहरू उघ्न थाल्नुभयो भने केही साथीहरूले गफगाफ गर्नुभयो । यसरी हामी आगरा पुग्यौँ ।

ताजमहलभन्दा डेढदुई किलोमिटर पहिलै हाम्रो बस रोकियो । हामी बसबाट झर्‍यौँ र सिकन्जी पियौँ । त्यहाँबाट इरिक्सा चढेर साँगुरा गल्ली पार गर्दै हामी ताजमहल गयौँ ।

त्यहाँ भित्र प्रवेश गर्न भारतीय नागरिक, सार्क देशका नागरिक र अन्य देशका नागरिकका लागि छुट्टाछुट्टै टिकटदर रहेछ । हामी सबैसँग भारतको आधारकार्ड भएको हुनाले भारतीय नागरिक भनेर टिकट लियौँ र प्रवेश गर्‍यौँ ।

भारतमा अङ्ग्र्रेजहरू आउनुभन्दा पहिला मुगलको शासन थियो । मुगल बादशाहमध्य एक थिए : शाहजहाँ । उनले सत्रौँ शताब्दीमा आफ्नी पत्नी मुमताजको सम्झनामा यसको निर्माण गराएका थिए । सन् १६४८ तिर यसको निर्माण कार्य पूरा भएको थियो । विश्वमै मानवनिर्मित अतिउत्तम सिर्जनामध्य एउटा ताजमहल पनि हो ।

ताजमहल मुगलकालीन वास्तुकलाको एउटा अति उत्तम उदाहरण हो । ताजमहल निर्माण गर्ने क्रममा फारसी वास्तुशैली, इस्लामी वास्तुशैली, भारतीय वास्तुशैली, तुर्की वास्तुशैलीको अनौठो सम्मिश्रण छ ।

एसियाका विभिन्न देशबाट दुई दर्जभन्दा बढी बहुमूल्य रत्न, उत्तर भारतका लगभग बिस हजारभन्दा बढी मजदुर, दक्षिण भारत, इरान, सिरियालगायतका ठाउँका ख्यातिप्राप्त हजारौँ मिस्त्रीको अथक मिहिनेतले लगभग २०–२५ वर्षको समयमा यो ताजमहल निर्माण भएको बताइन्छ । एउटा अध्ययनअनुसार ताजमहल निर्माणमा त्यो बेला अन्दाजी तीन अरब २० करोड खर्च भएको बताइन्छ, जुन आजको हिसाबले गणना गर्दा ठ्याक्कै अनुमान लगाउन गाह्रो हुन्छ ।

ताजमहल निर्माण कार्य पूरा भएको केही समयपछि नै शाहजहाँका छोरा औरङगजेबले सत्ताको बागडोर आफ्नो हातमा लिएर आफ्ना बुबा शाहजहाँलाई नजरबन्दमा राखेका थिए । केही समयपश्चात उनको मृत्यु भएको थियो र उनको शवलाई पनि मुमताज बेगमको शवको आडैमा गाडिएको थियो ।

ताजमहलसम्बन्धि थुप्रै किंववदन्ती पनि छन्† जस्तै कि शाहजहाँले यो सेतो ताजमहल जस्तै दुरुस्तै अर्को तर कालो तालमहल यमुना नदीपारी पनि बनाउन चाहेको तर त्यो सपना पूरा नभएको भन्ने पनि सुनिन्छ । त्यसैगरी, शाहजहाँले यो ताजमहल बनाउने मिस्त्रीका हात काटिदिएका थिए ताकि उनीहरूले यस्तै सुन्दर धरोहर अर्को बनाउन नसकुन भन्ने पनि एउटा भनाइ छ । अरू पनि थुप्रै किवदन्तीहरू छन् तर पुष्टि भएका छैनन् ।

हामीमध्य करणजी र माया थापाजी पहिला पनि ताजमहल आइसक्नुभएको रहेछ भने अन्य साथीहरूले पहिलोपटक ताजमहलको अवलोकन गर्दै हुनुहुन्थ्यो । सम्पूर्ण प्रक्रिया मिलाइसकेपछि भित्र प्रवेश गर्नासाथ उत्सुकताका साथ हामीले चारैतिर आफ्ना नजर दौडाउन थाल्यौँ । साथीहरू फोटो खिच्न, भिडियो बनाउन लाग्नुभयो ।

४२ एकड क्षेत्रफलमा फैलिएको यमुना नदीको किनारमा बनेको ताजमहलको बनावटले जोकसैलाई पनि आकर्षित गर्दछ ।
हामी ताजमहलको सबै ठाउँमा गयौँ । सबै चिज राम्रो व्यवस्थित नै लाग्यो । भित्र जाँदा कुनै पनि वस्तु लिएर जान नपाइने रहेछ । खाली पानीको बोतल मात्र लिएर गयौँ । पिउने पानीका लागि एकदुई ठाउँमा मात्र धारो लागेको पाइयो । त्यसमा पनि सानो पानी आउने हुनाले पर्यटकहरू अलि निराश भएको पाइयो । केही साथीहरू भित्र मकबरा हेर्न पनि जानुभयो । त्यसको टिकट अलग्गै लिनुपर्ने रहेछ । मलगायत अन्य केही साथीहरू भित्र नगएर बाहिर मात्रै घुम्यौँ । यसरी घुम्दाघुम्दै समयले नेटो काट्न थालेको थियो ।

मैले एक दिनपहिला नै विगत लामो समयदेखि आगरामा बसोबास गर्दै आउनुभएका आत्मीय साथी क्षेत्रीय समितिका मिठु केसीजी लाई फोन गरेर हामी तपाईंको नगरीमा आउँदै छौँ, भेट्न आउनू भनेको थिएँ । मिठुजीले आफ्नो कार्यव्यस्तताले भेट्न आउन नपाउने बताउनुभएको थियो । साथै उहाँले ताजमहल मात्र नभई त्यहीँ आसपासमै अरू पनि घुम्नुपर्ने र हेर्नुपर्ने ठाउँ छन्, ती ठाउँमा पनि जानुहोला भन्नु भएको थियो तर हामीसँग समय भएन । यसरी लामो बसको यात्रा, दिनभरिको घुमाइ, प्रचण्ड घामले गर्दा धेरैजसो साथीहरू थाक्नुभएको थियो । फेरि पाँच/छ घन्टाको यात्रा गरेर जयपुर पुग्नु थियो । त्यसैले अब छिटो फर्कने सल्लाह गर्‍यौँ ।
सबै ताजमहलबाट बाहिर निस्कियौ । साथीहरूले सम्झनास्वरूप आगराको प्रसिद्ध पेठा (कुभिन्डोबाट बनेको एक प्रकारको मिठाई) किन्नुभयो । महिलाहरूले हातमा लगाउने चुरा किन्नुभयो । हामी ती साँघुरा गल्लीलाई छिचोल्दै फेरि हाम्रो बस भएको ठाउँमा आयौँ र जयपुरतिरको यात्रा तय गर्‍यौँ ।

फर्किने बेलामा साथीहरूमा बिहान हिँड्ने बेलाको जस्तो उत्साह थिएन किनकि सबै थकित हुनुहुन्थ्यो । हाम्रो म्युजिक सिस्टमको चार्ज सकिएको थियो । घरिघरि एकछिन आफै बज्ने, फेरि बन्द हुने गरिरहेको थियो । यात्रा चलिरहेको थियो ।

बिचबिचमा रिम रानाले हाँसोठट्टा गर्दै साथीहरूमा जोश भर्ने प्रयास गर्नुहुन्थ्यो । साथी हुम सारूले जयपुरमा सुरुका दिनमा आफूले गरेका सङ्घर्षको फेहरिस्त सुनाउनुहुन्थ्यो । ती कठिन सङ्घर्षको फलस्वरूप नै उहाँ आज एक सफल प्रतिष्ठित व्यवसायी बन्नुभएको छ । महिला नेत्री माया थापाले आफू पहिलोपटक जयपुर आउँदा एक्लै सानो नानीलाई काखमा च्यापेर एउटा मोबाइल नम्बर लेखेको कागजको खोस्टोको भरमा जयपुर आएको कुरा सुनाउँदा म अचम्मित भएँ । न आफूसँग मोबाइल, न पहिला कहिल्यै आएको, अर्काको देश, अन्जान ठाउँ, अलग्गै भाषा भएको ठाउँमा एउटा मोबाइल नम्बरको आधारमा आउन कसरी हिम्मत जुटाउनुभयो होला ?
धेरै साथीहरू निदाउनुभएको थियो। साथीहरूले मलाई पनि निदाएको ठान्नुभएको थियो होला तर म भने साथीहरूको सङ्घर्षका कथा सुनिरहेको थिएँ । यसरी राती १२ बजे जयपुर आइपुगियो । सबै साथीहरू खाना खाई आफ्नो निवासतर्फ प्रस्थान गरियो ।

यसरी हाम्रो एकदिने भ्रमण सम्पन्न भएको थियो । हाम्रा विभिन्न कार्यक्रममध्ये यस खालका कार्यक्रम पनि बेलाबेलामा हुनुपर्ने सबैको धारणा रहेको छ । यसबाट सामूहिक भावनाको विकास हुन्छ । आपसी भाइचारा र सद्भावको विकास हुन्छ । सँगीसाथीबिचको सम्बन्ध बलियो र प्रगाढ हुन्छ । मानसिक रूपमा मजबुत हुन मदत पुग्छ । केही नयाँपन महसुस हुन्छ । ताजगी मिल्छ । आफ्ना दैनिक गतिविधिलाई अझै उत्साहका साथ व्यवस्थित पार्न मदत मिल्छ तर त्यसका साथै केही सानातिना कुरामा पनि हाम्रो ध्यान पुग्नुपर्छ; जस्तै : समयको पालन गर्ने, यसरी सामूहिक रूपमा हिँड्दा आफूमध्ये कुनै एक जना पाको मान्छेलाई आफ्नो टोलीनेता बनाउने र उसको निर्देशन सबैले मान्ने; आफ्नो मात्र स्वार्थ नहेरेर आफ्नो साथीको पनि ध्यान राख्ने; कतै आफ्नो व्यवहारले अरूलाई अप्ठ्यारो त परेको छैन ? त्यसको विशेष ख्याल राख्ने—यिनी साना साना कुरामा पनि ध्यान पुर्‍याउन सक्यौँ भने यस खालका भ्रमण सुनमा सुगन्ध हुन पुग्दछन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार