कोभिड–१९ ले महिलाहरूमा पारेको प्रभाव

(२०७७ आश्विन २४ गते अखिल नेपाल महिला सङ्घ केन्द्रीय समितिद्वारा आयोजित भर्चुअल अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष मीना पुनद्वारा प्रस्तुत अवधारणा पत्र)

यति बेला विश्व कोभिड १९ को महामारीको चपेटामा छ । आजभन्दा १० महिनाअगाडि डिसेम्बर ३१, २०१९ मा चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसले विश्वभर दशौँ लाख मानिसको ज्यान लिइसकेको छ भने विश्वका सबै देशमा कुनैनकुनै रूपमा प्रभाव पारिरहेको छ ।

यो विश्वव्यापी महामारीबाट सबैभन्दा बढी अमेरिकाका जनता प्रभावित भएका छन् । पछिल्लो तथ्याङ्कअनुसार त्यहाँ ७८ लाख ३१ हजार ३५५ जनामा सङ्क्रमण भइसकेको छ भने २ लाख १७ हजारभन्दा बढी जनाको ज्यान गएको छ । दोस्रो बढी प्रभावित देश भारत हो । भारतमा ६९ लाख ३ हजार ८०६ जना सङ्क्रमित भएका छन् भने १ लाख ६ हजार ५५४ को मृत्यु भइसकेको छ । तेस्रोमा ब्राजिल छ । त्यहाँ ५० लाख २९ हजार ५३९ जना सङ्क्रमित भएका छन् भने १ लाख ४९ हजार ३४ ले ज्यान गुमाएका छन् ।

कोरोनाको सुरुवात भएको देश चीन अहिले सामान्य अवस्थामा पुगिसकेको छ । डिसेम्बरदेखि यता ८५ हजार दुई सय २१ सङ्क्रमित भएको चीनमा जम्मा ४ हजार ६ सय ३४ जनाले ज्यान गुमाएका थिए । कोरोनाबाट सबैभन्दा पहिला सङ्क्रमित चीन अहिले सामान्य अवस्थामा आइरहनुको खास कारण चीनले अपनाएको सावधानी र सङ्क्रमितको सही ढङ्गले गरेको व्यवस्थापन कारण हो । अमेरिकालगायत युरोपका कैयौँ मुलुकले यसलाई सुरुमा सामान्य रूपमा लिए; र, कुनै सावधानी नअपनाएका कारण ती मुलुक अहिले पनि उच्च जोखिममा नै छन् ।

नेपालको सन्दर्भमा कोरोना सङ्क्रमणको कारण गत चैत्र ११ गतेदेखि देशैभर करिब ६ महिना लामो बन्दाबन्दीको सामना गर्नुप¥यो, जसको कारण लाखाँंले रोजागरी गुमाउनुपर्याे । उद्योगधन्दा, व्यापार, शैक्षिकक्षेत्र, पर्यटन क्षेत्र वर्षौं माथि उठ्न नसक्ने गरी थला परेका छन् । अहिले पहिलाजस्ता बन्दाबन्दीको अवस्था नभए पनि कोरोना भाइरसको सङ्क्रमण भर्ने बढिरहेको छ । नेपालको तथ्याङ्क हेर्ने हो भने आजसम्म कुल सङ्क्रमित सङ्ख्या करिब १ लाख छन् भने ५ सय ९० जनाको मृत्यु भएको छ ।

नेपाल र विश्वभर महिलामा सङ्क्रमणको अवस्थाबारे ठोस तथ्याङ्क नभए पनि महिलामा सङ्क्रमण र मृत्युको प्रतिशत कम नै रहेको समाचार बाहिर आएका छन् । हामीले यो कार्यक्रममा कोभिड–१९ बाट आम नेपाली महिलाले के कस्तो अवस्थाबाट गुज्रिनुपरेको छ भन्ने नै हो, जसलाई निम्नानुसार बुँदामा छलफल गर्ने छौँ ।

१. बलात्कारमा बढोत्तरी

पछिल्लो समयमा उपत्यकालगायत देशका विभिन्न जिल्लामा महिलामाथि सामूहिक बलात्कार, बलात्कारपछि हत्याका घटना धेरै नै बढिरहेको छ ।

गत हप्ता एक १७ वर्षीय युवतीलाई भक्तपुरमा रोकिराखेको बसमा बन्धक बनाई बसका चालक र सहचालकले सामूहिक बलात्कार गरेको घटना बाहिर आएको छ । युवतीलाई काठमाडौँको रत्नपार्कदेखि भक्तपुरसम्म एक अपरिचित केटा (दिपेश राई) ले लगेको थियो । पानीमा लठ्याउने औषधि मिसाएर खुवाई भक्तपुरको सूर्यविनायकमा रोकिराखेको बसभित्र लगेर बेहोस अवस्थाकी युवतीलाई रातभरि बलात्कार गरेको र भोलिपल्ट बिहान ती दुई युवालाई जिम्मा लगाई आफू भागेको समाचार बाहिर आएको छ ।

बझाङ बङ्गुल नगरपालिकाकी २१ वर्षीय युवतीलाई उपचार गर्ने निहुँमा भारतमा लगी उनकै श्रीमानको मिलेमतोमा उनका ससुरा, काकाससुरा, नन्देभाइले पटक–पटक बलात्कार गरेको र उनीहरूले नै पैसा लिएर परपुरुषसँग पटक–पटक यौनसम्बन्ध राख्न बाध्य पारेको भनी पीडित युवतीले विभिन्न जनप्रतिनिधिसँग भनेको कुरा मिडियामा आइरहेको छ । अहिले उनी त्यही कारण शारीरिक, मानसिक रूपमा विक्षिप्त छिन् र बझाङ जिल्ला अस्पतालमा उपचार गराइरहेकी छिन् ।

सप्तरी डाक्नेश्वरी नगरपालिका–७ की १७ वर्षीय युवती सङ्गीता मण्डललाई आफ्नै खेतमा काम गरिरहेको अवस्थामा त्यहीँका युवाहरूले सामूहिक बलात्कार गरे । पीडित युवतीले यसको विरुद्ध प्रहरीमा उजुरी दिन चाहेकी थिइन्; तर छिमेकी कथित पञ्चायतले उजुरी दिन रोकी पैसामा मेलमिलाप गर्ने निर्णय गरिदियो । यस प्रकारको दबाबमूलक निर्णय उनलाई चित्त बुझेन र त्यही राती नै आफ्नै घरमा आत्महत्या गरिन् ।

बझाङ मष्टा गाउँपालिकाकी १२ वर्षीय बालिका सम्झना कामीको बलात्कारपछि हत्या भएको छ ।

माथि उल्लेखित घटना प्रतिनिधिमूलक घटना मात्र हुन् । समाजमा यस्ता हजारौँ घटना भइरहेका छन् । प्रहरीको सूचनानुसार पनि दैनिक ६ देखि ७ जना महिला तथा बालिका बलात्कार भएका छन् । कोभिड–१९ को सङ्क्रमणका कारण गत चैत्रदेखि सरकारले देशव्यापी बन्दाबन्दी घोषणा गरेको थियो । यही अवधि चैत्रदेखि अहिलेसम्म देशभरमा १२ सय २१ बलात्कारका घटना प्रहरीमा दर्ता भएका छन् । यी त प्रहरीकहाँ दर्ता भएका घटना मात्र हुन् । डर, धम्की, दबाब, प्रलोभन, मेलमिलापको नाममा पुलिससम्म पुग्नै नपाएका बलात्कारका घटना त अहिले पनि छिपाइएको छ ।

यसरी देशमा बढिरहेका महिला, बालबालिकामाथिको बलात्कार, हत्याहिंसाका घटना सामान्य र व्यक्तिगत घटना होइनन्, यो त सिङ्गो मुलुकको चिन्ता र लज्जाको विषय हो । महिला, बालबालिकामाथि यति धेरै बलात्कारका घटना भइरहनुका पछाडिको कारण के हो ? त्यसबारेमा सबै गम्भीर हुनु आवश्यक छ ।

महिला र बालिका बलात्कार विरुद्धको कानुनलाई मुलुकी अपराध संहिता लागु भइसकेपछि थप कडा बनाइएको छ । १० वर्षभन्दा कम उमेर भएको, पूर्ण असक्त, अपाङ्गता भएका वा ७० वर्षभन्दा बढी उमेर भएका महिलालाई जबरजस्ती करणी गरेमा जन्मकैदको सजायको व्यवस्था छ । योबाहेक पीडितको उमेरको आधारमा ७ देखि २० वर्षसम्म कैदको व्यवस्था छ ।

कानुन नभएर अपराध बढेको भन्न नमिल्ला, बरु हाम्रो सामाजिक अवस्था कति बिग्रिएको छ ? त्यसबारेमा ध्यान दिन आवश्यक छ ।

समाजमा बारम्बार दोहोरिने यस प्रकारको घटनाहरूको बारेमा सरकारले दुई वटा विषयमा गम्भीर ध्यान दिनुपर्ने आवश्यकता छ :

१. घटना घट्नुको अपराधिक मानसिकता, आर्थिक, सामाजिक, मानवीय सबै हिसाबले अध्ययन गर्ने, यसका कारण पत्ता लगाउने, जनचेतना जगाउने र समाधानको उपाय खोज्ने ।

२. विद्यमान कानुनलाई थप कडा बनाउने, कानुनको कठोर कार्यान्वयन गराउने ।

घटनाको अनुसन्धान पद्धति, त्यसको प्रभावकारिता, छिटोछरितो न्याय—यी सबैमा व्यापक सुधारको आवश्यकता छ । यस सन्दर्भमा सबैभन्दा मुख्य विचारणीय कुरा यो छ, अहिलेको प्रचलित प्रहरी–प्रशासन वा न्यायप्रणालीद्वारा महिलामाथि हुने पारिवारिक हिंसा, बलात्कार वा हत्यासमेतका घटनामा पीडित महिलाले समयमा नै न्याय पाउन सक्दैनन् । त्यसकारण अहिलेको यो प्रणालीमा नै सुधारको आवश्यकता छ ।

महिलामाथि हुने त्यस प्रकारका अपराधजन्य कारवाहीमा शीघ्र न्यायोचित कारबाहीका लागि बेग्लै पारिवारिक अदालत वा ‘फास्ट ट्रयाक’ प्रकारको कुनै व्यवस्था गरिनु नितान्त अवाश्यक भएका छ । त्यसबारे अर्थात् महिलामाथि हुने हिंसा तथा शीघ्र न्यायोचित कारवाहीबारे सरकार, राजनीतिक दल विभिन्न सामाजिक सङ्घसंस्था सबै गम्भीर बन्नुपर्दछ ।

महिलामाथि हुने हिंसा, बलात्कार वा हत्याबारे प्रभावशाली कारबाही गर्न विद्यमान प्रहरी–प्रशासन वा न्यायप्रणाली कति अफल भइसकेको छ ? त्यो कुरा निर्मला पन्त बलात्कार र हत्या प्रकारणबाट पनि प्रष्ट हुने छ । त्यो सिलसिलालाई हामीले ब्रेक लगाउनैपर्दछ र त्यसका लागि खालि महिला मात्र होइन, सम्पूर्ण न्यायप्रेमी जनता अगाडि आउनुपर्दछ ।

२. बढ्दो महिला हिंसा

महिलामाथिको घरेलु हिंसा रोकिएको छैन । यो समयमा विश्वव्यापी रूपमा नै महिला हिंसा बढिरहेको कुरा बाहिर आएको छ । नेपालमा पनि रोकिएको छैन; बरु विगतको तुलनामा झन् बढिरहेको छ । गाली, बेइज्जती, कुटपिट, घरनिकाला, चरित्रहत्या, बोक्सीको नाममा दुव्र्यवहार, बेइज्जती, दाइजो नलिएको वा कम लिएको, छोरी छोरी जन्माएको, सन्तान नजन्माएकोलगायतका विषयलाई लिएर महिलामाथि विगतदेखि नै बर्बर हिंसा भइरहेका छन् । यस बन्दाबन्दी समयमा झन् बढेको छ । यीमध्ये सबैभन्दा बढी हिंसा घरभित्रैबाट र आफन्त चिनेजानेकाबाट नै हुने गरेका छन् ।

गत हप्ता सप्तरी सप्तकोशी नगरपालिका–४ को २८ वर्षीय रन्जनादेवी झा जिल्ला प्रहरी कार्यालयमा आफ्ना पति र सासु विरुद्ध उजुरी दिन आएकी थिइन् । तीन छोरीछोरी जन्माएका कारण श्रीमान र सासुले पटक–पटक मरणासन्न हुने गरी कुटपिट गरेकाले न्यायका लागि उनले उजुरी दिन चाहेकी थिइन् । तर त्यहाँ उजुरी नलिई घरनजिकको प्रहरीचौकीमा जान भनी फर्काइयो ।

२०७७ भाद्र १९ गते सिराहा नवराजपुर गाउँपालिका–५ कसुन्डीकी ४५ वर्षीय मूर्तिदेवी यादवलाई कथित बोक्सीको आरोपमा छिमेकीले मान्छेको मलमूत्र खुवाउने कुटपिट गर्ने, लछारपछार गर्नेजस्ता क्रुर यातना दिएर गम्भीर घाइते बनाएको र उनी अस्पतालमा भर्ना भई उपचार गराइरहेको घटना बाहिर आएको छ ।

पर्सा जिल्लाको छिपरहमाई गाउँपालिका–३ कि ४५ वर्षीय एकल महिला उमादेवी ठाकुरलाई उनको देवर, गाउँका अन्य मानिस र एक जनप्रतिनिधि मिली चरित्रहीन र बोक्सीको आरोपमा कपाल काटिदिए; कालोमोसो दलेर र कुटपिट गर्दै अर्धनग्न अवस्थामा गाउँ घुमाएको घटना विभिन्न सञ्चार माध्यमले प्रकाशित गरेका छन् ।

यस्ता घटनाले हाम्रो समाजमा महिलामाथि कति निच र बर्बर हिंसा भइरहेको छ भन्ने तथ्यलाई बताउँछ । यस्ता घटना पुरुषप्रधान समाजका उपज हुन् । यसलाई हामीले खाली एउटा महिलामाथि भएको व्यक्तिगत घटनाको रूपमा हेर्ने गल्ती गर्नु हुँदैन । त्यस्ता घटना गम्भीर प्रकारका सामाजिक समस्या हुन् र सिङ्गो मुलुकको समस्या पनि हो । त्यसकारण यस्ता बर्बर घटनाप्रति सरकार, मानवअधिकारकर्मीलगायत सबैको गम्भीर ध्यान जानुपर्दछ ।

बोक्सीलगायतका महिला हिंसा विरुद्धका कानुन भएता पनि त्यसको निष्पक्ष कार्यान्वयनमा कैयौँ प्रकारका समस्या देखिएका छन् । त्यसकारण दोषीलाई कडा कारबाही र पीडितलाई न्याय दिने काम प्रभावकारी हुन सकेको छैन ।

३. गर्भवती र सुत्केरी महिलामा प्रभाव

कोरोना सङ्क्रमणले भएको बन्दाबन्दीका कारण सुत्केरी, गर्भवती र साना बच्चाका आमाहरू धेरै समस्यामा परेका छन् । अस्पतालको सेवासुविधा, औषधि, पोषणयुक्त खानालगायतबाट उनीहरू बञ्चित भएका छन् । कोरोना सङ्क्रमणको डरले गर्दा धेरै गर्भवती महिला सुत्केरी हुन अस्पताल गएनन् । यसले गर्दा एकातिर, अस्पतालमा सुत्केरी हुने महिलाको दर घटेको छ भने अर्कोतर्फ, घरैमा सुत्केरी हुँदा दर्जनौँ सुत्केरीको मृत्यु भएको छ ।

अस्पताल जाने गाडी समयमा नपाउँदा ढिला हुन गई अकालमै मृत्यु भएका घटना धेरै छन् । स्वास्थ्यसेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार लकडाउनको पाँच महिना अवधिमा ७३ जना सुत्केरी महिलाको मृत्यु भएको छ । त्यसमध्ये ६० जनाको मृत्यु समयमा अस्पताल पुग्न नसक्नुका कारण भएको छ भने कति गर्भवती महिलालाई कोरोनाको कारण देखाउँदै निजी अस्पतालले भर्ना नलिँदा र समयमा उपचार नपाउँदा मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार यसलाई अत्यावश्यक सेवा भनिएको छ तर गर्भवती, सुत्केरी महिलाले त्यो सेवा प्राप्त गर्न नसक्दा ज्यानै गएको छ ।

सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य अधिकारलाई नेपालको संविधानले मौलिक हकको रूपमा अङ्गिकार गरेको छ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन–२०७५ लागु भइसकेको भएतापनि अहिलेको जटिल अवस्थामा कैयौँ महिलाले त्यो अधिकार उपयोग गर्न पाएनन् ।

एक तथ्याङ्कअनुसार हरेक वर्ष १० लाखभन्दा बढी महिला गर्भवती हुन्छन् भने हरेक वर्ष ३ लाखभन्दा बढी महिलाले गर्भपतन गराउँछन् । अहिले सङ्क्रमणको डर र बन्दाबन्दीको कारण समयमा गर्भपतन गराउन नपाउँदा अनिच्छित गर्भ रहेकाको सङ्ख्या बढेको छ । १२ हप्तासम्मको गर्भ महिलाको इच्छामा गर्भपतन गराउन पाउने कानुनी व्यवस्थाले २०५९ सालदेखि नै मान्यता प्राप्त गरेको छ । देशका ७७ जिल्लाबाट सुरक्षित गर्भपतन सेवा पाउने व्यवस्था भए पनि अहिलेको जटिल अवस्थामा निश्चित समयभित्र त्यो सेवा प्राप्त गर्न नसक्दा अनिच्छित गर्भवतीको सङ्ख्या बढेको हो ।

त्यसैगरी, साना बच्चालाई दिइने विभिन्न प्रकारका भिटामिन र सुई पनि उनीहरूलाई निश्चित समयमा दिन नसक्दा उनीहरूको स्वास्थ्यमा विभिन्न प्रकारका समस्या आउन सक्ने खतरा पनि त्यत्तिकै छ । त्यसकारण यी समस्यालाई महिलाको मात्र समस्याको रूपमा बुझ्नु हुँदैन । यस्ता समस्याले सिङ्गो मुलुकलाई नै असर गर्दछ ।

४. घरेलु कामको भार

घरेलु काम महिलाले मात्र गर्नुपर्दछ भन्ने परम्परागत सोचाइ र व्यवहारबाट हाम्रो समाज अहिले पनि माथि उठ्न सकेको छैन । बच्चाको स्याहारसम्भार, वृद्धको हेरचाह सरसफाइदेखि सम्पूर्ण घरेलु कार्य महिलाले गर्नुपर्दछ । तर यस्ता कार्यलाई श्रमको रूपमा लिइँदैन । त्यसकारण महिलाले बिना पारिश्रमिक अनुत्पादक कार्यमा जीवनभरि लागिरहनुपर्दछ । यस प्रकारको कामले गर्दा उनीहरूले समाज र देशको विकासमा योगदान दिन सकिरहेका छैनन् भने अर्कोतर्फ, आफ्नो व्यक्तिगत विकास पनि कुण्ठित भएको छ ।

कोरोना सङ्क्रमण र देशमा भएको बन्दाबन्दीको कारण अहिले यस्ता कार्य अझ थपिएका छन् । स्कुल जाने बच्चा घरमा छन् ।

लकारखाना, कार्यालय जाने सबै मानिस पनि दिनभरि घरमा बस्ने भएकाले उनीहरूलाई कामको बोझ अरू थपिएको हो ।

अन्तमा, विगत ७ महिनादेखि आम नेपालीले कोभिड–१९ रोगका साथै अन्य स्वास्थ्य, मानसिक, सामाजिक, आर्थिकलगायतका समस्यास“ग सङ्घर्ष गरिरहेका छन् । यस प्र्रकारको अवस्थासँग हामीहरू कहिलेसम्म सङ्घर्ष गर्नुपर्दछ र कहिले यसको अन्त हुन्छ भन्नेबारेमा अहिले नै केही भन्न सकिँदैन । त्यसका लागि अहिले नै कुनै ठोस आधार पनि बनिसकेको छैन ।

यस प्रकारको जटिल अवस्थाको विरुद्ध सिङ्गै मानव समुदाय जुधिरहेको अवस्थामा पनि महिलाले भने महिला भएकै कारण महिलाजन्य समस्याको विरुद्ध सङ्घर्ष गर्नुपरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार