– ऋतु केसी
एकाबिहानै राष्ट्रिय छापामा
ठुलाठुला अक्षरमा समाचार छापियो–
३० दिनमा ७० अर्ब रेमिट्यान्स भित्रियो
तर खोजिहेरेँ
कहीँ कतै भेटिनँ ती छापामा
त्यो ७० अर्ब पठाउनको पीडाब्यथा, बाध्यता
अनि थकान
चाडबाड नजिकै भित्रिएको त्यो रेमिट्यान्सभित्र
पीडाले मनमुटु अमिलो भयो नराम्रोसँग
वर्षौवर्षसम्म आफ्नो देश फर्कन नपाएर
विदेशमै चाडबाड मान्न बाध्य लाखौँ अनुहारको
छटपटी सम्झेँ
ती परदेशी छोराछोरीलाई एक थोपा टिका र जमरा
लगाइदिने मनको धोको वर्षौदेखि मनमा पालेर
दोबाटो हेर्दै आँशु बगाउने लाखौ बुबाआमाको पीडा सम्झेँ
यो दशैँमा त जसरी पनि आउनुस् है भन्दै प्रियसीले गरेको
अनुरोधलाई मनमै दबाएर साहुकै मेलामा
जोतिएका लाखौँ युवाको बाध्यता सम्झेँ
यो पालि पनि एक्लै माइत जानुपर्ने बाध्यताले
रन्थनिएकी प्रियाको नुनिलो आशु झार्दैको
निर्दोष अनुहार सम्झेँ
बाबाआमाले ल्याइदिएको नानाचाचा लगाउँदै
टोलभरि मख्ख पर्दै उफ्रीउफ्री कुद्ने रहर
त्यो बालमस्तिष्कमा परेको बज्रपात सम्झेँ
अहँ
दशँै आएजस्तो लागेन मलाई
कुनै उमङ्गले छोएन मलाई
ए परदेसी दाजुभाइ दिदिबहिनी
न आयो तिमीलाइ दशैँ तिहार
न आयो तिमीलाई रमाइलो चाडबाड
न छोयो तिमीलाई त्यो प्रजातन्त्रले
न छोयो तिमीलाइ यो गणतन्त्रले
तिमीलाई त सतायो सधैँ दुईछाक टार्ने
र, एकसरो फेर्ने पिरलोले
ए सत्ताधारी
अब त केही गर
अब त ब्युँझ
ती युवा शक्तिलाई फर्काउने अठोट गर
कति सधैँ रेमिट्न्सका समाचारले मख्ख पर्छौ ?
ब्युँझिएकै बेला पनि कति कुम्भकर्णजस्तो गर्छौ ?
अब त विकल्प देऊ
आफ्नै देशमा बाच्ने
देशमै पसिना साट्ने
यहीदेशमै रमाउने वातावरण देऊ
ती लाखौँलाख परदेशिएका आफ्नालाई
यहि देशमा फर्कने विकल्प देऊ
रेमिट्यान्सले देश त चल्ला
टुटेका मन जोडिने छैनन्
त्यसैले यहीँ केही गर्ने उपाय देऊ
ए सत्ताका हिमायती
अब त केही गर
अब त विकल्प देऊ ।