अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन सम्पन्न

बुटवल । अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यतामा २०७६ फागुन २ र ३ गते रूपन्देहीको बुटवलमा सो सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनको उद्घाटनपछि मन्तव्य राख्दै राजमो अध्यक्ष केसीले नेपाल महिला, बालबालिका र अनाथ बुढाबुढीको देश बनेको बताउनुभयो । ‘काम गर्न सक्ने युवायुवती विदेशिएका छन्, नेपालमा त या बुढाबुढी मात्र छन्, या महिला केटाकेटी मात्र’ केसीले अगाडि भन्नुभयो– ‘ती महिला, केटाकेटी र बुढाबुढीले मात्र नेपाल भरिएको छ, दक्ष जनशक्ति विदेशिएको छ ।’ उहाँ वैदेशिक रोजगारीका कारणले गर्दा देश महिलाको बलमा चलेको बताउनुभयो । ‘तिनै महिलाले केटाकेटी स्याहार्नुपरेको छ, तिनै महिलाले ती अनाथ बुढाबुढीलाई हेर्नुपरेको छ’ केसीले भन्नुभयो । महिलाहरू चुलोचौकोबाट बाहिर ननिस्किइकन, सङ्गठित नभइकन उनीहरूको मुक्ति हुन नसक्ने बताउँदै उहाँले अगाडि भन्नुभयो– ‘विदेश बसेको श्रीमाले पठाएको रेमिट्यान्समा भर परेर हुँदैन, महिलाहरू उत्पीडनको विरुद्ध, तर मुक्तिका पक्षमा आफै सचेत, सङ्गठित हुनुपर्दछ ।’ उहाँले महिलाहरूले हिजोका लेखा भनेर अन्धविश्वासमा बसेका कारणले उनीहरू सामाजिक रूपमा पछाडि परेको बताउनुभयो ।

सीमा अतिक्रमणको सम्बन्धमा मन्तव्य राख्दै अध्यक्ष केसीले तीनवटा भक्तपुर जिल्लाको क्षेत्रफलबराबरको भूमि भारतले आफ्नो नक्सामा पारिसक्दा पनि नेपाल सरकार चुप रहेको बताउनुभयो । ‘हामीले भनेका छौँ, कूटनीतिक प्रयास तीव्र पार्नुपर्दछ, त्यसो नभए अन्तर्राष्ट्रिय अदालतमा पु¥याउनुपर्दछ’ अध्यक्ष केसीले भारतले नेपालको सीमा अतिक्रमण मात्रै नभएर सिक्किमलाई झै “देशै हडप्न खोजेको बताउनुभयो । एमसिसीको प्रसङ्गमा मन्तव्य राख्दै उहाँले अमेरिकाले सैनिक अखडा राख्नेगरी एमसिसी अगाडि सारेको बताउनुभयो । ‘सत्तारूढ दलले एमसिसीबारे प्रतिवेदन प्रस्तुत गर्न एउटा कार्यदल के गठन गरेको थियो, एमसिसीका प्रमुख नेपाल आइहाले’ केसीले भन्नुभयो– ‘ती प्रमुखले भीम रावलबाहेक अरू सबैलाई भेटिहाले ।’ आफैले दिएको सहयोगका लागि यतिसम्म शर्त तेस्र्याएर अमेरिकाले एमसिसी परियोजना आफैमा शङ्कास्पद भएको प्रमाण दिएको उहाँले बताउनुभयो । ‘प्रधानमन्त्री नै एमसिसी पारित गर्न कस्सिँदा नेपालको राष्ट्रिय सार्वभौमिकतामाथि आँच पुग्ने भएको छ’ उहाँले भन्नुभयो– ‘चीन घेर्नका लागि अमेरिकाले भारतलाई समेत सामेल गरेर इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत एमसिसी परियोजना अगाडि सारिएको हो ।’ उहाँले अमेरिकी रक्षा मन्त्रालयको प्रतिवेदन, अमेरिकी मन्त्रीहरूको स्वीकारोक्ति र नेपालस्थित राजदूतावाससमेतको बयानले एमसिसी इन्डो–प्यासिफिक रणनीतिको हिस्सा भएको पुष्टि भएको अवस्थामा एमसिसी पारित गर्नु राष्ट्रघाती कदम हुने उहाँको ठोकुवा गर्नुभयो ।

सङ्घीयताले यतिखेर रमिता देखाएको बताउँदै उहाँले कुखुुरा, हाँस, गाई, भैँसीजस्ता घरपालुवा जनावरमा समेत कर लगाउन थालिँदा जनतामाथि करको बोझ अत्यन्त बढेर गएको बताउनुभयो । ‘हजारौँ जनप्रतिनिधिलाई पाल्नकै लागि कर उठाउनुपरेको छ’ उहाँले प्रश्न गर्नुभयो– ‘भएभरको बजेट जनप्रतिनिधि र प्रशासनिक खर्चमा खर्च गरेपछि विकास, निर्माण केले गर्ने ?’ उहाँले नेपालजस्तो देशमा जबर्जस्ती सङ्घीयता थोपर्दा भौतिक विकास, निर्माणको कार्य कुण्ठित हुँदै गएको बताउनुभयो । उहाँले तत्कालै सङ्घीयता खारेज गर्न आफूहरूले सशक्त आन्दोलन उठाउने तयारीमा रहेको पनि बताउनुभयो ।

राष्ट्रिय सम्मेलनमा मन्तव्य राख्दै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले सामाजिक परिवर्तनमा अखिल नेपाल महिला सङ्घको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । महिला हिंसाका विरुद्ध देशव्यापी अभियान चलाउने महिला सङ्घको निर्णयलाई स्वागत गर्दै उहाँले त्यसप्रति नेकपा (मसाल) को शुभकामना रहेको जानकारी दिनुभयो । अखिल नेपाल महिला सङ्घ बलियो हुनु भनेको नेकपा (मसाल) बलियो हुनु र त्यसबाट देशको सामाजिक परिवर्तनमा महत्वपूर्ण योगदान पुग्ने बताउँदै उहाँले महिलाहरूको सशक्त सङ्गठन अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

सम्मेलनलाई शुभकामना दिँदै राष्ट्रिय जनमोर्चा केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेलले २०७२ सालको संविधानले महिला अधिकारसम्बन्धी कतिपय माग स्वीकार गरे पनि कार्यान्वयनको पाटो असाध्यै कमजोर रहेको बताउनुभयो । अखिल नेपाल महिला सङ्घले सातौँ राष्ट्रिय सम्मेलनलाई राष्ट्रियतासित जोडेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । सरकारले जबर्जस्ती राष्ट्रघाती एमसिसी परियोजना पारित गर्न खोजेको प्रसङ्गमा उहाँले राष्ट्रिय जनमोर्चा एक्लै भए पनि प्रतिनिधि सभामा एमसिसीको विरुद्ध उभिने घोषणा गर्नुभयो ।

अध्यक्ष मीना पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अखिल नेपाल युवक सङ्घका अध्यक्ष अनिलकिशोर घिमिरे, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का महासचिवव लोकराज भुसाल, अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य रुकबहादुर पराजुली, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, जातीय समता समाजका अध्यक्ष दिलबहादुर विश्वकर्मा, अखिल (छैठौँ) का महासचिव महेश जोशी, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिवलाय सदस्य दुर्गा खरेल, तराई–मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, अखिल नेपाल शिक्षक सङ्घका महिला उपाध्यक्ष कमला बन्जाडे, रक्तिम सांस्कृतिक अभियानका सचिव हेमराज आश्रम, अखिल नेपाल कानुन व्यवसायी सङ्घका महासचिव लक्ष्मणदेव पाण्डे, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका अध्यक्ष ढुण्डीराज पोख्रेल, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष कपिल खनाल, ५ नं. प्रदेशमा राजमो सांसद तारा जिसी, गण्डकी प्रदेशमा राजमो सांसद पियारी थापा, झिमु्रक गाउँपालिका प्युठानकी उपाध्यक्ष पवित्रा जिसी, मल्लरानी गाउँपालिका प्युठानकी उपाध्यक्ष सरिता जिसी, बरेङ गाउँपालिका बागलुङकी उपाध्यक्ष दिलमाया पुन र युगदर्शन साप्ताहिकका कार्यकारी सम्पादक प्रकाश थापाले सम्मेलनको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासचिव सरस्वती पौडेलले गर्नुभएको थियो ।

सम्मेलनअघि हजारौँ महिलाहरूको सहभागितामा जुलस प्रदर्शन गरिएको थियो । सङ्घीयता खारेज गर, सीमा अतिक्रमण बन्द गर, भारतीय साम्राज्यवाद मुर्दावाद, लिम्पियाधुरा, लिपुलेक, कालापानी हाम्रै हो, राष्ट्रियताको रक्षा गरौँ, नेकपा (मसाल) जिन्दाबाद, एमसिसी सम्झौता खारेज गर, अखिल नेपाल महिला सङ्घ जिन्दाबाद, सातौँ राष्ट्रिय सम्मेलन सफल पारौँ, सम्पूर्ण उत्पीडित क्रान्तिकारी महिला एक हौँ, महिला हिंसा अन्त्य गर, नयाँ जनवादी क्रान्ति जिन्दाबाद, हाम्रो आन्दोलन जारी छ, हत्यारालाई कारबाही गर, बलात्कारीलाई कारबाही गरलगायतका नारा लगाउ“दै जुलुस प्रदर्शन गरिएको थियो । राजमो अध्यक्ष चित्रबहादुर केसी, नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, राजमो उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेल, महिला सङ्घकी अध्यक्ष मीना पुनसहित विभिन्न भाइचारा सङ्गठनका प्रतिनिधिको नेतृत्वमा उक्त जुलुस बसपार्कबाट सुरु भएको थियो । हस्पिटल लाइन, अमरपथ, जेसिसचोक, लक्ष्मीनगर, आदर्शनगर हुँदै ट्राफिकचोकमा पुगेर सो जुलुस उद्घाटन कार्यक्रममा परिणत भएको थियो ।

अर्को दिन बन्दसत्र सुरु भयो । सकुन्तला राना, लक्ष्मी बास्कोटा, कमला पौडेल रहेको तीन सदस्यीय अध्यक्ष मण्डल बनेपछि सुरु भएको बन्दसत्रमा मीना पुनले राजनैतिक तथा साङ्गठनिक प्रतिवेदन, सरस्वती पौडेलले विधान संशोधन प्रस्ताव र विशेष प्रस्ताव र मनु विकले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रस्तुत प्रतिवेदन छलफलपछि हाउसबाट आएका सुझावलाई समावेश गर्नेगरी सर्वसम्मतिमा पास भए । नया“ समिति निर्वाचनका लागि सरिता जिसी, लक्ष्मी केसी, गीता पाण्डे रहेको तीन सदस्यीय निर्वाचन मण्डल हाउसले अनुमोदन गरेपछि आयोजककोतर्फबाट दुर्गा पौडेलले नयाँ समितिको नामावली प्रस्तुत गर्नुभयो । जनवादी प्रक्रियाबाट छलफलपछि सर्वसम्मतले मीना पुनको अध्यक्षतामा २१ पूर्ण, ६ वैकल्पिक र ५ सल्लाहकारसहित सातौँ राष्ट्रिय सम्मेलनपछिको केन्द्रीय समिति निर्वाचित भयो, जसमा उपाध्यक्ष सरस्वती पौडेल, लक्ष्मी बास्कोटा, पद्मा पण्डित, महासचिव सकुन्तला राना, सचिव तारा जिसी, कोषाध्यक्ष रितु केसी रहनुभएको छ । त्यसैगरी सदस्यमा कमला पौडेल, कल्पना पोख्रेल, पूर्णिमा आचार्य, दिलमाया पुन, भानु केसी, सपना बराल, कोपिला शङ्कर, कृष्णा रावल, नरमति सिंजाली, हिरा शाही, कमला चौधरी, रुद्रा केसी, सरस्वती कार्की, कुन्ती पाण्डे र वैकल्पिक सदस्यमा पूर्णकला भण्डारी, कमला पौडेल, शारदा थापा, हुमा पोख्रेल, सीता आचार्य र शारदा खत्री रहनुभएको छ । सल्लाहाकारमा दुर्गा पौडेल, निर्मला अर्याल, चन्द्रवदन श्रेष्ठ, पवित्रा जिसी र सम्झना सुवेदी रहनुभएको छ ।

राजमोकी केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेल, नेकपा (मसाल) रूपन्देहीका प्रवक्ता नारायण जिसीले नवनिर्वाचित समितिलाई बधाइ दिनुभयो भने अध्यक्ष मीना पुनले सम्मेलन सफल पार्न सहयोग पु¥याउनु हुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो र समितिकोतर्फबाट प्रतिबद्धता प्रकट गर्नुभयो । साथै लामो समयदेखि सङ्गठनको काममा निरन्तर योगदान दिनुभएकी सङ्घकी ७८ वर्षीय सल्लाहकार चन्द्रवदन श्रेष्ठलाई सम्मेलनले सम्मान गरेको छ ।

सम्मेलनले आगामी चैत्र महिनामा महिला हिंसा विरुद्ध सातवटै प्रदेशमा र विभिन्न जिल्लामा अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । जसअनुसार चैत्र १३ गते धनगढी– प्रमुख अतिथि दुर्गा पौडेल, चैत्र १५ गते सुर्खेत– प्रमुख अतिथि दुर्गा पौडेल, चैत्र १७ गते बुटवल– प्रमुख अतिथि मीना पुन, चैत्र १९ गते पोखरा– प्रमुख अतिथि मीना पुन, चैत्र २३ गते धनकुटा– प्रमुख अतिथि मीना पुन र काठमाडौँ– चैत्र २५ मा प्रमुख अतिथि दुर्गा पौडेल रहनेगरी प्रदेशस्तरीय अन्तरक्र्रिया कार्यक्रम हुने छ । त्यसैगरी चैत्र २९ गते दाङ– प्रमुख अतिथि सकुन्तला राना, चैत्र २७ गते प्युठान– प्रमुख अतिथि तारा जिसी, चैत्र २९ गते बागलुङ– प्रमुख अतिथि लक्ष्मी बास्कोटा, चैत्र २५ गते अर्घाखाँची– प्रमुख अतिथि सरस्वती पौडेल, चैत्र २८ गते कपिलवस्तु– प्रमुख अतिथि सकुन्तला राना, चैत्र २९ गते पाल्पा– प्रमुख अतिथि मीना पुन, चैत्र ३० गते बारा– प्रमुख अतिथि मीना पुन र चैत्र १६ गते नवलपुर– प्रमुख अतिथि मीना पुन रहनेगरी जिल्लास्तरीय अन्तरत्र्रिmया कार्यक्रम हुने छ । उक्त अन्तरक्र्रिया कार्यक्रमका लागि “चेलीबेटी वेचविखन र मानव अधिकार” विषयमा पदम रोकाले, “छाउपडी, बोक्सीप्रथा र महिला अधिकार” विषयमा मनोज भट्टले र “महिला हिंसा र मानव अधिकार” को विषयमा मीना पुनले कार्यपत्र तयार गर्नुहुने छ ।

सम्मेलनले २२ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ–

१. राष्ट्रघाती एमसिसी सम्झौता खारेज हुनुपर्छ । २. लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भारतद्वारा अतिक्रमित नेपाली भूमी फिर्ता हुनुपर्छ । ३. भारतद्वारा जारी गरिएको जाली नक्सा खारेज हुनुपर्छ । ४. १९५० लगायतका असमान सन्धि–सम्झौता खारेज हुनुपर्छ । ५. महिला हिंसाको अन्त्य हुनुपर्छ । ६. महिला हिंसाको घटना हेर्न पारिवारिक अदालतको गठन हुनुपर्छ । तत्कालका लागि फास्ट ट्रयाक कोर्टबाट फैसला हुनुपर्छ । ७. लैङ्गिक हिंसाको अन्त्य हुनुर्छ । ८. महिलाको पक्षमा भएका अन्तर्राष्ट्रिय सन्धि–सम्झौता कार्यान्वयन हुनुपर्छ । ९. वैदेशिक हस्तक्षेप बन्द हुनुपर्छ । १०. बढ्दो महङ्गी र भ्रष्टाचार अन्त्य हुनुपर्छ । ११. बेरोजगारीलाई रोजगारको व्यवस्था हुनुपर्छ । १२. बालवालिकामाथि हुने हिंसा अन्त्य हुनुपर्छ । १३. सङ्घीयता खारेज हुनुपर्छ । १४. राष्ट्रियता, सार्वभौमिकता, अखण्डताको रक्षा हुनुपर्छ । १५. साम्राज्यवादी युद्धको अन्त्य हुनुपर्छ । १६. एकल महिलाको पुनः परिभाषित हुनुपर्छ । १७. वालविवाहको अन्त्य हुनुपर्छ । १८. बोक्सी, छाउपडी, दाइजोजस्ता कुसंस्कारको अन्त्य हुनुपर्छ । १९. ज्येष्ठ नागरिकको अधिकारको ग्यारेन्टी हुनुपर्छ । २०. जातीय छुवाछूतको अन्त्य हुनुपर्छ । २१. महिला हिंसा र प्रजनन् स्वास्थ्यसम्बन्धी विषय पाठ्यक्रममा समावेश हुनुपर्छ । २२. वैदेशिक रोजगारीमा जाने महिलालाई बिमा र सुरक्षाको व्यवस्था हुनुपर्छ ।

सम्मेलनमा रक्तिम सांस्कृतिक अभियानले गीत तथा नृत्यहरू प्रस्तुत गरेको थियो । रक्तिमले उद्घाटन सत्रमा उर्लेर आउँदा, फूल फुल्छ कोपिला बनेर, झुक्दैनन् शीर हाम्रा, छोड छोड साम्राज्यवाद, यो मन त नेपालीलगायतको शीर्षकमा गीत तथा नृत्य प्रस्तुत गरेको थियो ।

यसैबिच, सम्मेलनलगत्तै नवनिर्वाचित समितिको दोस्रो बैठक बसेको समाचार छ । बैठकले सचिवालय गठनका साथै आन्तरिक सङ्गठनात्मक तथा प्रकाशनसम्बन्धी निर्णयहरू गरेको महिला सङ्घकी अध्यक्ष मीना पुनद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । २०७६ फागुन ५ गते जारी सो वक्तव्यमा अगाडि भनिएको छ– “सम्मेलनको समापनपछि अर्को दिन फागुन ४ गते सङ्घको दोस्रो बैठक सम्पन्न भयो । नवनिर्वाचित अध्यक्ष मीना पुनको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न विषयमा छलफल, निर्णय तथा सम्मेलनको समीक्षा गरेको छ । समग्रमा सातौ“ राष्ट्रिय सम्मेलन भव्य, उल्लासपूर्ण एवंम् शानदार रूपमा सफल भएको बैठकले समीक्षा गरेको छ । बैठकले कतिपय व्यवस्थापकीय कमजोरी हुन गएको पनि स्वीकार गरेको छ । साथै बैठकले निम्न विभिन्न निर्णय पनि गरेको छ ।

१. मीना पुन, सरस्वती पौडेल, लक्ष्मी बास्कोटा, पद्मा पण्डित, सकुन्तला राना, ऋतु केसी र तारा जिसी रहेको सात सदस्यीय सचिवालयको गठन गरेको छ ।

२. सातवटै प्रदेश समितिका इन्चार्जको निर्णय भएको छ । जसअनुसार १ नं. र कर्णाली प्रदेशमा मीना पुन, २ नं. प्रदेशमा सरस्वती पौडेल, बागमती प्रदेशमा ऋतु केसी, गण्डकी प्रदेशमा लक्ष्मी बास्कोटा, ५ नं. प्रदेशमा सकुन्तला राना र सुदूरपश्चिम प्रदेशमा कुन्ती पाण्डे रहनुभएको छ । यसैगरी, धनकुटा– कोपिला शङ्कर, ओखलढुङ्गा– शारदा क्षेत्री, बारा– सरस्वती कार्की, चितवन– सीता आचार्य, काठमाडौँ– ऋतु केसी, ललितपुर– कमला पौडेल, बागलुङ– रुद्रा केसी, कास्की– सपना बराल, स्याङजा– हिरा शाही, पाल्पा– नरमति सिंजाली, दाङ– पूर्णिमा आचार्य, कैलाली– कुन्ती पाण्डे, नवलपरासी– सम्झना सुवेदी र नवलपुर– सरस्वती पौडेल इन्चार्ज रहनु भएको छ ।

३. सम्मेलनबाट पारित राजनैतिक तथा सङ्गठनात्मक प्रतिवेदन र विधान प्रकाशित गर्नका लागि कार्यालयलाई जिम्मा दिइयो ।

४ं. महिला ध्वनि अङ्क १८ वैशाख महिनामा प्रकाशन गर्ने निर्णय भएको छ ।

५. राष्ट्रिय जनमोर्चाको फागुनमा सञ्चालन भइरहेको सङ्गठनात्मक अभियानलाई सफल पार्न सबै स्तरका समितिका कार्यकर्ता तथा सदस्य सक्रियतापूर्वक सहभागि हुने निर्णय भएको छ ।

६. कतिपय प्रदेश समन्वय समिति पुनर्गठन गरिएको छ ।

जसअनुसार, १ नं. प्रदेशमा अध्यक्ष कोपिला शङ्कर (धनकुटा), सचिव शारदा खत्री (ओखलढुङ्गा), कोषाध्यक्ष कञ्चन बस्नेत (मोरङ) र सदस्यमा किरण महतरा (सुनसरी), कमला थापा (तेह्रथुम), आशा विश्वकर्मा (धनकुटा), सन्जा राई (ओखलढुङ्गा), रीता माझी (सुनसरी) र अप्सरा कार्की (उदयपुर) रहनुभएको छ । २ नं. प्रदेशमा अध्यक्ष सरस्वती कार्की (बारा), सचिव सुमित्रा सापकोटा (बारा), कोषाध्यक्ष हेमा केसी (बारा) र सदस्यमा चन्दा पौडेल (सर्लाही), राधिका श्रेष्ठ (महोत्तरी), गीतादेवी (रौतहट) र एक स्थान रिक्त रहेको छ । सुदूरपश्चिम प्रदेशमा अध्यक्ष कुन्ती पाण्डे (कैलाली), सचिव अन्जना श्रेष्ठ (कैलाली), कोषाध्यक्ष कमला चौधरी (कञ्चनपुर) र सदस्य लक्ष्मी भट्ट (डोटी), मन्दोधरी ओली (डडेलधुरा), रमा नेपाली (कञ्चनपुर) र कमला खड्का (कैलाली) रहनुभएको छ । कर्णाली प्रदेशमा अध्यक्ष कृष्णा रावल (सुर्खेत), सचिव प्रतिभा सञ्ज्याल (कालिकोट), सदस्यमा पार्वती खाडा (सुर्खेत), आशा बुढा (रुकुम), भवानी गौतम (सल्यान) र कृष्णा तामाङ (दैलेख) रहनु भएको छ ।

७. “महिला हिंसा र भेदभावका विरुद्ध १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस” भन्ने नाराका साथ एकल वा संयुक्त रूपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने निर्णय भएको छ ।

अन्तमा, हामीले सम्मेलन सफल पार्न आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्नुहुने सबैमा केन्द्रीय समितिकोतर्फबाट हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार