एमसिसीबारे प्रलेसको एकतिसौँ परिसंवाद

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को बारेमा प्रगतिशील लेखक सङ्घको एकतिसौँ परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । प्रलेस केन्द्रीय कार्यालय बागबजारमा २०७६ फागुन २ गते सो कार्यक्रम सम्पन्न भएको हो ।

प्रलेसका अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षतामा अगाडि बढेको उक्त कार्यक्रममा विषयवस्तु प्रस्तोता हुनुहुन्थ्यो– नेकपा नेता लीलामणि पोखरेल । महासचिव समीरसिंहको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपमहासचिव आरसी न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो ।

परिसंवाद कार्यक्रममा सम्बोधन गर्दै नेकपा नेता पोख्रेलले एमसिसी सम्झौता इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत चीनको विरुद्धमा आएकाले त्यसलाई खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । ‘यो सम्झौतामा कुनै पनि प्रकारको सुधार होइन, त्यसलाई पूरै खारेज गरिनुपर्दछ’ उहाँले ठोकुवा गर्नुभयो– ‘एमसिसी खारेजीको विकल्प छैन ।’ त्यसका पछाडिका विभिन्न कारणबारे चर्चा गर्दै उहाँले नेपालको संविधान नै निस्क्रिय बनाउने गरी कुनै पनि विदेशी सहयोग लिन नसकिने दावी गर्नुभयो ।

‘एमसिसीमा प्रष्टै लेखेको छ, एमसिसीसित बाझिने हदसम्म नेपालमा ऐनकानुन निस्क्रिय हुने छन्’ उहाँले भन्नुभयो– ‘यस्तो सम्झौतालाई पनि स्वीकार गर्न मिल्छ ? आफैले जारी गरेको संविधान नै निस्क्रिय हुने सम्झौता पनि त्यही संसदले पारित गर्न मिल्छ ?’ उहाँले यो सम्झौता पारित भयो भने नेपालीहरू परिजीवीजस्तो बाच्न त सक्ने, तर राष्ट्रिय स्वाभिमान भने गुम्ने बताउनुभयो । ‘जसले स्वाभिमान बेचेर मरेतुल्य भएर बाच्न चाहान्छन्, उनीहरूको कुरा अलग हो, तर कुनै पनि देशभक्त नेपाली राष्ट्रिय स्वाभिमान बिना बाच्न सक्दैन’ उहाँले एमसिसी पारित गर्नु प्रष्ट रूपमा नेपालको राष्ट्रिय स्वाभिमान विरोधी कार्य हुने बताउनुभयो । चीन र अमेरिकी स्वार्थको पक्षमा नेपाललाई उपपयोग गर्न खोजेकाले एमसिसीलाई कुनै हालतमा पारित गर्न नहुने उहाँको तर्क थियो ।

त्यस्तै, इन्डो–प्यासिफिक रणनीतिकोभन्दा पुरानो एमसिसी भएको तर्कको खण्डन गर्दै उहाँले अगाडि भन्नुभयो– ‘जुन बेला नेपालमा १८ घण्टा लोडसेडिङ भइरहेको थियो, त्यतिबेला सन् २०१३ मा एमसिसीको डिजाइन भएको थियो । यस्तो क्रियाकलापलाई स्वाभाविक मान्न सकिन्न ।’ उहाँले एमसिसी नेपाल सरकारको कुनै पनि पञ्चवर्षीय योजनामा सामेल नरहेको, विद्युत प्राधिकरणजस्ता नियायक निकायमा सामेल नरहेको उल्लेख गर्दै त्यसका पडाडिको कारण निहित स्वार्थबाहेक अरू केही नरहेको बताउनुभयो । ‘एकछिनका लागि मानिलिऔँ, नेपाल अहिले नै भारतलाई बिद्युत बेच्ने अवस्थामा छ’ उहाँले भन्नुभयो– ‘लप्सीफेदीबाट हेटौँडा पुगेको ट्रान्समिसन लाइन सिधै भारत नपुगेर किन बुटवल हुँदै पाल्पा पुग्छ ? त्यसका पछाडिको कारण के हो ?’ उहाँले यस्तै विभिन्न प्रकारको शङ्कास्पद योजनाले गर्दा पनि एमसिसी तथ्यगत रूपमा पनि विशुद्ध वैदेशिक सहायता योजनाभित्र नरहेको बताउनुभयो ।

कार्यक्रममा शम्भु कट्टेल, राम घिसिङ, बालकृष्ण घिमिरे, जगत्प्रसाद रेग्मी, रामविनयलगायतले महत्वपूर्ण पूरक मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार