


मोहनविक्रम सिंह ##
प्रस्तुत उपन्यास ‘कामरेड जलजला’ वास्तवमा के हो वा कुन प्रकारको उपन्यास हो ? त्यसबारे केही भन्नु मेरा लागि सजिलो छैन । उपन्यासमा विभिन्न प्रकारका कथावस्तु, प्रेम, कथा वा घटनाक्रमको उल्लेख हुन्छ । सायद यो उपन्यासमा पनि त्यही प्रकारका केही पक्षको समावेश भएको कुरालाई अस्वीकार गर्न सकिन्न तर प्रस्तुत उपन्यास त्यही प्रकारको उपन्यास हो वा त्योभन्दा केही कम, केही बढी र बेग्लै पनि । यो उपन्यास कहाँसम्म उपन्यास लेखनको विधिअनुसार लेखिएको छ, त्यो विधिमा कतिपय कमजोरी छन्—आदिबारे उपन्यास वा समालोचनाका ज्ञाताहरूले नै भन्न सक्ने कुरा हो । ती कुरा जे भए पनि मैले यो उपन्यासमा सबैभन्दा बढी दुईओटा कुरामा ध्यान केन्द्रित गर्ने कोसिस गरेको छु ।
मार्क्सले भनेका छन्– “दार्शनिकहरूले संसारको विभिन्न प्रकारले व्याख्या गर्ने प्रयत्न गरेका छन् तर मुख्य कुरा संसारलाई बदल्नु हो ।” यो उपन्यासले त्यो दार्शनिक मान्यतामाथि मुख्य ध्यान दिएको छ : प्रथम– संसारलाई बुझ्ने र द्वितीय– संसारलाई बदल्ने । त्यसअनुसार यो उपन्यासमा विश्वको सम्पूर्ण संरचना, प्रकृति, मानव समाज र मानिसको मनोविज्ञानसमेतलाई अधिकतम रूपमा बुझ्ने प्रयत्न गरिएको छ । त्यसका साथै विद्यमान संसार वा समाज जुन रूपमा छ, त्यसलाई बदल्नेतर्फ पनि यो उपन्यासले जोड दिएको छ ।
सम्पूर्ण विश्व र प्रकृतिलाई ता हामीले आफ्नो इच्छाअनुसार बदल्न सक्दैनौँ, यद्यपि आफ्नो आवश्यकताअनुसार प्राकृतिक अवस्थामा केही सुधार गर्नु वा त्यसलाई आफ्नो आवश्यकताअनुसार ढाल्नु केही हदसम्म सम्भव हुन्छ र मानव समाजले लाखौँ वर्षदेखि त्यसो गर्दै पनि आएको छ तर मानिसको प्रयत्नद्वारा सामाजिक व्यवस्थामा परिवर्तन गर्नु धेरै नै सम्भव हुन्छ । त्यस प्रकारको सामाजिक परिवर्तनमा भौतिक परिस्थिति र मानवीय सक्रियता तथा चेतनाको पनि महत्त्वपूर्ण भूमिका हुन्छ ।
समाजको विकासमा मुख्य भूमिका भौतिक परिस्थिति वा जीवन निर्वाहका लागि मानिसले अपनाउने उत्पादन प्रणालीको नै हुन्छ तर त्यसमा मानव चेतनाको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । मानव चेतना मूल रूपमा भौतिक परिस्थितिबाट नै निर्मित हुन्छ तर एक पल्ट उत्पन्न भएपछि निर्णयात्मक रूपले त अवश्य होइन तर सामान्य रूपले मानव चेतनाले पनि भौतिक परिस्थितिको परिवर्तनमा महत्त्वपूर्ण असर पार्ने गर्दछ ।
मानव चेतनाले प्राचीनकालदेखि नै समाजको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ तर मानव चेतनाको एउटा मुख्य समस्या के हो भने त्यो समाजको कल्याण गर्ने वा समाजलाई क्षति पुऱ्याउने दुबै प्रकारले प्रकट हुन सक्दछ । ती दुबै पक्षले समाज कल्याण वा जनहितको कुरा गर्दछन् तर वास्तविक रूपमा तिनीहरूमध्य कैयौँले समाजलाई धेरै नै नोक्सान पनि पुऱ्याउने गर्दछन् । ती दुवै प्रकारका सोचाइको बिचमा अन्तर गर्नु सजिलो छैन र कतिपय गलत विचारले पनि सही भएको भ्रम दिन सफल हुन्छन् । त्यसैले समाज कल्याणका रूपमा अगाडि आएका कैयौँ विचारले समाजलाई धेरै नै क्षति पनि पुऱ्याउने गरेका हुन्छन् । सायद त्यसैले समाजमा सही र गलत विचारका बिचमा अन्तर गर्नु अत्यन्त कठिन कुरा हुन्छ ।
मानव समाजको इतिहासमा ती दुवै प्रकारका विचारका बिचमा सधैँ तीव्र सङ्घर्ष चल्दै आएको छ । यहाँसम्म कि कतिपय गलत र समाज विरोधी विचारले पनि सही र सत्यको भ्रम दिएर वा त्यसरी जनताका मनमा घर जमाएर संसारलाई धेरै नोक्सान पुऱ्याएका हुन्छन । त्यो क्रममा कैयौँ दर्शनशास्त्र, नीतिशास्त्र, राजनीतिशास्त्र, विभिन्न धर्म आदिको उत्पत्ति हुँदै आएको छ र तिनीहरूको बिचमा सधैँ सङ्घर्ष पनि चल्दै आएको छ । त्यसरी हेर्ने हो भने समाजमा चल्ने अन्तरविरोध वा युद्धको पनि मूल आधार वा जड विचार नै हुन्छ ।
प्रस्तुत उपन्यासले एकातिर, सम्पूर्ण विश्व, प्रकृति र समाजको अध्ययन गर्ने प्रयत्न गर्दछ भने अर्कातिर, एउटा स्वतन्त्र, सुखी र सुन्दर मानव समाज निर्माणका लागि सही चिन्तन प्रणाली के हो ? त्यसमाथि पनि प्रकाश हाल्ने प्रयत्न गर्दछ । यो उपन्यासले संसारलाई बदल्ने कुरामा मुख्य जोड दिन्छ तर संसारलाई बदल्नका लागि सही चिन्तन वा दार्शनिक प्रणालीको ठुलो आवश्यकता हुन्छ । आखिरमा मानिसले जुन व्यवहार गर्छ, त्यसले आफ्नो सोचाइअनुसार नै गरेको हुन्छ । त्यसरी मानिसका सबै काममा उसको चिन्तन प्रणालीको नै निर्णयात्मक भूमिका हुन्छ ।
मानिसको चिन्तन प्रणालीको निर्माणमा भौतिक परिस्थितिले मुख्य भूमिका खेलेको हुन्छ तर त्यसको आत्मगत चिन्तनले पनि उसको व्यवहारमा धेरै असर पार्दछ । त्यसैले यो उपन्यासले मानिसको चिन्तन प्रणालीलाई सही र उच्च रूपमा अगाडि बढाउने कुरामा मुख्य जोड दिन्छ ।
विद्यमान समाजमा भएका अन्याय, अत्याचार, शोषण, उत्पीडन, अन्धविश्वास वा व्यक्तिवादी वा स्वार्थपरायण सोचाइका कारणले नै मानव समाज नर्कजस्तो हुँदै आएको छ । समाजका त्यस प्रकारका सोचाइमा सुधार भएर उच्च प्रकारको सामाजिक वा मानवीय दृष्टिकोणको विकास भयो भने नै समाज स्वर्गजस्तो बन्न सक्छ (यहाँ स्वर्ग र नर्कका धारणालाई दैवी अर्थमा होइन, लौकिक वा सांसारिक अर्थमा नै लिइएको छ) ।
त्यसैले उपन्यासले त्यस प्रकारको मानव चिन्तन वा दृष्टिकोणको विकासमा मुख्य जोड दिएको छ । अर्का शब्दमा उपन्यासले उच्च प्रकारको दार्शनिक चिन्तन प्रणालीको विकासमा मुख्य जोड दिएको छ र त्यसरी त्यसमा यो विश्वास प्रकट गरिएको छ कि त्यस प्रकारको उच्च मानवीय दृष्टिकोणको विकासपछि नै वर्तमान प्रकारको नारकीय समाजमा परिवर्तन गरेर त्यसलाई स्वर्गीय बनाउनु वा मार्क्सको शब्दमा संसारलाई बदल्नु सम्भव हुनेछ ।
उक्त कुरामाथि अर्थात् विद्यमान संसारलाई बदल्ने र त्यसका लागि उच्च प्रकारको दार्शनिक समझदारी निर्माण गर्ने कुरामाथि ध्यान दिएर नै उपन्यासका कथावस्तु वा पात्रको निर्माण गरिएको छ । उपन्यासको कथावस्तु र पात्रको चरित्र चित्रणमा सर्सरी प्रकारले ध्यान दिने हो भने पनि त्यो कुरा प्रष्ट हुनेछ ।
उपन्यासका मुख्य पात्र जलजला र अजित नै हुन् । उनीहरू दुबै जना समाजमा परिवर्तन वा क्रान्तिका महान् उद्देश्यप्रति समर्पित पात्र हुन । उनीहरूका बिचमा प्रेम हुन्छ तर त्यो प्रेम अत्यन्तै विवादित प्रकारको हुन्छ । त्यसका लागि उनीहरू दुवै जनालाई पार्टी वा समाजबाट, आफ्नै सहयोद्धा साथीबाट धेरै आलोचना हुन्छ, उनीहरूमाथि कडा कारबाही हुन्छ । उनीहरू निष्काशित हुन्छन् वा बहिस्कृत पनि हुन्छन् ।
उनीहरूलाई समाज, इष्टमित्र वा आफ्नै पार्टीका साथीबाट पनि धेरै निन्दा, अपमान वा बदनाम गरिन्छ । उनीहरू आफ्नो देश वा समाजबाट निष्काशित भएर टाढाटाढासम्म दुःखकष्ट, अभाव र गरिबीको सामना गर्दै हिँड्नुपर्दछ तर उनीहरूको प्रेमको प्रधान पक्ष यो हो कि त्यस प्रकारको परिस्थितिमा पनि उनीहरू दुबै जना पार्टी र क्रान्तिप्रति पूरै समर्पित हुन्छन् र उनीहरूमा त्यसबाट विचलनका कुनै लक्षण देखा पर्दैनन् । उनीहरूले लगातार र व्यवहारमा नै यो देखाउन कि पार्टी र क्रान्ति उनीहरूका लागि सबैथोक हो र त्यसका लागि उनीहरू सबै कुराको त्याग गर्न वा बलिदान गर्न तयार छन् । त्यसरी उनीहरूका लागि प्रेम एउटा उच्च क्रान्तिकारी सपनाको पूरक तत्त्व नै हुन्छ ।
जलजला र अजितबाहेक सुनन्दा पनि उपन्यासकी तेस्रो महत्त्वपूर्ण पात्र हुन् यद्यपि उपन्यासमा उनको जुन प्रकारको भूमिका रहेको छ, त्यसमाथि विचार गर्दा उनलाई जलजला वा अजितभन्दा बढी महत्त्व दिएकोजस्तो पनि देखिन्छ ।
सुनन्दा उपन्यासमा सुरुदेखि अन्तसम्म सक्रिय रहन्छिन् । त्यसैले उपन्यासको प्राक्कथनमा लेखिएको छ, सुनन्दाबिना उपन्यासको प्रवाह अगाडि बढ्न नै सक्दैन । उपन्यासमा उनको जुन प्रकारको भूमिका रहेको छ, त्यसबाट त्यो कुरामा कुनै शङ्का रहन्न तर उपन्यासमा जलजला र अजितको कुनै खास भूमिका रहेको छैन भने पनि हुन्छ । उपन्यासको कथा प्रवाहलाई अगाडि बढाउनका लागि मुख्य भूमिका सुनन्दाको नै हुन्छ । त्यसरी उपन्यासमा उनको भूमिका धेरै भए पनि उनी वास्तवमा एक प्रकारले सहायक पात्र नै हुन् यद्यपि बेग्लाबेग्लै समालोचक वा पाठकले उनको भूमिकालाई नै मुख्य ठान्ने सोचाइ अपनाउने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न तर उपन्यासमा उनको जति महत्त्वपूर्ण भूमिका भए पनि अन्तमा उनी जलजलामा नै समावेश हुन पुग्दछिन । त्यसरी उनी उपन्यासकी सहायक पात्र नै हुन र प्रमुख पात्र जलजला र अजित नै हुन् भन्ने कुरामा कुनै शङ्का रहन्न ।
त्यस सन्दर्भमा एउटा अर्को महत्त्वपूर्ण प्रश्नप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ : जलजला र अजित नेपालका हुन् र सुनन्दा भारतकी । उनीहरूका बिचको सम्बन्धले विश्वबन्धुत्व वा अन्तर्राष्ट्रवादी भावनालाई पनि उच्च रूपमा अगाडि ल्याउँछ । त्यसरी यो कुरा प्रष्ट हुन्छ कि क्रान्ति वा सच्चा प्रेमका भावना सङ्कीर्ण राष्ट्रियता वा व्यक्तिगत स्वार्थको सीमाभन्दा धेरै माथि उच्च मानवीय भावना र अन्तर्राष्ट्रवादसम्म फैलिएका हुन्छन् ।
सुनन्दा अन्तमा क्रान्ति वा जलजलामा समाहित हुन्छिन् । उपन्यासमा उनलाई त्यस रूपमा निर्माण गर्नका लागि सानैदेखि उच्च धरातलमा निर्माण गर्ने वा बेग्लै प्रकारको धातुमा ढाल्ने प्रयत्न गरिएको छ । उपन्यासमा उनको चरित्रलाई सानैदेखि अत्यन्त उच्च रूपमा निर्माण गर्ने प्रयत्न गरिएको छ । उनको सम्पूर्ण व्यवहार उच्च प्रकारको दृष्टिकोणद्वारा निर्देशित भएको पाइन्छ । सानी बालिका छँदै उनले हरि सिंहसित विवाह गर्न अस्वीकार गर्छिन् । केदाली मेलामा उनले अरू महिलाले भन्दा बेग्लै प्रकारको साहस र वीरताको प्रदर्शन गर्दछिन् । पर्वतारोहणको प्रशिक्षण वा पर्वतारोहणको बेलामा पनि उनले उच्च साहस र कुशलताको प्रदर्शन गर्छिन् । ती सबै कुराबाट उनको व्यक्तित्व एउटा बेग्लै साचामा बनेको देखिन्छ ।
नन्दादेवी अनसोइल्डाप्रति उनले सच्चा माया प्रकट गर्दछिन् । उनी गान्धीवादी भए पनि कामरेड गढवालीजस्तो एउटा समर्पित कम्युनिस्टप्रति उनका मनमा उच्च सम्मान हुन्छ । कुनै सम्बन्ध नभएकी जलजलालाई खोज्न उनले नेपालको भ्रमण गर्दछिन् । नेपालमा उनी जेलमा पर्दछिन् तर आत्तिन्निन् । लक्ष्मी आश्रममा उनले प्रदर्शन गरेको निस्वार्थ सेवाभाव आदिले उनको निस्वार्थ र उच्च प्रकारको चरित्र भएको कुरालाई नै बताउँछ । उनी गान्धीवादी हुँदा पनि सच्चा थिइन् र मार्क्सवादी–लेनिनवादी भएपछि पनि उनी सच्चा नै रहिन् । डा. जगदीशसितको विवाह प्रस्तावलाई अस्वीकार गर्ने उनको निर्णयले उनको चिन्तन प्रणाली सामान्य व्यक्तिगत स्वार्थभन्दा धेरै माथि उठेको कुरा नै देखिन्छ ।
जलजला खोज्न उनले देखाएको उत्साह र त्याग वा पछि जलजलाप्रतिको उनको प्रेमले पनि उनीमा भएको उच्च मानवीय भावनालाई नै बताउँछ । जलजलाप्रतिको प्रेम र उच्च क्रान्तिकारी भावनाले नै उनी अजितलाई पनि प्रेम गर्न पुगेकी थिइन् । डा. जगदीशजस्तो सम्पन्न, उच्च शिक्षित र राम्रो नोकरी भएको व्यक्तिलाई छाडेर अजितजस्तो पार्टीको एउटा पेशेवर व्यक्तिसित विवाह गर्नु उनको उच्च, निस्वार्थ र क्रान्तिकारी भावनाका कारणले नै सम्भव भएको हो । त्यसरी उनलाई क्रान्तिप्रति निस्वार्थ भावले समर्पित कार्यकर्ताको रूपमा नै लिन सकिन्छ ।
उपन्यासमा का. गढवालीजस्तो पार्टी र क्रान्तिप्रति सम्पूर्ण जीवन समर्पित गरेका क्रान्तिकारीको पनि चित्रण गरिएको छ । त्यही प्रकारले चन्द्रसिंह गढवालीजस्ता भारतीय स्वतन्त्र सङ्ग्राममा समर्पित व्यक्तिको पनि चित्रण गरिएको छ ।
उपन्यासमा कम्युनिस्ट नभए पनि समाजको सेवाको लागि निस्वार्थ भावले काम गरेका कैयौँ व्यक्तिप्रति पनि उच्च सम्मान प्रकट गरिएको छ; जस्तै : कौशानी आश्रमकी सरला बहन, विमला बहुगुणा, राधा बहन, लखनऊकी सरस्वतीका श्रीमान, भारतका स्वतन्त्र सेनानी र गान्धीवादी विनोवा भावे आदि । ती उदाहरणबाट के कुरा प्रष्ट हुन्छ भने उपन्यासमा जुनसुकै दृष्टिकोणले भए पनि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजको सेवाका लागि निस्वार्थ भावले आफूलाई समर्पण गर्ने व्यक्तिलाई पनि उच्च स्थान दिइएको छ ।
उपन्यासमा गीताको निष्काम कर्म वा साङ्ख्य दर्शनको कैवल्यवादलाई पनि उच्च महत्त्व दिइएको छ । गीताले कुनै कर्म गर्दा फलको आशा गर्नुहुन्न, आफ्नो कर्मको फल पूरै नै भगवानलाई समर्पण गर्नुपर्दछ भन्ने कुरा बताएको छ तर उपन्यासले त्यो कुरालाई प्रलौकिक अर्थमा नलिएर लौकिक र सांसारिक अर्थमा लिएको छ । त्यसको अर्थ हो– हामीले पार्टी, क्रान्ति वा समाजको सेवा गर्दा कुनै प्रकारको स्वार्थ भाव नराखीकन काम गर्नुपर्दछ । त्यो कोणअनुसार पार्टी वा कुनै प्रकारको राजनीतिक काम गर्दा अपनाइने स्वार्थपरायण दृष्टिकोणलाई पनि उपन्यासले तल्लोस्तरको बताएको छ ।
त्यसै गरेर साङ्ख्य दर्शनको सबै प्रकारका सुखदुःख, लाभहानि वा मानअपमानबाट माथि उठेर वा तिनीहरूप्रति उदासिन भएर काम गर्ने क्षमतामा पनि उपन्यासले धेरै जोड दिएको छ । उपन्यासमा जलजला र अजितलाई त्यही प्रकारको साँचामा ढाल्ने प्रयत्न गरिएको छ, जसले सबै प्रकारका दुःखकष्ट, अपमान वा पार्टी र समाजबाट बहिष्कार र निन्दाको अवस्थामा पनि पार्टी र क्रान्तिप्रति अविचलित भएर काम गर्ने क्षमता राख्दछन् ।
उपन्यासले यो कुरा बताउने कोसिस गरेको छ कि त्यस प्रकारका क्षमताका कारणले कुनै क्रान्तिकारी कठिनभन्दा कठिन परिस्थितिमा पनि आफ्ना उद्देश्यबाट विचलित हुन्न र उसले लगातार र दृढतापूर्वक आफ्नो लक्ष्यतिर बढिरहने क्षमता राख्दछ । त्यसैले लेनिन भन्दछन्– “कम्युनिस्ट स्पातले बनेका हुन्छन् ।” गीता र साङ्ख्य दर्शनले जुन प्रकारका आदर्शको चर्चा गरेको छ, तिनीहरूलाई अपनाएपछि पनि कुनै व्यक्ति अजेय, अजर र अमर बन्दछ । त्यो कुराको उल्लेख गर्दै उपन्यासमा गीताको यो स्लोकलाई उद्धृत गरिएको छ– “नैनं छिन्दन्ति शस्त्राणी नैनं दहति पावकः ।”
उपन्यासले पार्टी र क्रान्तिका लागि जीवनभरि लागेका कैयौँ कार्यकर्ताको पनि चित्रण गरेको छ† जस्तै : निर्मल लामा, जयगोविन्द शाह, चित्रबहादुर केसी, रश्मिराज नेपाली, खगुलाल गुरुङ आदि । उनीहरूको विशेषता यो हो कि उनीहरू जीवनभरि नै पार्टी र क्रान्तिको काममा लागिरहे । उनीहहरू अन्य कुनै व्यक्तिगत पेसामा लागेनन्, पार्टी र क्रान्तिको कामलाई नै आफ्नो जीवनको मुख्य पेसा बनाइराखे । उच्च प्रकारको क्रान्तिकारी दृष्टिकोणबिना त्यस प्रकारको त्याग गर्नु सम्भव हुँदैन । उपन्यासमा त्यस प्रकारको क्रान्तिकारी दृष्टिकोणद्वारा ओतप्रोत कैयौँ कार्यकर्ताको चित्रण गर्ने प्रयत्न गरिएको छ । अर्कातिर, उपन्यासमा व्यक्तिगत स्वार्थलाई नै मुख्य मानेर काम गर्ने वा सानातिना व्यक्तिगत समस्या, हानिनोक्सानी, बाह्य दबाब आदिका कारणले ढुलमुल हुने वा गद्दारी र पलायनको बाटो समात्ने कैयौँ नेता वा कार्यकर्ताको पनि चित्रण गरिएको छ; जस्तै : डा. केशरजङ्ग रायमाझी, डा. जगदीश, विद्या थापा, दिव्या आदि ।
उपन्यासमा सैद्धान्तिक रूपले स्पष्ट नभएमा कुनै कम्युनिस्टले कसरी पलायनको बाटो समात्छ ? त्यसमाथि पनि प्रकाश हाल्ने प्रयत्न गरिएको छ । चन्द्रसिंह गढवालीले आफ्नो सम्पूर्ण जीवन भारतको स्वतन्त्रता आन्दोलन र पछि कम्युनिस्ट पार्टीको लागि पनि समर्पण गरेका थिए तर सैद्धान्तिक रूपले स्पष्ट नहुँदा भारतको कम्युनिस्ट आन्दोलनमा विभाजन भएपछि उनले पलायनको बाटो समातेका थिए । विद्या पनि पार्टीकी पक्का समर्थक र जलजलाकी सच्चा अनुयायी थिइन् तर उनको त्यस प्रकारको दृष्टिकोण सैद्धान्तिक आधारमा भन्दा भावनात्मक रूपमा नै बनेको थियो । त्यसैले उनी दिव्याजस्ती एउटी सामान्य महिलाको प्रवाहमा सजिलैसित परिन् र उनको पार्टी र क्रान्तिप्रतिको दृष्टिकोण नै बदलिएर गयो । उनले पार्टी र जलजलासमेतको विरोध गर्न थालिन् तर पछि जलजलाको मृत्युपछि उनले पश्चात्ताप गरिन् र जलजलालाई पूरै समर्थन गर्न थालिन् । त्यसको कारण यो थियो कि उनको पार्टीप्रतिको आस्था सिद्धान्तमाथि आधारित नभएर भावनामाथि आधारित थियो । त्यसैले उनी बारम्बार ढुलमुल हुने गर्दथिन् ।
त्यसरी उपन्यासमा उच्च क्रान्तिकारी विचारका साथै नकारात्मक सोचाइलाई पनि प्रस्तुत गरेर तिनीहरूको तुलनात्मक अध्ययन गर्ने प्रयत्न गरिएको छ । त्यसरी उपन्यासको मुख्य जोड उच्च क्रान्तिकारी सोचाइलाई स्थापित गर्ने कुरामा नै रहेको छ र विभिन्न कोणबाट तिनीमाथि जोड दिने प्रयत्न गरिएको छ । उपन्यासले यो कुरामा जोड दिन्छ कि त्यस प्रकारका उच्च क्रान्तिकारी र मानवीय चिन्तन प्रणालीका आधारमा नै अहिलेको संसारलाई बदल्न सकिन्छ र बदल्नु पनि पर्दछ । अर्का शब्दमा, सही दार्शनिक समझदारीका आधारमा नै संसारलाई बदल्न र एउटा स्वतन्त्र, सम्पन्न, सुखी र सुन्दर संसार निर्माण गर्न सकिन्छ ।