अर्को चुनावमा हिसाब किताब गरौंला

गोबिन्द बोहरा गोपाल

पृष्ठभूमि :

नेपाल भारत सिमाना खुल्ला छ । आवतजावत गर्न कुनै पनि कानुनी प्रक्रिया पूरा गर्नु पर्दैन । सीमा नजिकका कतिपय गाउँबस्तीमा वैवाहिक सम्बन्ध छ । दैनिक उपभोग्य वस्तुहरूको किनमेलदेखि मजदुरी गर्न सीमा नजिकदेखि समुन्द्र नजिकसम्म नेपालीहरू पुगेका छन् । धर्मकर्म गर्न धार्मिक स्थलहरूमा पुग्ने नेपालीहरू पनि बाक्लै छन् । कतिपय साँस्कृतिक रीतिरिवाज र चाडपर्व पनि मिल्दाजुल्दा छन् । त्यहाँ जान प्रवेशाज्ञा अनिवार्य नभएको कारणले १४/१५ वर्ष कै उमेरकादेखि ५५/६० वर्षसम्मका वयस्क नेपालीहरू त्यहाँ रहेका छन् । कहिल्यै स्कुलको मुख नदेखेका नेपाली पनि भारतमा आफ्नो कर्म गरिरहेका छन् । अध्ययनको शिलशलामा थुप्रै विद्यार्थीहरू समेत रहेका छन् ।

भारतमा नेपालीहरुको अवस्था :

आय आर्जनको दृष्टिले हेर्ने हो भने अति सामान्य कामदार, जसले मासिक ७/८ हजार मात्रै कमाउँछन् । उनीहरू पनि त्यहाँ छन् । कतिपय व्यक्तिहरू भारतका उद्योग कलकारखानामा नेतृत्वदायी भूमिका समेत निर्वाह गरिरहेका छन् । आ–आफ्नो व्यापार व्यवसाय गर्नेदेखि त्यहाँको समाजमा प्रतिष्ठा कमाएका नेपाली पनि भारतमा रहेका छन् । जिन्दगीमा एक पटक भारत काम गर्ने र घुम्ने सिलसिलामा गएका व्यक्तिहरूको अनुभव सुन्ने हो भने पनि घरेलु कामदार, होटेलका विभिन्न पदमा, कलकारखानाका पनि विभिन्न पदमा, धार्मिक स्थलहरूमा, पसलहरूमा सबै तिर नेपालीहरू भेटिन्छन् । नेपाली नभएको भारतीय जिल्ला सायदै होला । दुर्भाग्य यति धेरै नेपालीहरू रहेको देशमा सरकारले त्यहाँ आफ्ना कति नागरिक छन् भन्ने व्यवस्थित आँकडा समेत राखेको छैन । सरकार सरकार बिच पनि बेला बखत रोटी बेटीको सम्बन्धको चर्चा बाक्लै सुनिन्छ । नेपालका तर्फ बाट त झनै प्रधानमन्त्रीले पदभार ग्रहण गर्ने बित्तिकै विदेश भ्रमणको पहिलो नम्बरमा पर्छ , भारत । अन्य देशहरू सँग राष्ट्रिय राजनीति र विकास निर्माणमा दूरगामी प्रभाव पार्ने निर्णयहरू लिँदा समेत भारतको राय लिने गरिन्छ भन्ने सुनिन्छ ।

यति माथिल्लो स्तरको सम्बन्ध रहेको देशमा आफ्ना नागरिकका लागि कहिल्यै पनि, कुनै पनि सरकार र प्रधानमन्त्री वा कुनै पनि श्रम मन्त्री वा कुनै पनि नेताले कहिल्यै आवाज उठाएको पाइएन । केही केहीले मसिनो आवाजमा बोले पनि, त्यो आवाज हावामै मिसिएर ध्वनि प्रदूषण मात्रै भएको आभास भइरहन्छ ।

सरकार जनता बिच पनि प्रत्यक्ष सम्बन्ध रहेको छ, तर यो सम्बन्ध पनि सम्बन्ध भन्दा माथि कहिल्यै उठेन । बरु यो सम्बन्धको चर्चा दिल्ली र काठमाडौँका केही तनरे होटेलका हलहरू भर्न र संवादका औपचारिकताहरू पूरा गर्न मात्रै प्रयोग भए । अचम्म लाग्दो त के छ भने अहिलेका हरेक साना ठुला नेता कार्यकर्ताका छिमेकी आफन्त कोही न कोही जीवनको एक समय भारत गएर काम नगरेको अपवाद पनि छैन होला । यति मात्रै होइन, मैले देखेको छु, हरेक जसो निर्वाचनमा विदेशिएका मानिसहरू भोट हाल्न आउने देशहरूको सूचीमा भारत पहिलो नम्बरको हो । आफ्नो प्रतिनिधि निर्वाचित गर्न समेत भारतस्थित नेपालीहरू आउने गर्दछन् । कतिपयले तिनैको भोट कै बलमा चुनाव जिते पनि होलान् । राज्यको महत्त्वपूर्ण जिम्मेवारीमा पुगे होलान् तर सधैँ बिर्सी नै रहे । चुनावताका मात्रै हाम्रा नेताहरूलाई भारतस्थित नेपालीहरू याद आउँछन् होला ।

मुख्यमन्त्री त्रिलोचन भट्टको रवैया :

यो लेख लेख्दै गर्दा म अहिले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अनुहार सम्झिरहेको छु । किनभने एक त उनी आफै भारतमा चौकीदारी गरेको अनुभव गर्वका साथ सुनाउँछन् । अर्को कुरा सुदूर पश्चिमका एक न एक जना भारत नगएको घरपरिवार ज्यादै न्यून मात्रै भेटिन्छन् । यस्तो अवस्थामा आधारभूत आवश्यकता परिपूर्तिका लागि मात्रै भारत जानुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्यका लागि उनको पहल कदम नेतृत्वदायी भूमिकामा हुनुपर्ने हो । अथवा अहिले तत्कालै त्यो सम्भव नभए कम्तीमा पनि भारतमा रहेका नेपलीहरुको व्यवस्थित आँकडा, उनीहरूको वर्तमान अवस्था बुझ्न र सुख दुःखमा साथ दिने एउटा आधिकारिक निकाय स्थापना लागि मात्रै पहल गरिदिए मात्रै पनि आभारी हुने थिए । यद्यपि दुई देश बिचको कुनै पनि काम सङ्घीय सरकारले गर्नुपर्छ तर पहल भने जसले पनि त गर्न सक्छ नि ।

५ नम्बर प्रदेशमा मुख्यमन्त्री शङ्कर पोख्रेलले सङ्घीय सरकार ढाल्न नदिन पहल गर्न सक्छन् भने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले भारतमा रहेका नेपालीहरूको हकहितका लागि किन पहल गर्न सक्दैनन् ? सक्ने नसक्ने कुरा त इच्छाशक्ति, आफ्ना सोंचाई र कार्य प्राथमिकताले पनि निर्धारण गर्छ ।

त्रिलोचन भट्ट ज्युले भारतमा बस्ने सबै नेपालीहरूको समस्या सम्बोधन गर्न नसके पनि कम्तीमा आफ्नो प्रदेशबाट भारत गएका नागरिकको बारेमा भने अब गम्भीर बन्नै पर्छ । नत्र अर्को पटक म पनि चौकीदारी गरेको, सामान्य परिवारको, कारखानाको भट्टीमा जोतिएको भनेर भाषण गर्न पाउँछन् कि पाउँदैनन् यसै भन्न सकिन्न । सुरुमा मुख्यमन्त्री भएदेखि भारतमा रहेका नेपाली खास गरी सुदूरपश्चिमेली कामदारप्रति जिम्मेवार छु भनेर देखाउन सीमा नाकामा हेल्प डेस्क सञ्चालन भयो तर अहिले लथालिङ्ग छ । तिनीहरूको निगरानी, सुधार, व्यवस्थापनमा कहिल्यै चासो नै गएन । अझै प्रस्ट भनौँ त्यो काम कहिल्यै प्राथमिकतामा परेन ।

दूतावासको भूमिका :

यति लेखिसके पछि दूतावासको पनि प्रसङ्ग झिकीहल्नु वाञ्छनीय देखिन्छ । अघि पछि जसो नासो नेपालीहरू आफ्नो कर्म गर्दै जीवनयापन गरी नै रहेका हुन्छन् । कम्तीमा कोरोना सङ्कटको बेला त सारथि बनिदिनु पर्ने हो । त्यो पनि देखिँदैन । चीन, इटाली, युरोपका अन्य देशहरू र अमेरिका पछि अब कोरोनाको केन्द्र भारत बन्दै जाने सङ्केत देखिएको छ । १२ सय बढीको मृत्यु भइसकेको छ भने, ४० हजार बढी सङ्क्रमित छन् ।

यदि भारतमा अवस्था अझै भयावह देखिएमा के गर्ने ? त्यस बारेमा दूतावासले अझै केही प्रस्ट बताएको छैन । अन्य मुलुक जस्तै भारतमा पनि लकडाउन जारी छ । उद्योगहरू सबै सञ्चालनमा नहुन सक्छन् । होटेल, रेस्टुरेन्ट, पसल, धार्मिक स्थलहरू सबै बन्द नै छन् । यस्तो अवस्थामा मालिकले कतिसम्म खाना र बस्न दिन्छ होला ? यो प्रश्नलाई दूतावासले गम्भीर रूपमा लिएको जस्तो लाग्दैन ।

केही दिन अघि एक जना साथीले सामाजिक सञ्जालमा लेख्नु भयो भारत स्थित नेपाली दूतावासले जहाँ छौँ, त्यही बस भनेको एक महिना भइसक्यो । कहाँ छौ भनेर न सोध्यो, न फोन उठायो । यस्तो लेखिएको त्यही टिप्पणीमा अर्का साथीले व्याख्यात्मक शैलीमा प्रश्न गर्दै लेखे यहाँ पनि दूतावास हुन्छ र ? थाहै भएन । के काम हुँदो रहेछ यिनीहरूको यस्तो बिजोक अवस्थामा छ हाम्रो दूतावासको ।

नेपाल सरकारप्रति आग्रह :

हिजो मात्रै म सँगै पढेका केही साथीहरूले फेस बुक लाइभ गर्दै हामी नेपाल आउन चाहन्छौँ भनेर नाराबाजी गर्दै गरेको देखे । धेरैले मेसेज गरेर के कसरी सकिन्छ, नेपाल फर्किने व्यवस्था मिलाइदिनु पर्यो भन्दै अनुरोध गर्दै छन् । म सबैसँग लज्जित हुनुपर्ने अवस्थामा पुगेको छु । सबैलाई ल्याउन सम्भव नहुन सक्ला तर सरकारसँग छलफल गरेर जहाँ छन्, त्यही सुरक्षित र भरपर्दो तवरले गाँस र बासको व्यवस्था मिलाई दिन सकिन्थ्यो होला ।

कोरोना सङ्कटको यो अवस्था भोगेर अबका दिनमा सरकार भारतमा रहेका नेपाली कामदारहरूको सम्बन्धमा गम्भीर बनोस् । दूतावास दुईरचार जनाको जागिर खाने थलो नबनोस् । रोटी बेटीको सम्बन्ध भाषणमा सीमित नहोस् । त्यहाँ बस्ने हरेक नेपालीहरूको व्यवस्थित तथ्याङ्क राख्न सुरुवात होस् ।

गाह्रो र साह्रो पर्दा सारथी बनोस् । यस सङ्कटबाट यति पाठ सिके पनि धेरै हो । बिस्तारै स–साना आवश्यकता पूरा गर्न पनि विदेश जानै पर्ने बाध्यात्मक परिस्थितिमा कम हुँदै जाओस् । ४५ माथिका र १८ तलका कोही पनि नेपाली कामकै लागि भारत पस्नुपर्ने नहोस् । यो बिस्तारै योजना बनाउँदै जाने कुरा भयो ।

नेपालबाटै भारत लगायत अन्य मुलुकमा रहेका नेपालीहरूको तथ्याङ्क सङ्कलन कार्य केही दिन अघि मात्रै सकिएको छ । अहिले त्यही तथ्याङ्कका आधारमा भारत सरकारसँग पहल गरेर जो जहाँ छन् त्यही सुरक्षित बसोबास र खानपानको राम्रो व्यवस्थापन होस् ।

निष्कर्ष :

नेपाल आउन चाहनेका लागि पनि उचित निर्णय होस् । फेरि ल्याउने निर्णय गरेर गौरीफन्टा, बनबासा, झुलाघाट र धार्चुलामा अलपत्र छाड्ने काम कतै नहोस् । महाकालीमा हाम फाल्ने बाध्यता सृजना भएमा त्यो ज्यादै भद्दा देखिनेछ । यति पहल गर्ने नै अहिलेको असली नायक र राज नेता साबित हुनेछ । अन्यथा राष्ट्रवाद पनि खोक्रो रहेछ भन्ने हामी बुझ्नु पर्ने हुन्छ । अर्को चुनावमा हिसाब किताब गर्न तयार छौँ । सधैँ झुक्याई रहने बानी अब नदोहोरियोस् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार