छत्तीस-त्रिसठ्ठी संबन्ध 

  • बालाराम तिमिलसीना

जब दुईतिर फर्केर बस्छन् खुसीहरू
जब दुई थरी हुन्छन् खुसीका रङ्गहरू
जब ती एकै ठाउँमा बस्नु पर्ने हुन्छ
संसारमै सबैभन्दा दुखी हुन्छ
तिनीहरूको छत्तीस त्रिसठ्ठी जिन्दगी !

जब आम्ने साम्ने हुन्छन आँखाहरू
तर देखिरहेका हुन्छन् फरक सपना
या ती शिकारीकाजस्ता आँखा हुन्छन्
जब सँगै उभिएका हुन्छन पैतालाहरू
तर फरक फरक हुन्छ गन्तव्य
विमानस्थल, बसपार्क या
रेलको स्टेशनको भीडका पैतालाजस्ता
त्यति वेला आँखा जुध्नुको अर्थ
र पैतालासँगै हुनुको अर्थ
सोचेभन्दा फरक अझ विपरित भैदिन्छ !

मायाँ गर्नु भनेको
गोरुलाई कुडो खुवाउँनु जस्तो होइन
गोरुले कुँडो खाएन भने
भोक लाग्छ भनेर खुवाइन्न
खेत नजोत्ला भनेर खुवाइन्छ
खसी या सुँगुरलाई दाना
यस निम्ति खुवाइन्छ
ऊ दशैंमा सोचे जति मोटो हुनु पर्ने छ !

कसैलाई मायाँ गर्नु भनेको
उसको शरीरमा रहेका
आफूलाई मन पर्ने अङ्गको लोभ गर्नु हैन
उसको मुस्कान
उसको आँखाको ईशारा
या उसको तातो गोजी मन पराउनु होइन
बरु हो
उसका हातका ठेला
उसका फुटेका कुर्कुच्चा
ऊ रिसाएको
ऊ रोएको
र उसले गाली गरेको पनि मन पर्नु !

दुईतिर फर्केका पैताला
दुई थरी सपना देखेका आँखा
दुई थरी हित
दुई थरी खुसी
र दुई थरी रुचीहरू
अर्थात दुई थरी जिन्दगीहरू
जब एकै ठाउँ बस्नु पर्छ
त्यो घर भए पनि, समाज भए पनि
दल भए पनि , देश भए पनि
त्यहाँ सँधै कलह हुन्छ
त्यहाँ सँधै अशान्ति हुन्छ
त्यहाँ सँधै युध्दको तयारी हुन्छ
र हरेक साँझ, हरेक बिहान
हरेक दिन , हरेक रात
कसै न कसैका सपनाहरू
अकालमा मरिरहेका हुन्छन्
कसै न कसैले त्यहाँ
आत्महत्या गरिरहेका हुन्छन्
खुसीहरूको चिहानमाथि उभिएको
घर होस या देश होस
त्यो चिहानघारी हो !

२०७७|०२|०२
भक्तपुर

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार