संगठन बनाउनु मात्रै ठूलो कुरा होइन

प्रेम सापकोटा, अध्यक्ष, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति

सन् ७ नोभेम्बर १९६६ मा बुबा शालिकराम सापकोटा र आमा भागीरथी सापकोटाको जेठो सन्तानको रुपमा जन्मनु भएका प्रेम सापकोटा हाल मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष हुनुहुन्छ । हालको जैमुनि नगरपालिका वडा नम्बर २, बाग्लुङ पैत्रिक जन्मथलो भएका सापकोटा विस २०३९ सालदेखि नवलपुर जिल्लाको गैडाकोट नगरपालिका ७ मा घरबास भएको बताउनु हुन्छ । १६ वर्षको कलिलै उमेरमा आफ्नै कान्छा बाबासँग पञ्जाबको रोपडमा पुगि हालसम्म पञ्जाव विजली बोर्डमा कार्यरत हुनुहुन्छ । त्यतिवेला नेपालमा विस २०३७ सालमा भिम केसी सरसँग पौष ७ मा राँके जुलुस गरेको संझना वहाँलाई ताजै छ । सन १९८४ देखि नै तात्कालिन अखिल भारत नेपाली एकता समाजमा आवद्ध हुनुभएका सापकोटाले सन १९८५ मा त्यतिवेलाका कलकत्ते पक्षको एकता समाजमा संगठित हुन पुगेको समेत बताउनु हुन्छ । तर पछि सन १९९० बाट तात्कालिन अखिल भारत नेपाली युवक मोर्चामा संगठित भई सन २००८ मा जयपुरमा सम्पन्न युवक मोर्चाको अखिल भारत सम्मेलनबाट सापकोटा उपाध्यक्ष पदमा समेत चयन हुनु भएको थियो । वहाँ सन २०१६ अप्रेल ९ र १० मा सम्पन्न मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको ९ औं सुदुर पश्चिमोत्तर क्षेत्रीय सम्मेलनबाट अध्यक्षमा निर्वाचित भई हालसम्म सापकोटा कार्यरत हुनुहुन्छ । प्रस्तुत छ : नेपाली समाचार साप्ताहिकका सह–सम्पादक धनवीर पुन मगर र प्रेम सापकोटा बीच भएका अन्तरंग कुराकानी :

देशको तात्कालिक राजनीति परिस्थितिलाई कसरी हेर्नु हुन्छ ?

– देशको तात्कालिक राजनैतिक बारेमा भन्नु पर्दा भारत प्रवासमा बस्ने नेपालीहरुको पहलमा देशका सबै गणतन्त्र पक्षधरहरुलाई एउटै विन्दुमा ल्याएर दरवारिया र राजावादीहरुको अन्त गर्न सफल भए । उनै राजनीतिक दलहरुको एकताले देशमा दुई–दुई पटक नै किन नहोस् संविधान सभाको निर्वाचन सम्पन्न पारे र त्यो निर्वाचनबाट चयन भएका प्रतिनिधिहरुद्वारा नेपाली जनताले करिब ६० वर्षसम्म संघर्षको परिणाम संविधान पाएका छन् । त्यो संविधान पूर्णत : नेपाली जनताको पक्षमा छैन तर त्यो संविधानमा कैयौं महत्पूर्ण उपलब्धिहरु भएका छन् ।

संविधान निर्माण पश्चात तीन तहको निर्वाचन सम्पन्न भईसकेको छ । केन्द्रमा दुई तिहाईको बहुमत भएको नामको कम्यूनिष्ट पार्टीको सरकार गठन भएको छ । त्यस सरकारसँग प्रवासमा वस्ने नेपाली नागरिकहरुले ठूलो आश लगाएका थिए, अब देशमा केही सुधारका काम हुन्छ कि ? तर रक्सिको बोतलको डिजाइन फेरियो, व्यवहारमा रक्सि उही देखियो । झन् निरासा छाएको छ । महंगाइले सिमा नागेको छ । भ्रष्टाचार, तष्करी झन् झन् नयाँ प्रकारका देख्न परेको छ । झन् झन् राष्ट्र विखण्डनको दिशातिर जाने र राष्ट्रियता कम्जोर बन्दै गएको अवस्था छ । व्यवहार हेर्दा कम्यूनिष्ट र सर्वहारा हौं भन्नेहरुबाट नै नेपाली जनतालाई गुम्राह पारि सडेको अण्डा जस्तै गन्हाउने काम भएको छ । संघीयता राष्ट्र र राष्ट्रियताको लागि गलाको पासो बन्दै गएको छ ।

तपाईको क्षेत्रमा श्रमजिवी नेपालीहरुको अवस्था कस्तो प्रकारको छ ?

–हाम्रो यस सुदुर पश्चिमोत्तर क्षेत्रले खास गरेर पञ्जाब, हरियाणा, राजस्थानका केही भाग र जम्मु कश्मिरलाई ओगटेको छ । यस क्षेत्रमा नेपालीहरुको अवस्था करिब करिब दयनिय नै छ । किन की पहिला पहिला जस्तो रोजगार पनि पाइन छाड्यो, त्यसले गर्दा नेपाली नयाँ जनरेशन आउन पनि छाडेको अवस्था छ । यस क्षेत्रमा नेपालीहरुको आवतजावतको कमी कै कारणले भनौं अलिक अप्ठ्यारो अवस्था श्रृजना भएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले ४०औं वर्ष पार गरिसेकेको छ, क्षेत्रीय समिति अन्तर्गत के कस्ता कार्यक्रम गर्नु भो र गर्ने योजना छ ?

– छिट्टै क्षेत्रीय समितिको बैठक बस्नते तयारी गरेका छौं, २०७६ सालको प्रगतिशिल देउसी भैलोद्वारा भारत प्रवासमा छरिएरका नेपालीहरुलाई देशको बारेमा जनचेतना जगाउँदै नगर नगरमा पुग्यौं । १४ अक्टुबरको भाइचाराहरुसँग मिलि दिल्लीमा एनआरसीद्वारा गरिएको भेदभावका विरुद्ध जुलुस प्रदर्शन कार्यक्रममा सहभागि भयौं । आगामी दिनहरुमा कलास, शिविर, प्रशिक्षाण कार्यक्रम, खेलकुद, प्रकाशनका ग्राहक अभियान, सदस्यता वितरण तथा नविनीकरण अभियान लगायतका कार्यक्रम तय गरेका छौं ।

त्यस क्षेत्रमा नेपाली मजदुरहरु माथिको भेदभाव के कत्तिको छ ?

– भेदभाव अति नै छ । सरकारी नोकरी गर्नेहरुलाई पनि नोकरी लागे देखि रिटायर हुने वेलासम्म थुप्रै किसिमका अड्चनहरु लगाउने, भेदभाव मुलक काम झेल्नु परेको छ । अझ छुट्टाछुट्टै स्टेट सरकारहरुले नेपाली श्रमिकहरुलाई अति नै भेदभाव राख्ने गरेका छन् । प्राइवेट नोकरी गर्नेको त कुरै छाडौं, सहि किसिमले दैनिक ज्याला समेत पनि दिँइदैन ।

यात्राका दौरानमा नेपालीहरु बढि मात्रामा लुटिने, कुटिने घटनाहरु सुन्नमा आउँछ, त्यसप्रकारका समस्याहरु समाधानका लागि के कस्ता योजना छन् ?

– ट्रेनको यात्रामा उत्तर प्रदेश रेल्वे पुलिसले रेल भित्र वा यात्राका दौरानमा नेपाली नागरिकता माग्ने, आधार कार्ड माग्ने, अन्य आइडी माग्ने, अनि नेपाली र भारतीय दुबै आईडि किन ल्याइस् भन्ने र लुट्ने पिटने तथा विभिन्न वहानामा सताउने गरेको पाइन्छ । त्यसको लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले उत्तर प्रदेश सरकारलाई पटक पटक झकझकाउने गर्दै आइरहेको छ । प्रशासनको आडमा नेपाली श्रमजिवीहरुलाई लुटपाट गर्ने विभिन्न खाले असमाजिक तत्वहरुका विरुद्ध लगातार संघर्ष गर्दै आइरहेका छौं ।

अब आउने चुनावमा प्रवासी नेपालीहरुको मताधिकार सुनिश्चिताको कत्तिको संभावना देख्नु हुन्छ ?

– अब आउने चुनावमा प्रवासी नेपालीहरुको मताधिकार सुनिश्चितताको सवालमा सर्वोच्चले सरकारलाई निर्देशन दिसकेको हामीले सुनेका छौं । अहिलेको सरकारले त्यसको योजना बनाउनु पर्ने हो । संसदमा पनि प्रवासी नेपालीहरुका प्रतिनिधित्वका लागि सामानुपातिक स्थान निश्चित हुनुपर्ने हो । त्यस तर्फ सरकारले खासै ध्यान दिएको जस्तो लाग्दैन । हेरम् अझै चुनाव आउन समय छ, प्रवासी नेपालीहरुको मताधिकारका लागि सरकार कत्तिको पोजिटिव हुन्छ ।

नयाँ परिस्थितिमा संगठनलाई अगाडि बढाउन के कस्ता आगामी कार्यनीति बनाउनु भएको छ ?

– नयाँ परिस्थितिमा सहि सिद्धान्त र विचारमा संगठन बनाउनमा जोड दिनु पर्दछ । जसमा सैद्धान्तिक चेतनामुलक योजना बनाउनु पर्दछ । संगठन बनाउने ठूलो कुरा रहेनछ । मुख्य कुरा चेतना र विचारमा टिक्ने ठूलो कुरा रहेछ । उदाहरणका लागि यही एकता समाजका संस्थापक सदस्यहरु पनि विधान विधीलाई मिचेर आफ्नो स्वार्थमा रुमलाउन खोज्नेहरुसँग पनि वैचारिक र सैद्धान्तिक संघर्ष गर्दै आएको इतिहास छँदैछ । जस्तै २०४८ सालमा युवक संघको काठमाडांै सम्पन्न तेश्रो सम्मेलनमा भारतबाट पनि थुप्प्रै युवकहरु सहभागि भएका थियौं । त्यो वेलामा ठूलो जुलुस पनि आयोजना गरिएको थियो जसलाई सम्पन्न पनि पारिएको थियो । वैचारिक विचलनबाट सोहि वखत डा. बाबुराम भट्टराई, राम कार्की, टोप बहादुर रायमाझी अलग भए । त्यो समयका नेता केशव नेपाल अध्यक्ष भए । धेरै युवाहरु संगठित भए । त्यस्तै रामसिंह, परि थापा, दिनानाथ शर्मा, लिलाबहादुर थापा, ओम गुरुङ, हुकुम बहादुर जिसी, कमल चौधरी, कलाधर सापकोटा, भारतबाटै संगठित भएका डिलाराम आचार्य, गिरीधारीलाल न्यौंपाने, स्वंय गोविन्द सिंह थापा लगायत संगठनमा धेरै किसिमका मानिसहरु जोडिए । तर आज उनीहरु हामीसँग छैनन् । उनीहरु एक वा अर्को प्रकारले नेतृत्व माथि आरोप, लान्छना लगाएर वा बहाना बनाएर पन्छिए । समग्रमा भन्नु पर्दा मुख्य संगठन हुनु ठूलो कुरा रहनेछ । मुख्य कुरा सहि विचारमा निरन्तरता दिनु ठूलो कुरा रहेछ । आगामी दिनहरुमा पनि संगठन निर्माणका साथसाथै सबै परिस्थितिमा सैद्धान्तिक पक्षमा जोड दिनु पर्छ ।

अन्तमा केही छुट्यो कि ?

– मेरा शब्दहरु नमिलेको हुन सक्छ, सबै कार्यकर्ताहरुले मिलाएर बुझ्नका लागि अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार