अब एमालेको भविष्य र संभावित नयाँ मार्ग

स्थानीय निर्वाचनको परिणामलाई लिएर एकातिर गणितीय बहस जारी छ भने अर्कोतिर चुनावलगत्तै राजनीतिक कोर्स नै बदलिन्छ भन्ने तर्कशास्त्रको पनि उदय भएको छ।  चुनावको अन्तिम परिणाम नआउँदै राजनीतिक बजारमा केही हल्ला फैलिएका छन्, जस्तो–

एक– यो चुनावमा सत्ता गठबन्धन सफल भएन, तालमेल शतप्रतिशत कार्यान्वयन नभएका कारण नेपाली कांग्रेससँग माओवादी, एकीकृत समाजवादी र जसपा रिसाएका छन्। त्यसर्थ अब यो गठबन्धन टुट्छ र संसदीय चुनावअघि नै नयाँ गठबन्धन बन्छ।

दुई– अब केपी शर्मा ओलीले माधव नेपालसँग पार्टी एकताको प्रस्ताव राख्छन्। उनले माधव नेपाललाई प्रधानमन्त्री वा राष्ट्रपति बनाउने प्रस्ताव राख्छन् र ओली–नेपालबीच एकता हुन्छ। अब ओली, माधव नेपाल र लोसपासमेत मिलेर सरकार ढाल्नेतिर राजनीति अगाडि बढ्छ। यसमा जसपा र माओवादीलाई पनि एमालेले तान्न सक्छ।

तीन– एमालेले माधव नेपाललाई खासै भाऊ दिँदैन। बरु माओवादी तेस्रो शक्ति भएकाले ओली र प्रचण्डबीच सहकार्य अघि बढ्छ। आगामी चुनावमा मोर्चा बनाएर एमाले–माओवादी अघि बढ्छन्। अब माधव नेपाललाई छाडेर अरुसँग वाम गठबन्धनको कोर्ष शुरु हुन्छ।

चार– यो चुनावमा माधव नेपालको पार्टीले अपेक्षाकृत जित हासिल नगरेका कारण अब माधव नेपाल या त एमालेतिरै जान्छन्, या माओवादीसँग एकता गर्छन्। माधव नेपालको पार्टी अब सग्लो रहँदैन।

पाँच– जसपा पनि चुनावमा अपेक्षाकृत सफल नभएको र कांग्रेस–माओवादीबाट धोका खाएकाले अब जसपा यो सत्ता गठबन्धनमा बस्दैन, एमालेसँग उसको सहकार्य हुन सक्छ। लोसपा त एमालेको साथमा छँदैछ।

छ– स्थानीय चुनाव सकिएलगत्तै अब यो सरकार ढल्छ र नयाँ सरकार बन्छ, अनि त्यही सरकारले संसदीय चुनाव गर्छ। अथवा अब गठबन्धन दलमा संकट आएसँगै देउवाले संसद विघटन गरेर चुनावको घोषणा गर्छन्। त्यसअघि एमालेले देउवा सरकार ढालेर आफ्नो नेतृत्वमा चुनावी सरकार बनाउने प्रयास गर्नेछ।

सात – जेठ १५ गते बजेट आइसकेपछि अहिलेको मन्त्रिपरिषद हेरफेर हुन  सक्छ। केही मन्त्रीहरु फेरबदल हुन सक्छन्। आदि–आदि।

राजनीतिक बजारमा चलेका यी हल्लाबारे चर्चा गर्न छाडेर अब केपी ओलीदेखि बालेन्द्र शाहसम्म १३ राजनीतिक शक्तिको चर्चा गरौं। यही चर्चामा आउने छ हल्लाको जवाफ।

एमालेको भवितव्य

नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका योविन्द्र सिंह तामाङ केपी ओली निकट नेता हुन्। काठमाडौंमा हुँदा उनी बालकोट गइरहन्थे। यसपालिको चुनावमा उनले नयाँ जुक्ति लगाए– गाउँपालिकाभरि केपी ओलीको फोटोसहितको प्रचार सामाग्री बाँड्ने। ओलीको लोकप्रियता देखाएपछि चुनाव हार्ने प्रश्नै छैन।

दुप्चेश्वरमा एमालेलाई सजिलो के थियो भने त्यहाँ कांग्रेस र माओवादीबीच चुनावी गठबन्धन हुन सकेको थिएन। कांग्रेसले पूर्णबहादुर थापा र माओवादीले शंकरबहादुर थापालाई अध्यक्षमा उठाएका थिए। एकातिर सत्ता गठबन्धन नजुटेको, अर्कोतिर केपी ओलीको फोटो। एमालेलाई राम्रो चान्स थियो।

दुप्चेश्वर गाउँपालिकाको चुनावी परिणाम आउँदा एमालेले तेस्रो स्थानमा चित्त बुझाउनुपर्यो। केपी ओलीको फोटो बिकेन।

चितवनको भरतपुरमा एमाले उम्मेदवार विजय सुवेदीले बैशाख ३० अघि मिडिया ‘क्याम्पेनिङ’ गराएका थिए। सुवेदीलाई सुझाव आयो, प्रचार सामग्रीमा सकेसम्म केपी ओलीको फोटो प्रयोग नगर्नुहोला, ओलीको फोटोले भोट बढाउन होइन, घटाउन सक्छ।’

चुनावका बेला एमाले अध्यक्ष ओलीले देशका जुन–जुन ठाउँमा पुगेर भाषण गरे, ती ठाउँको ट्रयाक रेकर्ड हेर्दा प्रायः ठाउँमा एमालेले चुनाव हारेको देखियो, चाहे त्यो उनकै गृहनगर दमक होस् वा भरतपुर। वा धरान, पोखरा नै किन नहोस्।

हुन त एमालेका नेता–कार्यकर्ताले समग्र मत प्रतिशत हेर्दा कांग्रेसको भन्दा एमालेकै बढी भोट आएको बताउँदै जितको ‘मज्जा’ लिन खोजिरहेका छन्। तर, महानगरमा एउटै नजितेको, पहिले जितेका सात उपमहानगरमध्ये चारवटा गुमाएको, पोखरामा माधव नेपालको पार्टीलाई जित्न नसकेको अनि ओलीकै गृहजिल्लामा चुनाव नजितेको जस्ता घटनाक्रमले एमालेको जितलाई भन्दा हारलाई बढी मुखरित गरेको देखिन्छ।

सिट संख्याका आधारमा एमाले पहिलो दलबाट दोस्रो दलमा झरिसकेको  यथार्थ हो। अझ काठमाडौं र धरानजस्तो ठाउँमा स्वतन्त्र व्यक्तिसँग चुनाव हार्नुले एमालेको लोकप्रियतालाई प्रमाणित गर्छ, या खण्डित, बहसको विषय हो।

यो अवस्थामा अब नेकपा एमालेसँग तीनवटा विकल्प देखिन्छन्–

एक– पाँचदलीय गठबन्धनविरुद्ध एमाले एक्लै उभिन्छ र उभिनुपर्छ भन्ने केपी ओलीकै लाइनलाई समातिराख्ने। अहिलेको स्थानीय चुनावबाट  प्राप्त परिणामलाई ‘ओलीको राजनीतिक विजय’ का रुपमा व्याख्या गर्ने। अनि संघ र प्रदेशको चुनाव पनि एक्लै लड्ने र अहिलेकै जस्तो हार्न तयार हुने। आगामी पाँच वर्षसम्म संघ÷प्रदेश सबै ठाउँमा प्रतिपक्षमै बस्न तयार हुने।

दुई– ‘एकला चलो रे’ भन्ने लाइनलाई सच्याउँदै केपी ओलीकै नेतृत्वमा अब वाम गठबन्धनको नारा अगाडि सार्ने। माधव नेपाल, प्रचण्ड र बाबुरामहरुलाई फकाउने। अनि वाम गठबन्धन गरेर तत्काल सरकार ढाल्ने वा आगामी संसदीय चुनावमा वाम गठबन्धन बनाएर बहुमत ल्याउने अनि सत्तामा जाने।

तीन– ०६४ को चुनावमा पार्टीले पराजय व्यहोरेपछि तत्कालीन महासचिव माधवकुमार नेपालले राजीनामा गरेजस्तै स्थानीय चुनावमा आफ्नो लाइन पराजय भएको निश्कर्षसहित केपी ओलीले अध्यक्ष पदबाट राजीनामा दिने र वाम एकताको मार्गप्रशस्त गर्ने। एमालेभित्र शुद्धीकरण गर्ने अनि वाम एकताको वातावरण तयार पार्ने।

अब नेकपा एमालेसँग रहेका विकल्प यत्ति हुन्।

नेपाल खबरबाट

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार