चुनावमा स्वतन्त्र व्यक्तिले पाएको सफलता दलहरुप्रतिको असन्तोष : मसाल

काठमाडौं । नेकपा (मसाल) ले स्थानीय तह निर्वाचनमा राजधानीलगायत देशका विभिन्न स्थानमा स्वतन्त्र व्यक्तिहरु अगाडि आएको घटनालाई गम्भीर रुपमा लिनुपर्ने बताएको छ ।

मसालको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले स्थानीय निर्वाचनको समीक्षा गर्दै स्वतन्त्र व्यक्तिहरु अगाडि आउनु दलहरुप्रतिको जनअसन्तोष भनेको छ ।

‘अहिले राजधानी सहित देशका विभिन्न भागहरूमा स्वतन्त्र व्यक्तिहरूले प्राप्त गरेको समर्थनले देशमा कायम भएको दलीय व्यवस्था, लोकतन्त्र वा गणतन्त्रप्रतिको जनताको असन्तोषलाई नै व्यक्त गर्दछ’ महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको स्थिति उत्पन्न हुनुको पछाडि ती राजनीतिक पार्टीहरू नै जिम्मेवारी छन्, जसमा नीतिगत, इमान्दारिता र विश्वसनीयताको कमी रहने गरेको छ । त्यसकारण यो प्रश्नलाई हल्का रूपमा नलिएर गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।’

वक्तव्यमा भनिएको छ :
‘ने.क.पा. (मसाल) को कार्यालय सहयोगी र प्रदेश इन्चार्जहरु सहितको पी.वी.को विस्तारित बैठक यही २०७९ जेठ ८ र ९ गते सम्पन्न भयो । त्यो बैठकले खास गरेर गत बैशाख ३० गते सम्पन्न स्थानीय चुनावको मूल्याङ्कन गर्नुका साथै आगामी नीति र कार्यक्रम सम्बन्धी कैयौँ निर्णयहरू गरेको छ । तिनीहरुबारे जानकारी गराउन यो वक्तव्य जारी गरिएको छ ।

१. सर्वप्रथम हामीले यो कुराको उल्लेख गर्न चाहन्छौँ कि अहिलेको स्थानीय चुनावमा राजमोलाई महत्वपूर्ण सफलता प्राप्त भएको छैन । तैपनि पहिलेको स्थानीय चुनावको तुलनामा अहिलेको चुनावको परिणाम अपेक्षाकृत सन्तोषजनक रहेको छ । पाँच दलीय चुनावी तालमेलका कारणले राजमोलाई मात्र केही बढी लाभ पुगेको होइन, त्यसद्वारा प्रतिगमनलाई पनि धरै नै पराजित गर्नु सम्भव भएको छ । पाँच दलीय चुनावी तालमेलका कारणले ओलीको नेतृत्वको एमाले पनि देशव्यापी रूपमा नै धेरै नै पराजित हुन पुगेको छ । त्यसबाट पाँच दलीय चुनावी तालमेलको गम्भीर राजनीतिक अर्थ र महत्व भएको कुरा पनि प्रष्ट भएको छ ।

२. अहिले जस्तै आगामी प्रदेश र संसदीय चुनावमा पनि पाँच दलीय चुनावी तालमेलबाट धेरै नै फाइदा पुग्नेछ र प्रतिगमनलाई निर्णायात्मक रुपले पराजित गर्नु सम्भव हुनेछ भन्ने हाम्रो ठहर छ । पाँच दलका बीचमा ओलीको नेतृत्वको एमालेसित कतैपनि चुनावी तालमेल नगर्ने समझ्दारी बनेको थियो । पाँच दलका बीचमा आपसी तालमेल हुन नसकेको अवस्थामा बेग्लाबेग्लै स्थानहरुमा आपसमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न सकिने, तर एमालेसित कुनै पनि स्थानमा तालमेल गर्न नमिल्ने समझ्दारी बनेको थियो । त्यो समझ्दारीलाई राजमोले (मात्र) इमान्दारिता र दृढतापूर्वक पालन ग¥यो । तर अन्य पक्षहरुले देशका विभिन्न भागहरूमा पाँच दलभित्रका नै कतिपय पक्षहरूलाई पराजित गर्नका लागि एमालेसित पनि तालमेल गर्ने नीति अपनाएका छन् । त्यो नीति पाँच दलीय समझ्दारीको खुला प्रकारले उलङ्घन हो । तैपनि देशका धेरै भागहरूमा पाँच दलका बीचमा भएको समझ्दारी अनुसार चुनावी तालमेल भएको कुराप्रति हाम्रो पार्टीले सन्तोष प्रकट गर्दछ ।

३. अहिलेको स्थानीय चुनावमा प्रतिगमन पराजित भएपनि त्यसलाई निर्णयात्मक रुपले पराजित गुर्न सम्भव भएको छैन । खास गरेर पाँच दलका बीचमा भएको समझ्दारीलाई सबै पक्षहरूले इमान्दारितापूर्वक पालना नगरेको हुनाले नै त्यस्तो हुन गएको हो र त्यसबाट प्रतिगमनलाई नै मदत पुगेको छ ।

४. आगामी प्रदेश र संसदीय चुनावमा अहिलेका जस्ता गल्तीहरू नदोहोराइएमा प्रतिगमनलाई निर्णयात्मक रुपले पराजित गर्नु सम्भव हुनेछ भन्ने हामीलाई दृढ विस्वास छ । त्यसका लागि हामीले सबै पक्षहरुको ध्यान आकर्षित गर्न चाहान्छौँ ।

५. हाम्रो पार्टीको यो स्पष्ट र दृढ विचार छ कि आज देशमा प्रतिगमनको खतरा अत्यन्त गम्भीर बनेर गएको छ र प्रतिगमनका विरुद्ध भएका राजनीतिक शक्तिहरूका बीचको बलियो एकता र चुनावी तालमेलका आधारमा नै त्यसलाई पराजित गर्नु सम्भव हुनेछ भन्ने हाम्रो निष्कर्ष रहेको छ । राजावादीहरूले गणतन्त्रको स्थापना कालदेखि नै गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गर्न संगठित प्रकारले अभियान चलाउँदै आएका छन् । अहिले देशमा प्रतिगमनको मुख्य नेतृत्व ओलीले नै गरिरहेका छन् । भारतीय साम्राज्यवादले नेपालको प्रतिगमनलाई प्रत्यक्ष वा अप्रत्यक्ष प्रकारले मदत गरिरहेको छ । यी कारणहरूले गर्दा देशमा जनआन्दोलनका महान उपलब्धिहरू, लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता समेत समाप्त हुने खतरा पैदा भएको छ । २०४६ र ६२÷६३ मा जस्तै प्रतिगमनका विरुद्ध भएका राजनीतिक शक्तिहरूको बीचको एकता वा गठबन्धनद्वारा नै प्रतिगमनमाथि विजय प्राप्त गर्नु र जनताको महान आन्दोलनद्वारा प्राप्त उपलब्धिहरूको रक्षा गर्नु सम्भव हुनेछ ।

६. पाँच दलीय गठबन्धनद्वारा अहिलेसम्म प्राप्त सफताहरू र अहिलेको स्थानीय चुनावमा पनि पाँच दलीय तालमेलको कारणले प्राप्त सफलताहरूका आधारमा यो कुरामा कुनै शंका रहन्न कि प्रतिगमनका विरुद्ध भएका शक्तिहरूको एकता वा गठबन्धनद्वारा नै प्रतिगमनमाथि विजय प्राप्त गर्नु सम्भव हुन्छ । तर स्वयम् पाँच दलभित्रका राष्ट्रिय जनमोर्चा बाहेक अन्य पक्षहरूले आफ्ना संकिर्ण वा क्षुद्र दलगत र स्थानीय स्वार्थहरू पूरा गर्नका लागि एमालेसित चुनावी तालमेल गर्ने जस्ता नीतिहरुबाट प्रतिगमनलाई बल पुग्ने गरेको छ । त्यस प्रकारका सम्झौतापरस्त नीतिहरूमा समयमा नै सुधार नगरिएमा तथा आफ्ना संगठनहरूमा स्थानीय रूपमा देखा पर्ने त्यस प्रकारका प्रवृत्तिहरूमाथि कडाइपूर्वक नियन्त्रण नगरिएमा आगामी प्रदेश वा संसदीय चुनावमा पनि प्रतिगमनमाथि विजय प्राप्त गर्नु मुश्किल हुनेछ र प्रतिगमनलाई मिल्ने प्रत्येक सफलताका कैयौँ गम्भीर दुष्परिणामहरू हुनेछन् ।

७. यो खुसीको कुरा हो कि अहिलेको स्थानीय चुनावमा प्रतिगमनका विरुद्धको संघर्षमा जोड दिने प्रश्नमा पाँच दलभित्र स्पष्ट दृष्टिकोण निर्माण भएको थियो र राष्ट्रिय स्तरमा त्यसलाई लागू गर्ने पनि प्रयत्न गरियो । त्यसले गर्दा चुनावका उत्साहप्रद परिणामहरू रहेका छन् । त्यसले पनि पाँच दलीय चुनावी तालमेल सही रहेको कुरामा कुनै शंका रहन्न । तर त्यो नीतिलाई स्थानीय रुपमा लागू गर्ने प्रश्नमा विभिन्न स्थानहरूमा कैयौँ कमजोरीहरु देखा पर्ने गरेका छन् वा पाँच दलीय गठबन्धनका समझ्दारीहरूको खुला रुपले उलङ्घन वा अतिक्रमण गर्ने गरिएको छ । यो वास्तविकता हो कि स्थानीय रुपमा चुनाव जित्नका लागि कतिपय पालिकाहरूमा राजमो बाहेक अन्य पक्षहरूले एमालेसित पनि चुनावी तालमेल गर्ने गरेका कैयौँ उदाहरणहरु छन् ।

८. राष्ट्रिय जनमोर्चामा पनि चुनाव जित्नका लागि एमालेसित तालमेल गर्ने विचार नआएका होइनन् र एमालेले पनि कतिपय पालिकाहरूमा त्यस प्रकारको तामलेलका लागि राजमोसित प्रस्ताव राखेको थियो । तर राजमोले त्यस प्रकारको सबै विचारहरूलाई दृढतापूर्वक अस्वीकार ग-यो । राजमो बाहेक पाँच दलभित्रका अन्य चार वटै पक्षहरूले स्थानीय चुनावमा स्वयम् पाँच दलभित्रका अन्य कतिपय पक्षहरूलाई हराउनका लागि एमालेसित गठबन्धन गरेका कैयौँ उदाहरणहरू पाइएका छन् । स्थानीय तहमा देखा पर्ने त्यस प्रकारका प्रवृत्तिहरुमाथि नियन्त्रण गर्न सम्बन्धित दलको नेतृत्व असमर्थ भयो वा अप्रत्यक्ष रूपमा एमालेसितको त्यस प्रकारको सम्झौतापरस्त नीतिप्रति उनीहरूको समर्थन पनि रह्यो । त्यसरी उनीहरुमा आवश्यक इमान्दारिता र विश्वसनीयताको अभाव रह्यो ।

९. स्थानीय चुनावको अनुभवले पनि यो कुरा प्रष्ट गरेको छ कि चुनावमा भाग लिएका राजनीतिक पार्टीहरूमध्ये आफ्ना नीतिहरूप्रतिको इमान्दारिता र विश्वसनीयताको प्रश्नमा राजमो सर्वाेच्च स्थानमा रहेको छ । त्यो दृष्टिकोण्ले अन्य पक्षहरुको स्तर धेरै निम्न भएको कुरा छर्लङ्ग छ ।

१०. खाली अहिलेको स्थानीय चुनाव र आगामी प्रदेश र संसदीय चुनावको सन्दर्भमा मात्र होइन, राजनीतिक पार्टीहरूमा नीतिगत, इमान्दारिता र विश्वसनीयताको कमीको कारणले राजनीतिक पार्टीहरूमाथिको जनताको विश्वास कम भएर जाने र लोकतन्त्रको आधार नै समाप्त हुने सम्भावना रहनेछ । त्यो अवस्थामा गैर दलीय प्रवृत्तिहरूलाई बल पुग्ने र देश प्रतिगमनतिर जाने सम्भावना पनि रहनेछ । अहिलेको स्थानीय चुनावमा राजमो बाहेक पाँच दलका अन्य पक्षहरुमा नीतिगत इमान्दारिता र विश्वसनीयताको जुन खडेरी देखा प¥यो, त्यसले देशमा नीतिगत इमान्दारिता र विश्वसनीयताको गम्भीर संकटतर्फ संकेत गर्दछ । खाली चुनावी दृष्टिकोणले मात्र होइन, देशको सम्पूर्ण राजनीतिक भविष्य समेतमाथि ध्यान दिँदै सम्बन्धित राजनीतिक पार्टीहरूले त्यसबारे गम्भीर ध्यान दिनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।

११. अहिले राजधानी सहित देशका कतिपय स्थानहरूमा गैरदलीय व्यक्तिहरूले प्राप्त गरेको चुनावी सफलताले देशमा गम्भीर संकटको संकेत दिन्छ । पञ्चायती कालमा नानीमैँया र गोल्छे सार्कीले राजधानीमा प्राप्त गरेका सफलता पनि यस सन्दर्भमा उल्लेखनीय छ । त्यसको सकारात्मक महत्व यो कुरामा थियो कि उनीहरूले प्राप्त गरेको मतले निरङ्कुश राजतन्त्र र पञ्चायती व्यवस्थाप्रतिको जनआक्रोशलाई प्रतिनिधित्व गर्दथ्यो । अहिले राजधानी सहित देशका विभिन्न भागहरूमा स्वतन्त्र व्यक्तिहरूले प्राप्त गरेको समर्थनले देशमा कायम भएको दलीय व्यवस्था, लोकतन्त्र वा गणतन्त्रप्रतिको जनताको असन्तोषलाई नै व्यक्त गर्दछ । यस प्रकारको स्थिति उत्पन्न हुनुको पछाडि ती राजनीतिक पार्टीहरू नै जिम्मेवारी छन्, जसमा नीतिगत, इमान्दारिता र विश्वसनीयताको कमी रहने गरेको छ । त्यसकारण यो प्रश्नलाई हल्का रूपमा नलिएर गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।

१२. पाँच दलका बीचमा भएको समझ्दारीलाई देशका सबै पक्षहरूका बीचमा वार्ता चलाएर लागू गर्ने प्रयत्न गर्नुपर्दथ्यो । तर स्थानीय चुनावका बेलामा सबै प्रदेश, जिल्ला वा पालिकाहरूमा त्यहाँ भएका पाँच दलभित्रका सबै पक्षहरूका बीचमा वार्ता गरेर तालमेलको नीति निश्चित गर्ने काम गरिएन । विभिन्न राजनीतिक पार्टीहरूको जनआधार र संगठनात्मक अवस्थामाथि विचार गरेर सिटको विभाजन कमवेशी गर्न सकिन्थ्यो तर कतिपय पक्षहरूलाई वार्तामा नै सामेल नगर्नु अत्यन्त गलत दृष्टिकोण हो । त्यसले पाँच दलका बीचको एकता र परस्परको विश्वासलाई कम गर्ने काम गरेको छ । त्यसका कैयाँै नकारात्मक परिणामहरू हुन सक्दछन्् । कतिपय स्थानहरूमा दुई पक्षीय वा तीन पक्षीय वार्ता मात्र गरेर कतिपय पक्षहरूलाई वार्ताबाट पूरै अलग राख्ने काम गरियो । त्यसले गर्दा पाँच दलहरूका बीचमा नै अविश्वास र असन्तोषको वातावरण समेत पैदा हुने गरेको छ । त्यसबाट प्रतिगमनलाई नै फाइदा पुग्नेछ । त्यसकारण स्थानीय चुनावको बेलाको त्यस प्रकारको नीतिको समिक्षा गरेर आगामी दिनहरूमा त्यसलाई सुधार्नेतर्फ ध्यान दिनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।

१३. कतिपय पालिका वा वडाहरूमा पाँच दलभित्रका कतिपय पक्षहरूका बीचमा सहमति भएर खडा गरिएका उम्मेदवारहरूलाई मतदान गर्दा पनि अन्तरघात गरिएका केही उदाहरणहरु पाइएका छन् । त्यसले पनि विभिन्न राजनीतिक पार्टीको चरित्रमा भएको इमान्दारिता र विश्वसनीयताको कमीलाई बताउँछ । त्यसले गर्दा कतिपय स्थानमा सहमति भएका उम्मेद्वारहरू मध्ये एउटाले जित्ने र अर्काेले हार्ने समेत भएको छ । पाच दलभित्रको त्यस प्रकारको अन्तरघातको प्रवृत्तिमा सुधार गर्नुपर्ने आवश्यकतामा पनि हाम्रो पार्टीले जोड दिन्छ । स्थानीय तहमा हुने त्यस प्रकारका अन्तरघातहरूको समिक्षा गरेर त्यस प्रकारको प्रवृत्तिमा सुधारका लागि सम्बन्धित सबै पार्टीहरुले केन्द्रीय स्तरमा नै ध्यान दिनुपर्ने आवश्यकता छ ।

१४. जस्तो कि माथि भनियो पाँच दलीय गठबन्धनमा एमालेसित कतैपनि गठबन्धन नगर्ने स्पष्ट समझ्दारी बनेको थियो । राजमोले त्यो समझ्दारीलाई दृढतापूर्वक पालन ग¥यो । कतिपय पालिकाहरुमा एमालेले राजमोसित चुनावी तालमेल गर्नको लागि गरेको प्रस्तावलाई पनि राजमोले दृढतापूर्वक अस्वीकार ग¥यो । प्यूठानको गौमुखी त्यसको एउटा प्रतिनिधिमूलक उदाहरण हो । त्यही प्रकारले हामीले कैयौँ स्थानहरूमा एमालेसित तालमेलको प्रस्तावलाई अस्वीकार गरेका थियौँ । तर अन्य कतिपय पक्षहरूले पाँच दलका बीचमा भएको समझ्दारीका विपरित एमालेसँग तालमेल गरेर चुनाव लड्ने काम गरेका छन् ।

१५. प्यूठानको झिम्रुकमा माओवादी केन्द्रले एमालेसित तालमेल गरेर मसालका विरुद्ध चुनाव लडेको थियो । राजमोले गठबन्धनको बैठकमा पनि त्यो कुरा उठाएको थियो । तर एमाले र माओवादीका बीचको तालमेललाई रोक्नका लागि माओवादी केन्द्रले कुनै कदम उठाएन । माओवादी केन्द्रको लुम्बिनी प्रदेश कार्यालयले एउटा पत्र पठाएर झिम्रुकमा माओवादीले एमालेसित गरेको तालमेल उनीहरूको पार्टीको लाइनको विरुद्ध भएको बताएर त्यो तालमेलबारे सचेत गराएको थियो र त्यस प्रकारको तालमेललाई बन्द नगरिएमा कारवाही गर्ने समेत उल्लेख गरेको थियो । तर त्यस प्रकारको एउटा सामान्य पत्र पठाउनु बाहेक लुम्बिनी प्रदेशले पनि झिम्रुकमा माओवादीले एमालेसित गरेको तालमेलको लागि कुनै कारवाही गरेन । त्यसबाट माओवादी केन्द्र र त्यसको प्रदेश कार्यालयको समेत त्यस प्रकारको तालमेलप्रति अघोषित रुपमा समर्थन भएको नै देखिन्छ । झिमु्रकको त्यो घटना एउटा प्रतिनिधिमूलक उदाहरण मात्र हो । देशका अन्य कतिपय पालिकाहरूमा पनि पाँच दलभित्रका अन्य पक्षहरूले ठाउँ ठाउँमा त्यसरी स्वयम् आफ्नै घोषित नीतिका विरुद्ध एमालेसित तालमेल गरेको पाईन्छ । त्यसबारे गम्भीरतापूर्वक समिक्षा हुनुपर्ने र आगामी दिनहरूमा त्यस प्रकारका प्रवृत्तिहरूमाथि नियन्त्रण गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।

१६. त्यस प्रकारको ढुलमुल र अवसरवादी नीतिद्वारा तात्कालिक रूपमा केही फाइदा पुगेपनि दीर्घकालीन रुपमा त्यस प्रकारको नीतिबाट जनताको सम्बन्धित पार्टीप्रति विश्वास कम हुने र त्यसरी त्यस प्रकारको नीतिबाट सम्पूर्ण देशको राजनीतिलाई पनि गम्भीर क्षति पुग्ने कुरा प्रष्ट छ । त्यस प्रकारको कार्यशैलीमा सुधार गरेर नै आगामी प्रदेश र संसदीय चुनावमा प्रतिगमनमाथि निर्णयात्मक रुपले विजय प्राप्त गर्नु र देशको राजनीतिलाई सही दिशामा लैजानु सम्भव हुनेछ ।

१७. देशमा बढिरहेको महङ्गी र पेट्रोलको मुल्यबृद्धिप्रति पनि बैठकले गम्भीर चिन्ता प्रकट ग¥यो । यूक्रेनमा भइरहेको युद्धको कुरा उठाएर पनि पेट्रोलको मुख्य वृद्धिलाई सही ठह-याउन प्रयत्न गरेको पाइन्छ । तर त्यस आधारमा पनि पेट्रोलको मूल्य वृद्धिलाई सही मान्न सकिन्न । सरकारले पेट्रोलमाथि लगाइएका विभिन्न करहरूलाई कम गरेर वा सुशासन कायम गरेर पेट्रोलको मूल्यलाई कम गर्न सकिन्थ्यो । तर पेट्रोलको मूल्यवृद्धिलाई रोक्नको लागि सरकारले प्रभावशाली कदम उठाएको पाइन्न र त्यसका लागि हाम्रो पार्टीले सरकारको आलोचना गर्दछ ।

१८. अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री उज्रा जियाको नेपाल भ्रमणलाई पनि बैठकले गम्भीर रूपमा लिएको छ । सामान्य रूपमा नेपाल र अमेरिकाको मैत्रीसम्बन्धको ७५ वर्षगाँठको उपलक्ष्यमा त्यो भ्रमण गरिएको भनिएपनि त्यसको मुख्य उद्देश्य अमेरिकाको तिव्वत सम्बन्धि नीतिका पक्षमा सरकारलाई सहमत गराउन नै भएको भन्ने शंका गर्नको लागि आधार छ । उज्रा जिया तिब्बती मुद्दाका लागि अमेरिकी विशेष संयोजक समेत रहेको, नेपाल आउनुभन्दा पहिले उनले देहराधुन गएर दलाई लामासित भेट गरेको तथा नेपालमा आएपछि पनि तिब्बती शरणार्थी नेताहरूसित भेट गरेका समाचारहरू समाचार माध्यमहरूले बाहिर ल्याएका छन् । ती तथ्यहरूमाथि विचार गर्दा उनको भ्रमणको मुख्य उद्देश्य अमेरिकाको तिब्बत नीतिका पक्षमा लैजानका लागि नेपाल सरकारमाथि दबाब दिनु नै भएको कुरामा कुनै शंका रहन्न । समग्रमा त्यसको अर्थ नेपालको असंलग्न परराष्ट्र नीतिलाई बदलेर अमेरिकी सैनिक क्याम्पमा जानु नै हुन्छ । हामीले अमेरिकाको त्यस प्रकारको प्रयत्नको विरोध गर्दै एउटा वा अर्काे रुपमा असंलग्न परराष्ट्र नीतिलाई कमजोर पार्ने सरकारको कुनै पनि प्रयत्नप्रति उच्च सतर्कता अपनाउनुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।’
२०७९ जेठ १० गते
मोहनविक्रम सिंह
महामन्त्री

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार