म अन्धो कसरी

गोविन्द प्रसाद आचार्य

म अन्धो कसरी हुन्छु विश्व यो झल्मल्ल छ ।
अन्धो भन्दैछ जो आफु देख्दैन अलमल्ल छ ।।
सफा छ जिन्दगी मेरो चम्किएको रवि सरी ।
म कुना कन्दरा धर्ती कविताको कवि सरी ।।

मान्छेका मनका पाना पढेकोछु पढाउँछु ।
उज्यालो जिन्दगी मैले विश्वलाई पढाउँछु ।।
म एउटा पाठ हुँ यस्तो विन्दु विन्दु पढे हुने ।
सारा समुन्द्रको छालछाल हुँ छल्छलाउने ।।

बिचार विश्वको लिन्छु मान्छे आउ समानमा ।
म अग्र पङ्तीमा हुन्छु बदल्ने अभियानमा ।।
दोषीले पर जा भन्छ गाली छन् अपमानका ।
सिल्लीको मनमा खिल्ली ताली छन् अपमानका ।।

मैले सत्य देखेको छु हुन्न तारा धुमिलमा ।
मैले भोलि देखेको छु रहन्न अपमानमा ।।
म दोषी कसरी हुन्छु मनपरी भन्न हुन्छ र ।
आफु जस्तो मलाई त्यै रूपमा हेर्न हुन्छ र ।।

धोएर मन निख्रिन्न तर मैलो हटाउने ।
समान विश्वमा हामी सारा मान्छे अटाउने ।।
सारा संस्कारमा नौलो सजिलो जिन्दगी हुने ।
अपमान अहंकार विश्वबाट बिदा दिने ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार