जुनसुकै उमेरका महिलालाई हुनसक्छ स्तन क्यान्सर

स्तन क्यान्सर स्तनको कोषिकाहरूमा हुने क्यान्सर हो । यस प्रकारको क्यान्सर अहिले नेपालमा पनि तीव्र गतिमा फैलिरहेको छ । स्तन क्यान्सर महिलाहरूमा सबैभन्दा धेरै देखिने क्यान्सर रोग हो ।

नेपालमा पछिल्लो केही वर्षयता स्तन क्यान्सर हुनेको संख्या बढ्दो छ । सामान्यतया ४० देखि ५० वर्ष उमेर समूहका महिलाहरुमा स्तन क्यान्सर धेरै हुने देखिएको छ । तर अहिले २५ देखि ४५ वर्ष उमेरका महिलाहरूमा पनि यो देखिन थालेको छ । त्यति मात्र होइन, केही केसहरु त २० वर्ष भन्दा माथि उमेर समूहमा पनि देखिएको छ ।

युरोपेली मुलुकहरूमा स्तन क्यान्सर अन्य क्यान्सरको तुलनामा बढी मात्रामा देखिने क्यान्सर हो । एसियाली मुलुकहरुमा भने युरोपको तुलनामा यो कम देखिन्थ्यो । तर पछिल्लो समय एसियाली मुलुकहरुमा पनि स्तन क्यान्सर हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो तथ्यांक हेर्ने हो भने ६ जना महिलामध्ये एक जना महिलालाई स्तन क्यान्सर भएको देखिन्छ ।

सानै उमेरमा क्यान्सर देखा पर्नुको कारण

स्तन क्यान्सर हुने सबैभन्दा मुख्य कारण भनेको वंशाणुगत कारण हो । तर सानै उमेरमा क्यान्सर देखा पर्नुको कारण भने हाम्रो जीवनशैली र खानपानमा आएको परिवर्तन हो । केही वर्षयता हामीले पश्चिमी जीवनशैली अपनाएका छौ । धुम्रपान, मद्यपान गर्ने महिलाहरूको संख्या बढ्दो छ । खानपानमा पनि परिवर्तन आएको छ । पहिले जस्तो शुद्ध खानेकुरा छैन प्रोसेस फुड, जंक फुडको सेवन बढेको छ । जसका कारणले पनि स्तन क्यान्सर हुने सम्भावना बढेको छ ।

अध्ययन र करिअरका कारण महिलाहरूले ढिलो विवाह गर्न थालेका छन् । ढिलो विवाह भएपछि पहिलो सन्तान जन्माउने उमेर पनि ढिलो भएको छ । पहिलो सन्तान ३० वर्ष उमेरपछि जन्माउने महिलाको संख्या बढेको छ । सुत्केरी महिलाहरूलाई सुत्केरी बिदा तीन महिना मात्र दिइन्छ, जसले गर्दा उनीहरुले राम्ररी स्तनपान गराउन पाएका छैनन् । यी कारणले नेपालमा पनि पश्चिमी देशमा जस्तै स्तन क्यान्सरका बिरामीको संख्या बढ्दै गइरहेको छ ।

स्तन क्यान्सरले महिलाको प्रजनन् स्वास्थ्यमा पनि असर

स्तन क्यान्सरले महिलाको प्रजनन् क्षमतालाई पनि कमजोर बनाउँछ । कुनै महिलालाई कम उमेरमा नै स्तन क्यान्सर भयो, तर उनको विवाह भएको छैन वा भर्खरै विवाह भएको छ भने उपचारपछि पूर्ण निको भएको खण्डमा पनि ती महिलाको प्रजनन् क्षमता कमजोर हुन्छ ।

स्तनलाई नफाली पनि उपचार सम्भव छ

नेपालमा स्तन क्यान्सरको उपचार नै थिएन । क्यान्सरको उपचारको लागि अन्य देश धाउनुपर्ने बाध्यता थियो । तर पछिल्लो समय भने नेपालमा विभिन्न अस्पतालमा क्यान्सर विशेषज्ञ चिकित्सकहरु उपलब्ध छन्  । पछिल्लो समय स्तन क्यान्सरको उपचारमा धेरै नयाँ प्रविधि भित्रिएको छ । स्तनलाई नफाली स्तन क्यान्सरको सर्जरी गर्ने प्रविधि पनि अहिले विकास भएको छ ।

स्तन क्यान्सरको पहिलो, दोस्रो र तेस्रो चरणमा स्तनलाई बचाएर स्तन क्यान्सरको उपचार गर्न सकिन्छ । यो उपचार पद्धतिले महिलाहरूमा क्यान्सरको कारण आफ्नो स्तन गुमाउनु पर्ने अवस्था पनि सिर्जना भएको छ ।

विश्वको तथ्यांक हेर्ने हो क्यान्सरहरूमध्ये सबैभन्दा बढी देखिने क्यान्सर फोक्सोको क्यान्सर थियो भने अहिले सन् २०२१ को तथ्यांक हेर्ने हो भने स्तन क्यान्सर सबैभन्दा बढी देखिएको छ ।

समयमै उपचार गर्दा पूर्ण रूपमा निको 

स्तन क्यान्सरलाई चार चरणमा छुट्टाइएको छ । पहिलो, दोस्रो, तेस्रो र चौथौ । पहिलो र दोस्रो चरणलाई प्रारम्भिक चरण भनिन्छ भने तेस्रो र चौथोलाई एड्भान्स ।

प्रारम्भिक चरणमा उपचारमा आउने बिरामीहरू पूर्ण रूपमा निको हुन्छन् । तर तेस्रो र चौथो चरणमा आएका बिरामीको उपचारपछि पूर्ण रूपमा निको हुने सम्भावना एकदमै कम हुन्छ ।

पहिलो र दोस्रो चरणको क्यान्सरमा स्तनको वरपर वा काखीमा गिर्खा देखा पर्छ । तेस्रो र चौथो चरणमा क्यान्सर फैलिएर फोक्सो, कलेजो, हड्डी र मस्तिष्कसम्म पुग्छ ।

प्रायः स्तन क्यान्सर ४० देखि ५० वर्षको उमेरपछिका महिलामा मात्र हुन्छ भनिन्थ्यो । अहिले त्यो तथ्यांक परिवर्तन भएको छ । पछिल्ला वर्षमा २५ देखि ४० वर्ष उमेर समूहमा पनि स्तन क्यान्सर देखिएको छ ।

पश्चिमी देशहरूमा पहिले स्तन क्यान्सरका कारण मृत्यु हुनेको संख्या धेरै थियो, तर अहिले ती स्तन क्यान्सरको कारण मृत्यु हुनेको संख्या घटेको छ । किनकि उनीहरूले समयमा नै स्तन क्यान्सरको जाँच गर्छन् ।

हाम्रो एसियाली मुलुकहरूमा स्तन क्यान्सरबाट मृत्यु हुनेको संख्या बढ्दो छ । त्यसको मुख्य कारण भनेको समयमा स्तन जाँच नगर्ने र क्यान्सर भएर तेस्रो वा चौथो चरणमा मात्र अस्पताल पुग्नु हो । त्यसैले २५ वर्षभन्दा माथिका महिलाहरूले वर्षमा एकपटक स्तन जाँच गर्नुपर्छ ।

घरमै पनि जाँच गर्न सकिन्छ

महिनावारी ठीक समयमा भइरहेको छ भने महिनावारी भएको सातदेखि १० दिनभित्रमा सेल्फ ब्रेस्ट एक्जामिन गर्न सकिन्छ । ऐना अगाडि उभिएर आफ्नो दुवै स्तनलाई हेर्ने, दुवै स्तनको समानता, आकार, बनोट, मुन्टोको अवस्था, छालाको रंग र नरमपनाको फरकपन हेर्ने गर्नुपर्छ । साथै स्तनको कुनै पनि भागमा रहेको गिर्खालाई ध्यान दिनुपर्छ ।

दुवै हातलाई माथि उठाएर काखीमा देखा परेको केही परिवर्तनलाई ऐना अगाडि उभिएर हेर्नुपर्छ । देब्रे हातले दाहिने स्तन तथा दाहिने हातले देब्रे स्तनको क्रमबद्ध रूपमा जाँच गर्नुपर्छ । यसो गर्नाले स्तनमा लुकेर बसेका केही परिवर्तन प्रस्ट देखिन सक्छ । यसरी जाँच गर्दा केही शंका लाग्यो भने अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।

(स्तन क्यान्सर सर्जन डा. कार्कीसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार