मार्क्सवादको प्रयोगात्मक स्वरूप लेनिनवाद

चित्रबहादुर केसी ##

कम्युनिस्ट आन्दोलनमा लेनिनको उच्च भूमिका रहेको छ । उनले माक्र्सवादलाई कार्यान्वयन गर्ने काम गरेका थिए । माक्र्सवादमा वर्गसङ्घर्षको सिद्धान्तबारे व्यापक चर्चा भएको भए पनि त्यसको कार्यान्वयन हुन सकेको थिएन । सर्वहारा वर्गले सत्तालाई आफ्नो हातमा लिएर सञ्चालन गर्न सक्दछ र समाजवाद तथा साम्यवादको लक्ष्य प्राप्त गर्न सक्दछ भन्ने कुराको व्यावहारिक रूपमा पुष्टि गर्ने कार्य लेनिनको पालामा भएको थियो । लेनिनले मार्क्सवादको सिर्जनात्मक विकास गर्नुको साथै सर्वहारा वर्गको जीवनमा उक्त सामाजिक विज्ञानको कति धेरै उपादेयता छ भन्ने कुरालाई प्रयोग गरेर देखाएका थिए ।

सर्वहारा वर्गले कसरी र किन राजनीतिक सत्ता आफ्नो हातमा लिनुपर्दछ र त्यसको सञ्चालन एवम् रक्षा कसरी र किन गर्नुपर्दछ भनेर लेनिनले मार्गदर्शन गरेका छन् । उनले विद्यमान दर्शनमा रहेका कमीकमजोरीलाई औँल्याउनुका साथै तिनीहरूको भण्डाफोर गरेर सर्वहारा वर्गलाई स्पष्ट मार्गनिर्देशन गरे । यही उच्च भूमिकाले गर्दा लेनिनवाद स्थापित हुन पुगेको थियो ।

कम्युनिस्ट पार्टी कस्तो हुनुपर्छ र त्यसले के कस्ता उद्देश्य राख्नुपर्दछ भन्ने कुराको हेक्का नराख्दासम्म लक्ष्यमा पुग्न सकिँदैन भन्ने कुरा सुझाउने काम लेनिनले गरेका हुन् । उनले कम्युनिस्ट पार्टी फलामे अनुशासनले निर्मित भएको हुनुपर्छ भनेका छन् । त्यो सन्दर्भमा नै कम्युनिस्ट आन्दोलनलाई वैज्ञानिक ढाँचामा ढालेर अगाडि बढाउने कार्यमा उनले अद्वितीय योगदान दिएका थिए । उनले कम्युनिस्ट पार्टीलाई बुर्जुवा पार्टीभन्दा बेग्लै सङ्गठनको रूपमा प्रस्तुत गरेर नयाँ अध्याय सुरुआत गराएका थिए ।

लेनिनले सङ्गठनको क्षेत्रमा गरेको त्यस प्रकारको योगदानले सर्वहारावर्गको अथवा कम्युनिस्ट पार्टीको सङ्गठनात्मक क्षमता अत्यन्त उच्च बन्न गयो । फलामे अनुशासनले लैस भएको सङ्गठन अत्यन्त गतिशील, जुझारु र शक्तिशाली भएर संसार सामु प्रस्तुत हुँदा पुँजीवादीहरूको सातो गयो भने सर्वहारा वर्ग र श्रमिक जनतामा खुसीयाली प्रवाह हुन गयो ।

लेनिनलाई विरोधीले मन नपराउनुको मुख्य कारणमध्ये लेनिनको सङ्गठनात्मक सिद्धान्त एउटा हो किनभने लेनिनले प्रतिपादन गरेको सङ्गठनात्मक सिद्धान्तलाई मार्गदर्शक बनाउने सर्वहारा वर्गको राजनीतिक पार्टी बुर्जुवाको भद्रगोल बथानभन्दा निकै भिन्न, सुसङ्गठित र शक्तिशाली भयो । संसारका विभिन्न भागमा बुर्जवाको भद्रगोल बथानभन्दा थोरै सङख्यामा नै रहेको किन नहोस्, श्रमिकको सङ्गठन गुणात्मक रूपले नै शक्तिशाली देखिन थाल्यो । त्यसले गर्दा पुँजीवादीमा भय र त्रास पैदा भयो । त्यो कारणले उनीहरूले लेनिनप्रति रिस र डाहा पोख्दै आएका छन् ।

संसारमा कम्युनिस्ट नामका कैयौँ सङ्गठन अहिले पनि अस्तित्वमा छन् तर उनीहरूले कम्युनिस्ट सिद्धान्त, राजनीति, आदर्श र पद्धति परित्याग गरेर प्रतिक्रियावादी राज्यसत्तामा आफूलाई पतन गराइसकेको अवस्था छ ।

लेनिनवादी सङ्गठनात्मक पद्धति भनेको जनवादी केन्द्रीयतालाई कार्यान्वयन गर्ने सिद्धान्त हो । त्यस प्रकारको पद्धतिलाई मान्नु भनेको पार्टीलाई मिलेट्यान्ट र अनुशासित बनाउनु हो र लेनिनवादी सङ्गठनात्मक प्रणाली छोडेका सङ्गठनहरू अवसरवादी झुन्डमा रूपान्तरण भइसकेका छन् । उनीहरूले लेनिनवादी सङ्गठनात्मक प्रणालीलाई तानाशाही भनेर विरोध गर्दछन् । त्यसरी उनीहरू र पुँजीवादीमा मौलिक अन्तर रहेको छैन । आफ्नो स्वार्थमा बाधा पर्ने भएकाले पुँजीवादीले मात्र होइन, पुँजीवादको बाटो पछ्याएका संशोधनवादीले लेनिनवादको औचित्यता नभएको भन्दै आएका छन् । पुँजीवादी र संशोधनवादीले जे भने पनि चराचर जगत्लाई बदल्ने हो भने लेनिनवादी सङ्गठनात्मक सिद्धान्तमाथि आधारित कम्युनिस्ट पार्टी नै चाहिन्छ । यो कुरा सर्वव्यापी र सत्य छ ।

लेनिनलाई संशोधनवादी र अवसरवादीले पनि शत्रु ठान्ने गर्दछन् । लेनिनले सिद्धान्त र राजनीतिमा हुने अवसरवादी संशोधनवादमाथि निर्मम र सम्झौताहीन सङ्घर्ष गर्नुका साथै तिनको पर्दाफास गरेका थिए । त्यस बेला प्रचलनमा रहेको अनुभवसिद्ध आलोचनाको प्रतिक्रियावादी दर्शनले विश्वमा नकारात्मक असर पारेको थियो । स्वयम् रुसमा समेत त्यस दर्शनलाई आधार बनाएर मार्क्सवादी भनेर चिनिने दार्शनिक तथा सिद्धान्तकारले समेत मार्क्सवादका विरुद्ध आफूलाई उभ्याउन पुगेका थिए । लेनिनले ती सबैको भण्डाफोर गरेका कारणले दार्शनिक रूपमा नै सर्वहारा वर्गलाई अन्योलमा पारेर आफ्ना दिन सुधार्न खोजेको बुर्जुवा वर्ग नाराज हुनु ता स्वभाविकै थियो तर माक्र्सवादमा संशोधन गरेर अवसरवादको बाटो समाएका संशोधनवादीले समेत लेनिनले प्रतिक्रियावादी दर्शनमा गरेको खण्डनलाई मन पराएनन् ।

उनीहरूले लेनिनको कुरा मन नपराउनुमा मुख्य कुरा के थियो भने माक्र्सवादले द्वन्द्वात्मक भौतिकवादलाई स्थापित गरेको थियो र त्यसले सर्वहारा वर्ग र श्रमिक जनतालाई मुक्तिको बाटो देखाएको थियो । संशोधनवादीहरू माक्र्सवादको नाममा शक्ति सङ्कलन गरेर पुँजीवादीसित सहअस्तित्व कायम गर्न चाहन्थे तर लेनिनले उनीहरूको त्यस प्रकारको दार्शनिक समझदारीलाई पूरा भण्डाफोर गरिदिए र द्वन्द्वात्मक भौतिकवादको रक्षा गर्नुका साथै त्यसलाई कार्यान्वयनमा लैजाने काम गरे ।

लेनिनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको नेतृत्व गरेका थिए । दोस्रो इन्टरनेसनलमा पैदा भएका सबै खाले अवसरवादका विरुद्ध लेनिनले सम्झौताहीन सङ्घर्ष गरे र काउत्स्कीको अन्धराष्ट्रवादको विरोध गरेर साम्राज्यवाद विरोधी सिद्धान्त प्रतिपादन गरे । उनले रुसी सर्वहारा वर्गको क्रान्तिको नेतृत्व गरे र त्यसलाई सफल पारे । त्यो कार्य माक्र्सवाद प्रयोगको अत्यन्त उच्च चरण थियो । त्यो क्रान्तिबाट समाजवाद स्थापना भएको थियो जसले साम्यवादको पनि ढोका खोलिदिएको थियो र विश्व सर्वहारा वर्गमा आशा र विश्वासको द्वीप सल्काएको थियो । उपर्युक्त कारणले गर्दा संशोधनवादीको उद्देश्य पूरा हुन पाएन । त्यसरी संशोधनवादीलाई लेनिन तगारो बन्न गए । त्यसैले संशोधनवादीले पनि उनलाई रिस र विरोध गर्ने गर्दछन् ।

लेनिनलाई रिस गर्ने अर्को मुख्य कारण उनले सर्वहारा वर्गको अधिनायकत्वलाई स्थापित गरे । यो कुरा पुँजीवादी र संशोधनवादी दुबैलाई मन परेको थिएन र छैन । सर्वहारा वर्गलाई शक्तिसम्पन्न बनाउने लेनिनको सैद्धान्तिक र सङ्गठनात्मक योगदानका कारण सर्वहारा वर्ग निकै शक्तिशाली र समृद्ध भएर अगाडि आयो । युगौँदेखि सर्वहारा वर्गमाथि शोषण गरिरहेका पुँजीवादीलाई लेनिनको त्यस प्रकारको योगदान मन पर्ने कुरा पनि भएन । सर्वहारा वर्ग शक्तिशाली भएर सत्ता सञ्चालन गर्ने भयो भने आफ्नो रजगज र स्वर्ग मासिन्छ भन्ने कुरा उनीहरूले बुझेका थिए । त्यसरी तर मार्न नपाइने भएपछि उनीहरूले लेनिनलाई दुस्मन मान्नु कुनै नौलो कुरा भएन ।

संशोधनवादीले पनि लेनिनवादी ढाँचाको सङ्गठन र लेनिनवादी सिद्धान्तअनुरूपको व्यवहारमा आफूलाई अड्याउन सकेनन् । उनीहरूले मार्क्सवादको आवरणमा सर्वहारा वर्गको अधिनायकत्वलाई नमानेर पुँजीवादीसित सहकार्य खोजेकाले लेनिनवादले बाधा उत्पन्न गरायो । त्यो अवस्थामा पनि उनीहरूले लेनिनलाई दुस्मन सम्झिनु नियति बन्न गएको छ ।

लेनिनवादी सिद्धान्त वैज्ञानिक सिद्धान्त हो । यसले मानव समाजका विसङ्गति र विकलाङ्ग परिस्थितिलाई राम्रोसँग देख्न सक्दछ । समाजको वर्गीय अवस्थालाई द्वन्द्वात्मक प्रकारले बुझ्न सक्ने हैसियत राख्दछ र सर्वहारा वर्गलाई चिन्दछ । क्रान्तिका दुस्मन र मित्रलाई राम्रोसँग छुट्याउन सक्दछ । ठोस स्थितिको ठोस विश्लेषण गरेर पार्टीको कार्यदिशा निर्धारण गर्ने हैसियत राख्दछ ।

लेनिनले रणनीति र कार्यनीतिसम्बन्धी निर्धारण गरेको सैद्धान्तिक मान्यताले विश्व कम्युनिस्ट आन्दोलनमा नयाँ आयाम थपिदियो । क्रान्तिका कामलाई व्यवस्थित रूपमा गर्नका लागि त्यो सिद्धान्तले सर्वहारा वर्गको मार्गलाई सहज र सुगम बनाइदियो । त्यसैले गर्दा यो वैज्ञानिक सिद्धान्त हो । यसले समाजलाई परिवर्तन गर्नका लागि मागदर्शन गर्दछ ।

सर्वहारा वर्गले क्रान्ति गर्नुपूर्व कैयौँ वैधानिक आन्दोलनमा भाग लिनुपर्दछ । त्यो अवस्थामा सामाजिक सुधारका लागि विभिन्न सङ्घर्ष गर्नुपर्ने आवश्यकता हुन्छ ।

लेनिनवाद राजनीतिक तहका विभिन्न तहमा गएर राज्ययन्त्रलाई सकारात्मक र जनतामैत्री बनाउनका लागि भूमिका खेल्न महान् दर्शन हो । त्यही दर्शनमा टेकेर क्रान्तिकारी कम्युनिस्टले क्रान्तिको लक्ष्य पनि पूरा गर्न सक्ने छन् ।

रुसी क्रान्तिको केही वर्षभित्र नै लेनिनको मृत्यु भएको थियो । त्यसपछि लेनिनवादको रक्षा गर्ने काम स्टालिनले सफलतापूर्वक गरे तर स्टालिनको पनि मृत्यु भएपछि संशोधनवादीहरू शक्तिमा आए । उनीहरूले स्टालिनलाई बदनाम गर्न पूरा तागत लगाए नै, लेनिनवादका आधार पनि ढाल्ने काम सुरु गरे । रुसी संशोधनवादीका विरुद्ध चीनमा माओले महान् बहसको अस्त्र चलाए र त्यसले विश्व कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी दिशाबाट रक्षा गर्ने काम गर्‍यो तर माओको मृत्युपछि भने विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थातिर धकेलियो । माओको मृत्युलगत्तै चीनमा भएको प्रतिक्रान्तिले त्यस प्रकारको स्थिति सिर्जना गरिदिएको थियो ।

त्यसैले मार्क्सवाद–लेनिनवाद–माओ विचारधाराको रक्षा गर्ने कुरा विश्वका क्रान्तिकारी कम्युनिस्टको काँधमा आइपुग्यो । यो अवधि त्यस्तो रहेको थियो कि विश्वका समाजवादी व्यवस्थामा पुँजीवादीकरण भएको थियो र त्यहाँका कम्युनिस्ट शासकले पुँजीवादसित सहअस्तित्व र सहकार्य नीतिअनुसार सम्बन्ध अगाडि बढाइसकेका थिए । त्यसले गर्दा पछिल्लो समयमा क्रान्तिकारी सिद्धान्तको रक्षा गर्ने कुरा पनि निकै जटिल र चुनौतिपूर्ण बन्न गएको थियो तर पनि नेकपा (मसाल) ले रुसी संशोधनवाद र चिनियाँ संशोधनवादका विरुद्ध झन्डा उठाएर क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई बढाउने काम गरेको थियो ।

अहिले विश्वव्यापी रूपमा साम्राज्यवादको हालीमुहाली चलिरहेको छ । समाजवादको ठुलो किल्लाको रूपमा रहेका भूमिमध्ये लेनिनले मार्क्सवादलाई कार्यान्वयन गरी क्रान्ति गरेको र स्टालिनले सर्वहारा अधिनायकत्वलाई व्यवहारमा उतारेको रुसभूमि साम्राज्यवादमा पतन भइसकेको छ भने त्यसै गरी रुसी संशोधनवादका विरुद्ध झन्डा उठाएको माओको चीनभूमि पनि आज साम्राज्यवादमा पतन भएको छ । यसरी विश्व राजनीतिक व्यवस्थाका सम्पूर्ण संयन्त्रमा साम्राज्यवादले प्रभाव कायम गरेको छ । त्यो अवस्थामा पनि अहिले साम्राज्यवादका विरुद्ध निर्णयात्मक युद्धका लागि निर्णय दिने र पथप्रदर्शक सिद्धान्त भनेको लेनिनवाद भएको नि:सन्देह छ ।
लेनिनले नै साम्राज्यवादको विश्लेषण गरेर त्यसका विरुद्ध सङ्घर्ष गर्ने मार्गदर्शन गरेका छन् । यदि आजको युग साम्राज्यवाद हो भने त्यसका विरुद्ध सङ्घर्षको हतियार लेनिनवाद नै हो । त्यसैले आजको युग लेनिनवादको हो ।

साम्राज्यवादीको प्रशासन चलिरहेको बेलामा त्यसका विरुद्ध सङ्घर्ष गर्ने साधन लेनिनवाद हो भन्ने कुरा थाहा पाएर पनि लेनिनवादी सिद्धान्त नमान्नुको अर्थ साम्राज्यवादी यन्त्रको रूपमा काम गर्नु हुन्छ । त्यसैले कम्युनिस्ट नामका समूहले लेनिनवाद मान्ने गरेका छैनन् भने त्यो त सरासर साम्राज्यवादी यन्त्र बन्नु नै हो यद्यपि कतिपय मुलुकमा देशभक्त र राष्ट्रवादी सरकारले साम्राज्यवादका विरुद्ध आफूलाई उभ्याएको पनि पाइन्छ तर त्यो निर्णयात्मक युद्धको फैसलाद्वारा होइन, शान्तिपूर्ण विरोधको रूपमा रहेको छ तर त्यसलाई पनि साम्राज्यवाद विरोधी सङ्घर्षको अवस्थामा सकारात्मक मान्नुपर्दछ ।

आज विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । यही बेलामा नै हामीले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका लागि काम गर्नु परिरहेको छ । धेरै कठिनाइ र चुनौतीको सामना गरेर, तिनीहरूसित जुधेर, तिनीहरूलाई परास्त गरेर क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनुपर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा आएको छ ।

निश्चय पनि क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई सङ्गठित गर्नका लागि प्रयत्न हुँदै आएका छन् । त्यो सन्दर्भमा रिमको निर्माण भएको थियो तर त्यसले ट्राटस्कीवादी बाटो लिइसकेपछि त्यसको विरुद्ध सङ्घर्ष गरेर नेकपा (मसाल) ले मार्क्सवाद–लेनिनवाद–माओ विचारधाराको रक्षा गर्ने साहसिलो र ऐतिहासिक कदम उठायो । त्यो ऐतिहासिक र गर्विलो इतिहासको कालखण्डबाट हामीले हाम्रो पार्टीको आन्दोलनको समेत रक्षा गरेर त्यसलाई अगाडि बढाउँदै आएका छौँ । हामीले लेनिनवादको झन्डा दृढतापूर्वक नउठाएको भए हामीले रिममा आएको त्यो भड्कावका विरुद्ध सङ्घर्ष गर्न सक्ने थिएनौँ । कैयौँ सङ्गठनको जुन ढङ्गले पतन भएको छ, त्यसरी नै हाम्रो पनि पतन हुने थियो । त्यसैले सम्पूर्ण रूपमा अँध्यारो मात्र पनि छैन, लेनिनवादको झन्डा उठाउने सङ्गठन पनि अहिलेको विश्वमा रहेका छन् तर यति मात्र हो कि उनीहरूले आफ्नो शक्तिलाई बढाएर लैजानुपर्ने छ ।

आजका सकारात्मक पक्षप्रति पनि हाम्रो ध्यान जानुपर्दछ । साम्राज्यवादका विरोधी मोर्चा निर्माण हुन थालेका छन् । क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको विकासका लागि आइसी सक्रिय अवस्थामा छ र साम्राज्यवाद विरोधी शक्ति निर्माण गर्ने हेतुले आइसिओआरको भूमिका पनि बढ्दै गएको छ । साम्राज्यवाद अस्थायी कुरा हो । यसको विनाश अवश्यम्भावी छ । यो आफैभित्रको चरम सङ्कटका कारण ध्वस्त हुने हो र राष्ट्रिय क्रान्ति र मुक्ति आन्दोलनले ठाउँ लिँदै जाने छन् । संसारभरि राष्ट्रिय क्रान्ति र मुक्ति आन्दोलनको विकास हुने कुरालाई कसैले पनि रोक्न सक्दैन । लेनिनवादको झन्डा उठाएर मुक्तिकामी जनताले साम्राज्यवादमाथि धाबा बोल्ने छन् र अन्तमा समाजवादको विजय हुने कुरा निश्चित छ ।

(२०८० वैशाख ९ गते लेनिन दिवसको अवसरमा आयोजित एक कार्यक्रममा दिइएको मन्तव्यको सारांश । सम्पादन : रामप्रकाश पुरी)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार