बङ्लादेशको विभिन्न सरकारी वेबसाइट ह्याक

ढाका । बङ्गलादेशमा चर्किरहेको आरक्षण विरोधी आन्दोलका बिच बङ्लादेशको प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैङ्क र प्रहरीको आधिकारिक वेबसाइट ‘द रेजिस्टेन्स’ नामक समूहद्वारा ह्याक गरिएको छ ।

तीनओटै वेबसाइटमा “अपरेसन हन्टडाउन, विद्यार्थीको हत्या रोकौँ । अब यो विरोध मात्र नभई एक युद्ध हो” भनी रातो अक्षरमा समान सन्देश जारी गरिएको छ ।

सन्देशमा विद्यार्थीको शान्तिपूर्ण विरोध प्रदर्शनलाई सरकारलगायत राजनीतिक सहयोगीको क्रूर हिंसा र हत्याको सामना गर्नुपरेको उल्लेख गर्दै अब यो विरोध मात्र नभई न्याय, स्वतन्त्रता र भविष्यका लागि युद्ध भएको जनाइएको छ ।

समूहले तत्काल ह्याकर, ‘ओएसआइएनटी’ अन्वेषक र पत्रकारलाई आफ्नो उद्देश्यमा सहभागी हुन आह्वानसमेत गरेका छन् ।

“न्यायका लागि लडाइँ सुरु भइसकेको छ, तयार रहनुहोस्” ह्याकररूले चेतावनी दिएका छन् ।

उनीहरूको बारेमा विवरण उल्लेख नगरी पाँच जना पुरुष र दुई ओटा कुकुरसहितको तस्बिर वेबसाइटमा प्रस्तुत गरिएको छ ।

बङ्गलादेशमा सन् १९७१ मा स्वतन्त्रताको लडाइँ लडेकाको सन्तानका लागि प्रदान गरिएको ३० प्रतिशत आरक्षण कोटा प्रणालीको सुधारको माग गर्दै विद्यार्थीहरू लामो समयदेखि आन्दोलनमा रहेका थिए । (रासस/एएनआई)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार