महेन्द्र बस्याल
आज विश्व कोरोना भाइरसबाट आक्रन्त भएको छ, तर यो नयाँ रोग भने हैन । यो १९६० को दशकमा पहिचान भइसकेको थियो । कोरोना भाइरसका धेरै प्रजाति छन् ती मध्ये अहिलेको नोवल कोरोना हो । यो भाइरस विश्वका अधिकांश देशहरुरुमा फैलिएको छ तर, उत्तर कोरिया लगायत केही देशहरू केरोना भाइरसबाट बचेका पनि छन् ।
यो कोविड– १९ को विश्वब्यापी उद्धगम विन्दु चीनको हुवान प्रान्त भएको बताइन्छ । यसले करिव डिसेम्वर २०१९ को अन्त्य तिरबाट विश्व महामारीको रूप लिइरहेको छ । अहिले विशेष गरी अमेरिका, युरोप र एशियन देशहरूमा प्रकोप बढिरहेको छ । विश्वका कैयन देशहरू कोरोना भाइरसबाट बच्नको लागि विभिन्न प्रकारका उपायहरू गरिरहेका छन् । ति मध्ये लकडाउन एक प्रभावशाली उपाय हो ।
भारत र नेपालले पनि आफ्ना जनतालाई कोरोना जस्तो घातक भाइरसबाट सुरक्षित राख्न जो जहाँ छ, त्यहीं सुरक्षित रहन लकडाउन लगायतका कैयन उपायहरू अपनाइ रहेका छन् । नेपाल–भारत १९५० को सन्धि अनुसार खुला सीमाना र विना रादानी दुवै देशका जनता एक अर्को देशमा रोजगारी तथा अन्य कामकाजको लागि जाने आउने गर्दछन् । दुवै देशका मानिस कुन देशमा के कति छन् भन्ने कुनै तथ्यांक छैन । को कति बेला आवत जावत गर्छन् त्यो पनि थाहा हुँदैन ।
तर अहिले कोरोना भाइरसका कारण सीमाना लकडाउन भए पछि एकअर्का देशमा रहेका मझौला खालका सरकारी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने मजÞदूरहरू मध्ये पनि खास गरि साना होटल, रेस्टोरेन्ट र दैनिक ज्याला तथा मोवाइल विजनेश गर्नेहरूलाई ठूलो मर्का परिरहेको अवस्था छ । बन्द व्यापार लकडाउनको चपेटमा परेपछि एकाधलाई छाडेर धेरै जसो मजदूरहरूलाई नत काम छ, नत बस्न खानाको व्यवस्था नै छ ।
यस्तो दर्दनाक परिस्थिति सृजना भए पछि रूँदै कराउँदै आफ्नो देशको सीमाना तर्फ लाग्नु स्वभाविक कुरा थियो र कैयन नेपालीहरू बिभिन्न सरकारी तथा गैरसरकारी दलालहरूसँग ठगिँदै नेपाल–भारत सीमानासम्म त पुगे तर त्यहाँ पुगे पछि विश्व स्वास्थ्य संगठनको प्रोटोकल तथा दुबै देशको लकडाउन आचारसंहिता अनुसार नेपाल प्रवेशमा रोक लगाइयो । कतिपय नदीमा पौडी खेलेर त, कतिपय लुकी छिपी नेपाल प्रवेश गरे । तर धेरै जसो नेपाली मजदूरहरू सीमानामा कष्टदायक जीवन विताइरहेका छन् ।
१४ दिनको क्वारेन्टिन सकिए पछि देश प्रवेश गर्न दिने नेपाल सरकारले जनाएको छ । एवं प्रकारले भारतीय मजÞदूरहरू पनि ठूलो संख्यामा नेपालमा क्वारेन्टिनमा बसेका छन् । तर सीमानामा पुगेका जनतालाई देश प्रवेश गराएर सम्मानजन ढंगबाट नेपाल मै क्वारेन्टिनमा राख्नु पर्ने थियो तर त्यो बिषयमा उचित निणर्य गर्न नसक्नु सरकारको तर्फबाट ठूलो कम्जोरी भएको छ । सीमानामा पुगेकालाई पनि उचित व्यवस्थापन गर्दैन भने भारतमा रहेकालाई त झन् के गर्ला ? यो सरकारको लाचारिपन हो, तर अर्को पक्ष लकडाउन भएको अवस्थालाई सामान्य सोचेर कुनै समाज संगठन तथा सरकारसँग बिचार बिमर्श नगरिकन जतापायो त्यतै हिड्न पनि हुँदैन किन की लकडाउन तोड्नु भनेको एक प्रकारले घातक केरोना भाइरसको शिकार हुनु पनि त हो । तसर्थ हामी सबैले धैर्यतापूर्वक सोंच्नु पर्दछ ।
अहिले पनि भारतमा धेरै नेपाली मजÞदूरहरू लकडाउनको चपेटामा परिरहेको अवस्था छ । लकडाउन सकिन्छ र काम गरौंला भन्ने आशामा बसेका नेपाली मजÞदूरहरू धेरै छौं । भारतको कोरोना भाइरस संक्रमण र मृत्यु दरको सिनारीयोलाई हेर्दा दिन प्रतिदिन बढिरहेको अवस्था छ । दुःखको कुरा भारतको बेंगलोरमा कार्यरत दुइजना नेपाली मजदूरहरूलाई लन्डनबाट आएको आफ्नो मालिकबाट कोरोना सरेको छ र उनीहरू अहिले उपचार गराइ रहेका छन् ।
अहिलेको अवस्थामा लकडाउन बढ्न पनि सक्ने छ । यदि लकडाउन बढेमा मजदूरहरूलाई खान बस्नको लागि भयावह स्थिति नआउला भन्न सकिंदैन । तसर्थ नेपाल सरकारले भारतमा रहेका मजदूरहरूलाई कुटनीतिक नियोग, सामाजिक संघ संस्थाहरूको सहायतामा पैचान गर्ने र भारत सरकारसँग मजदूरहरूको हकहित र सुरक्षाका लागि गंभीरतापूर्वक भरपर्दो ब्यवस्था मिलाउन उचित कदम चालिनु पर्दछ ।
सरकारले रेमिट्यानसको मात्र हिसाव निकालने तर जनताको हिसाव निकाल्न नखोज्ने कस्तो बिडम्वना हो यो ? भारतमा नेपाली कामदारहरूको जागीर गयो भने रेमीट्यान्स यति प्रतिशत घट्न सक्छ भनेर चिन्ता ब्यक्त गर्न सक्नि तर नेपाली मजदूरहरूलाई आइपरेको आपत्तिसँग बेखबर रहने । आपतको घडिमा सरकार जनताको पक्षमा बोल्दैन भने त्यो सरकारको के आशा गर्ने ? यो आपतको घडिमा राजदूतावासले पनि भारतमा रहेका विभिन्न सामाजिक संगठनहरूसँग भेटघाट हुन नसके पनि अनलाईन मार्फत नै भए पनि सुझाव सल्लाह दिने र धैर्यधारणाको लागि अपील गर्नेसम्मको प्रभावशाली काम हुन सकेको छैन ।
भारत भरीबाट कैयन नेपाली मजदूरहरूले हाम्रो संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई सोध्ने गरेका छन् । लकडाउन कहिले खुल्छ ? लम्बिन्छ कि नाइ ? नेपाल जाने रेलको टिकट कहिले खुल्छ ? जान सकिन्छ या सकिंदैन ? नेपालको सीमाबाट प्रवेस दिन्छ या दिंदैन । कोरोना भाइरसको अवस्था कस्तो छ ? हाम्रो अवस्था दयनीय छ हामी के गरौ ? खान बस्नको समस्या छ, संगठनले के गर्न सक्छ ? जस्ता प्रश्नहरू दिन प्रतिदिन कानमा गुन्जिरहेका छन् । गुन्जिन पनि किन नगुन्जियोस् अहिलेको अवस्था नै यस्तै छ ।
पहिलो कुरा हामीले अहिलेको समस्यालाई दुइ चरणमा बाँडेर हेर्नु पर्दछ । ‘अनिकालमा बिउ जोगाउनु, हुलचालमा ज्यू जोगाउनु’ भने झैं पहिलो प्राथमिकता घातक कोरोना भाइरसबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने नै हो । दोश्रो यहाँ रहदासम्म खान, बस्न र नेपाल कहिले र कसरी जान सकिन्छ भन्ने समस्या हुन् । यहाँनेर छोटो समयको लागि लकडाउन खुल्यो ल मान्नुस् तर सिमित समयको लागि खुल्ने लकडाउन पछि यदि गाड़ी चले पनि भिड़भाडको साथ चल्ने सम्भावना देखिन्छ ।
त्यो समयमा हामी जोखिम लिएर रेल चढ्न उचित हुन्छ कि हुँदैन ? यति दिन लकडाउनमा बसेर सुरक्षित रहेको मानिस कतै रेलको भिडभाडमा कोरोना संक्रमित भइने पो हो की ? आफू त जोखिम मोलियो मोलियो परिवार पनि जोखिम मोल्न बाध्य हुनेपो हुन् कि ? बसे भोकै मर्ने, गए कोरोनाले पो मर्ने हो की ? यस्ता समस्याले सबैलाई पिरली रहेको छ । यी बिषयमा गंभीरतापूर्वक सोंच्नु पर्छ । यो हाम्रो जीवनको (टर्निङ पोइन्ट) निर्णायक विन्दु पनि हुनेछ । यस बिषयमा समाज चनाखो भएकै छ । यदि लकडाउन खुलेमा र सहज अवस्था देखिएमा समाजले घर जान इच्छुकहरूलाई जानकारी गराउने छ ।
हाम्रो संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतका बिभिन्न शहरहरूमा लकडाउनमा परी खान, बस्न र दुःख विमार भइ आपत विपतमा परि सम्पर्क भएका धेरै जसो स्थानमा आवश्यकता अनुसार सहयोग प्रदान गर्दै आएको छ । अर्को तिर स्थानीय प्रशासनसँगबाट पनि सहयोग उपलब्ध गराउने काम भइरहेको छ ।
यदि कहिं कतै त्यस्ता साथीहरू भएको अवस्थामा पनि संगठन समक्ष आफ्नो समस्या राख्नका लागि नहिचकिचाउनु समेत हाम्रो संगठनले लगातार आव्हान गर्दै आएको छ । यस आपतको घडिमा हामीले सबैसँग मिलेर काम गर्नु पर्छ भन्ने मान्यता अनुसार भारतमा रहेका विभिन्न संघ संस्थाहरुका साथीहरूसँग पनि एक आपसमा सम्पर्क तथा छलफल भइरहेको छ । एकल वा संयुक्त जहाँ जे सम्भव हुन्छ, आपत विपतमा परेकाहरुलाई राहत प्रदान गर्ने कार्यबाट हामी कहिंकतै पछि परेका छैनौं ।
भारतमा कार्यरत नेपाली मजदूरहरू तपाई हामी होशियार रहनुको बिकल्प छैन । हुनत कोरोना भाइरस लाग्दैमा मरी हाल्ने भन्ने हैन । सामान्य रूपमा हेर्यौ भने पनि अहिले विश्वमा करिव १६ लाख कोरोना विरामी छन् ती मध्ये ९६ हजारको मृत्यु भएको छ र करिव ४ लाख विरामीहरु निको भइसके भने कतिपय निको हुँदै पनि छन् ।
अब छिट्टै केरोनालाई बैज्ञानिकहरूले कन्ट्रोल गर्न सकिने कुरा बताइरहेका पनि छन् तर हामी होशियार भने अतिनै हुनुपर्छ किन भने स्थित दयनीय छ । सामान्य खोकी, हाछ्यूँ गरे कोरोनाको शंका गर्छन् । अन्य बिरामी भएर हस्पिटल गए पनि कोरोना कै शंका छ भनेर उम्कन खोज्छन् । ठूलो आपत छ । यस विषम परिस्थितिमा रोग लागे पछि उपचार गराउनु भन्दा रोगको बाटो नै छेक्नु उत्तम हुन्छ ।
तसर्थ स्वास्थ्य सम्बन्धी नीति नियम भित्र रहेर स्टे होमको नीतिलाई पालना गर्नु पर्छ । व्यायम गर्नु, सरसफाईमा ध्यान दिनु, पटक–पटक तातो पानी पिउनु राम्रो हुन्छ । हरपल सहजक रहनु नै बच्ने राम्रो उपाय हो । स्वास्थ्य नै धन हो भने झैं यो समय धन ठूलो देख्ने र हतारमा निर्णय लिने समय होइन ।
(लेखक मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य हुनुहुन्छ ।)