कोरोना, लक्डाउन र बिपद

रामप्रसाद पौडेल

शोषणको चरम रुपबाट गुज्रिरहेका मजदुर बर्गलाई भन्दा बढी चिन्ता शोषणको माध्यमबाट आफ्नो हैसियतलाई अझै विश्वब्यापी (साम्राज्यवाद) बनाउने होडमा लागिरहेका मुलुकहरूको समेत निन्द्रा खल्बल्याउने गरि गत डिसेम्बरमा चीनको बुहान शहरबाट उत्पत्ति भएको एउटा जिबाणुले विश्वसामु यति ठुलो आपत र बिपत निम्त्याउला भनेर कसैले शायदै सोंचेको थियो होला । बिज्ञान र प्रबिधिले यति ठुलो छलाङ मार्दै हर चिजको समाधान सम्भब छ यो दुनियाँमा, भनेर आवाज बुलन्द गर्दै हिंडिरहेका बैज्ञानिकहरु पनि आज यो कोविड–१९ भन्ने किटाणुबाट मुक्ति दिलाउने औषधी पत्ता लगाउन सकिरहेका छैनन् । यो सारा विश्व र मानब जगतको लागि निकै ठुलो निराश र चिन्ताको बिषय बनेर छायको छ ।

जताततै भय त्रास र अन्यौल छ । यहाँसम्म कि सामान्य रुघाखोकी लाग्दा समेत समाजमा या स्वास्थ्य कर्मीहरु पनि तर्सने र रुघाखोकीको, सामान्य ज्वोरोको उपचार नपाई ज्यान गुमाउनु परेको हृदय बिदारक घटनाहरु पनि तपाई हामीले देख्दै र सुन्दै आइरहेका छौं । यसको ताजा र प्रतिनिधि घटना रुपन्देहीको मुर्गिया निबासी ३४ बर्षिय बाबुराम थापाको हो । उनी केहि समय पहिले दुबईबाट फर्केका थिए । आफ्ना परिवार सहित सैनामैना नगरपालिकाको मुर्गियामा भाडामा बस्दै आएका थिए । उनी मुलतः पाल्पा निबासी थिए । अकस्मात उनलाई रुघाखोकी र ज्वोरो आयो, त्यतिबेला नेपालमा लकडाउनको घोषणा भैसकेको थियो । बाहिर हस्पिटल सजिलोसँग जानसक्ने अवस्था थिएन, उनी मद्दत माग्न पुलिस प्रशासनसँग गए । प्रशासनले बुटवलको लुम्बिनी प्रादेशिक अञ्चल हस्पिटलसम्म जानका लागि गाडीको ब्यबस्था मिलाइ दिए । उनी एक्लै त्यता लागे, तर हस्पिटलमा पुगिसकेका उनलाई डाक्टरले कुनै किसिमको चेकजाँच नगरी कोरेन्टाइनमा राखे त्यसपछी उनको स्याम्पल निकाली जाच्न पठाइयो तर यता उनको रिपोर्ट नआउँदै मृत्यु भयो । रिपोर्ट नेगेटिभ आयो । बड बिडम्बनाको कुरा मृत्यु पछि रिपोर्ट आउने बिरामी ज्वोरोको प्यारासिटामोल नपाई ज्यान गुमाउनु पर्ने ? बिज्ञान र प्रबिधिको यतिबिधी बिकास भएको युगमा हाम्रो देशमा रुघाखोंकी र टाइफाइडको औषधि नपाएर ज्यान फाल्नु पर्ने दयनीय स्थिति सिंगो २१औं सताब्दीको मानब सभ्यता भित्रको लज्जास्पद घटना हो ।

यस्ता घटनाहरु जहाँ त्यहि बर्ग्याल्तै देख्न र सुन्न पाइन्छ । अन्य ठाउँमा पनि कोहि ब्यक्ती छिकेको, खांसेको सुन्यो भने च्याहेर हेर्ने, खास्खुस गर्ने जस्ता त्रसित र भएका आवाजहरु निस्किने गरिरहन्छन् । यसरी अहिलेको बिकसित चिकित्सा शास्त्र र प्राणाली भित्र नै दयनीय अवस्था देखिनु विश्व समुदायको लागि ठुलो चिन्ता र चुनौतीपूर्ण बिषय बनेको छ ।

खासमा कोविड–१९ भन्ने जिबाणुले पार्ने असर भनेको स्वासप्रश्वास प्रणालीमा नै रहेछ । जुन कुरा चिकित्सकहरुले बताइनै रहेका छन् । जब त्यो कोरोना नामक भाइरस नाक र मुखबाट फोक्सो भित्र प्रवेश गर्छ अनि संक्रमण सुरु हुन्छ । सबभन्दा पहिला हामीले ध्यान दिनुपर्ने कुरा के हो भने हाम्रो दैनिक जीबनमा सबैभन्दा बढी बाहिरी चलखेल र कार्यसम्पादन गर्ने हात भएको हुँदा हातमा बाहिरका किटाणुहरु टासिएर आउने गर्दछन् र नाक, मुख र आँखा छोयो भने त्यहिबाट संक्रमण फैलिने सम्भावना रहेकाले नाक, मुख र आँखा नछुने भनेको हो । साथै नियमित साबुन पानीले हात २० सेकेन्डसम्म धुने, सेनेटाइजरको प्रयोग गरिरहने भनेकोे त्यहि कारणले हो । अपबादको रूपमा ज्वोरो नआएको टाउको नदुखेको र रुघाखोंकी नलागेको मानिसमा पनि यो भाइरसले संक्रमण गरेका घटनाहरु पाइएका छन् । त्यस्ता लक्ष्यणहरु नदेखिनुको कारण के हो भने इम्मुनिटी शक्ति बढी भएका मानिसहरुले संक्रमणसँग सजिलोसँग प्रतिकार गर्न सक्छन् । जब प्रतिरोध क्षमता शरिरमा प्रयाप्त मात्रामा हुन्छ भने त्यसले कुनै असर पार्न सक्दैन, असर पार्न नसके पछि संक्रमित भए पनि छिटो निको लाग्छ । दिर्घकालीन रोगीहरु जो मुटुको रोग, रक्तचाप, मधुमेह जस्ता रोग लागेको मानिसमा प्रतिरोधात्मक क्षमता कम हुने हुनाले नै त्यस्तै बिरामी संक्रमित भए भने जोखिम धेरै हुदो रहेछ । त्यसो भएको हुनाले यो विश्वमा फैलिएको महामारीको रोकथाम कसरी गर्ने भन्ने तिर नै सचेत हुन जरुरी छ । किनकी बिरामी भए पछि औषधी छ क्यारे निको होलानी भनेर आशा गर्ने अवस्था छैन । त्यसैले सबैभन्दा ठुलो कुरा सतर्क र सजग हुनु नै हो । सतर्क र सजग हुनका लागि बारम्बार साबुन पानीले हात धोइराख्ने, स्यानेटाइजको प्रयोग गर्ने, सामाजिक दुरि कायम गर्ने, बाहिर ननिस्कने, निस्कन पर्यो भने मास्कको प्रयोग गर्ने, लक्ष्यणहरु देखिएमा डक्टरको सल्लाह लिहाल्ने, कोरेन्टाइनमा बस्न तयार हुने आदि जस्ता निर्देशनहरुको राम्रोसँग पालना गर्नु पर्दछ ।

यो निर्देशनको पालना गर्नको लागि ब्यबहारिक प्रभाव भनेको लकडाउनको नीति नै हो । जब लकडाउनको अवस्था आउँछ, त्यो भनेको एक प्रकारको कर्फ्यु नै हो । जसमा मानिसहरुको घरबाट बाहिर निस्कने कुरा हुँदैन । सम्पुर्ण कलकारखाना बन्द गरिन्छन्, सिनेमा हल, होटल, रेस्टुरेण्ट, शपिङ माल, यातायात सबै बन्द गरिन्छन् । ताकी मानिसहरुको आबाजाही बन्द होस् ।

अहिले भारत र नेपालमा लकडाउन छ, यद्यपि यतिखेर सम्पुर्ण विश्वका अधिकांस देशहरूले यो तरिका अपनाउन ढिलो गरे । जस्तै इटली, अमेरिका, स्पेन, फ्रान्स आदि देशहरूले भारतले लकडाउनको बाटो अपनाए पछी धेरै पछि मात्र अपनाए, त्यतिखेरसम्म धेरै ढिला भैसकेको थियो । जसको कारण हजारौं मानिसहरुले ज्यान गुमाए । अमेरिकामा २० जनवरीमा कोरानाको संक्रमण भेटिएको थियो भने भारतमा ३० जनवरीको संक्रमण देखियो । यदि अमेरिकाले परिस्थिति जन्य हालतको सहि मुल्यांकन गरि लकडाउनको नीति लिएको भए आज लाखौं मानिसको ज्यान जाने जोखिमबाट बचाउन सकिन्थ्यो होला तर साम्राज्यवादी अमेरिकी राष्ट्रपतिले कोरोनाको कहरलाई ख्यालठट्टा संझी अटेरी गरे । हजारौंको मृत्यु भएपछी बल्ल गम्भीरतालाई स्वीकार गर्न बाध्य भए । यसले के देखाउँछ भने आफु सर्वशक्तिमान भएपछी दुनियाँको कुनै तागतले केहि असर पार्न सक्तैन भन्ने घमण्ड पनि आपदासँग हार्नु पर्छ ।

लकडाउन अहिलेको अबस्थामा एक मात्र बच्ने उपाय हो, तर समाधान भने पक्कै पनि होइन । किन भने अहिलेको यो परिबेशले हजारौं लाखौं मजदुरहरुको जीबन रेखालाई खल्बलि पार्ने कुरामा कुनै संदेह छैन । कम्पनिहरु बन्द, होटेल बन्द, ब्यबसाय बन्द भएको कारणले मजदुरहरुको दैनिक गुजाराको निमित्त बिषम परिस्थितिको सृजना हुँदा मजदुरहरु पलायन हुने खतरा तिब्र रुपमा देखिएको छ । एकातिर बिरामीको भय र त्रास अर्कोतिर आफ्नो गुजाराको निम्ती पनि गाह्रो हुँदै जानुले आम रूपमा असहज बाताबरणको सृजना हुनु स्वभाबिकै हो । त्यसैले ठुलो संख्यामा नेपाली मजदुरहरु लकडाउनको अबधिमा पनि पैदल यात्राको तयगरि नेपाल जाने क्रममा नेपाल भारत सीमामा अलपत्र परिरहेको अवस्था ठुलो भय र त्रासको उपज नै हो ।

एकातिर लकडाउनले संक्रमणको रफ्तारलाई त न्यूनीकरण गर्न सक्छ तर मजदुरहरुको बेरोजगारी हुने वा रोजगारबाट हात धनुपर्ने अबस्था माथी पनि गम्भीर रूपमा सरकारले ध्यान दिनुपर्ने आबश्यक्ता छ । यसमा सरकारले ल्याएको नीतिमा गैरसरकारी, विभिन्न संघ संस्थाको पनि एक्यवद्धता हुनु जरुरी छ । मानब समुदायको निमित्त खतराको घण्टी बनेर फैलिएको कोरोनाबाट मुक्ति पाउनको लागि सामुहिक रूपमा मिलेर काम गर्नुपर्ने अवस्था छ, तर अहिले कतिपय मानिसहरूले यस्तो महामारीको बिपतमा आरोप प्रत्यारोप लगाउने गरिएको पनि देखिन्छ । कतिपय मानिसहरुले नाकामा अलपत्र परेका नेपाली जनतालाई मूल प्रवाहले नेपाल भित्राउन सकेन, के हेरेर बसेको छ, कुरा मात्र गरेर हुँदैन आदि आदि आरोपहरु र टिका टिप्पणी विभिन्न सामाजिक संजालमा आउने गरेका छन् । पहिलो कुरा त मूल प्रवाह नै भारत प्रवासमा एउटा शसक्त संगठन हो भन्ने कुरामा दुईराय छैन । तर राज्य र शासन, प्रशासनले गर्न नसकेको कामलाई मूल प्रवाहले छिनोफानो गर्न सक्नुपर्छ भन्ने सोंच चाहिं सहि होइन । यस्तो सोंचाइले समस्याको चाङ चुल्याउदै जान्छ ।

मूल प्रवाहले भारतस्थित नेपालीहरुका हरेक समस्याका बाबजुद संघर्ष गर्दै आइरहेको छ । अहिलेको बिषम परिस्थितिमा पनि आम नेपालीहरुलाई सजग र सचेत गराउँदै आइरहेको छ । विभिन्न समय र सन्दर्भमा परिआउने समस्यासँग अग्रपंक्तिमा रहि संघर्ष गर्दै आइरहेको छ । अहिले पनि आम जनसमुदायको बिचमा देखिन सक्ने कठिन अवस्थाको बारेमा बिचार बिमर्श गर्दै सम्पुर्ण नेपालीहरुलाई धैर्यधारण गर्न सान्त्वना दिने र कहाँ के समस्या छ शेयर गरि समस्याको निराकरण गर्ने दिशामा काम गरिरहेको छ । विभिन्न किसिमका मुद्दा मामिलाहरुमा दखल पुर्याइ काम गरे पनि प्रशासनले गर्ने काम मूल प्रवाहले गर्न सक्ने कुरा भएन । त्यसैले बोर्डरमा अलपत्र परेका नेपालीलाई अहिले सरकारले नै उचित किसिमको ब्यबस्था मिलाउनु पर्ने माग मूल प्रवाहले गरिरहेको छ ।

लकडाउन खोल्दा बित्तिकै नेपाल जानका लागि धेरै नेपालीहरु प्रतिक्षामा छन् । तर समस्या यहाँ छ भने लकडाउन खुले पनि पुर्ण रुपमा भर्खरै खोल्ने सम्भावना देखिंदैन । रेलमा कसैले आरक्षण गराएको टिकट छ भने मात्र ४ घण्टा पहिले स्टेशनमा पुग्नु पर्छ, अनि सबै कुराको चेकजाँच भैसके पछि मात्रै रेलमा यात्रा गर्न पाउँने छन् । अब त्यसरी रेल चढेर गए पनि बोर्डर खुला भएन भने अनि कहाँ जाने ? समस्या जटिल छ । जनतन बोर्डर पार गरियो भने पनि प्रदेश, जिल्ला, नगरपालिका, गाउँपालिका अनि वार्डमा पुग्दासम्म सबै निग्रानी हुन्छ, अनि आफ्नो परिवारसँग बस्न पाइँदैन, अलग परिवारबाट टाढै २१ दिनसम्म कोरेन्टाइनमा बस्नु पर्छ । त्यो भन्दा उत्तम यहि जहाँ जसरी जुन अबस्थामा बसेका छौँ, त्यहिं अबस्थामा त्यसरी नै बस्दा अति उक्तम । अनि स्थिति सामन्य भएपछी जान चाहेका नेपालीहरु हतास र हतार नगरिकन योजना बनाएर जानु पर्छ ।

सामाजिक दुरि कायम राख्ने तर भावनात्मक दुरि नजिक बनाउने, हात पटक पटक धुने, सेनेटाइजेरको प्रयोग गर्ने, पिपिइको प्रयोग गर्ने, लक्ष्ण देखिना साथ चिकित्सकलाई बताउने, मौजुदा हेल्प लाइन नम्बरमा फोन गर्ने, स्थानीय प्रशासनसँग सामिप्यता कायम गरि उत्पन्न हुने समास्याको हल गर्न बाताबरण बनाउने विषयमा ध्यान पुर्याउनु पर्छ । लकडाउनको पुर्ण रूपमा पालना गरे मात्रै यो मानब सभ्यताको दुश्मनलाई परास्त गर्न सकिनेछ र यसरी बिपदको घडीमा धैर्यधारणको आबश्यता बढेर गएको छ ।

(लेखक ; मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिका अध्यक्ष हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार