कोविड–१९, केही पूरानै अनि केही नयाँ कुराहरु

सि.के. श्रेष्ठ (सोशियल थिंकर)
पहिले जानेकै केही कुराहरुबाट विषयको थालनी गरौं है । आज सारा विश्व कोविड १९ भन्ने महामारीको भूमरीमा परेको छ । यो महामारी फैल्याउने कोरोना नामक भाइरसले विश्वको सारा व्यवस्थालाई नै ठप्प पारिदिएको छ ।
औषधी विज्ञानले कोरोनालाई, जिवासमा होइन, लिविङ अग्र्यानिजम होइन तर बोसो जस्तै पदार्थ भनि ठहर गरेको छ । अनि यो पदार्थ थुकको छिटाद्वारा एक व्यक्तिदेखि अर्को व्यक्तिसम्म पुग्छ र संक्रमित बनाउँछ भनिएको छ । सिम्पल प्रोसेस छ, तर यसको आतंक भने विश्व व्यापी छ । न्यूक्लिएर हथियारको तुजुग देखाएर हामी विश्व कै मनिटर हौं भन्ने अहमकारी राष्ट्रहरु, इतिहास र ज्ञानको मुकुट लगाएर हामी संसारलाई नै दिशा निर्देश गर्छौं भन्ने बौद्धिक मस्तानहरु, अनि विपुल स्वर्ण भण्डार र आर्थिक समृद्धिको चरममा पुगेका मै हुँ भनेर फूर्किने धन कुवेर देशहरु आज इन्तू न चिन्तू बनेका छन् । किङकर्तव्य विमुड बनेका छन् । चन्द्रमाको धरातलमा टेकेर मंगल ग्रहमा झण्डा गाढन तम्सीएको मानव जातिलाई आज एउटा मामुलि बोसो जस्तो पदार्थको नगण्य, छुद्र कर्णले धराशायी बनाएको छ, घुँडा टेकाएको छ । मान्छेलाई मान्छेको औकात चिनाएको छ ।
फलस्वरुप घडी जस्तो २४ घण्टा छकछक चलिरहने विश्वका नामी गिरामी म्याट्रो पोलिशन शहरहरु आज चकमन्न छन्, हलनचल छन् । हुन त यो पनि सुनै कै कुरो हो, जाने कै कुरो हो, बुझे कै कुरो हो । अहिलेसम्म यो कोरोना भाइरसलाई निमिट्यान्नै पार्ने दबाई भने पत्तो लगाउन सकिएको छैन । त्यसतर्फ विश्वका तमाम देशहरुका प्रयास भने जारि छ, लागिपरेका छन् सबै, तर सफलता भने हात लागेको छैन । यो पनि टिवीले बताए कै कुरो हो, सबैले जाने कै, सुने कै कुरो हो । दबाई नपाइए पनि रोकथाम तथा प्रिभेन्शनका उपायहरु भने अनेक बताइएका छन् । जस्तै हात राम्ररी घरीघरी धुनु पर्छ, एक अर्कासित टासिएर बस्नु हुँदैन, सामाजिक दूरी कायम गर्नु पर्छ, सेनिटाइजेशन गर्नु पर्छ, अनि मास्क लगाउनु अनिवार्य छ इत्यादि इत्यादि इत्यादि । थाहा भएकै हो, सुनै कै हो र हामीले जाने कै कुराहरु हुन् ।
प्रायजसो सबै गाउँ बस्ती तथा शहरहरु तिर यी निर्देशहरु पुगिसकेका पनि छन् । हाम्रै स्थानीय स्तरमा पनि यी निर्देशहरु आइसकेका छन् । अब अक्षरस यी हिदायतहरुको पालन भइरहेको छ कि छैन, त्यो भने अर्कै कुरो हो । यसो बुझ्दामा कतिपय ठाउँहरुमा निर्देश पालन नभए कै बुझिन्छ । पालन भएका भए बाटा बाटामा भाटा लिएका पुलिसहरु किन उभिन्थे ? अनि यस्तो पनि देखिंदैछ, लाटाहरु चाहिं बुझेर घर भित्रै छन्, अनि बाठाहरु चाहिं नबुझेर भाटा खाँदैछन् बजार तिर । वैश्विक परिपे्रक्षमा पनि हे¥यौं भने पनि, अबुझ अनि अज्ञानीहरुका निम्ती डर नै उनीहरुको सुरक्षा कवज बनेको छ । अनि ज्ञानी र धेरै बुझ्नेहरुको निडरताले नै मृत्युलाई निम्ताई रहेको छ । यहिंबाट बुझ्नु पर्यो, विना कामको निडर भएर अकाल मै ज्यान गुमाउनु भन्दा बरु डरक्षरुवा भएर शुरक्षित घरभित्रै बस्नुमा धेरै बुद्धिमत्ता छ । घर मै बस्दा आफू बाचिन्छ, परिवार बाँच्छ, समाज बाँच्छ अनि देश बाँच्छ भने कसैले डरक्षरुवा भन्छ भने पनि भनिरहोस् । यो हो नयाँ कुरो । निडर हुनुभन्दा डरक्षरुवा हुनु जाति ।
उसरी नै कोविड १९ टेष्ट रिजल्ट पनि पोजेटिव आएको भन्दा नेगेटिव आएको नै राम्रो हो, अर्को नयाँ कुरो । पोजेटिव रिजल्ट भन्दा नेगेटिव रिजल्ट जाती । तर बाहिर ननिस्किए पनि गाउँघरको खबर भने चंखो भएर, सतर्क भएर राख्दै गर्नु पर्छ है । आफ्नो गाउँठाउँको चहलपहल, को आउँदैछ, को जाँदैछ लगायतका गतिविधिहरु माथि सबैले गिद्धे नजर राख्नु पर्छ । छेउका तथा छरछिमेकका गतिविधि, कतै विदेशबाट अथवा अन्य शहरहरुबाट आउने पाहुनाहरुले अहितकारी उपहारहरु, हार्मफूल गिफ्टसहरु त लिएर आएका छैनन् भन्ने कुरोमा सजग बन्नै पर्छ । सुन्दा खराब लागे पनि, उल्टो अर्थि जस्तो लागे पनि बहुजन हितय यो काम गर्नै पर्छ हामीले । यो पनि नयाँ कुरो हो है । यो महामारीको परिवेशमा अर्कोको चियोचर्चो गर्नु राम्रो कुरो हो ।
धेरैले एउटा प्रश्न घरिघरि गरेको पनि सुनिदैछ, १५ अप्रेलदेखि त लकडाउन खुल्ने रहिछ नि ? भन्ने । साँच्चै नै भन्ने हो भने यस प्रश्नको उत्तर सरकारले पनि दिन सक्दैन । यो त स्थिति माथि नै निर्भर गर्दछ । यो कुनै पार्टीले डाकेको हडताल त होइन, नत साप्ताहिक पूराण नै हो । जो म्याद पुरा भइसकेपछि सकिन्छ, अनि सबै आ–आफ्नो बाटो लाग्छन् । यो त विश्व कै विग्रिंदै गएको स्थितिलाई नियन्त्रणमा राख्नलाई गरिएको बन्द हो । अनि बन्दले स्थिति निकै नियन्त्रणमा आएको कुरो पनि सर्वविदितै छ । भोली खुला गर्दा, स्थिति अथाह अनियन्त्रित हुँदै गएमा त्यसको परिणाम अझ भयावह हुन सक्ने सम्भावना पनि छ । त्यसैले जसो जसो स्थितिमा सुधार आउँदै जाला, सोही रितले बन्द पनि विस्तारो खुकुलो हुँदै जाला । तर एउटा नयाँ सत्य के पनि छ भनेदेखि अबउसो मानव जातिले आफ्नो बचावको निम्ती अनुशासनमा रहेर कतिपय बन्देजहरुको संधैभरि पालन गर्ने मनस्थिति भने तयार गर्नै पर्छ । अहिले घडी हामी एउटा नयाँ काल विभाजनको संघारमा खडा छौं, इशुक्रिष्ट अघि विसी, इशुक्रिष्ट पछि एडीको हिसाबले काल विभाजन भएझैं अब हाम्रो काल पनि प्रि कोरोना र पोष्ट कोरोना कालमा विभाजन हुन सक्छ ।
पोष्ट कोरोना कालमा मान्छेको सोंचमा धेरै परिवर्तन आउन सक्छ । कोरोना अवधिमा भोगेको विकट स्थिति, ज्ञानको सिमित्ता, अनि असाह्यपनले जीवनलाई, समाजलाई र विश्वलाई नै हेर्ने दृष्टिकोणमा नयाँपन आउन सक्छ । विश्व मानव समाजले आफैलाई पुनः आविस्कार गरेर प्रकृतिप्रेमी अनि प्रकृतिमुखी बन्ने सम्भावनाहरुलाई पनि नकार्न सकिन्न ।
अझै अर्को थप नयाँ जानकारी पनि छ, जो धेरैलाई थाहै छैन । यो कोरोना भन्ने पदार्थ (भाइरस) चरम दार्जको सेकुलर छ है । यो धर्म निरपेक्ष मात्र हैन, जाति निरपेक्ष, वर्ग निरपेक्ष, वर्ण निरपेक्ष, विचार निरपेक्ष, पार्टी निरपेक्ष पनि छ । यसले हिन्दू, मुसलवान, बौद्ध, क्रिष्चियन, काँग्रेस, भाजपा, कम्यूनिष्ट, धनी, गरिब, सवर्ण, दलित कसैलाई छुट्टयाउँदैन । सबैलाई बराबर आतंकित पार्छ अनि बराबरै सिकार पनि बनाउँछ । त्यसैले कोविड १९ को प्रसंगमा जात, धर्म, वर्ण र पार्टीको कुरा गर्नु मुर्खता मात्रै होइन, महामुर्खताका कुरा हुन् । यति सबै कुराहरु बुझिसकेर पनि जसले लापर्वाहि गर्छ, निर्देशको उल्लंघन गर्दछ अथवा अटेरी गर्दछ भने उसलाई पक्कै पनि राम्रो हुनेछैन । के हुन सक्छ, के हुन सक्छ ? अरे उ मर्न पनि सक्छ । हजुर, उ मर्न पनि सक्छ ।
उ एकलै मरिदिए हुन्थ्यो, मर्दैन नि एकलै । आफूसित सम्पर्क आएका सबैलाई विमारी सार्छ अनि तिहरुले फिजाएर अझै धेरैलाई मार्छ । यो विमारी मल्टिलेवल मार्केटिङको डाउन लाइन बनाउने चेन जस्तै फैलिंदै जान्छ । एकबाट दुई, दुईबाट चार, चारबाट आठ र वृहत रुप लिन्छ, अझै वृहत, अझै वृहत । यो चेनलाई ब्रेक गर्ने एउटै मात्र उपाए छ । हिरोगिरी नगरौं, घर मै बसौं । खाने, पिउने अनि औषधि उपाचारहरुका सामान किन्न निस्कनै पर्यो भने पनि भिड नगरि एकलै एकलै निस्कौं । स्थितिको गम्भिरतालाई बुझौं है । हात समातेर, अंगालो मारेर, नारिएर बजार घुम्ने समय होइन यो । सामाजिक दूरीको नियमलाई पालन गरौं । बाचौं अनि बचाऔंलाई नै वर्तमान परिवेशमा सिद्धान्त बनाऔं । आज सरकार, स्थानीय निकायहरु, एनजिओहरु, पुलिस प्रशासन, स्वास्थ्य विभागका कर्मचारीहरुलाई हाम्रो सहयोगको नितान्त आवश्यकता परेको छ । छिचिमरा जस्तो बजार तिर निस्किएर उनीहरुले हाम्रो निम्ती गरेका त्याग र तपश्यालाई विफल नबनाऔं । आफ्ना मनहरु अनि हातहरुलाई सहयोगको निम्ती सदा तत्पर राखौं । यो हाम्रो सामाजिक दायित्व हो । आफ्नो समाजको देखरेख हामी आफैले गर्नुपर्छ । कोरेनटाइन सेन्टरमा जाँचका निम्ती राखिएका विमारीहरुको यथासक्य सेवा र मदत गरौं । उनीहरुलाई पनि हाम्रो मदतको खाँचो छ । सुरक्षित बसौं, सजग बसौं अनि स्वस्थ बसौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार