मूल प्रवाहद्धारा चेन्नईमा राहत वितरण

चेन्नई । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण र भारत सरकारद्वारा लगाइएको लकडाउनका कारण ठूलो संख्यामा श्रमजिवी वर्गले बेरोजगारीको मार खेप्नु परिरहेको छ । यो महामारीका कारण भारतमा पनि २४ मार्चदेखि ३ मईसम्म करिव ४० दिनका लागि लकडाउन गरिएको छ । लकडाउनको परिवेशमा नेपाल सरकारको प्रतिनिधि संस्था राजदूतावास भने नेपाली श्रमिकहरुले झेल्नुपरेका समस्या बारे वेखबर नै छ ।

असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरूले नत काम पाएका छन्, नत घर जान सकिने अवस्था छ । नत बास बस्ने ठाउँ छ, नत खाना खाने व्यवस्था नै छ । श्रमजिवीहरु एक प्रकारले भन्नु पर्दा जीन्दगीको मझधारमा छन् । यसरी भन्नु पर्दा बस्नको लागि बास र खानको लागि गास विहिन छन् श्रमजिवीहरु । तर श्रमजिवी नेपालीहरूमा पर्न गएको समस्यालाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले अलिकति भए पनि सहयोग प्रदान गरि राहतको महशुस गराउने कोशिसमा निरन्तर खटिंदै आइरहेको छ ।

यसै बीच चेन्नईमा बेरोजगार नेपाली श्रमिकहरूलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले राहत प्रदान गरेको छ । चेन्नई शहरको चिन्ट्रादरीपेटमा प्रोफेशनल कोरियर सर्विसमा दैनिक ज्यालादारीको रूपमा काम गर्दै आएका श्रमजिवी नेपालीहरुलाई समाजले राहत प्रदान गरेको हो । १९ अप्रेलका दिन मूल प्रवाहले तमिलनाडुका राजनीतिक पार्टीहरुको सहकार्यमा २५ केजी चामल, ३ केजी दाल, २ लिटर तेल, ५ केजी आँटा र केही शब्जी वितरण गरिएको छ ।

त्यस्तै २० अप्रेलका दिन समाजको चेन्नई पूर्व, पश्चिम, उत्तर, दक्षिण चार नगर समितिहरू र केही ब्यक्तिगत रूपमा आर्थिक संकलन गरि राहत प्रदान गरिएको छ । सो राहत सामाग्रीहरू केन्द्रीय सदस्य महेन्द्र बस्याल, क्षेत्रीय सदस्य ज्योतिनारायण सुवेदी, उत्तर नगर अध्यक्ष उमानन्द आचार्य, उत्तर नगर उपाध्यक्ष देवी प्रसाद ढकाल, नगर सदस्य तिलबहादुर विक, नगर सदस्य दिपा शर्मा, माउण्टरोजड एरिया अध्यक्ष लोकराज आचार्य र एरिया सदस्य अर्जुन ठकुल्लाको उपस्थितिमा बितरण गरिएको छ ।

चामल १०० केजी, दाल ७ केजी, खाने तेल ५ लिटर, नुन ३ केजी, चीनी २ केजी, रिन पाउडर २ केजी, लुगाधुने साबुन ४, नुहाउने सावुन ४, चियापत्ती आधा केजी, टुथपेष्ट ४, प्याज ५ केजी, आलु १० केजी, टमटर ५ केजी, बन्दगोपी ७ केजी, लसुन आधा केजी र नगद रू. ५०० राहत स्वरूप बितरण गरिएको छ ।

डढेलधुरा, कैलाली र कञ्चनपुर तीन जिल्लाका ३५ जनाको संख्यामा रहेका उनीहरूलाई बस्न खान त्यती सहज छैन । एउटै कोठामा कोचिएर उनीहरु बस्न बाध्य छन् । मालिकले केही दिनको लागि दिएता पनि त्यसपछि बस्न दिएको तर खान दिन नसकेपछि ति मजदुरहरूले राहतका लागि अपिल गरेका थिए ।

भारतस्थित नेपालीहरुका समाजिक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको स्वपहल, स्थानीय प्रशासन, स्थानीय समाजिक संघ संस्थाहरु एवं स्थानीय समाज सेवीहरुको सहयोगमा राहत वितरण गर्दै आइरहेको छ । हालसम्म समाजको पहलमा दिल्ली, हरियाणा, गुजरात, राजस्थान, पञ्जाब, तेलंगाना, महाराष्ट्र, केरला, तामिलनाडु, हिमाचल लगायतका राज्यहरुका विभिन्न शहरहरुमा मूल प्रवाहले राहत वितरण गरेको छ । त्यस्तै केन्द्र शासित राज्य दादर हवेली, दमन दिपमा पनि मूल प्रवाहले राहत वितरण गरेको छ ।

कहिले लकडाउन खुल्ला र आफ्नो देश जान पाइएला भन्ने आश लगाएका उनीहरुले लकडाउन सकिने दिन गनिरहेको बताउँदै छन् तर भारतमा कोरोनाको संक्रमणको स्थिति भने दिन प्रतिदिन बढिरहेको छ । भारतका ठाउँठाउँमा रहेका नेपाली मजदुरहरूको अवस्था के हुने हो भन्ने बारे कुनै सरोकार वाला पक्षहरु भने अनभिज्ञ नै छन् । असंगठित क्षेत्रमा कार्यरत नेपालीहरु भने दिल्लीस्थित नेपाली दूतावासले सरकार समक्ष आफूहरुको विद्यमान समस्या समाधानका लागि पहल गर्ने छ भन्दै टकटकी लगाइरहेका छन् । तर राजदूतावास र सरकारको ध्यान पुगे नपुगेको भन्ने कुरा सीमानामा अलपत्र परेका नेपालीहरुको भयावह अवस्थाबाट सजिलै बुझ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार