- गिरीप्रसाद बुढा
पात्रहरूः–
बुढो मान्छे :– आस्थाको अथक यात्री
चिरायु : बुढो मान्छेको उत्तराधिकारी
सुनमायाः– चिरायुको श्रीमती
छोराः– चिरायुको छोरा
छोरीः– चिरायुकी छोरी
रातो टोपीवालाः– सुराकी, भ्रष्टाचारी
जुवाडेहरू,भ्रष्टाचारीहरू, प्रहरीहरू, किसान, महिला, युवा, मजदुर अन्य जनसमूह आदी ।
स्थानः–चिरायुको घर, नेपालका विभिन्न प्राकृतिक स्थलहरू ।
(दृश्य – एक)
(वरीपरि रमाइलो प्राकृतिक दृस्यले भरिपुर्ण एउटा डाँडोमा लक्सरै मिलेका केही घरहरू छन् । ती घरहरूसँगै एउटा खरले छाएको पुरानो घर पनि छ । त्यो चिरायुको घर हो । चिरायु प्रदेशी भारी बोकेर त्यो उकालोको बाटो हुँदै आफ्नो घर आइपुग्छ । घरको आँगनमा एघार वर्षको छोरा र तेह्र वर्षकी छोरी खेल खेलिरहेका हुन्छन् । बाबु आएपछि ती दुई छोराछोरी रमाउँदै खुशीहुँदै आफ्ना बालाई बाटैमा ढोग्छन् र बासँगै घरभित्र प्रबेश गर्छन । घर भित्र चिरायुको श्रीमती सुनमाया ढिढो पकाउँदै हुन्छे । सुनमायाले पनि चिरायुलाई देखेर मख्ख पर्छे । सबै जना मझेरी बरीपरि बस्छन् । चिरायुले केटा केटीलाई बिदेशी चक्लेट बाड्छ । त्यसपछि तिनीहरूको बीचमा कुराकानी चल्छ ।)
सुनमाया :–
आयौ फर्कि किन यति छिट्टै प्रदेश फापेन कि
आफ्नै इच्छा भएन अथवा सम्पर्क लागेन कि
थुप्रै बाँकी छ वरपरको हाम्रो अनेकौ ऋण
यसले पीडा झन अझ बढ्यो फर्केर आयौ किन ?
चिरायु :– खाडी जाने चलन नहते के हुन्छ हाम्रो हित
माटो मागे अब त म यहाँ यो राज्य सत्ता सित
यै माटोमा रगत पसिना के पोख्न पाइन्न र ?
आफ्नै प्यारो जल जमिन यो सम्झेर आए घर
सुनमाया :– तिम्रो न्यानो खुन र पसिना सम्झेर आँखा भरि
मैले खोजे सुख र दुःखको संगीत पाखा भरि
सारा धन्दा जति पनि यहाँ धानेर आए तर
पैशा थुप्रै नलिइ किन यो फर्केर आयौ घर
चिरायुः– चर्काे गर्मि तरर पसिना आगो बले झै हुने
अर्काको त्यो अधिन रहँदा आत्मा चसक्कै छुने
पैसा ठूलो भनिकन गए यो देश भन्दा पर
नेपालैको अमुल्य ममता सम्झेर आए घर
सुनमाया :– हाम्रो बाँच्ने रहर सकियो पीडा अनेकौ छ यो
खाली आयौ नलिई धन त्यो आधार रित्तो भयो
छोरा छोरी अझ अघि बढी पढ्ने र लेख्ने अरे
यिन्का ठूला अमर सपना लौ आज यस्तै मरे
चिरायु :– सिमा पारी क्षितिज जगमा आफ्नै कहानी लगे
बेच्दा बेच्दै रगत पसिना मेरै जवानी सके
प्यारी मैले अब त कहिल्यै छोड्दैन आफ्नो थलो
बेचि व्यार्थै रगत पसिना के भो र हाम्रो भलो ।
१३ बर्षे छोरी :–(आमा तर्फ फर्केर)
पाखा बारी वरी परि यतै के नाच्न मिल्दैन र ?
यै धर्तीको रविकिरण यो के ताप्न मिल्दैन र ?
११ बर्षे छोरो :– (बाबा तर्फ फर्किएर)
यै माटोमा वरपिपल यो के रोप्न पाइन्न र ?
नेपालैमा रगत पसिना के पोख्न पाइन्न र ?
(सुनमायाले ढिढो पस्किरहेकी हुन्छीन् । चिरायुले छोरा छोरीहरूको काँधमा धाप मार्दै भन्छ ।)
चिरायु :– आटो सिस्नो सरस सकुटी खाएर बाँच्ने छु म
अल्लोको यो सुपथ कपडा लाएर नाच्ने छु म
पाखाबारी वरिपरि यतै आस्था र विश्वासमा
मर्ने बाच्ने सव–सब यतै गर्नेछु नेपालमा
(सुनमायाले सबैको अगाडि ढिढो राखिदिन्छे । सबैले ढिढो खान थाल्छन ।)
(दृश्य –दुई)
(वरपिललको चौतारीमा एउटा सेतै फुलेको बुढो मान्छे बसिरहेको छ । उसको साथमा एउटा टेक्ने लठ्ठी र पुरानो झोला पनि छ । नजिकै चौरमा काम्लो विछ्याएर केही मानिसहरू तास खेलिरहेका छन् । तास खेलिरहेका मध्ये एउटाले रातो टोपी पनि लगाएको छ । ती जुवाडेहरूले चौपारीमा विसाईरहेको त्यो बुढो मानिसलाई जिस्काउँदै हाँसिरहेका छन् ।)
पहिलो जुवाडे :– (हाँस्दै)
न पायौ ठूलो मान र पद कुनै आज हे क्रान्तिकारी
न पायौ राम्रो जीवन जगतमा अस्मिताको सवारी
तिमीले बुझ्नै पर्दछ अब यहाँ क्रान्ति तिम्रो रुँदैछ
जुवा खेल्छौं हामी बरु यसरी नै, मोज मस्ती हुँदैछ
(सबै जुवाडेहरू एकै चोटी हाँस्छन ।)
(बुढोले सबैको ध्यान आफुतिर तान्दै भन्छ)
बुढो :–
यहाँ बाटो हिड्दै छु म सजग भै, यो अफ्ठ्यारो छ बाँकी
सुबाटो रोजे है मनुज सबले दृष्टि कालो नराखी
सबैले सारा यो तन र मनमा रक्त राम्रो बगाऊ
सदाचारी मान्छे बनिकन यहाँ धर्ती हाम्रो सजाऊ
(जुवाडेहरु पुनः हास्छन्)
दोस्रो जुवाडेः– (हाँस्दै)
मजा के गर्छाै यो जगतभरमा, बन्न खोजेर बेग्लै
तिमी मर्छाै पक्कै पशुसरी भइ धर्तीको माझ एक्लै
तिमीलाई जोगाउन अघि यहाँ बढ्छ होला र को खै ?
किरा पर्छाै पक्कै पनि मरनमा गन्ध छाड्दै सिनो झै
(जुवाडेहरू सबै उसरी नै एकसाथ हाँस्छन् उनीहरूको हाँसोको कुनै वास्ता नगरि बुढो बोल्न थाल्दछ । बुढोको कुरा सुन्दै सबै चुप हुन्छन् ।)
बुढो :–
म लागेको बाटो सहि छ जन हो क्रान्ति यस्को छ नाम
मलाई जे भन्छौ भन तर यहाँ छोड्न सक्दैन काम
सबैले बुझ्नै पर्दछ अब यहाँ धर्ती नै पर्छ छक्कै
यिनै बारी काल्ना र जमिनमा न्याय रोपिन्छ पक्कै
(जुवाडेहरू बुढो तर्फ औला देखाउँदै अट्टहास हाँसिरहन्छन् । बुढो भने गम्भिरतापुर्वक उठेर अगाडि बढ्छ । जुवाडेहरूसँगै रहेको रातो टोपीवालालाई पहिलो जुवाडेले निर्देशन दिँदै भन्छ ।)
पहिलो जुवाडे :–
तिमी जाऊ उसको पछि पछि सिधै गर्नु उस्को सुराकी
बुझे त्यो के के गर्दछ भनि सबै गोप्य उस्को कुरा ति
(हाँस्दै)
बुढोलाई हामी अलग बनमा मार्नु नै पर्छ आजै
उसैलाई मारी सव गजबले रम्नु पर्नेछ साँझै
(रातो टोपीवाला निर्देशन बमोजिम टाउको हल्लाउँदै त्यो बुढो गएकैतिर जान्छ । बाँकी जुवाडेहरू हाँस्दै तास खेल्न थाल्दछन ।)
(दृश्य –तीन)
(सुनसान जंगलको बीचमा छङछङ गर्दै एउटा सुन्दर झरना खसिरहेको छ । नजिकै रहेको एउटा चेप्तो र ठूलो ढुङ्गाको छेउमा त्यो बुढो मान्छे बसेको छ । उसले आफ्नो पुरानो थोत्रो झोलाबाट रातो झण्डा निकाल्छ । झन्डामा संसारका मजदुर एक हौ भन्ने नाराको साथमा हसिया हथौडा चिन्ह अङ्ति रहेको हुन्छ । बुढोले त्यो झण्डा खोलेर हेर्छ अनि एक्लै मुस्कुराउँछ । दुवै हातले झण्डालाई माथि उठाउँदै भन्छ ।)
साँचो बोल्दा कयौ चोटी
एक्लै पार्छ समाजले
तर हार नखा भन्छ
आस्थाको यो प्रकासले
आस्थाहरू जुटाएर
नयाँ बाटो खुलाउँछु
पत्थर यो रंगाएर
रातो फूल फुलाउछु
(बुढोले त्यो रातो झण्डा राम्ररी पट्याउछ । यताउति हेर्छ अनि छात्तिभित्र लुकाउँछ । झोलाबाट ब्रुस र रातो रंग निकाल्छ अनि त्यो चेप्तो ढुंगामा नारा लेख्न थाल्दछ । ठिक यसैबेला रातो टोपिवाला नजिकैको झाडिमा आएर त्यो बुढो मान्छेको चियो गर्न थाल्छ । त्यसपछि त्यो रातो टोपिवाला त्यहाँबाट तल्कालै फर्कन्छ र हस्याङफस्याङ गर्दै आफ्ना जुवाडे साथिहरू कहाँ आइपुग्छ र भन्छ ।)
रातो टोपीवाला :– ढुङ्गाको नजिकै थियो फगत त्यो बुढो त एक्लै थियो
मैले आज बुझे लुकेर उसको साँचो अनौठो मियो
यै बेला उपयुक्त हुन्छ सँगी हो ज्यानै उसैको लिन
जाऊ मार्न हिडौ यसै बखतमा यो काम साँच्ने किन
पहिलो जुवाडेः– हाम्रो दुष्मण हो उ यो जगतमा काँडा सरी नै भयो
देख्नै त्यो नसकी प्रभाव उसको छात्ती जली नै रह्यो
गुण्डा डाँकु बनेर भेष वदली लौ हिड आजै सब
यै वेला उपयुक्त हो यदी भने लौ जाउँ मार्न अव
(लौ जाऊ मार्न अब) सबैले पालोपालो यही शब्द भन्दै मुखमा नकाव बाँध्छन् र सबै त्यो ठाउँबाट अगाडि बढ्छन् ।)
(दृश्य – चार)
(बुढो मान्छेले चेप्तो ढुङ्गामा रातो अक्षरले “जनवादी क्रान्ति जिन्दावाद” “संसारका मजदुर एक हौ” जस्ता नारा लेखिसक्छ । एउटा पर्चा पनि टाँस्छ । यसैबेला एक्कासी नकावधारी ती जुवाडेहरूले त्यो बुढो मान्छेलाई घेरामा पार्छन । बुढोले टाँसेको त्यो पर्चा उसकै अगाडि च्यातचुत पारिदिन्छन् । उसले ढुङ्गामा लेखेको नारा पनि मेट्ने प्रयास गर्छन् । उनीहरूको यो त्रासदीपुर्ण व्यावहार हेरेर त्रसित हुँदै बुढोले भन्छ ।)
बुढो :–
तिमी को हौ मेरो वरपर यहाँ त्रास दिन्छौ वनैमा
पठायो कस्ले खै भनिकन झनै शंका लाग्यो मनैमा
यहाँ तिम्रा सारा कसुरहरूको बन्छ संसार साक्षी
कहाँ मान्थ्यो यो पीडित रगतले लौ दिने भन्छ फाँसी
(बुढोको यस्तो कुरा सुन्ने वित्तिकै नकावधारीहरू अट्टहास हाँस्दै भन्छन् ।)
पहिलो जुवाडे :– कहाँ जाने हो त्यो जून गगनको गोप्यतामा लुक्यो नी
तिमी बच्ने छैनौ अब बुझ कुरा दिन तिम्रो पुग्यो नी
तिमीलाई जोगाउन अब यहाँ आउने छैन कोही
यदी कोही आए यस समयमा भष्म बन्ने छ रोई
(यत्ति भन्दै निर्ममता पुर्वक मुट्की र लात्तले बुढोलाई आक्रमण गर्न थाल्दछन् । बुढोले “मारे” गुहार गुहार भन्दै कराउँछ । उसको मुखमा टालो किलेर बाँधिदिन्छन् । बुढो छट्पटाउँछ मात्रै तर कराउन सक्दैन । ती नकावधारी जुवादेहरूले बुढोलाई निर्मम यातना दिइरहन्छन् । केही क्षणमा बुढो बेहोस भई भुँइमा ढल्छ । त्यो बुढो मान्छेको झोला खान तलासी गर्छन् । झोला भित्रका चिजहरू यत्रतत्र फालिदिन्छन् । रातो रंग, ब्रुस वरपर फालिदिन्छन् । बुढो मर्यो भन्दै उनीहरू त्यहाँबाट जंगलतिर लाग्छन् ।
केही समयपछि दुई युवक, दुई युवति र एक अधबैसे मान्छे (चिरायु) त्यहाँ आइपुग्छन् । उनीहरू पार्टीका कार्यकर्ताहरू हुन्छन् । त्यहाँको विभत्स दृस्य देखेर ती सबै झस्कन्छन् । चिरायु अगाडि बढ्छ र बेहोस भएर ढलिरहेको बुढो मान्छेलाई काखमा तान्दै भन्छ । )
चिरायु –
यस्तो एकान्त वन जंगलैमा कस्ले तिमीलाई कुटेर छाड्यो
यो हाल कस्ले कसरी बनायो कस्ले तिमीलाई कसेर बाँढ्यो
आस्था समाली हर अन्धतामा मुठ्ठी उचालेर मसाल बाल्थ्यौ
जस्तो सुकै त्यो भिर कन्दरामा सन्देश छर्ने पद चाल चाल्थ्यौ ।
(चिरायु भक्कानीदै रुन्छ । अरुले पनि आँसु पुच्छन् । चिरायुले आफ्नो झोलाबाट बोतल निकालेर बुढो मान्छेको मुखमा पानिको थोपा चुहाईदिन्छ । बुढो होसमा आउँछ । मुस्किलले उ बोल्न थाल्छ ।)
बुढो मान्छे :–
बाँच्दैन होला म त हेर साथि छात्ति फुटे झै अति दुःख्न थाल्यो
हाम्रा सबै दुष्मण चिन्नु साथी, हाम्रो पनि त्यो लिनु जम्मै पालो
विश्वास बोकेर नथाक्नु कोही आस्था मनैमा सबले सजाए
आँधि हुरीबाट रक्षा गरे है आगो खरानी सबमा बचाए ।
(बुढो छट्पटाउन थाल्छ । बोल्दा बोल्दै उ बेहोस हुन्छ । त्यहाँ रहेका सबै आत्तिन थाल्छन् । चिरायुले पुनः पानिको थोपा मुखमा खसाली दिन्छ । बुढो पुनः होसमा आउँछ । मुस्किलसँग छात्तिमा लुकाएर राखेको रातो झण्डा निकाल्छ र चिरायुको हातमा राखी दिदै भन्छ ।
बुढो मान्छे :–
जम्मै भरोसा मनको तिमी हौ, त्यो घाम जस्तै म त ढुब्न थाले
सुम्पेर आस्था अब छोड्छु साथी, बोकेर युगौ युग सम्म बाले
सक्छौ तिमीले गर पुर्ण आफै बाँकी रहेमा दिनु नातिलाई
यात्रा नरोके यूग फेर्नलाई आस्था नछोडे सब साथि भाई
(बोल्दाबोल्दै बुढो पुनः बेहोस हुन्छ । उसको मुखमा पुनः पानिको थोपा चुहाइन्छ । तर बुढो होसमा आउ्दैन । सबै आकुल व्याकुल हुन्छन् । बुढोको झोलाबाट यत्रतत्र छरिएका सबै सामाग्रीहरू संकलन गर्छन । सबै शोकाकुल हुन्छन् । चिरायुले सबैलाई यसरी सम्झाउँछ ।)
चिरायु : –
संकष्ट पर्दा मन गल्न दिन्नौ जङ्गी रणमा सपना गलेनी
संसार जित्ने तन जल्न दिन्नौ हामी रहने अखडा जलेनी
जस्तो सुकै यो अवरोध माथि खोला रोकिन्न भुँमरी चलेनी
ढल्दैन आस्था अब हेर साथि हामीहरूकै तगदा ढलेनी
(बुढोले हस्तान्तरण गरेको झण्डालाई चिरायुले माथि उढाउछ । झन्डामा संसारका मजदुर एक हौ भन्ने नाराको साथमा हसिया हथौडा चिन्ह अङ्ति रहेको हुन्छ । बुढो भने उसको काखमै हुन्छ । सबैले मुठ्ठि उठाउँदै एक स्वरमा भन्छन् ।)
आकास नाघी जुन टिप्न सक्छौं, लाखौं हजारौं रण लड्न सक्छौ
रातो र तातो खुन पोख्न सक्छौ बाधा हटाई अघि बढ्न सक्छौ
आस्था त हाम्रो सबथोक हो यो आस्था न त्यागौ बरु प्राण त्यागौ
सारा विधामा समता भएको संसारको यो इतिहास लेखौ ।
(दृश्य – पाँच)
(श्रद्धाञ्जली सभाको कार्यक्रम आयोजना गरिएको छ नजीकै बुढोले हस्तान्तरण गरेको झण्डा आधा झुकाइएको छ । कुर्चिमा त्यो बुढो मान्छेको तस्बीर सजाएर राखिएको छ । थुप्रै मान्छेहरू कार्यक्रममा सहभागी भएका छन् । सहभागी सबै शोकमग्न देखिन्छन् । कार्यक्रममा रातो टोपीवाला पनि सहभागी छ । अरुहरू भन्दा त्यो रातो टोपीवाला बढी शोकमग्न भएको अभिनय गर्छ । चिरायु अगाडि उभिएर कार्यक्रम शुरु गर्छ ।)
चिरायु :– ठूलै त्याग गरी यिनै शहिदले विश्वास राखेर पो
आस्था आज रह्यो यिनै सपुतले सत्मार्ग हाँकेर पो
यस्तै उच्च सुमार्ग हिड्नु छ यहाँ संकल्प बोकौ सब
श्रद्धा पुष्प चढाउ लौ शहिदको श्रद्धाञ्जलीमा अब
(सर्वप्रथम रातो टोपीवाला अगाडि आउँछ र बुढोको फोटामा फूल चढाउँदै भन्छ ।)
रातो टोपीवाला :– डाँडाको रवी झै डुबेर अहिले ओझेल पा¥यौ तन
मृत्यू रोज्न गयौ म जान्छु नभनी संसार त्यागी कन
जानै पर्दछ रे मरेर सबले खोला नदी तीरमा
पोख्दै भाव यहाँ अनेक मनले हामी त छौ पीरमा
(पुष्प अर्पण गरेर उ त्यो भिडको सबै भन्दा पछाडितिर आउछ । सबैको ध्यान तस्वीरमा फूल चढाउनमा केन्द्रीत हुन्छ । उ सुटुक्क कसैले नदेख्ने ठाउँमा जान्छ र त्यहाँको सबै गतिविधिहरूको गोप्य सुच्ना दिन थाल्दछ ।)
रातो टोपीवाला :–
मैले आज बुझे घुसेर दलमा सम्पूर्ण नाम थर
डाँडोको नजिकै छ है शहिदको श्रद्धाञ्जली त्यो पर
कब्जा गर्न सकिन्छ अब सहजै मेरा कुरा यो सुन
यै बेला उपयुक्त हुन्छ संगी हो आतंक फैलाउन
(यति भनेर उ पुनः भिडमा मिस्सिन आइपुग्छ । त्यहाँ शहिदको तस्वीरमा पालैपालो पुष्प अर्पण चलिनै रहेको हुन्छ ।)
महिला :–
तिम्रो जीवनको हरेक सपना पारेर उर्जाशील
देखायौ ममता अभावहरूमा बाँडेर चोखो दिल
हाँक्यौ क्रान्ति यहाँ लडेर अनि पो सम्पन्न साथि भयौ
आफ्नै पौरखको मिठो ति रचना छाडेर माथी गयौ
पुरुष :–
तिम्रा अमृत झै कला रस यहाँ सुक्दै नसुक्ने गरी
साँच्चै सागर भेट्न जावस सधै हाम्रै नि भेरी सरी
तिम्रा शान्त स्वभाव सबले सम्झेर राम्रो भनि
दिन्छौ लौ सबले श्रद्धा सुमन यो साथी त हाम्रो भनि
महिला :–
अस्ताएर गयौ जब यहाँ आयो नि यो बेदना
हाम्रा जीवनका हरेक पलका थुप्रै थिए सम्झना
आस्था पूmल चढाई मान गरियो सम्मान भो आखिर
तिम्रै तस्वीरमा झुकाई सबले श्रद्धाञ्जलीमा शिर
(एक्कासी जुवाडे, आबारा, लफङ्गाहरूको समुह भाला, खुकुरी, तरवार, लिएर सभास्थलमा प्रवेश गर्दछन् । त्यहाँ दोहोरो झडप हुन्छ । बुढोको फोटो तोडफोड हुन्छ । गाउँलेहरू प्रतिकारमा उत्रन्छन् । कोही घाइते हुन्छन् । जनताले जुवाडेहरूका भाला, खुकुरी खोसिदिन थाल्छन् । यसैबेला प्रहरीहरू हवाई फायर गर्दै आईपुग्छन् । सबै भागाभाग हुन्छन् । कार्यक्रम स्थलमा एकजनाको मृत्यु भएको हुन्छ । त्यो जुवाडे तर्फको हुन्छ ।)
(दृश्य – छ)
(विहानको समय चिरायुको छोरा छोरी विद्यालय जान थालेका हुन्छन् । सुनमतिले भाँडा माझ्दै गरेकी हुन्छे । त्यसै समयमा चिरायुको घर प्रहरीले घेरा हाल्न आईपुग्छन् । प्रहरीलाई देखेर ती दुवै बच्चाहरू सुनमतीको शरिरमा टासिन आइपुग्छन् । प्रहरी इन्सपेक्टर उनीहरूको नजिकै आएर भन्न थाल्दछ । )
प्रहरी इन्सपेक्टर :–
मान्छे मार्ने कसुर भएको रैछ लोग्ने उ तेरो
छिट्टै भोग्दै छ अब उसले जेलको त्यो अँध्यारो
भन्दै छौं यो पवित्र मनले झट्ट देखा न लोग्ने
मान्छे मार्ने गलत पथको रैछ सिद्धान्त बोक्ने
सुनमति :– (डराउँदै)
झण्डा बोकी अघि अघि नयाँ जोशले हो बढेको
यै माटोको परिचय दिँदै उच्च डाँडो चढेको
मेरो लोग्ने कसुर भएको छैन त्यस्तो नजाति
बानी उन्को असल छ भनि भन्छु मैले नढाँति
प्रहरी इन्सपेक्टर : –( आफ्ना जवानहरूलाई आदेश दिँदै )
गर्छे यस्तो बकबक कुरा हेर स्वास्नी त बाठी
यो हो मौका अबत घरको लेउ सबै तलासि
माथि उक्ली वरपर सबै ध्यानका साथ हेर
खोजौ खोजौ सबतिर घुमी लौन भित्र पसेर
(प्रहरीहरू घर भित्र पस्छन् । भित्र खानतलास लिन्छन् । घरभित्र सबै लथालिङ्ग बनाएर बाहिर निस्कन्छन् ।)
प्रहरी :–
खोज्यौ जम्मै तनमन दिई छैन अन्तै गयो की
हाम्रो आँखा छलिकन कतै भेष फेर्ने भयो की
प्रहरी इन्सपेक्टर :–
लौ चालो यो कदम सबले आज फर्केर जाउ
खोज्दै खोज्दै वरपर सवै गाउँ, वस्ती र ठाउँ
(सबै लाइन लागेर त्यो घर भन्दा परतिर जान्छन् । प्रहरीहरू डाँडा पर पुगेर ओझेल पर्दछन् । सुृनमति दौडदै घर भित्र पस्छे । छोराछोरीहरू पनि सँगै भित्र पस्छन् । सुनमतिले हतार हतार लोग्नेलाई फोन गर्छे । चिरायुको फोनमा घन्टी जान्छ । चिरायुले फोन उठाउँछ ।)
सुनमती :–
खुनी भनेर भन्दथे तिमी नजाति हौ अरे
सुनाई दिन्छ दुष्टले समाई थुन्न सक्छ रे
हजार दुःख पीरले गलेर रुन्छ यो मन
तिमी त आज कहाँ छौ ? नढाँति प्रष्ट लौ भन ।
चिरायुः–
सदैव खेड्छ राज्यले सबै सुयोग्य जीवन
म जान्न अन्त लोकमा छ देश भित्र यो मन
तयार हुन्छ राज्य यो युवा विदेश सुम्पन
म घुम्छु देश भित्र नै यतै फरार भै कन
सुनमती :–
बतास चल्छ दुःखको सकिन्न केही गर्न नि
म बाँचु हाँसु के गरी सकिन्न आज मर्न नि
कि फर्कि आउ है तिमी नबोक युद्ध गर्जन
तिमी त आज कहाँ छौ ? नढाँति प्रष्ट लौ भन
चिरायु :–
बरु सहन्छु कष्ट यो म झुक्न दिन्न यो शिर
सहर्ष मर्न सक्छु लौ म जन्मभूमि खातिर
नखोज रोक्न है तिमी नयाँ युगीन गर्जन
म घुम्छु देश भित्र नै यतै फरार भै कन
(आमाको हातबाट छोरीले फोन लिन्छे र भन्छे)
छोरी :–
सुनिन्छ गीत राज्यको समाजवाद उन्मुख
समानता र न्यायमा दिने भनिन्छ त्यो सुख
बुबा तपाईले सधै मलाई प्रेम गर्नु भो
तपाई फरार भएर कहाँ विजोग पर्नु भो ।
चिरायु :–
म अस्त्र शस्त्र बोक्छु यो अन्यायको विरुद्धमा
दबेर बाच्नु छैन भो म हिड्छु भिष्म युद्धमा
बसे सतर्क भै त्यहाँ बनाई दरिलो मन
म घुम्छु देश भित्र नै यतै फरार भै कन ।
(छोरीको हातबाट छोराले पनि फोन लिएर कुरा गर्न थाल्दछ । )
छोराः–
कथा सुनाउने यहाँ बुबा अरू त को छ र ?
तपाई विनाको यता उदास बन्छ यो घर
बुबा तपाईले सधै मलाई प्रेम गर्नु भो
तपाई फरार भएर कता विजोग पर्नु भो ?
चिरायु :–
बिषालु बोटको जरा खनेर फाल्नु पर्दछ
सुमार्गको सशक्त यो मसाल बाल्नु पर्दछ
नरोई बस्नु है तिमी सदैव बन्नु सज्जन
म घुम्छु देश भित्र नै यतै फरार भै कन ।
(एक्कासी चिरायु रहेको स्थानमा सिठी बज्छ । त्यहाँ नजिकै प्रहरीहरू आइपुगेका हुन्छन् । चिरायु प्रहरीलाई छक्याउँदै भाग्छ । प्रहरी उसलाई जंगलै जंगल खेद्छन् ।)
(दृश्य – सात)
(सुनमायाका छोरा र छोरी विद्यालय गइसकेका हुन्छन् । सुनमाया एक्लै बारीमा काम गरिहरेकी हुन्छे । रातो टोपी लगाएको मान्छे सुनमतीको घरको बाटो हुँदै हिडिरहेको हुन्छ । रातो टोपी लगाएको मान्छेसँगै एक युवा र एक युवती पनि सँगै हुन्छन् । ती सबै चिरायुसँगै क्रान्ति मार्गमा हिडिरहेका उसका सहयात्रीहरू हुन्छन् । तीनै जनाले सुनमतिलाई नमस्कार गर्छन् । सुनमतिले पनि नमस्कार फर्काउछे । उनीहरूसँग आफ्नो श्रीमान्लाई साथमा नदेखेपछि अचम्म हुन्छे ।)
सुनमायाः–
मैले देखिन खै तिमीहरूसँगै श्रीमान मेरा यहाँ
आयौ साथ छुटाई आज कसरी छाडेर एक्लै कहाँ ?
भन्दैथ्यौ जित यो हुनेछ पथमा आस्था विश्वासकै
झट्टै लौ भनिदेउ आज सबले मेरा ति श्रीमान खै ?
रातो टोपीवाला :–
के सोध्छौ यसरी कसेर पटुकी उस्को मुखुण्डो खुल्यो
चिन्ता गर्न सकेन आज घरको उस्ले समाजै भुल्यो
भोग्यो जेल र नेल आज उसले विर्सेर आफ्नै घर
खाली क्रान्ति भनेर गयो विचरा आफन्त भन्दा पर
युबक : –
बन्दी भो अब जेल भित्र उ प¥यो ज्यानै चढाई सब
बिर्सीदेउ तिमी चटक्क उसको सम्पूर्ण माया अब
मार्ग क्रान्ति भन्यो विकल्प उसले सोच्दै नसोचिकन
यस्तो क्रान्ति नशा छुटाउ भनि त्यो श्रीमानलाई भन
युवती :–
यस्तो रक्तिम क्रान्तिको कठिनता भोगेर के फुल्छ र ?
मर्ने वा जिउने कहाँ र कहिले ठेगान के हुन्छ र ?
यस्तो त्रास फिजाउने पथ यहाँ हिड्ने त बेकार हो
त्यागेमा पथ यो अनि मिल्छ यहाँ आनन्द संसारको
सुनमाया :–
अर्कै भेष लिई तिमीहरू यता श्रीमान मेरा कता ?
के गर्छाै नव तर्क आज यसरी छक्कै परे है मता
एक्लै छाड्नु थियो भने यदी उतै यो मार्ग रोज्यौ किन ?
साँचो हो अथवा झुठो बचन यो सक्दिन मै सम्झिन ।
रातो टोपीवाला :–
मायाको विरुवा छरेर घरमा हाँस्दै रमाए हुने
सच्चा मानिस भै कुकर्म नगरी पैसा कमाए हुने
हामीले जसरी चटक्क यसरी यो मार्ग छोडाउनु
बेलैमा उनको विचार बदली निर्धक्क बाच्ने हुनु ।
(यसरी फट्याइँ कुरा लगाएर त्यो रातो टोपीवालाको समुह त्यहाँबाट अगाडि बढ्छन् । तिनीहरू निकै पर ओझेल नपरुञ्जेलसम्म सुनमाया टोलाईरहन्छे । तिनीहरू ओझेल परेपछि सुनमाया पुनः बारीमा काम गर्न थाल्छे । साथै उ एक्लै गुनगुनाउन थाल्छे ।)
झुप्रो मै सहजै हाँसेर जिउने सल्लाह मै दिन्छु नि
यो सल्लाह कुनै नसुने उनले भागेर गै दिन्छु नि
हे स्वामी मनमा अशान्ति नछरी हाँसेर नाच्दै घुम
यस्ता क्रान्ति सबै कथिन पथ हो छोड्देउ भन्ने छु म ।
(छोरा र छोरी विद्यालय छुट्टी भएपछि घर आइपुग्छन् । सुनमाया पनि बारीबाट दोको बोकेर आफ्नो घरतिर लाग्छे । )
(दृश्य– आठ)
केही समयपछि चिरायु जेलबाट छुट्छ । खुशी र उमङ्गका साथ उ आफ्नो घरमा आइपुग्छ । छोरा र छोरी बा आएकोमा निकै हर्षित हुन्छन् । चिरायुले आफ्ना किताबहरू टेबुलमा सजाएर राख्छ । अनि झोला पनि टेबुलमा नै बसाल्छ । कोठामा दुईवटा पलङ हुन्छ । एउटा पलङमा उ बस्छ । छोरा छोरीले पनि कापी किताब मिलाउँदै हुन्छन् । एकछिनपछि चिरायुको श्रीमती घाँसको भारी लिएर आइपुग्छे । सुनमाया कोठामा प्रवेश गरेपछि चिरायुले उसको श्रीमतीको अनुहार हेर्छ तर यतिलामो समय जेल जीवनपछि आज घर आउँदा पनि उस्ले आफ्नो श्रीमतीको अनुहारमा खुशी देख्दैन ।
चिरायु :–
देख्दैन मैले किन हो तिमीमा मुस्कान खुल्ने अनुहार राम्रो
त्यो जेल जाँदा अनि नेल खाँदा ढल्दैन विश्वास विचार हाम्रो
के भो र यस्तो घरमा तिमीले चिन्ता र पीडा अनि दुःख थान्छ्यौ
सत्मार्ग हो यो दुनिया बदल्ने यो मार्ग चुम्दा किन बोझ मान्छ्यौ
सुनमाया :– (निन्याउरो अनुहार बनाउँदै)
तिम्रा ति साथी सबले मलाई यो मार्ग छोडे सुख मिल्छ भन्छन्
पैसा कमाएर रमाई बस्ने, सम्पन्न बन्ने सब मार्ग खन्छन्
यस्तो कुरा खै कहिल्यै बुझेनौ, स्वामी तिमीले सुख यो दिएनौ
फाट्यो कलेजो मुटु हेर मेरा खै यो कलेजो मुटु नै सिएनौ
चिरायु :–(सम्झाउँदै)
खोज्यौ तिमीले सुख जिन्दगीको मेरै विधामा ममता भरेर
भोग्यौ अनेकौ कठिनाई प्यारी मेरै रक्षाको जपना गरेर
बाँकी छ हाम्रो नव मार्गमा यो खोजेर सांसारिक ज्ञान भर्ने
हाम्रो इरादा अधुरै छ प्यारी संकल्प बोकी सब पूर्ण गर्ने
सुनमाया :–(रिसाउँदै)
भैगो तिमीले अब छोड यस्तो काँडा सरीको पथलाई छिट्टै
माया बसेको मुटुभरिको यो सम्पन्नतालाई नपार रिट्टै
भोगेर व्यार्थै कठिनाई ठूला के पो मिलेको छ र आज सम्म
तिम्रो इरादा अति व्यार्थको भो, देखेर यस्तो म छु है अचम्म
(रिसको आवेगमा सुनमायाले टेबुलमा राखिएको चिरायुका किताब, झोला जस्ता सामाग्रीहरू यत्रतत्र भुँइमा छरिदिन्छे र पलङमा घोप्टो परेर घुँक्क घुँक्क गर्दै रुन्छे । चिरायुले वरपर छरिएका आफ्ना पुस्तक सामाग्रीहरु हेर्छ । बुढो मान्छेले हस्तान्तरण गरेको त्यो आस्थाको झण्डा पनि भुँइमा खसेको हुन्छ । सबै भन्दा पहिले उस्ले त्यही आस्थाको झण्डालाई भुँइबाट उठाएर अनुहार छोप्छ । उ केहीबेर चुपचाप रहन्छ र आँखाबाट आँसु खसाल्छ ।
चिरायुः– (रिसाउँदै श्रीमति तर्फ इङ्कीत गर्दै)
फाट्यो मेरो तनमन सबयो दुष्ट बन्दा यि नारी
आत्मा आस्था सब एक भएको हेर टुट्यो चिनारी
लोग्ने स्वास्नी बिच अति ममता बढ्छ पक्कै मनैले
माया जोड्ने असल हृदय हो, गर्छ के यो धनैले
(यत्ति भन्दै यत्रतत्र छरिएको आफ्ना सामाग्रीहरू रुँदै संकलन गर्छ । सुनमाया पलङमै रोइरहेकी हुन्छे । आस्थाको झण्डा, पुस्तक सामाग्रीहरू झोलामा राख्छ । उ आफ्नो झोलालाई काँधमा राखेर घरबाट बाहिर निस्कन खोज्छ । यसैबेला अर्काे पलङमा बसेर रुँदै गरेका छोरा र छोरीले चिरायुको हात समाएर र उसैको शरिरमा टाँसिएर रुँदै रोक्न खोज्छन्)
छोरी :–
ताते र ताते भनी आँगनैमा औला समाई उभिने सिकायौ
हाँस्ने र नाच्ने अनि आँसु झार्ने सारा सिकायौ र यहाँ टिकायौ
आकास धर्ती सब हौ तिमी नै दिन्छौ सहारा अनि भव्य माया
जाडो बढेमा पनि ताप दिन्छौ गर्मी चढेमा दिलदार छाया
छोरा :– बाबा ति तिम्रो रणका कथाले राती अनौठा सपना म देख्छु
बाबा तिमीले जब प्रेम दिन्छौ कापी उचाली कखरा म लेख्छु
संकष्ट पर्दा मन शान्ती मिल्ने हे देव तिम्रै मधु सम्झनामा
हाम्रो विधाता भगवान जम्मै जे जे भनेता पनि बा र आमा
चिरायु :- (छोरीको कपाल मुसार्दै)
हे छोरी लौ निडर मन लिई उच्च विश्वास बोक
बढ्दै जाउ पछि नहति कतै पुग्नु त्यो चन्द्र लोक
अफ्ठ्यारोमा विचलित नभई पढ्नु है लेख्नु मस्तै
बन्दै जाऊ अजर अमर त्यो चम्किलो चन्द्र जस्तै
चिरायु :–(छोराको पिठ्युमा धाप मार्दै)
प्यारो छोरा असुर नहुनु है त्याग्नु सारा कुकर्म
त्यागी बन्दै जनहृदय छुने गर्नु तैले सुकर्म
हाम्रो आफ्नो घर थर हँसिलो योग्य सन्तानले नै
हुन्छौ हामी प्रिय जनमनमा सभ्य सस्कारले नै
छोरी :– (सुनमायाको जिउँलाई झकझकाउँदै)
आमा हाम्रो नव दिव्य सपना टोड्न खोज्दैछ कस्ले ?
आमा बाको मधुमय ममता फोड्न खोज्दैछ कस्ले ?
छोराः– (आमा तर्फ फर्केर)
आमा हाम्री क्षितिज पर गई घाम झै दुब्नु हुन्न
बाबा हाम्रा अचल बगरको बाँस झै सुक्नु हुन्न ।
चिरायु :- (छोरा छोरीका आँसु पुछिदिदै)
शिल्पी बन्दै अब मधुवनमा मन्द मुस्कान हाँस्नु
आगो बन्दै निडर मन लिई विश्वको सामु बाँच्नु
ज्यानै त्यागी अघि अघि पद यो चाल्नु पर्ने विचित्र
आँसु पुच्दै बस अव म , भिन्न गन्तव्य भित्र ।
(आफ्नो झोला बोकेर उ घर बाहिर निस्कन खोज्छ । छोरा छोरीले उसको हात समाउँछन् तर तिनीहरूका हात छुटाउँदै उ कोठाबाट बाहिर निस्कीन्छ । सुनमायाले आफ्नो श्रीमानलाई केही भन्नलाई उठेकी हुन्छे तर चिरायु बाहिरीसकेको हुन्छ । छोरा र छोरी सुनमायाको शरिरमा टासिन्छन् । कोठामा तीनै जना सुँक्क सुँक्क गर्दै रोइरहेका हुन्छन् । )
(दृश्य – नौ)
चिरायु लामो यात्रामा हिडिरहेको छ । घर घरमा भित्ते लेखन गर्दै, पर्चा वितरण गर्दै उ अगाडि बढिरहन्छ । कतै जंगलको बाटोहुँदै त कतै गाउँको बाटो हुँदै अनि कतै भिर पहराको उकालो चढ्दै त कतै खोला र नदी तर्दै उ निरन्तर हिडिरहेको छ । यसरी हिड्दै गर्दा कुनै एकान्त स्थानमा बाटो विराएका उदेश्यहीन युवाहरुको समुहलाई देख्ने गर्दछ । उनीहरु कोही जुवा खेलिरहेका हुन्छन् त कोही चुरोटका धुँवा उदाइरहेका हुन्छन् । चिरायु ती युवाहरु कहाँ जान्छ र पर्चा वितरण गर्दछ । अनि उसले ती युवाहरूलाई आव्हान गर्न थाल्दछ । युवाहरूले चिरायुको आव्हान सुन्न थाल्दछन् ।
चिरायुः–
जागौ जागौ नव युवक हो गाउँ वस्ती जुटाउ
लागौ लागौ सघन निंदमा पर्नेलाई उठाउ
यै माटोको परिचय दिँदै खोली गंगा छुने हो
यै माटोको सपुत बनि यो क्रान्ति योद्धा हुने हो
यो आव्हान सुनेर युवाहरुले आफुले खेलिरहेको तास कच्याक कुचुम पारेर फाल्छन् । चुरोट मिल्काउछन् । चिरायुले आफ्नो झोलाबाट आस्थाको झण्डा खोलेर माथि उठाउँछ । युवाहरुले एक साथ मुठ्ठी उठाउछन् ।
चिरायु त्यहाँबाट अगाडि बढ्छ । विस्तारै उसको उमेर ढल्कीदै गइरहेको हुन्छ । कतै सातु त कतै खाजा अनि कतै होटेलमा चिया पिउँदै त कतै धारामा मुख धुदै हिड्दै गर्छ । यसरी हिड्दै गर्दा उ कुनै मन्दीरको नजिकै पुग्छ जहाँ थुप्रै मान्छेहरूले ढुङ्गाको मुर्तीमा पुजा गरिरहेका हुन्छन् । चिरायु ती मान्छेहरू कहाँ जान्छ र पर्चा वितरण गर्छ र उनीहरूलाई केही कुरा गर्ने गर्दछ । मान्छेहरूले उसका कुरा सुन्न थाल्छन् ।
चिरायु :–
कस्तो मान्छे ईश्वर सव यो हेर आफै बनायो
मुर्तिलाई जगत जननी भनि ढोगेर आयो
जागौं हामी जगतभरमा मुर्ति सक्दैन सुन्न
ढुङ्गा पुज्ने गलत पथको राग बोकेर हुन्न ।
चिरायुको कुरा सुनेर मान्छेहरुले टाउको हल्लाउछन् र पूजाका सामाग्रीहरूलाई भुँइमा फ्याकीदिन्छन् । चिरायुले आफ्नो झोलाबाट आस्थाको झण्डा खोलेर माथि उठाउँछ । मान्छेहरूले एकसाथ मुठ्ठी माथि उठाउछन् ।
चिरायु गाउँको बाटो हुँदै हिडिरहेको छ । खेतबारीमा उसले केही किसानहरूको समुहलाई देख्दछ । उनीहरू जाँड रक्सी र चुरोट सेवन गरीरहेका हुन्छन् । चिरायु ती किसानहरू कहाँ जान्छ र पर्चा वितरण गर्छ र उनीहरूलाई केही कुरा गर्ने गर्दछ । किसानहरूले उसका कुरा सुन्न थाल्छन् ।
चिरायु :–
गैती बेल्चा उचित पलमा खै त राम्रो बनेको
हिड्नै खोज्ने जनलहरले खै त बाटो खनेको
जागौ जागौ नव जगतमा झट्ट फेरौ यि बानी
खोजौ हामी हक गरिबको ल्याउँ नौलो विहानी
चिरायुको कुरा सुनेर किसानहरुले टाउको हल्लाउछन् र जाँड रक्सी र चुरोटलाई भुँइमा फ्याकीदिन्छन् । चिरायुले आफ्नो झोलाबाट आस्थाको झण्डा खोलेर माथि उठाउँछ । किसानहरूले एकसाथ मुठ्ठी माथि उठाउछन् ।
चिरायु त्यहाँबाट अगाडि बढ्छ । विस्तारै उसको उमेर झन झन ढल्कीदै गइरहेको हुन्छ । हिड्दै गर्दा उसले कुनै पाखामा घास दाउरा गरिरहेका महिलाहरूलाई देख्छ । चिरायु ती महिलाहरू कहाँ जान्छ र पर्चा वितरण गर्छ र उनीहरूलाई केही कुरा गर्ने गर्दछ । महिलाहरूले उसका कुरा सुन्न थाल्छन् ।
चिरायु :–
नारी हो यो नव समरको क्रान्ति हाँकेर बाँच
अग्ला अग्ला हिमशिखरमा पाउ राखेर नाच
तिम्रो शक्ति अमर छ यहाँ हेर झुक्दै नझुक्नु
नारी हो यो असल मनले क्रान्ति संदेश फुक्नु
चिरायुको कुरा सुनेर महिलारुले टाउको हल्लाउछन । चिरायुले आफ्नो झोलाबाट आस्थाको झण्डा खोलेर माथि उठाउँछ । महिलारूले एकसाथ मुठ्ठी माथि उठाउछन् ।
चिरायु त्यहाँबाट पनि अझै अगाडि बढ्छ । विस्तारै उसको उमेर झन झन ढल्कीदै गइरहेको हुन्छ । अब त उसको दाह्री जुँगा पनि सबै फुल्न थालिसकेको हुन्छ । हिड्दै गर्दा उ एक आपसमा झगडा गरिरहेको मजदुरहरूको बीचमा पुग्छ । चिरायु ती मजदुरहरू कहाँ जान्छ र उनीहरुको झगडा रोक्दै पर्चा वितरण गर्छ र उनीहरूलाई केही कुरा सुनाउछ । मजदुरहरूले उसका कुरा सुन्न थाल्छन् ।
चिरायु :–
लड्ने भिड्ने समर नमिठो द्वन्द देखेर हाम्रो
मौका छोपी चतुर नरले हर्ष मान्ने छ राम्रो
मौरी जस्तै अलग नहुने बन्नु है सर्वहारा
उठ्दै जुट्दै सुन न सबले क्रान्तिको यो पुकारा
चिरायुको कुरा सुनेर मजदुरहरुले टाउको हल्लाउछन । चिरायुले आफ्नो झोलाबाट आस्थाको झण्डा खोलेर माथि उठाउँछ । मजदुरहरूले एकसाथ मुठ्ठी माथि उठाउछन् ।
चिरायु त्यहाँबाट पनि अझै अगाडि बढ्छ । उ यतिबेला कुनै शहरको बाटो हुँदै हिडिरहेको छ । हिड्दै गर्दा उ एउटा अग्लो महलको अगाडि पुग्छ । त्यो महलभित्र केही हल्ला खल्ला भएको उसले सुन्छ । हल्लासँगै यि आवाज उसको कानसम्म आइपुग्छ ।
मलाई छ कुर्ची, सुनैको छ माला
अरे जिन्दगीमा कमि के छ साला
सुरा सुन्दरीको सेवा यो छ तन्न
मजा लाग्छ यस्तै कलाकार बन्न …हाहाहा.हिहिहि…
यो आवाज सुनिसकेपछि चिरायुले आफ्नो गोजीबाट फोन झिक्छ र डायल गरी आफ्नो कानमा लगेर सुन्दै सरासर अगाडि बढ्छ ।
(दृश्य :– दश)
एउटा सुविधा सम्पन्न बैठक कक्षामा भोजको आयोजना गरिएको छ । त्यहाँ भुँडीलागेका, महङ्गा बस्त्र पहिरिएका पाँच सात जना मान्छेहरू थरिथरिका भोजन तथा पेय पदार्थ लिएर मस्ति गरिरहेका छन् । तिनीहरूको साथमा रातो टोपीवालाले पनि मस्ति लिइरहेको छ । त्यो भोजमा सामेल मान्छेहरू मध्य रातो टोपीवाला तिनीहरुको नाइकेको रुपमा विराजमान छ । उसको दायाँवाया सुन्दरीहरू उसको सेवामा तल्लिन रहेका छन् । क्रान्तिकारीहरू अर्थात आस्थाका यात्रीहरूका विरुद्धमा सुराकी गर्दा गर्दै आज उ उच्च ओहोदामा पुगीसकेको छ । उ स्वर्गीय आनन्दमा ऐस आरामको जिन्दगी विताइरहेको छ र भँुडी ठूलो पारेको छ । उसले आस्थाका यात्रीहरूको विरुद्धमा सुराकी मात्रै गरेन उ उच्च ओहोदामा पुगेपछि अथाह घुस खायो । अथाह भ्रष्टाचार ग¥यो । आज पनि एउटा कुनै आयोजनामा ठूलै कमिसन हात पारेको खुशियालीमा यो भोजको आयोजना गरीएको छ । भोजमा सहभागीहरू सबै हाँसो मजाक गरिरहेका छन् ।
रातो टोपीवाला ः (एउटा हातले रक्सीको बोतल नचाउँदै र अर्काे हातले सुन्दरीलाई अङ्गालो हाल्दै)
सुनौलो थलोमा खुशीले रमायो
अरे मोज मस्ती गरी देशमा यो
लुटेको चुसेको धनै पो छ तन्न
मजा लाग्छ यस्तै कलाकार बन्न (वाह वाह गर्दै सबै हास्छन् )
(भोजमा सामेल सबैले एक साथ यै शब्द दोहो¥याउँदै रक्सी बोतल हातमा लिएर नाच्दछन्)
सबै एक साथ :–
सुनौलो थलोमा खुशीले रमायो
अरे मोज मस्ती गरी देशमा यो
लुटेको चुसेको धनै पो छ टन्न
मजा लाग्छ यस्तै कलाकार बन्न (हा.हा.हा. सबै हास्छन् )
रातो टोपीवालाले एक्लै गीत झिक्दछ । अरुले सुन्दै टाउको हल्लाउदछन् हास्छन् । ओहोहो हुर्र हुर्र भन्दै कराउछन् ।)
रातो टोपीवाला :–
करोडौ रुपैया गनेको छ ज्यान
अरे पेट ठूलो बनेको छ ज्यान
यहाँ हातमा यो करोडौ छ टन्न
मजा लाग्छ यस्तै कलाकार बन्न
(भोजमा सामेल सबैले एक साथ यै शब्द दोहो¥याउँदै रक्सी बोतल हातमा लिएर नाच्दछन् अनि सुन्दरीहरुलाई पनि नचाउछन् ।)
सबै एक साथ :– नाच्दै… हल्ला… गर्दै …हाँस्दै
करोडौ रुपैया गनेको छ ज्यान
अरे पेट ठूलो बनेको छ ज्यान
यहाँ हातमा यो करोडौ छ टन्न
मजा लाग्छ यस्तै कलाकार बन्न
रातो टोपीवालाले एक्लै गीत झिक्दछ । अरुले सुन्दै टाउको हल्लाउदछन् हास्छन् । ओहोहो हुर्र हुर्र भन्दै कराउछन् ।)
रातो टोपीवाला :–
मलाई छ कुर्ची सुनैको छ माला
अरे जिन्दगीमा कमी के छ साला
सुरा सुन्दरीको सेवा यो छ टन्न
मजा लाग्छ यस्तै कलाकार बन्न
(भोजमा सामेल सबैले एक साथ यै शब्द दोहो¥याउँदै रक्सी बोतल हातमा लिएर नाच्दछन् अनि सुन्दरीहरुलाई पनि नचाउछन् ।)
सबै एक साथ :– नाच्दै… हल्ला… गर्दै …हाँस्दै
मलाई छ कुर्ची सुनैको छ माला
कअरे जिन्दगीमा कमी के छ साला
सुरा सुन्दरीको सेवा यो छ टन्न
मजा लाग्छ यस्तै कलाकार बन्न
यस्तै व्यापक मनोरञ्जन चलिरहेको हुन्छ । सबैलाई क्रमशः रक्सीको नशा लागी सकेको हुन्छ । यस्तैमा एक्कासी रातो टोपीवालाको मोवाइलमा फोनको घन्टी बज्दछ । रातो टोपीवालाले फोन उठाएर जिब्रो लरबराउँदै बोल्छ ।
रातो टोपीवाला :–
हेलो … हेलो ..को बोलेको ?
फोनबाट रातो टोपीवालाले यस्तो आवाज आएको सुन्दछ । उसले यो आवाज सबैले सुन्ने गरी ठूलो बनाएको छ ।
के गर्छाै यो दुषित मनले विग्रियौ धर्ति माझ
कालो धन्दा सब गरिदियौ मात्तियौ हेर आज
माला लायौ झलल सुनको कुर्चि पायौ मनैको
गोटी चाल्यौ डलर अनि त्यो चोर डाका डनैको
रातो टोपी वाला : –( त्रसित भावमा )
हेलो …हेलो…को बोलेको ?
फोनबाट आएको आवाजः–
स्वार्थी लोभी भएर जगमा दाग कालो लगायौ
पूरै नाङ्गो धन विहिन यो देश हाम्रो बनायौ
तिम्रा काला कसुर पनि जो छर्लङ्गै पो हुने भो
पापै तिम्रो जनलहरमा कुर्ली कुर्ली रुने भो
रातो टोपीवाला :– हेलो हेलो…को बोलेको ?
बोल्दा बोल्दै फोन काटिन्छ । पृष्ठभूमीमा यस्तो नारा सुनिन्छ । भ्रष्टाचारीलाई कार्बाही गर –कार्वाही गर, कार्वाही गर ! संसारका मजदुर एक हौ – एक हौ, एक हौ !!
रातो टोपीवाला :– (भयभित मुद्रामा)
ए साथि हो विपद चुलियो लौन पैसा लुकाउ
भागौ भागौ सुरक्षित हुने, जाउ है गोप्य ठाउँ
ए साथी हो अब समय भो लुक्नलाई उठौ है
भागौ भागौ यहि अब कतै गोप्यतामा लुकौ है
(कोही कुर्चि मुनी, कोही पर्दा भित्र, कोही सुन्दरीहरुको पछ्यौरी भित्र छिटो छिटो लुक्न थाल्दछन् । पृष्ठ भूमिको नाराको आवाज झन झन चर्काे सुनिन थाल्दछ ।)
(दृश्य :– एघार)
कुनै खुला चौरमा मानिसहरूको ठूलो भिड जम्मा भएको छ । भिडको अगाडीतिर रातो टोपीवाला सहित चार जना भुँडेहरूलाई समाएर उभ्याइएको छ । उनीहरू सबैको हात बाँधिएको अवस्थामा छ । उनीहरुको अगाडि एउटा भाँडोमा कालो मोसो राखिएको छ । साथै त्यहाँ जुत्ता चप्पलको मालाको थुप्रो लगाइएको छ । तिनीहरूको नजिकै चिरायु पनि उभिएको छ । भिडले नाराबाजी गरिरहेको छ । भ्रष्टाचारीलाई कार्बाही गर –कार्वाही गर, कार्वाही गर ! संसारका मजदुर एक हौ – एक हौ, एक हौ !!
रातो टोपीवालाले थरथर काँप्दै भिडतर्फ फर्किएर आफ्नो कुरा राख्न थाल्छ । सबै मानिसहरुले नारा लगाउन छोडेर उसको कुरा सुन्न थाल्छन् ।
रातो टोपीवाला : –
गन्दा खेल सधै रचेर जगमा कालो बनाए मन
गुण्डा, चोर बने लुटेर जनता आर्जे म कालो धन
मैले आज यहाँ गरेछु भुल यो जल्दैछ मेरो तन
साँच्चै आज केही उपाय छ भने देउ नयाँ जीवन
(उसको यो कुरा सुनेर भिड झन उत्तेजित हुन्छ । भिडमा उहि नारा झन चर्काे स्वरमा घन्कीन्छ ।
चिरायुले भिडतर्फ फर्किएर आफ्ना कुराहरू राख्न थाल्छ । सबै मानिसहरूले उसको कुरा सुन्न थाल्छन् । )
चिरायु :–
उठ्नै पर्छ उठेर हेर जन हो आँखा त खोल्नै पर्यो
भ्रष्टाचार सबै हटाउन यहाँ मान्छे त बोल्नै पर्यो
काखी च्याप्नु हुँदैन दुःख सुखका दाता परेता पनि
भोग्नै पर्छ कडा सजाय यिनले नाता परेता पनि
चिरायुको यो उद्घोष पश्चात जन समूहको बीचबाट जोड्दार ताली बज्दछ । साथै भिडबाट एउटा युवक अगाडि आउछ र थुप्रोबाट जुत्ताको माला उठाएर रातो टोपीवाला पाँचै जनालाई लगाईदिन्छ । साथै ती पाँचै जनाको मुखभरी कालो मोसो लगाइदिन्छ । अनि भिड तर्फ फर्केर भन्छ ।
युवक :–
भ्रष्टाचार बढ्यो हरेक पलमा संसार दुब्दै गयो
सच्चा मानिसको त जीवन यहाँ लौ हेर उस्तै भयो
कोही भ्रष्ट र दुष्ट हो यदी भने घाटा परेता पनि
भोग्नै पर्छ कडा सजाय उसले नाता परेता पनि
यति भनेर त्यो युवक चिरायुको छेउमा गएर उभिन्छ । चिरायुले त्यसलाई आस्थाको झन्डा प्रदान गर्दछ । युवकले आस्थाको झन्डालाई माथि उठाउँछ । जनसमुहको बीचबाट जोडदार ताली गुञ्जन्छ । साथै भिडबाट एउटा अधबैसे किसान अगाडि आउँछ र थुप्रोबाट जुत्ताको माला उठाएर रातो टोपीवाला पाँचै जनालाई लगाईदिन्छ । साथै ती पाँचै जनाको मुखभरी कालो मोसो लगाइदिन्छ । अनि भिड तर्फ फर्केर भन्छ ।
किसान :–
रातारात सबै समाज दुनिया खाएर भ्याए पनि
ठग्ने यो कुविचार आज यसरी बोकेर ल्याए पनि
भ्रष्टाचार यहाँ कुनै बखतमा फाप्दैन बुझौ कुरा
मान्छे उठ्छ तिमी विरुद्ध सहजै सुर्केर यी पाखुरा
यति भनेर त्यो किसान चिरायुको छेउमा गएर उभिन्छ । चिरायुले किसानलाई आस्थाको झन्डा प्रदान गर्दछ । किसानले आस्थाको झन्डालाई माथि उठाउछ । जनसमुहको बीचबाट जोडदार ताली गुञ्जन्छ । साथै भिडबाट एउटा अधबैसे महिला अगाडि आउछ र थुप्रोबाट जुत्ताको माला उठाएर रातो टोपीवाला पाँचै जनालाई लगाईदिन्छ । साथै ती पाँचै जनाको मुखभरी कालो मोसो लगाइदिन्छ । अनि भिड तर्फ फर्केर भन्छ ।
महिलाः–
तिम्रो जीवन त्यो महलमा हाँस्दै रमाए पनि
सत्ताको रसले पुगेन कसरी ? लाखौ कमाए पनि
भ्रष्टाचार ग¥यौ तथापी जगमा राम्रै हुँ भन्छौ म ता
चोखो बन्न नखोज भ्रष्ट मुखले लुक्दैन यो भ्रष्टता
(यति भनेर त्यो महिला पनि चिरायुको छेउमा गएर उभिन्छे । चिरायुले महिलालाई आस्थाको झन्डा प्रदान गर्दछ । महिलाले पनि आस्थाको झन्डालाई माथि उठाउँछे । जनसमुहको बीचबाट जोडदार ताली गुञ्जन्छ । साथै भिडबाट एउटा अधबैसे मजदुर अगाडि आउँछ र थुप्रोबाट जुत्ताको माला उठाएर रातो टोपीवाला पाँचै जनालाई लगाईदिन्छ । साथै ती पाचैजनाको मुखभरी कालो मोसो लगाइदिन्छ । अनि भिड तर्फ फर्केर भन्छ ।)
मजदुर :–
तोडौ हैकम यो मिलेर जन हो उर्लेर त्यो वेग झै
हिड्नै पर्छ लिएर जोश सबले गर्जेर त्यो मेघ झै
हाम्रो तागतको कुरा उठिरहोस् बैरी नउठ्ने गरी
हाम्रो वर्ग यहाँ सधै जुटिरहोस आस्था नछुट्ने गरी
(यति भनेर त्यो मजदुर पनि चिरायुको छेउमा गएर उभिन्छ । चिरायुले मजदुरलाई पनि आस्थाको झन्डा प्रदान गर्दछ । त्यो मजदुरले पनि आस्थाको झन्डालाई माथि उठाउँछ । जनसमुहको बीचबाट जोडदार ताली गुञ्जन्छ । साथै भिडबाट यसपटक एउटा मात्रै होइन तीन जना ब्यक्तिहरू एकसाथ अगाडि जान्छन् । उनीहरु मध्ये एउटी बुढी महिला हुन्छे भने बाँकी दुइजना चाहि त्यै बुढीका जवान छोरा र छोरी हुन्छन् । ती तीनै जना अगाडि आउँछन् । तर उनीहरु राटो टोपीवालाहरु तर्फ नगई चिरायुको अगाडि जान्छन् र चिरायुलाई भन्न थाल्छन् ।)
बुढी(सुनमाया) :–
छोरा र छोरी घरका दुवैमा आस्था खुवाए कखरा चिनाए
भोकै र नाङ्गै सपना पिलाए तिम्रै बिधाको पथमा हिडाए
आस्था सजाए घर आगनीमा दामी बनाए खतिया यसैको
ओछ्यान बनाए डसना सिलाए नामी बनाए तकिया यसैको
छोरा :– (आफ्नो बाको अनुहारमा हेर्दै)
प्यारो छ आस्था मुटुमा बसेको संकल्प बोक्दै पदचाप चाल्छ
आस्था अनौठौ बलियो छ बाबा ज्वाला उठेको उ मसाल बाल्छ
छोरी : – आफ्नो बाको हात समाउँदै)
आस्था चनाखो दरिलो छ बाबा, तारा खसेता पनि छोप्न सक्ने
आस्था असाध्यै बलियो छ हाम्रो चिर्काे परेता पनि रोक्न सक्ने
चिरायु :– (आफ्नो झोलाबाट आस्थाको झण्डा झिक्दै)
आस्था यसैले गिरि कन्दरामा तान्दै लछारेर खडा बनायो
आस्था यसैले हर जिन्दगीमा हान्दै पछारेर कडा बनायो
आस्था त हाम्रो सब थोक हो यो आस्था न त्यागौ बरु प्राण त्यागौ
सारा विधामा समता भएको संसारको यो इतिहास लेखौं
(चिरायुले आफ्नो श्रीमती छोरा र छोरी तीनै जनालाई अँगालो मार्छ । अनि आँसु पुच्दै प्रसन्न मुद्रामा आस्थाको झण्डालाईक माथि उठाउछन् । जनसमुहको भिडबाट जोडदार ताली बज्छ ।
पर्दा बन्द हुन्छ ।