गुट–उपगुटले पारेको समस्या

मनोज भट्ट

शायद विश्वको पहिलो राजनीतिक दलको नाम टोरी (अनुदारवादी) र हिवग (उदारवादी) हो । यि दुइटै दलहरु १८ औं शताब्दीमा बेलायतमा विकास भई स्थापना भएका हुन् । शुरुमा यिनीहरु गुुट वा समुहको रुपमा क्रियाशील थिए । समान विचार भएका गुट वा समुहहरु आपस मिलेर राजनीतिक दलको स्थापना गरेका हुन् ।

कार्ल माक्र्सले कम्युनिष्ट पार्टीको स्थापना गर्नाका लागि शुरुमा कम्युनिष्ट पत्राचार कमिटीको गठन गरेका थिए । त्यो पत्राचार कमिटी पनि एक प्रकारको समूह जस्तै थियो । पत्राचार कमिटीमा माक्र्स र एंगेल्स बाहेक काल्पनीक समाजवादीहरु पनि सम्मिलीत थिए । पत्राचार कमिटीको पहलमा न्यायीक लिग भन्ने समुहसँग माक्र्सको सम्पर्क भयो । थुप्रै वैचारिक छलफल पछि न्यायीक लिग माक्र्सको विचारका आधारमा काम गर्न सहमत भयो । न्यायीक लिग र कम्युनिष्ट पत्राचार कमिटी आपसमा मिलेर कम्युनिष्ट लिको स्थापना भयो । कम्यनिष्ट लिग नै विश्वको पहिलो कम्युनिष्ट संगठन हो ।

उपर्युक्त दुईटा उदाहरणबाट प्रष्ट हुन्छ कि आधुनीक राजनीतिक दलहरु गुट वा समूहका विकसीत रुप हुन् । दल निर्माणको प्रारम्भीक रुप अथवा स्वरुप गुट वा समुह हुन् । इतिहासको एउटा काल खण्डमा गुट वा समुहको आफनो महत्व थियो । पार्टी निर्माणका लागि गुट वा समूह पूर्व शर्त जस्तै थिए । यद्यपी आधुनीक युगमा पनि पार्टी निर्माण वा स्थापनाका लागि गुट वा समूहको महत्व रहेको कुरालाई अस्वीकार गर्न सकिन्न । तर गुट वा विभिन्न समूह मिलेर पार्टीको निर्माण भैसके पछि गुटको विरासतलाई कायम राख्ने वा गुटबन्दी गर्ने कार्यले एउटा कम्युनिष्ट पार्टीले क्रान्तीको अभिभारा पूरा गर्न सक्दैन । गुटबन्दीका विरुद्ध निर्मम हुनु नै पर्दछ । गुटबन्दीले क्रान्तीलाई नोक्सान पुर्याउँछ । विचारको स्वतन्त्रता र कामको एकताका लागि लेनिनवादी संगठनात्मक सिद्धान्तलाई पालना गर्नु पर्दछ ।

राजनीति अनुसारको संगठनात्मक ढांचा वा प्रणाली निर्माणमा जोड दिने गरिन्छ । यो कुरा कसैबाट लुकेको छैन कि, नेकपाले माक्र्सवाद, लेनिनवाद परित्याग गरि सकेको छ । नेकपाले क्रान्तीकारी सिद्धान्त परित्याग गरिसकेको अवस्थामा उसले लेनिनवादी संगठनात्मक सिद्धान्त अनुसार पार्टीलाई जनवादी केन्द्रियताका आधारमा सञ्चालन गर्नु पर्ने आवश्यकता पनि रहेन । त्यो सिद्धान्त उसका लागि आवश्यक पनि छैन । तर पार्टी भित्र गुट–उपगुटको वर्चश्वशाली अवस्थाका कारण दक्षिणपंथी अवसरवादी राजनीतिलाई समेत अघाडी बढाउन वा यही ब्यवस्था अन्तर्गत जनताको जनमत लिएर स्थिर सरकार सञ्चालन गर्न नसक्ने अवस्थामा पुर्याई दिएको छ ।

विगतमा माधव नेपाल, झलनाथ खनाल तथा संविधान निर्माण पछि बनेको केपी ओली नेतृत्वको सरकारका विरुद्ध स्वयम् नेकपा भित्रका विभिन्न प्रतिस्पर्धी गुटहरुले चलाएको अभियान र त्यसबाट सरकार सञ्चालनमा परेको बाधा सबैको अगडि प्रष्ट नै छ । नेकपा भित्रको गुटबन्दीको अवस्थाले देशको राजनीतिलाई नै बन्धक बनाउनेसम्मका कामहरु भईरहेका छन् । उनीहरु भित्रको चरम् गुटबन्दी तथा छत्ताछुल्ल अन्तरविरोधलाई कैयौं अवस्थामा देशी तथा विदेशी प्रतिकृयावादी शक्तिहरुले आफ्नो राजनीतिक उद्देश्यका लागि समेत उपयोग गरिरहेका छन् ।

नेकपा भित्रका प्रतिस्पर्धी गुटहरुको प्रकृति हेर्दा तिनीहरु कुनै वैचारिक समूह वा गुट होइनन् । मुख्यतया पार्टी र राज्यमा आ–आफना पकड कायम गर्न गुटहरुको निर्माण भएको छ । राजनीति र सिद्धान्तको सवालमा यीनीहरुका वीचमा खासै मतभेद छैन । त्यसैले यिनीहरुका वीचको संघर्षले प्रायः अराजनीतिकरुप लिने गरेको छ । कुनै राजनीतिक वा सांगठनीक विषयलाई लिएर संघर्ष चले पनि ती विषयलाई गौण वा तपसिलको विषय बनाएर पदीय भागबण्डामा गएर टुङग्याउने गरेका छन् । पदीय भागबण्डाका आधारमा नेकपा भित्र नयाँ नयाँ समिकरण बन्ने र परिवर्तन हुन्े गरेका छन् । केपी ओलीका विरुद्ध बनेको समिकरण एकाएक परिवर्तन हुनुमा छुद्र प्रकारको भागबण्डाको राजनीतिले काम गरेको कुरा स्पष्ट नै छ ।

नेकपा भित्र गुटहरुको वर्चश्वशाली अवस्था छ । पार्टीको केन्द्रिय कमिटी, स्थायी समिति र सचिवालयमा गुटको हैसियत अनुसार भागबण्डा गरिएको छ । स्थानीय निकाय, प्रदेशसभाका सदस्य र सरकार तथा संघीय संसद र सरकारमा त्यही प्रकारका नीति अवलमबन गरिएको छ । यहाँसम्म कि सरकारबाट नियुक्त हुने विभिन्न देशका राजदूत, सर्वाेच्च तथा उच्च अदालतमा नियुक्त हुने न्यायाधिश, संवैधानिक निकायका प्रमुख तथा सदस्य, विभिन्न राजनीतिक नियुक्ति, विभिन्न विश्वविद्यालयका उपकुलपति लगायतका पदाधिकारीहरुमा समेत गुटगत आधारमा भागबण्डा गर्ने गरिएको छ । नेकपा भित्रका कुनै सदस्यले लाभको पद वा पार्टीको आन्तरिक निर्वाचनमा कुनै पद प्राप्त गर्न कुनै न कुनै गुटकोमा लागनु पर्ने बाध्यात्मक अवस्था छ । अर्थात गुटमा सामेल हुन नचाहनेहरुका लागि पार्टीमा कुनै स्थान छैन । पार्टीमा त्यसप्रकारको वातावरण जबरजस्त ढगंबाट निर्माण गरिएको छ । सम्पूर्ण पार्टी विभिन्न गुटमा तलसम्मै विभाजीत भएको कारण गुटबन्दीलाई नियन्त्रण गर्न कार्यकर्ताहरुको स्वतन्त्र पहलकदमी वा दबाबले काम गर्न सक्ने अवस्था पनि अत्यन्तै कमजोर देखापरिरहेको छ । त्यसैले नेकपा भित्र तत्काल गुटको वर्चश्वशाली अवस्था कमजोर हुने देखिन्न । पार्टी भित्र गुटको वर्चश्वशाली अवस्था रहँदासम्म प्रतिद्धन्दी गुटहरुका बीच सत्ता र शक्तिका लागि अस्वस्थ प्रतिस्पर्धा चलिरहने छ । समिकणरहरु बन्ने र भत्कीने क्रम जारी रहने छ । तर देशको राजनीतिलाई सही दिशामा लैजान यो अवस्थामाथि नियन्त्रण गर्नुको कुनै विकल्प छैन । यदि अहिलेको अवस्थामा नियन्त्रण गरिएन भने स्वयम् नेकपा राजनीतिक भविष्य नै धरापमा पर्ने खतरा छ ।

नेकपाले दक्षिणपन्थी अवसरबादी बाटो अपनाएता पनि सङगठनात्मक क्षेत्रमा चीनीया तथा भारतीय कम्युनिष्ट पार्टीको कार्यशैलीबाट शिक्षा लिनु पर्ने आवश्यकता छ । यी दुईटै पार्टीले कम्युनिष्ट सिद्धान्त परित्याग गरे पनि पार्टी भित्र अनुशासनको अवस्थालाई कमजोर हुन दिएका छैनन् । गुटबन्दी र अनुशासनविहिनताले कम्युनिष्ट सिद्धान्त परित्याग गरेको पार्टीमा यति धेरै समस्या पैदा गरेको छ । गुटबन्दी र अनुशासनविहिनताले झन् क्रान्तीकारी कम्युनिष्ट पार्टीलाई कति क्षती पुर्याउला सहजै अनुमान गर्न सकिन्छ । त्यसैले पार्टीलाई अनुशासीत बनाउनमा जोड दिउ । गुटबन्दीलाई निरुत्साहित गरौं । पार्टीलाई जनवादी केन्द्रियताका आधारमा सञ्चालन गरौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार