राष्ट्रिय जनमोर्चाको भोट डा. देवकोटा र पाण्डेयलाई

काठमाडौँ । आगामी जेठ ६ गते बागमती र लुम्बिनी प्रदेशमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाले डा. खिमलाल देवकोटा र श्री दीर्घनारायण पाण्डेयलाई भोट दिने भएको छ ।

प्रतिगमनका विरुद्ध उभिने शक्तिलाई समर्थन गर्ने नीतिअन्तर्गत नै उहाँहरू दुवैलाई समर्थन गरिएको राष्ट्रिय जनमोर्चाले स्पष्ट पारेको छ ।
राजमो अध्यक्ष चित्रबहादुर केसीले २०७८ जेठ ५ गते प्रेसवक्तव्य जारी गर्दै सो जानकारी दिनुभएको हो ।

वक्तव्यको पूर्ण पाठ यस्तो छ–

“बागमती र लुम्बिनी प्रदेशअन्तर्गत हुन गइरहेको राष्ट्रियसभाको निर्वाचनमा खडा हुनुभएका उम्मेदवारसम्बन्धी पार्टीको धारणा सार्वजनिक गर्न यो प्रेस वक्तव्य सार्वजनिक गरिएको छ ।

यही २०७८ जेठ ६ गते बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार रहनुभएका डा. खिमलाल देवकोटालाई नैतिक समर्थन गर्ने पार्टीको नीति रहेको छ । डा. देवकोटा प्रतिगमन विरोधी गठबन्धनको उम्मेदवारको रूपमा खडा हुनुभएको छ । प्रतिगमनलाई परास्त गर्न प्रतिगमन विरोधी उम्मेदवारलाई जिताउन हामीले उहाँलाई प्रतिगमन विरोधी शक्तिहरूको साझा उम्मेदवारको रूपमा अगाडि सार्ने सहमतिअनुरूप नै हाम्रो पार्टीले समर्थन गर्ने निर्णय लिएको छ ।

त्यसैगरी २०७८ जेठ १७ गते लुम्बिनी प्रदेशमा हुन गइरहेको राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार हुनु भएका श्री दीर्घनारायण पाण्डेयलाई हाम्रो पार्टीले समर्थन गर्दछ । उहाँको पक्षमा मतदान गर्न लुम्बिनीअन्तर्गतका विभिन्न पालिकामा हाम्रो पार्टीबाट विजयी प्रमुख, उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरूलाई अनुरोध गर्दछौँ ।

ओलीको प्रतिगमनलाई परास्त गर्नका लागि त्यसका विरुद्ध आउने सबै शक्तिसँग सहकार्य गर्ने नीतिअनुरूप नै हामीले राष्ट्रियसभाको निर्वाचनमा ओलीको प्रतिगमन विरुद्ध रहेका दलका उम्मेदवारलाई समर्थन गर्ने नीति अपनाएका छौँ । प्रतिगमनका विरुद्ध रहेका प्रतिगमन विरोधी शक्तिका उम्मेदवारलाई अत्याधिक मतले विजय गराउनसमेत हामीले सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार