खिमराज चालिसे,
चंडिगढ । भारतको चंडिगढमा सँगै डेरामा बस्ने साथीबीच खाना के पकाउने भन्ने विषयमा झगडा हुँदा एक नेपाली युवकले ज्यान गुमाएको स्थानीय प्रहरी प्रशासनले बताएको छ । प्रहरी प्रशासनका अनुसार हत्यामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार चंडिगढस्थित किसनगढ गाउँमा दुईजना नेपालीहरुबिच भएको सानो विवादमा कपिलवस्तुका ४१ वर्षीय अमर बहादुर कार्कीले ज्यान गुमाएका हुन् । हत्यामा संलग्न रुपन्देहीको सैनामैना-९ का ५९ वर्षीय चेत बहादुर परियारलाई प्रहरीले गिरफ्तार गरेको छ ।
रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वार्ड नम्वर ९ बासगढी, ज्योतिटोल निवासी कृष्ण बहादुर कार्कीको छोरा कपिलवस्तु बाणगंगा-३ गजहेडा बस्ने अमर बहादुर कार्की उर्फ बाबुराम कार्की र रुपन्देही जिल्लाको सैनामैना ९ निवासी टिकाराम परियारको छोरा चेत बहादुर चंडिगढस्थित कैटरिङमा वेटरको काम गर्दथे । उनीहरु दुवैजना चंडिगढको किसनगढ गाउँमा एउटै डेरामा बस्दै आएका थिए । गएको मंगलबार दुबै जनाको दिउँसो खाना पकाउने विषयमा भएको झगडामा चेतबहादुरले खाना पकाउने प्रेसर कुकर प्रहार गर्दा टाउकोमा चोटलागी घाइते बनेका अमरको बुधवार बिहान ज्यान गएको बताइएको छ ।
घटनाको जानकारी पाएपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य खिमराज चालिसेको नेतृत्वमा नगर अध्यक्ष मान बहादुर केसी र वरिष्ठ सदस्य थमन थापा लगायतको टोलीले चंडिगढ आइटिपार्क थानामा पुगी आरोपी चेत बहादुर परियार र मृतकका श्रीमती मिना कार्की र बैनी इन्दु कार्कीसंग छुट्टा छुट्टै सोधपुछ समेत गर्नुभएको थियो ।
चंडिगढ पुलिसले आज मृतकको शव पोष्टमार्टम गरी परिवारलाई हस्तान्तरण गर्ने भएको छ भने आरोपी चेत बहादुर परियारलाई कस्टडीमा राखेर थप अनुशन्धान गरिरहेको छ ।