‘सहमति विपरित राजावादीलाई सामेल गर्दा संयुक्त वाम आन्दोलनलाई नोक्सानी’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले एमसीसीविरुद्धको संयुक्त आन्दोलनका कार्यक्रममा पूर्वसहमति विपरितका गतिविधिले आन्दोलनलाई नै आँच पुर्याएको ठहर गरेको छ । यही मंसिर २८ गते भएको संयुक्त आन्दोलनका क्रममा पूर्वसहमति विपरित राजावादी समूहलाई सामेल गरिएको घटनाले संयुक्त वाम आन्दोलनलाई क्षति पुर्याएको मसालले जनाएको छ ।

शनिबार एक वक्तव्य प्रकाशित गरी महामन्त्री मोहनविक्रम सिंहले आफ्नो पार्टीको राजावादीसँग सहकार्य नगर्ने नीति रहेको स्पष्ट पार्नुभएको छ । सोही आधारमा संयुक्त बैठकमा पार्टीको नीतिबारे स्पष्ट पार्दै संयुक्त कार्यक्रमको आयोजना गरिएपनि अन्य पक्षले सहमति विपरित गतिविधि गरेको बताउनुभएको छ ।

उहाँले संयुक्त आन्दोलनमा आचारसंहिताको ख्याल गर्न र इमान्दारिता प्रदर्शन गर्न पनि सहयात्री दलहरुसँग आग्रह गर्नुभएको छ । वक्तव्यमा एमसीसीका कारण देशको राष्ट्रियतामा गम्भीर आँच आउने अवस्था आएको भन्दै एमसीसी खारेज गर्नुपर्ने कुरामा समेत जोड दिइएको छ ।

यस्तो छ वक्तव्य
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई संसदबाट पारित गराउनका लागि विशेष पहल गरिरहेको समाचारप्रति नेकपा (मसाल) को गम्भीर ध्यान आकर्षित भएको छ । हाम्रो पार्टीको पहिलेदेखि नै यो स्पष्ट र दृढ मत रहँदै आएको थियो र अहिले पनि छ कि एमसीसी नेपालको राष्ट्रियता र सार्वभौमिकता तथा दीर्घकालीन हितका विरुद्ध छ । अमेरिकाले सामान्यतः आफ्ना साम्राज्यवादी उद्देश्यलाई पूरा गर्न तथा विशेषतः चीन विरोधी मोर्चावन्दीमा नेपाललाई पनि सामेल गर्नको लागि एमसीसी पारित गर्नुपर्ने कुरामा लगातार जोड दिँदै आएको छ । प्रकट रूपमा एमसीसीको स्वरुप विकासको जस्तो देखिन्छ । तर त्यसको मुख्य उद्देश्य इण्डोप्यासिफिक रणनीतिको सेवा गर्नु हो । त्यसैले हाम्रो पार्टीले त्यसलाई खारेज गर्नुपर्ने आवश्यकतामा लगातार जोड दिँदै आएको छ ।

नेपालले लामो समयदेखि असंलग्न परराष्ट्र नीति अपनाउँदै आएको छ । नेपालको छिमेकमा दुई ठूला साम्राज्यवादी देशहरू रहेका छन्, नेपालले ती दुवै देशहरूप्रति पनि असंलग्न पराराष्ट्र नीति अपनाउँदै आएको छ । अमेरिकाले नेपाललाई चीन विरोधी अमेरिकी सैन्य क्याम्पमा लैजान चाहन्छ । त्यसले पहिले तिब्बतका विरुद्ध नेपाललाई प्रयोग गर्ने प्रयत्न गर्यो । अहिले एमसीसीको माध्ययमद्वारा नेपाललाई चीन विरोधी मोर्चामा सामेल गर्न चाहन्छ । त्यसो भयो भने नेपालको असंलग्न पराराष्ट्र नीतिको अन्त्य हुनेछ र नेपाल शीत युद्धको अखडामा बदलिने छ ।

चीन निश्चित रूपले एउटा साम्राज्यवादी देश हो । तैपनि भारतको नेपालप्रतिको हस्तक्षेप र अतिक्रमण तथा अमेरिकी साम्राज्यवादी नीतिका विरुद्ध सन्तुलन र नियन्त्रणका लागि नेपालको विशेष प्रकारको भू–राजनीतिक स्थितिमा चीनसितको मैत्री सम्बन्धले नेपालका लागि विशेष महत्व राख्दछ । एमसीसीले त्यो मैत्री सम्बन्धमा कुठाराघात गर्ने छ र त्यसरी त्यसले भारतीय र अमेरिकी साम्राज्यवादको नै सेवा गर्ने छ । त्यसैले हाम्रो पार्टीले सुरूदेखि नै एमसीसीका विरुद्धको सङ्घर्षमा आफ्नो स्वतन्त्र पहलकदमी वा अन्य राजनीतिक शक्तिहरूसँग मिलेर पहलकदमी गर्दै आएको छ ।

त्यस सिलसिलामा वामपन्थी शक्तिहरूसितको संयुक्त आन्दोलनले विशेष महत्व राख्ने गरेको छ । एमसीसी विरुद्धको वामपन्थी संयुक्त आन्दोलनमा राजावादीहरूका कारणले केही बाधा पुग्ने र समस्या पैदा हुने देखिन थालेको छ । पहिले पनि कतिपय पल्ट एमसीसीका विरुद्धको २२ दलीय संयुक्त वामपन्थी आन्दोलनमा राजावादीहरूलाई सामेल गरेको हुनाले हामी त्यसबाट अलग हुनुपरेको थियो र आफ्नै एकल पहलकदमीमा त्यो आन्दोलनलाई अगाडि बढाउनु परेको थियो । हालै यही मंसिर २८ गते सम्पन्न एमसीसीका विरुद्धको संयुक्त आन्दोलनमा पनि पुनः त्यही प्रकारको समस्या दोहोरिएको छ । सबै संयुक्त आन्दोलन र संयुक्त वामपन्थी आन्दोलनमा पनि आन्दोलन सुरू गर्नु भन्दा पहिले आन्दोलनका सहभागी, सभामा प्रकट हुने विचार र आन्दोलनका स्वरुपबारे पनि पूर्व सहमति हुने गरेको छ र सबैले त्यसअनुसार आचारसंहिता पालना गर्नुपर्ने आवश्यकता हुन्छ ।

तर मंसिर २८ गतेको संयुक्त आन्दोलनमा सहमति नभएका विषयहरूमा पनि कतिपय पक्षलाई सहभागी बनाउने, वक्ताको रूपमा प्रस्तुत गर्ने र नाराहरू लगाउने समेत काम गरियो । त्यो दिनको कार्यक्रममा राजावादीलाई सामेल गर्ने कुनै समझदारी भएको थिएन । तर उनीहरूलाई वक्ताको रूपमा अगाडि सारियो । कुनै समझदारी नभएको विषय “नेकपा जिन्दावाद” र “वैज्ञानिक समाजवाद”को नारा लगाइयो । त्यो दिनको कार्यक्रममा घेराउ गर्ने मात्र सहमति भएको थियो । तर आठ दलका बीचमा कुनै सहमति नभएको र आपसमा विचार विमर्श नगरिएको घेरा तोड्ने काम पनि गरियो । प्रश्न यो उठ्दछ, ती सबै कार्यहरू कसको निर्देशनमा गरिएको थियो ? त्यसको समिक्षा हुनुपर्ने र आगामी कार्यक्रमहरूमा परस्परका सहमति र आचारसंहिताको उलङ्घन रोक्ने कुराको ग्यारेन्टी हुुनुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ ।

हामी पहिलेदेखि नै राजावादीहरूलाई संयुक्त वामपन्थी आन्दोलनमा सामेल गर्ने कुुराको विरोधी रहँदै आएका छौँ वा उनीहरूलाई सामेल गरिएको संयुक्त आन्दोलनमा सामेल नहुने हाम्रो स्पष्ट नीति रहँदै आएको छ । देशमा लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र आन्दोलनका उपलब्धिहरू समाप्त गर्नका लागि राजावादीहरूले सङ्गठित र योजनावद्ध प्रकारले अभियान चलाउँदै आएका छन् । त्यो अवस्थामा उनीहरूका विरुद्ध अर्थात् प्रतिगमन विरुद्धको सङ्घर्ष अहिलेको ऐतिहासिक र राष्ट्रिय आवश्यकता भएको छ । त्यो अवस्थामा हाम्रो मुख्य जोड उनीहरूका विरुद्धको सङ्घर्षमा नै हुनुपर्दछ भन्ने हाम्रो ठहर छ । उनीहरूसितको कुनै पनि प्रकारको सहकार्य वा उनीहरूप्रतिको सम्झौतापरस्त नीतिले प्रतिगमनका विरुद्धको हाम्रो सङ्घर्षलाई कमजोर पार्ने छ । त्यसैले हामीले उनीहरूसितको सहकार्य वा संयुक्त आन्दोलनलाई विरोध गर्दै आएका छौँ ।

कुनै पक्षले उनीहरूसित सहकार्य गर्ने निर्णय गरेमा उनीहरूसित बेग्लै सहकार्य गर्न सक्दछन् । तर हाम्रो त्यसमा सामेल नहुने नीति रहेको छ र हामीले त्यो कुरा स्पष्ट गर्दै पनि आएका छौँ । तर परस्परमा कुनै सहमति नगरिकन उनीहरूलाई २८ गतेको कार्यक्रममा जसरी वक्ताको रूपमा सामेल गरियो, त्यसप्रति हाम्रो गम्भीर आपत्ति र विरोध छ । त्यसबाट संयुक्त वामपन्थी आन्दोलनमा धेरै नै आँच पुगेको छ । हामीले आशा गर्दछौँ, आगामी दिनहरूमा त्यस प्रकारको गल्तीलाई दोहोर्याइने छैन । संयुक्त आन्दोलनमा भएको कुनैपनि सहमतिमा हाम्रो पार्टी सधैँ नै इमान्दार रहने गरेको छ । संयुक्त आन्दोलनको त्यो एउटा आधारभूत नियम पनि हो । हामीले अन्य पक्षहरूबाट पनि त्यस प्रकारको इमान्दारिताको आशा गर्दछौँ ।

२०७८ पुस ३ गते
मोहनविक्रम सिंह
महामन्त्री

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार