भटिण्डा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आगामी २७–२८ फरवरी र १ मार्च २०२२ को ‘गणतंत्र र राष्ट्रियताको रक्षा गरौं, भारतस्थित प्रवासी नेपालीहरुको मताधिकार एंव समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौं’ भन्ने मूल नाराका साथ सम्पन्न हुन गइरहेको राष्ट्रिय सम्मेलनको सफलताका लागि सुदुर पश्चिमोत्तर क्षेत्रका विभिन्न नगरहरुले धमाधम प्रचारात्मक सभाहरु सम्पन्न पारेका छन् ।
यसै बीच क्षेत्रीय समिति अन्तर्गत भटिण्डा नगर समितिको आयोजनामा वृहत प्रचारात्मक सभा टिचर होममा सम्पन्न पारिएको छ ।
केन्द्रीय सचिव त्रिभुबन भट्टराईको प्रमुख आतित्थ्यतामा सो सभा सम्पन्न पारिएको थियो । प्रमुख अतिथिको आसनबाट मन्तव्य दिंदै भट्टराईले मूल प्रवाहको आठौं अखिल भारत सम्मेलन सबैप्रकारले ऐतिहासिक रहने बताउनु भयो । ‘संगठनलाई पूmटपार्न चाहने फूटपरस्त तत्वहरुको गतिविधिलाई आठौं अखिल भारत सम्मेलनको सुनामी लहरले बगाईसकेको छ ।’ भट्टराईले भन्नु भयो– ‘अझै पनि कुनै साथीहरु आत्मालोचना गरेर सच्चिन चाहनु हुन्छ भने हामीले कूनै पनि ग्रह पूर्वाग्रह विना बाटो ढोका खुल्ला राखेका छौं ।’
सो सभालाई मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य नरबहादुर ओली, महिला विभागकी क्षेत्रीय कोषाध्यक्ष सुनिता भट्टराई, क्षेत्रीय सदस्य तुलसा थापा, नगर समितिका नर बहादुर बिक, गणेश पोख्रेल, कमल भण्डारी, संगरुरबाट मञ्जु शर्मा, विद्यार्थी संघ की सम्झना भट्टराई, धुर्व शर्मा र सिटी एरियाबाट नारायण अधिकारी लगाएतले मन्तव्य दिनुभएको थियो ।
कार्यक्रम चन्द्र प्रसाद भुसालको अध्यक्षता र गिरी बहादुर मगरको सञ्चालनमा अगाडि बढेको थियो । ज्ञात अज्ञात शहीदहरुप्रति एक मिनेट मौनधारण पश्चात स्वागत नारायण केसीले र स्वागत गीत कलाकारहरुले प्रस्तुत गर्नुभएको थियो ।