रणनीति र कार्यनीति बिचको अन्तर ठीकसँग बुझ्न नसक्दा भ्रमको स्थिति सिर्जना हुन्छ : खनाल

जयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनालले रणनीति र कार्यनीति बिचको अन्तर ठीकसँग बुझ्न नसक्दा भ्रमको स्थिति सिर्जना हुने भएकोले रणनीति र कार्यनीति बिचको अंतर ठीकसँग बुझ्न आग्रह गर्नुभएको छ ।

कुनै तात्कालिक इस्युमा पार्टीहरुका बीचमा समान धारणा भए पार्टीहरुका बीचमा कार्यगत एकता हुन सक्ने धारणा राख्दै महासचिब ठाकुर खनालले विगतमा केपी ओली नेतृत्वको सरकारले राष्ट्रियताको पक्षमा ठोस अडान लिएकोले उक्त सरकारलाई समर्थन गरेको तर पछि उक्त सरकारले संविधानलाई समेत मिच्दै एक पछि अर्काे प्रतिगामी कदम चाल्न थाले पछि उक्त सरकारलाई दिएको समर्थन फिर्ता लिएको स्मरण गराउँदै अहिलेको पाँच दलिय गठबन्धनभित्र हाम्रो पार्टी सामेल भएको विषयलाई पनि त्यसै आधारमा बुझ्नु पर्ने बताउनु भयो ।

‘जापानी साम्राज्यवादको विरुद्धको संघर्षमा माओत्सेतुङले च्याङ काइसेक सित समेत कार्यगत एकता गरेको उदाहरण प्रस्तुत गर्दै हामीले अहिले नेपाली काँग्रेस समेतको गठबन्धनमा सामेल हुनुको अर्थ नेपाली काँग्रेसले हिजोको दिनमा गरेका सबै अपराध ठिक थिए भन्नु होइन’ खनालले भन्नु भयो– ‘यो गठबन्धनमा सामेल भए पनि सरकारका राष्ट्रघाति जनघाति र गलत कार्यको सधैं अग्रिम पंक्तिमा उभिएर विरोध गर्ने छ ।’

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय समितिको आयोजनमा आठौं भारत सम्मेलनको प्रचारात्मक भेलामा प्रमुख अतिथिको आसनबाट कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव ठाकुर खनालले उक्त कुरा बताउनु भएको हो । जयपुरमा प्रत्यक्षरुपमा आयोजना गरिएको उक्त कार्यक्रम राजस्थान सरकारले आइतबारका दिन जयपुरमा कफ्र्यु लगाएको कारणले उक्त कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न भएको थियो ।

सो कार्यक्रममा एक फरक प्रसंगमा बोल्दै महासचिव ठाकुर खनालले भन्नु भयो : ‘कतिपय बेलामा हाम्रो संगठनबाट केही साथीहरु बाहिर जाने गरेका छन्् र अहिले पनि केही साथीहरु हाम्रो संगठनबाट अलग भएका छन् । हाम्रो संगठनले कहिले पनि कसैप्रती कुनै किसिमको पूर्वाग्रह राखेको छैन ।’ संगठन छाडेर गएका साथीहरु आत्मा आलोचना गरेर पुनः संगठनमा फर्कन चाहेमा ढोका सधैं खुला रहेको खनालले बताउनु भयो । एमसीसीको विषयमा बोल्दै महासचिव खनालले यदि नेपालले एमसिसीलाई स्वीकार गर्ने हो भने नेपाल अमेरिकी साम्राज्यवादको स्वार्थको खातिर रणभुमि बन्न सक्ने धारणा राख्नुभयो ।

नारायण ज्ञवालीको सञ्चालन, मोहन गिरीको अध्यक्षता पश्चात उक्त कार्यक्रममा ईश्वरी आचार्यले स्वागत मन्तव्य राख्नु भएको थियो भने सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो ।

उक्त कार्यक्रमका मूल प्रवाह केन्द्रीय साँस्कृतिक विभागका रिम राना, केन्द्रीय महिला बिभागबाट हुमा रजाली, विद्यार्थी संघका केन्द्रीय सहसचिव कृष्टि राई, जनजाति केन्द्रीय विभागका ओम थापा, केन्द्रीय खेल विभागका काजीराम श्रेष्ठ, नेपाली एकता अनलाइन एवं नेपाली समाचार साप्ताहिकका प्रतिनिधि ज्ञानप्रसाद शर्मा हुनुहुन्थ्यो ।

भेलाले अध्यक्ष बेलबहादुर रजालीको संयोजकत्वमा ६१ सदस्यीय आठौं अखिल भारत सम्मेलन सहयोग समिति गठन गरेको छ भने किशोर राईको संयोजकत्वमा ५ सदस्यीय आर्थिक उपसमिति, रिम रानाको संयोजकत्वमा ९ सदस्यीय सांस्कृतिक उपसमिति र काजीराम श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय स्वयं सेवक उपसमिति गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार