पाँचदेखि ११ वर्षका बालबालिकालाई असार ९ देखि खोप

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका ३९ लाख बालबालिकालाई ‘फाइजर’ खोप लगाउने जानकारी गराउनुभएको छ । आज भिडियोमार्फत उहाँले बालबालिकालाई खोप प्रदानका गर्नका लागि विद्यालयमा खोप केन्द्र तोकी दुई चरणमा खोप अभियान सञ्चालन हुने जानकारी दिनुभयो ।

पहिलो चरणमा २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्म सञ्चालन गरिने छ । यस्तै दोस्रो चरणमा ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ । अनुसन्धानअनुसार खोप सुरक्षित रहेकाले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई खोप लगाउनका लागि उहाँले अनुरोध गर्नुभएको छ ।

उहाँले खोप खरिद प्रक्रिया सुरु गरिए पनि कोभ्याक्समार्फत निःशुल्क ल्याउन थालिएको बताउनुभयो । ‘खोप खरिद प्रक्रियामा रहेको थियो । यसको मूल्य रु छ अर्बभन्दा माथि रहेको थियो । तर मन्त्रालयले निरन्तर प्रयासमार्फत कोम्यभास सुविधामार्फत निःशुल्क ल्याउन लागेको हो’, उहाँले भन्नुभयो ।

केन्द्रीय भण्डारणमा राखेर सङ्घ, प्रदेश र स्थानीय तहमा खोप वितरण गरिने छ । नेपालमा अहिलेसम्म पाँच करोड ३३ लाख मात्रा खोप भित्रिसकेको छ । बाह्र वर्षभन्दा माथिका ८५ प्रतिशतलाई पहिलो, दोस्रो र बुष्टर मात्रा खोप प्रदान गरिसकेको र ९६ प्रतिशतलाई पहिलो मात्रा खोप लगाइसकेको उहाँले जानकारी दिनुभयो । सम्पूर्ण नागरिकलाई खोप लगाउनका लागि सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ । (रासस)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार