
- खिमराज चालिसे
चंडिगढ । भारतको पंजाब राज्यको डेराबसी मासु प्लान्टमा दुई नेपाली सहित चार जनाको टैंकर सफाई गर्ने क्रममा विषाक्त गैसको कारण मृत्यु भएको स्थानीय प्रशासन र सञ्चारहरुले बताएका छन् ।
उक्त घटना बारे मूल प्रवाहलाई जानकारी हुनसाथ मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडकाको नेतृत्वमा स्थानीय कार्यकर्ताहरु काजीमान राई, गोविन्द भुसाल, दिलमाया लुईटेल, कुमार भुजेल लगाएतको टिम घटनास्थल र अस्पतालमा पुगी निरिक्षण समेत गरेको छ ।
चार जना मृतकहरु मध्ये दुई नेपालीहरु दाङ जिल्लाको तुल्सीपुर महानगरपालीका वार्ड नम्बर १८, मानपुरका टेक बहादुर पान्डेका २८ वर्षिय छोरा अर्जुन पान्डे र बाग्लुङ जिल्ला जैमुनी नगरपालीका वार्ड नम्बर ८ निवासी भद्र बहादुर थापाका २८ वर्षिय छोरा जनक थापा रहेको रुपमा पहिचान खुलेको छ ।
उनीहरुसँगै टेंकरमा सफाईको लागि पसेका दुई जना भारतीय नागरिक स्थानिय मानकसिंह वर्ष २५ र बिहारका कुरबान वर्ष ३५ को पनि निधन भएको बताइएको छ ।
धारा ३०४ मा एफआइआर दर्ज गरिएको चारै जनाको शवको पोष्टमार्टम गरिएको कम्पनी प्रशासनले बताएको छ । पोष्टमार्टम पछि भारतीय २ नागरिकको शव आफन्तले बुझी सकेको र दुई नेपालीहरु मध्ये दाङका अर्जुनको शव परिवारले नेपाल लगिसकेता पनि जनक थापाको शव भने परिवारका सदस्यहरु नेपालबाट नआउँदासम्म शवगृहमा राखिएको मूल प्रवाहका नेता काजीमान राईले जानकारी दिनुभएको छ ।
मृतकहरुको पक्षमा न्यायीक संघर्ष गर्नुका साथै क्षतिपूर्तिका लागि आफूहरुले संघर्ष गर्ने समेत राईले बताउनु भयो ।














