अम्बाला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिको दशौं सम्मेलन हरियाणा प्रदेशको ऐतिहाँसिक शहर अम्बालामा भव्य रुपमा सम्पन्न भएको छ । २९-३० अप्रेल २०२३ मा सम्पन्न सो सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले गर्नुभएको थियो ।
उद्घाटनपूर्व नगरहरुबाट उपस्थित प्रतिनिधि, पर्यवेक्षक, आमन्त्रित दर्शक, कलाकारहरुले विभिन्न गगनवेदी नारा सहित मार्चपास गरेका थिए । रक्तिमका कलाकारहरु विभिन्न गित-संगित र झाँकी सहित मार्चपासमा सहभागि रहेका थिए ।
मार्चपास पछि शहरको सैनी धर्मशालामा उद्घाटन सभामा परिणत भएको थियो । सम्मेलनको उद्घाटन गर्दै राजमो महासचिव मनोज भट्टले आगामी जेठ एक गतेदेखि साम्राज्यवाद विरुद्ध मेची महाकाली अभियान शुरु गरिने बताउनु भयो । ‘अभियान कञ्चनपुरमा उद्घाटन भई पूर्वका विभिन्न जिल्लासम्म सम्पन्न पारिने छ ।’ भट्टले भन्नु भयो- ‘अभियानको मुख्य उदेश्य साम्राज्यवादी गतिविधि विरुद्ध देशभक्त नेपाली जनतालाई सचेत र संगठित गर्नु हो ।’
‘नेपाली जनताले लोकतन्त्र संस्थागत गर्नकै लागि करिब ७३ वर्षदेखि संघर्षरत रहेका छन् । देशमा गणतन्त्र स्थापना त भएको छ, तर हामी ढुक्क हुने अवस्था छैन । गणतन्त्र रहन्छ वा रहँदैन ।’ महासचिव भट्टले भन्नु भयो- ‘भारतमा गणतन्त्रलाई कसैबाट खतरा छैन, यदि छ भने फाँसिवादबाट छ, त्यो खतरा मोदीको फाँसीवादबाट नै हो ।’ नेपालको सन्दर्भमा भने फरक रहेको भट्टको भनाई थियो । ‘नेपाली जनताले पटक पटक लडेर गणतन्त्र स्थापना गर्दछन् तर पटक पटक राजतन्त्रले घाँटी निमोट्ने काम गरेको छ । अहिले पनि गणतन्त्रलाई फाल्नका लागि राजतन्त्र र त्यसका पिछलग्गु तत्वमात्रै तल्लिन छैनन्, भारतीय साम्राज्यवाद र अमेरिकी साम्राज्यवाद पनि लागिपरेका छन् ।’ संविधान सभाको लागि नेपाली जनता करिब ७३ वर्षसम्म लडेको र संविधान सभाबाट सार्वभौम बनाउन पाउनु नेपाली जनताको अधिकार रहेको नेता भट्टले जोडदिनु भयो ।
‘राजालाई संसानघाटमा पुर्याउनका लागि २१ जना युवाहरुले वलिदान दिएका थिए, उनीहरुको वलिदानीप्रति आज संसदको रोष्टममा राजावादीहरुबाट हँसिमजाक हुन्छ ।’ महासचिव भट्टले भन्नु भयो- ‘जनताले गणतन्त्रबाट जुन आशा गरेका थिए, त्यो आशा सरकारमा गएका राजनीतिक पार्टीहरुबाट पुरा हुन सकेन । १३ पटकसम्म सत्तामा पुगेको काँग्रेस, ६ पटक सत्तामा पुगेको एमाले, विद्रोहको नाममा आएका माओवादी ४ पटकसम्म सत्ताम पुगेर पनि नेपाली जनतालाई गणतन्त्र आएको अनुभुति गराउन सकेनन् । राजनीतिक दलहरुले गुमाएको यो विश्वासलाई राजावादी र साम्राज्यवादी शक्तिहरुले प्रयोग गरेर गणतन्त्रलाई नै समाप्त पार्ने कोशिसमा छन् ।’ काँग्रेसले बढाएको महंगी एमालेले घटाउन सकेन, एमालेले गरेको भ्रष्टाचार माओवादीले नियन्त्रण गर्न सकेन जसले गर्दा देशमा सु-शासन कायम हुन नसकेकोले काँग्रेस, एमाले र माओवादीमा कुनै फरक नभएको महासचिव भट्टको भनाई थियो ।
‘नेपाली जनताले गणतन्त्रको विकल्प खोजिराखेका छन्, तर गणतन्त्रको विकल्पको रुपमा गलत मान्छे र पार्टीलाई रोज्नु दुःखको कुरा हो ।’ भट्टको भनाई थियो- ‘जसले नेपालको ऐनकानुन मान्दैन, जो लाम्पट आवारा गिरी गर्दछ, दुई-दुईवटा राहदानी बोकेको छ, कानुनको धज्जिया उडाउँछ, उसलाई गणतन्त्रको विकल्पको रुपमा रोज्ने कोशिस नेपाली जनताले गरेको छ, त्यो अत्यन्तै घातक छ । खराबको विकल्प त्यो भन्दा पनि खराब हुन सक्दैन । खराब दलको विकल्प त्यो भन्दा खराब दल हुन्छ वा त्यो भन्दा राम्रो दल हुन्छ ? तावाको माछो भुंग्रोमा भने जस्तै हुन्छ ।’ नेता भट्टले आफू र आफ्नो पार्टीले पनि यो ७३ वर्षको अवधिमा ठूलो त्याग र वलिदानी गरेको बताउनु भयो ।
‘नेपालको इतिहाँसमा साम्राज्यवादी शक्तिको आशिर्वाद विना कुनै पनि सत्तासिन राजनीतिक पार्टीहरुको गालामा लालि चढ्दैन ।’ भट्टले अगाडि भन्नु भयो- ॅजुनवेला सोभियत संघको सहयोगमा भारतीय काँग्रेसको गालामा लालि चढेको थियो । जब सोभियत संघ विघटन भयो त्यस पछि सुस्तसुस्त भारतीय काँग्रेसको लालि उत्रियो । त्यस्तै माओवादी पनि जुनदिन रोल्पाबाट दिल्ली आए र दिल्लीबाट सिंहदरबार पुगे त्यसपछि माओवादीको गालामा लालि चढ्यो । अहिले रविको पार्टीको लालि पनि अमेरिकी साम्राज्यवाद सिआइएले लगाई दिएको लालि हो । चुनावमा करोडौं खर्च भएका छन्, मिडियालाई आफ्नो कब्जामा पारेका छन्, त्यो सबै खर्च कहाँबाट आयो ?’ भट्टले प्रश्न गर्नु भयो ।
‘अमेरिकाबाट आएका धर्मप्रचारकहरुले नेपालमा धमाधम धर्मान्तरण गराएर क्रिश्चियनहरुको संख्या बढाइरहेका छन् । क्रिश्चियन धर्म केवल धर्मको लागि होइन, क्रिश्चियन धर्मलाई अमेरिकी साम्राज्यवादले आफ्नो साम्राज्यवादी उदेश्य पुरा गर्ने हथियारको रुपमा प्रयोग गरिरहेको छ ।’ भट्टको भनाई थियो- ‘आज अमेरिकी साम्राज्यवादले आफ्नो उदेश्य पुरा गर्ने योजनाले नेपालमा १७ हजार चर्च पुर्याएको छ । आफ्नो मेशिनेरी उदेश्य पुरा गर्नलाई अमेरिकाले नेपाललाई धर्मान्तरणलाई पनि औजार बनाएको छ । अर्को हथियार रवि हुन् । राजनीतिक पार्टी निर्माण गरि संसदमा आफ्नो बलियो उपस्थिति दर्ज गराई नेपाललाई आफ्नो निहित स्वार्थ पुरा गर्ने उदेश्यले अमेरिकी साम्राज्यवादले काम गरिरहेको छ । त्यसैको एजेन्टको रुपमा रविले काम गरेका छन्’ भट्ट भन्नु भयो ।
उद्घाटन शत्रलाई मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनाल, उपाध्यक्ष कपिल खनाल, पश्चिमोत्तर क्षेत्रीय सदस्य लक्ष्मी खडायत, पूर्व केन्द्रीय उपाध्यक्षकी धर्म पत्नी एवं युरोप नेपाली एकता समाजकी सदस्य मालती शर्मा, महिला विभागकी शुष्मा खड्का, रक्तिम विभागका विनु कुमार नेपाली, पूर्व केन्द्रीय सचिव माला केसी, विद्यार्थी विभागका माधव पोखरेल, समता विभागबाट धनराज गोर्खाली, प्रवासी नेपाली संघ भारतका दिपक डाँगी लगायतले आतित्थ्यता एवं सम्मेलन सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रमको अध्यक्षता प्रेम सापकोटाले र सञ्चालन त्रिभुवन भट्टराईले गर्नुभएको थियो । कलाकारहरुले श्रद्धाञ्जली गित प्रस्तुत गरे पछि कुल बहादुर बगालेले मन्तव्यद्धारा स्वागत गर्नुभएको थियो । तत्पश्चात कलाकारहरुले गितद्धारा स्वागत गरेका थिए ।
केन्द्रीय सचिवालय सदस्य धनवीर पुन, केन्द्रीय सदस्य क्रमशः तिलक पौडेल, दिनेश खड्का, कृष्ण जिसी, खिमराज चालिसे, नर बहादुर ओली, रामचन्द्र पौडेल, तारा सोमरे, धनराज गोर्खाली, प्रेम आचार्य, जितमान थापा, सदस्य बाशुदेव भट्टराई, समता विभागका हुम बहादुर विक, विद्यार्थी केन्द्रीय विभागका सदस्य विष्णु वेलवासे, जनजाति विभागका थम्मन थापा लगायतले आतित्थ्यता गर्नुभएको थियो ।
सोही सम्मेलनको उद्घाटन शत्रको अवसरमा विभिन्न संघ संस्था परित्याग गरि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गर्नुभएको थियो । नव प्रवेशीहरुलाई समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालले संगठनको सदस्यता प्रदान गर्नुका साथै सम्मान गर्नुभएको थियो । चण्डीगढ गोर्खा समाजबाट हरि बहादुर खरेल, प्रवासी नेपाली संघ भारत अम्बालाका नगर सदस्य लक्ष्मण अर्यालले सोही अवसरमा मूल प्रवाहमा प्रवेश गर्नुभएको हो । अन्य दुई जनालाई पनि सोही अवसरमा प्रवेश गराइएको थियो ।
बन्दशत्रको कार्यक्रम,
लक्ष्मण खड्का, तारा सोमरे, खिमराज चालिसे, कृष्ण जिसी र जुना चालिसे रहेको पाँच सदस्यीय अध्यक्ष मण्डलले बन्द शत्रको कार्यक्रम सम्पन्न पारेको थियो । बन्द शत्रको अध्यक्षता लक्ष्मण खड्काले र सञ्चालन खिमराज चालिसेले गर्नुभएको थियो । २१ नगर समितिहरुबाट प्रतिनिधित्व रहेको सो सम्मेलनमा नगर प्रतिनिधिहरुले रिर्पोटिङ प्रस्तुत गर्नुभएको थियो । विभिन्न नगरहरुबाट आएका समस्या बारे अध्यक्ष प्रेम सापकोटाले र केन्द्रीय समितिसँग जोडिएका विषयमा केन्द्रीय अध्यक्ष ठाकुर खनालले स्पष्ट पार्नुभएको थियो ।
क्षेत्रीय समितिका अध्यक्ष प्रेम सापकोटाले संगठनात्मक प्रतिवेदन र कोषाध्यक्ष दिनेश खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । व्यापक छलफल पश्चात दुबै प्रतिवेदन माथि प्रतिनिधिहरुबाट आएका सुझावहरुलाई समावेश गर्ने गरि हाउसबाट पारित गरिएको थियो । तत्पश्चात ३ सदस्यीय निर्वाचन आयोग गठन गरि निर्वाचन प्रक्रिया अगाडि बढेको थियो ।